इतिहासको ऐनामा राजा र राष्ट्रपति

मदन भण्डारी
असार ३०, २०७८

१) प्रणयको प्रसंग – बलि राजा र युधिष्ठिरको वार्ता सर्वयुुग रोचक छ । बलिले सोधे, ‘तिम्री आमा कुन्ती साह्रै राम्री छिन् । उनलाई देख्दा तिमीलाई यौन चाहना हुँदैन ?’ युुधिष्ठिरले ढाँटेनन् । उनले ‘हुुन्छ !’ भनेका थिए । तर युुधिष्ठिर संयमित थिए ; आजका हाम्रा लोके, किस्ने, नाराने आदि इत्यादिले शक्तिको चरम दुरुपयोग गरेर धेरैजना राम्रीको बेइज्जत गरिरहेका छन् । यिनीहरुले पवित्र र महान यौनसम्बन्धलाई घृणित सामाजिक रोगका रुपमा फैलाएका छन् । युवाका मन मैलाएका छन् । झाँक्रीले आफ्नै सम्मानित नेतृलाई बालकोट जान भनिन् । सर्पको खुट्टा सर्पले देख्छ अरे । राष्ट्रपतिमाथिको लाञ्छनाले प्रधानमन्त्री आगो हुन्छन् ।
२) पाटनका ६ प्रधान – सन् १७४६ तिर पाटनमा ६ प्रधानहरु मनपरी उपद्रो गर्थे । यिनीहरुले राजा राज्यप्रकाश मल्लको आँखा फोडिदिए । त्यही पीडाले राजा मरे । त्यो ठाउँमा तिनै पाटनेहरुले रणजित मल्ललाई राजा बनाए । उनलाई पनि छिटै धपाए । फेरि यिनीहरुले जयप्रकाश मल्ललाई राजा बनाए । उनलाई पनि तुुरुन्तै खेदे । फेरि विश्वजित मल्ललाई राजा बनाए । उनलाई एकजनाकी स्वास्नीको बात लगाएर काटे । यी फटाहाहरुलाई पृथ्वीनारायण शाहले मृत्यदण्ड दिएका थिए । आजका हाम्रा केपी ओलीसहितका ६ पूर्व प्रधानमन्त्रीहरुको चरित्र इतिहासका तिनै उपद्रवीसँग ठ्याक्कै मिल्छ । सबै वैदेशिक हस्तक्षेप विरुद्धको कुरा गर्छन् । सधैं देश बेच्न उद्यत रहन्छन् । ६ पाटनेबारे बालचन्द्र शर्मा लेख्छन्, ‘ती उपद्रवी प्रधानहरुको सर्वस्वहरण गरियो र प्राणदण्ड दिइयो (नेपालको ऐहिासिक रुपरेखा पृष्ठ १६१) ।’
३) संविधानका धारा– पञ्चायत कालमा पनि विकासका नाउँमा गाउँगाउँमा धारा बनाइन्थे, धारामा पानी आउँदैनथ्यो । आजको हाम्रो संविधानमा अनेक धारा छन्, पानी आउँदैन । संविधानको सुरुमै प्रस्तावनाका रुपमा आफ्नो इतिहासको गौरवप्रति घृणा फैलाइएको छ । राष्ट्रिय विभूतिको अपमान गरिएको छ । धर्मनिरपेक्षता र सनातनीलाई जुधाइएको छ । धारा १७६ (१,२, ३, ४, ५) लाई वकिलले जस्तो व्याख्या गरे पनि हुन्छ । संवैधानिक इजलास र मिडियाका थरिथरि व्याख्याले निक्खर नेपाली जनतालाई वाक्क पारिएकै थियो । फैसलापछि थप रडाको मच्चिँदै छ । कुर्सी हानाहान सुरु भयो, अब मान्छे हानहान हुन्छ । अब नेपाल हाइटीको हालततिर जान्छ ।
४) सर्वोच्चको सर्वोच्चता– सर्वोच्च अदालतले आफ्नो उच्चता कायम राख्नै सकेन । गिरिजाको संसद विगठनको एकलकाटे सिफारिस सदर भयो, त्यही काम मनमोहनले रीत पुर्‍याएर गर्दा पनि बदर भयो । राजनीतिक हिसाबले मनमोहन अल्पमतको प्रधानमन्त्री भए पनि वैधानिक हिसाबले बहुमतमै थिए । उनलाई संसदमा उभिनसम्म नदिएर अस्पतालकै बेडबाट राजीनामा दिन बाध्य पारियो । सर्वोच्चको शिरमा भदौ १२ को फैसला कलंक बनेर टाँस्सिइरह्यो । एकजना प्रधानन्यायाधीश राष्ट्रपति समक्ष चन्द्रशमशेरका चाकरझैं झुकेका थिए । ०७७ फागुन ११ गते सर्वोच्चले जे फैसला गर्‍यो, ०७८ असार २८ गते आफ्नो त्यही फैसलालाई दोहोर्‍यायो या भनौं जंगेले बोलेपछि बोल्यो सर्वोच्चले सुल्टिन चाहेन ।

केपी ओलीसहितका ६ पूर्व प्रधानमन्त्री सबै वैदेशिक हस्तक्षेपविरुद्धको कुरा गर्छन्,सधैं देश बेच्न उद्यत रहन्छन्

५) राजाका त्याग – हाम्रा पुराण र इतिहासमा राजाका त्यागका अनेक कथा छन् । भगवान कृष्ण र अर्जुन जोगीको भेषमा एकजना राजाकहाँ पुुग्छन्, साथमा एउटा सिंह हुन्छ । जोगीहरु फलाहार गर्छन् र सिंहका लागि मांसाहारको माग गर्छन् । जोगीले राजाको कलिलो छोरोलाई राजा आफैंले काटेर सिंहलाई आहारा दिन भन्छन् । राजा भगवानका सच्चा भक्त थिए । भोकाको भोक मेटाउनैपथ्र्यो । यसैले राजाले युवराजलाई काटेर सिंहलाई आहारा प्रदान गरे । जोगीरुपी अर्जुन दृश्य देखेर मूर्छित भए । होस खुल्दा राजकुमार सकुसलै पाइँदा छक्क परे । थाहा भयो, भगवान्ले भक्तको परीक्षा लिएका रहेछन् । हाम्रै महेन्द्र मल्ल जनताले खाएपछि मात्रै खान्थे । सन् १६४९ जनवरी ३० का दिन बेलायतका राजा चाल्स हाँसीहाँसी फाँसीमा चढे । राजा वीरेन्द्रले सेनालाई छेकेर नेताका ज्यान बचाइदिए । ज्ञानेन्द्रले जनताको नासो जनतालाई सुम्पेर लोकतान्त्रिक चरित्र देखाए ।
६) हाम्रा राष्ट्रपतिद्वय– गणतन्त्र नेपालले दुुईजना राष्ट्रपति व्यहोर्‍यो । भैंसी चढेर हुर्केका रामवरण राष्ट्रपति हुनुलाई जनताको ठूलो विजय मानियो तर उनैलाई कटुवाल काण्डमा राँगाको बुद्धि गरेको ठानियो । राष्ट्रपति विद्याबारे प्रचण्डले भने, ‘महिला भन्ठानेको त….! राजाको जतिको सान पनि रहेन, मान पनि रहेन ।’ कोरोना महामारीकै बेला यसपालि बर्खा सुरु भयो । १९ मा एउटा मर्दा २० हुनेहरु झनै रमाए । ‘पहाडियाँको जलाएँगे, नेपाल हम् चलाएँगे’ भन्ने राजेन्द्र उपप्रधानमन्त्री हुन पुुगे । ५ पूर्व प्रधानमन्त्रीहरु उतै बुझाउन चाहन्थे । केपी ओली उतै बुझाउन झनै हतारिए । धन्न राजेन्द्रको राज लामो चल्न सकेन । यहीं सम्माननीय राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीले अप्ठेरोमा पारे ।
७) कालो बादलमा चाँदीको घेरा– कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । पारस शाहको राजनीतिक भेटघाटलाई गणतन्त्रवादीले आपत्तिजनक माने । राजावादी उत्साहित देखिए । जनताका लागि कागलाई बेल । प्रतिगमनका विरुद्ध प्रतिगामीहरु चर्को स्वरमा चिच्याइरहन्छन् । धारा ७६(४) को फड्काइलाई संवैधानिक इजलासले अस्वीकार गर्‍यो । जित देउवाको होइन, माधवको भयो । सू को न्यानोमा रमाउनेहरु उत्ताउलिए । दरबार हत्याकाण्डका बेला आयोग बनाउन राजालाई उक्साएर माधव नेपाल आफैं भागेका थिए । अहिले देउवालाई उक्साएर भाग्ने बाटो पाएनन् । ओलीको पार्टी छ, प्रचण्डको पार्टी छ; बढी बाठो भएरै माधव नेपाल पार्टीविहीन बन्दै छन् । दुुई ठाउँबाट हारेरै ०६७ सालमा उनी प्रधानमन्त्री बनेका थिए, यसपालि उनका धर्मपिताहरु त्यस्तै सहयोगको मुडमा देखिँदैनन् । ०६७ वैशाखमै रवीन्द्र अधिकारीले लेखेका थिए, ‘माधव नेपाल आफैं चलिरहेका छैनन्, उनलाई अरुले चलाइरहेका छन् ।’
छर्लंग छ ः ऐतिहासिक ऐनामा राष्ट्रपतिभन्दा राजा धेरै माथि छन्, यद्यपि अबको राजा को र कस्तो भन्ने चित्र देखिँदैन । स्याल हुुइयाँ मच्चाउने सनातनी दर्जनौं चिरामा विभक्त छन् । ६ पाटने जस्ता नेताको अन्त्य चाहिँ अवश्यम्भावी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width