कर्मयोगी समाजसेवक ‘किञ्जल्क’

भूपनिधि पन्त
जेठ ६, २०७८

पोखराको पुरानो ख्यातिप्राप्त बजारको नाम भैरवटोल हो । यसैको अर्को नाम लामाचौतारा पनि थियो । तर, धेरैअघि नै त्यहाँका लामा चौताराहरू काटेर सडक विस्तार गरिएकाले यो टोललाई आजकल धेरै मानिसले भैरव टोलकै नाउँले चिन्दछन् । यो टोलमा धेरैजसो पुराना आकारका घरहरू छन् । छिटफुट आधुनिक प्रकृतिका घरहरू पनि देखिन थालेका छन् । यस्तै पुरानो आकारको एउटा भव्य तीनतल्ले भवनको नाम हो– ‘भैषज्य सदन’ यही भवनको भूइँतल्लामा एउटा निकै पुरानो आयुर्वेदीय पसल छ । त्यस पसलमा बस्ने एउटा वयोवृद्ध चश्माधारी शान्त प्रकृतिको भरिलो व्यक्तित्व हँसिलो अनुहारमा आफ्ना ग्राहकहरूलाई अभिवादन गर्दै औषधि बिक्री गरिरहेका देखिन्छन् । उनलाई कसैले बाग्लुङ्गे वैद्य भन्छन्, कसैले गोपाल वैद्य । तर उनीचाहिँ आफ्नो उपनाम ‘किञ्जल्क’बाट परिचित हुन चाहन्छन् ।

‘किञ्जल्क’– यो नामको अर्थ संस्कृत भाषामा फूलको केशर हो । किञ्जल्क परम्परागत वैद्य परिवारबाट आएका र स्वयम् पनि कविराज हुन् । साहित्यिक दृष्टिकोणले हेर्दा उनी ‘स्वान्तसुखाय कवि‘ पनि हुन् । संस्कृति र नेपाली दुवै भाषामा उनका रचनाहरू पाइन्छन् । धार्मिक दृष्टिकोणले हेर्दा उनको प्रकृति हिन्दू धर्मावलम्बी वैष्णव सम्प्रदायका पण्डितजस्तै देखिन्छ । नित्यकर्म र पूजापाठ नगरी उनी भोजन गर्दैनन् । उनको परिवारमा माछा, मासु र रक्सीजस्ता भोजन चल्दैनन् । तर, अरू कसैको धर्म र व्यवहारप्रति उनी टीकाटिप्पणी गर्न मन पराउँदैनन् । “स्वधर्मे निधनम् श्रेय, पर धर्मो भयावह” मा उनी विश्वास राख्दछन् । आचरणविनाको मानिस भ्रष्ट हुन्छ भन्ने उनको धारणा पाइन्छ ।

हिमश्री औषधि भण्डारमा प्रायः देखिने किञ्जल्कलाई मैले धेरैअघिदेखि चिनेजानेको भए पनि उनको पृष्ठभूमि र साधनासँग म त्यति राम्रो परिचित थिइनँ । संयोगवश आज मैले उनको औषधि भण्डारमा धेरै बेरसम्म कुराकानी गर्ने मौका पाएँ । यसै सिलसिलामा मैले उनको अध्ययन, अनुभव र वंशावलीका बारेमा पनि जिज्ञासा राखें । प्रसङ्गवश उनले भन्दै गए– उनका पुर्खा भक्तपुरे नेवार रहेछन् । करिब चार–पाँच पुस्ता अगाडिका परबाजेलाई एक जना साहेवज्यूले वैद्यको रूपमा नेपालगञ्जमा लिएर गएका रहेछन् । पछि बाजे भैषज्यकुमार वैद्य तीर्थयात्रीको रूपमा तीर्थाटन गर्दा कालीगण्डकीको किनारमा पर्ने बाग्लुङलाई पवित्र ठाउँ सम्झिएर त्यहीँ बसोबास गरी वैद्यको रूपमा सेवा गर्दै आएका रहेछन् । पिता मेघकुमार वैद्यले पनि वैद्य पेशा गर्दै बाग्लुङबाट पोखरा आई बसोबास गर्न थालेपछि त्यस परिवारलाई पोखरामा बाग्लुङ्गे, वैद्य भन्न थालिएछ । अनि गोपाल वैद्यचाहिँ आफ्नो आधा उमेरजति अठ्तीस वर्ष क्रमशः बाग्लुङ, पोखरा, काठमाडौं, वनारस, पटना आदि ठाउँमा अध्ययनार्थ बिताएर केही वर्ष बाग्लुङमा पेशागत सेवा गरी २०१५ सालदेखि अविच्छिन्न रूपमा पोखरा बस्न थालेका रहेछन् । अहिले उनले छयहत्तर वसन्त पार गरिसकेको बताउँछन् ।

बाग्लुङमा तत्कालीन भाषा पाठशालाका गुरु जगन्नाथ पौड्यालसँग लघुकौमुदी पढेर पोखराका प्रसिद्ध पण्डित शिवकुमार रेग्मीसँग मध्यकौमुदी अध्ययन गरी केही महिना रानीपोखरी, तीनधारा पाठशालामा अध्ययन गरी काठमाडौंबाट प्रथमा र वनारसबाट संस्कृत साहित्यमा मध्यमा पास गर्ने किञ्जल्कले तीनधारा पाठशालामा अध्ययन गर्दा हरिहर शास्त्री र मासंगल्ली चोकका मनबज्रहरू आफ्ना सहपाठी भएको र माधव घिमिरे आफूभन्दा अघिल्लो कक्षामा भएको बताउँछन् । गुरुहरूको नाम पनि सम्झना छ कि भन्दा उनले कालीदास पराजुली, देवीदत्त पराजुली र बद्रीनाथ भट्टराईको नाम सम्झनामा आएको बताए । यस्तै वनारसमा अध्ययन गर्दा उनले प्रसिद्ध विद्वान् नारायण शास्त्री खिस्तेसँग वैयक्तिक रूपमा अध्ययन गरेका रहेछन् । पछि किञ्जल्कले छ वर्ष पटनामा अध्ययन गरी २००७ सालमा जी.ए.एम.एस. औषधि विज्ञानमा स्नातक पनि गरेका रहेछन् ।

नेवार परिवारको व्यक्तिलाई संस्कृत अध्ययन गर्ने अभिरुचि कसरी भएको हो र फेरि संस्कृतमा शास्त्री नगरी औषधि विज्ञानमा स्नातक गर्न कसरी मोडिनुभएको हो ? भन्दा किञ्जल्क भन्छन्– “संस्कृत राम्रो नपढी आयुर्वेद विषय नबुझिने र हाम्रो वैद्य परिवारले आयुर्वेदविना वैद्य पेशा गर्न नसक्ने हुँदा बाजे भैषज्यकुमारको इच्छाअनुसार संस्कृत एवम् औषधि विज्ञानमा स्नातक गर्न पुगिएको हो । उहाँकै इच्छा र आशीर्वाद पाएर यस पेशामा समर्पित भइएको हो । पटनामा अध्ययन गर्दा जीवनलाल सत्याल (हाल संसदका महासचिव) परिचित मित्रको रूपमा थिए । तर, मैले कहिल्यै पनि राजनीतिमा अभिरुचि राखिनँ, यसमा मलाई कुनै पश्चात्ताप पनि छैन भन्ने किञ्जल्कको भनाइ थियो ।

भैषज्य सदनको नाम पितामह भैषज्यकुमार र औषधि भैषज्य दर्शिने गरी राखिएको रहेछ । आयुर्वेदले आरोग्य प्रदान गर्ने कुनै पनि उपचारलाई भैषज्य भन्दछ भन्दै किञ्जल्कले संस्कृत श्लोक “तदेव योग्यम् भैषज्यम् यदारोग्याय कल्पते” भन्ने उक्तिको संस्मरण गरे । आयुर्वेदीय औषधि, रसादी, भष्मादीको पुट पनि गर्नुभएको छ कि भन्दा किञ्जल्कले भने, “त्यस्तो त गरिएन, तर यस्ता औषधि मिश्रण गरेर खलमर्दन गर्ने र काष्टादी औषधि बनाएर गाउँघरमा गई विरामीको सेवा गर्ने काम भने बागलुङमा छँदा बेलाबखत गर्ने गरिएको हो ।”

हामीहरू कुरा गर्दा गर्दै फाटफुट औषधि किन्न आउनेहरूलाई एक–दुई रूपैयाँको सानो एकाइको औषधि पनि विक्री गरेर सकृयता देखाइरहेका किञ्जल्कसँग “श्रमको मूल्यसम्म पनि नउठ्ने यति सानो रकमको औषधि विक्री गरेर कति फाइदा प्राप्त गर्नुहुन्छ ?” भन्दा उनले भने, “थोरै मात्राले पुग्छ भने व्यापार बढाउने उद्देश्यले धेरै औषधि किन दिने ? यो त सेवाको पेशा हो, सेवाबाट हामीलाई प्राप्त हुने आनन्दको तुलना व्यापारसँग गर्न मिल्दैन । काम गरेपछि कर्मअनुसारको फल त मिलिहाल्छ नि !”

अन्तमा मैले किञ्जल्कसँग उनको एउटा फोटोको निम्ति अनुरोध गरें । किञ्जल्कले मलाई फोटो दिन इन्कार गर्दै भने, “ए तपाईंंले त छपाउने उद्देश्य पो राख्नुभएको रहेछ क्यारे, नाई म प्रचारित हुन चाहन्न ! प्रचारबाट गर्वको सृष्टि हुनसक्छ ।” मैले क्षमायाचना गर्दै भनें, “त्यसो भए मैले लेख लेख्न पनि नहुने भयो ।” किञ्जल्कले भने, “म तपाईंंको अधिकारमा हस्तक्षेप गर्न पनि चाहन्नँ ।”

आजको भौतिकवादी युगमा किञ्जल्कजस्ता सेवा भावनाले उत्प्रेरित कर्मयोगी हामी विरलै पाउन सक्दछौ । जीवन सेवाको निम्ति हो, कर्मको निम्ति हो, प्रचारप्रसारको निम्ति होइन । प्रचारप्रसारले गर्वको सृष्टि हुन्छ, गर्वले हामीलाई पतनोन्मुख गराउँछ भन्ने किञ्जल्कजस्ता कर्मयोगीका बारेमा घृष्टतावश यसरी कलम चलाउँदा म हाम्रा नेता र मन्त्रीहरूलाई सम्झन पुगेको छु । विचारहरू, क्यामेरा र टी.भी.मा अनुहार देखाएर जनतालाई छकाइरहेका छन् । तिनीहरूलाई आफ्नो कर्तव्य के हो यतिसम्म पनि थाहा छैन । विचराहरू ! आत्म प्रशंसामा रमाइरहेका छन् ।

पन्तको प्रकाशोन्मुख कृतिबाट

Related News

सम्बन्धित समाचार

hero news full width