बरालको ‘सिकाइ र सहयोग’ हेरेपछि

विष्णुनारायण श्रेष्ठ
भाद्र १३, २०७७

कोभिड–१९ को बन्दाबन्दीको समय चैत्र २०७६ मा प्रकाशित भएको खगराज बरालको नयाँ पुस्तक ‘सिकाइ र सहयोग’ बन्दाबन्दी कै समयमा पढ्ने अवसर पाएँ । पुस्तकको सुरुदेखि अन्त्यसम्म विभिन्न शीर्षकहरू पढ्दै जाँदा यो पुस्तक अमूल्य लाग्यो । पच्चीसओटा शीर्षकमा उनिएको यो पुस्तक दुईसय एकचालीस पृष्ठभित्र लेखिएको छ । यसभन्दा अगिल्लो पुस्तक ‘सिकाउने शैली’ २०७५ सालमा प्रकाशन भएको थियो । उक्त पुस्तक पनि अद्योपान्त पढेको थिएँ । यी दुई पुस्तकका विषयवस्तु र प्रस्तुति फरकफरक भएका पाएँ । दुवै पुस्तकले पाठकलाई भिन्न भिन्न स्वाद दिन सफल छन् ।

यस पुस्तकका लेखक खगराज बराललाई मैले जागिरको सिलसिलामा चिनेको हुँ । लेखकमा विशेष रुचि भएका बरालले साहित्यतिर श्रमिक बराल र गैह्रसाहित्यतिर खगराज बरालको नामले कलम चलाउँछन् । साहित्य र गैह्रसाहित्यतिर झण्डै डेढ दर्जन पुस्तक प्रकाशित गरेका बरालको ‘सिकाइ र सहयोग’ गैह्रसाहित्यतिरको सबैभन्दा पछिल्लो प्रकाशन हो । वि.सं.२०५१ सालमा निजामती सेवाको अधिकृत स्तरमा सेवा प्रवेश गरेका बराल खुल्ला प्रतियोगितामार्फत अधिकृतस्तरबाट सहसचिव पदमा पदोन्नति हुन सफल एक काबिल र निष्ठावान् व्यक्ति हुन् । प्रशासनिक क्षेत्रमा निर्भिक र स्वाभिमानसहित काम गरेका बराल हाल नेपाल सरकारको सचिव पदमा कार्यरत छन् । चाहे शिक्षण पेसामा रहँदा होस् वा निजामती सेवाका विभिन्न पदमा रहँदाको अवस्थामा होस् श्रमिक बरालको नामबाट साहित्य सिर्जना र खगराज बरालका नामबाट गैह्रसाहित्य सिर्जना गर्दै आएका निज बरालले शिक्षक, विद्यालय निरीक्षक, प्रशिक्षक हुँदै क्षेत्रीय निर्देशक, परीक्षा नियन्त्रक, पाठ्यक्रम विकास केन्द्र र शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक तथा शिक्षा विभागका महानिर्देशक जस्ता नीति निर्माण तहका महत्वपूर्ण कार्यकारी पदमा रहेर शैक्षिक नेतृत्व प्रदान गरिसकेका छन् भने पछिल्लो समयमा नेपाल सरकारको विभिन्न मन्त्रालयका सचिवका हैसियतले उच्च स्तरको प्रशासनिक नेतृत्व गरेका बरालले अद्यापि सोही भूमिका निर्वाह गरिरहेका छन् ।

लेखक नेपाल सरकारका सचिव पदको जिम्मेवारीमा रहँदै गर्दा अनुभवजन्य कृतिका रुपमा ‘सिकाउने शैली’ प्रकाशित गरेर शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माता सबैका लागि अत्यन्त उपयोगी पुस्तक उपहार स्वरूप दिइसकेका छन् । वि.सं.२०७३ सालमा सचिव पदमा बढुवा भएका बरालले शैक्षिक दृष्टार्थ (२०७३), शिक्षा र सिकाइ : सन्दर्भ विदेशको प्रसङ्ग नेपालको (२०७४), सिकाउने शैली (२०७५), सिकाइ र सहयोग (२०७६) जस्ता गैह्रसाहित्यिक पुस्तक र श्रमिक बरालका गीतहरू (२०७३), सानीको वर्थ डे (२०७५) र आँगनीको फूल (२०७६) जस्ता साहित्यिक पुस्तक प्रकाशन गरेका छन् । वि.सं. २०७३ अगाडि पनि बरालले थुपै पुस्तक प्रकाशन गरेका थिए । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं स्रष्टा बरालले नेपाल सरकारको सचिवमा कार्यरत रहिरहेकै अवस्थामा आफूले प्रत्यक्ष देखेको, भोगेको र अनुभव गरेको कुराहरूलाई सबै खालका पाठकका लागि बोधगम्य हुने गरी सरल र सरस रूपमा ‘सिकाइ र सहयोग’ नामको पुस्तक प्रकाशन गरेका छन् । यहाँ ‘सिकाइ र सहयोग’ पुस्तक पढ्दा मलाई लागेका केही घतलाग्दा विषयवस्तुहरूलाई सर्सर्ती उल्लेख गरेको छु ।

पुस्तकको पृष्ठभूमिमा लेखकले “सुधारका लागि दिइने सुझावले कसैको मन छुनै पर्छ, चित्त दुखाउनै पर्छ र महसुस हुनै पर्छ” भन्ने भनाइ राख्दै त्यसलाई मान्यताका रूपमा स्थापित होस् भन्ने चाहना राखेका छन् । त्यसका लागि उनी ‘डु नट माइन्ड’ होइन, ‘यु सुड माइन्ड’ भन्न सुझाउँछन् ।

‘बाल अधिकार र हाम्रा व्यवहार’ शीर्षकमा बाल अधिकार महासन्धिको पक्ष राष्ट्र नेपालले बालबालिकाको हितका लागि ऐन, कानुन, नीति, रणनीति, कार्यनीति, योजना, परियोजनाका अतिरिक्त बालअधिकारलाई पाठ्यक्रममा समेत समावेश गराइएको अवस्थामा पनि ‘बालबालिका पहिला’ भन्न नसकिएको प्रसङ्ग कोट्याउँदै लेखकले बालबालिकालाई घरपरिवार र यात्राका क्रममा गरिने व्यवहारलाई उपमा दिदै सार्वजनिक र व्यक्तिगत क्षेत्रमा ‘बालबालिका पहिला’ भन्ने दिन कहिले आउने हो ? भनी चिन्ता प्रकट गरेका छन् ।

पुस्तकको दोस्रो शीर्षकमा ‘संस्कृत, संस्कार र संस्कृति’ छ । यस शीर्षकअन्तर्गत लेखकले चीनियाँहरूलाई नेपाली सिक्न कठिन अनि नेपालीलाई चीनियाँ भाषा सिक्न सजिलो हुने प्रसङ्ग प्रस्तुत गर्दै नेपाली भाषाको जननी संस्कृत भएको र संस्कृत भाषामा अभ्यस्त व्यक्तिले विश्वका जुनसुकै भाषा सजिलोसँग सिक्न सक्ने कुरालाई विभिन्न उदाहरण र आधारहरू खोतल्दै सो भनाइको पुष्ट्याइ गर्ने प्रयत्न मात्र गरेका छैनन् बल्की संस्कृत भाषाको उच्चतम् महत्व र स्थान छ भन्ने कुरा छर्लङ्ग पारेका छन् ।

त्यसै गरी चीनियाँ र कोरियन नागरिकले नेपालीहरू धेरै खुशी देखिनुको पछाडि के कारण छ ? भन्ने जिज्ञासाका सम्बन्धमा लेखकले संस्कृत भाषा अध्ययनबाट मात्र वैदिक दर्शनमा आधारित हिन्दू दर्शनको चुरो फेला पार्न सकिने र हिन्दू दर्शनको महत्वपूर्ण ग्रन्थ गीताको सारले नेपालीलाई जस्तो सुकै वातावरणमा पनि खुसी र आनन्दित हुन सक्ने बनाउँछ भनी पूर्वीय वैदिक दर्शन र हिन्दू दर्शनको उच्चतम् योगदानलाई सटिक ढङ्गबाट उल्लेख गरेका छन् ।

शिक्षक तालिममा एक जना जापानी प्रशिक्षकले खरायो र मानिस बीचको तुलना गरेको प्रसङ्ग राख्दै खरायो जस्तै मानिस पनि शाकाहारी भएको पुष्टि गर्न तथा शाकाहारी र मांशाहारी बीचको विभेद पहिचान गर्न जापानी प्रशिक्षकले अपनाएको सिकाउने तरिकालाई दृश्यात्मक झै लाग्ने गरी प्रस्तुत गरेका छन् । शाकाहारी र मांशाहारी प्राणीका दाँतको बनोट, आँखाको विशेषता, पानी पिउने तरिका र आन्द्राको लम्बाइ जस्ता कुराहरूका बारेमा सहभागीहरू माझ भए गरेका छलफल, प्रस्तुतीकरणको शैली र सहभागीहरूको अन्तरक्रिया र जिज्ञासा उपर गरिएको सम्बोधन अत्यन्त रोचक, जीवन्त र सार्थक भएको भन्दै हाम्रा कक्षा कोठामा पनि शिक्षण सिकाइका यस्ता तौरतरिका अबलम्बन हुनुपर्ने धारणा ‘सिकाउने आफ्नै काइदा’ शीर्षकमा सविस्तार व्याख्या गरेर हाम्रा परम्परागत शिक्षण सिकाइ क्रियाकलापमा सुधारको आश्यकता औंल्याएका छन् ।

कुनै एक स्थान विशेषमा प्रयोग गरिने शब्दहरूले सबै स्थानमा एउटै अर्थ नदिने मात्र होइन त्यस्ता शब्दहरूले फरक स्थान विशेषमा विपरीत वा गलत वा अश्लील अर्थ सम्प्रेषण गर्छ भन्ने कुरा लेखकले नोकरीको सिलसिलामा देशका विभिन्न भागमा पुग्दा तत्स्थानमा बोलिने कतिपय शब्दले आफूलाई सुरुमा अचम्मित र अप्ठेरो महशुस भएको प्रसङ्ग बडो रोचक र सरल ढङ्गबाट प्रस्तुत गरेका छन् । साथै, यस्ता शब्दसम्बन्धी केही विदेशी उदाहरण पनि दिएका छन् । जस्तैः ल्याटिन अमेरिकी बजारमा बिव्रmी नभएको ‘चेभिनोभा’ (जसको अर्थ नगुड्ने) नामलाई परिवर्तन गरेर ‘कारिब’ राखेपछि मात्र ‘कारिब’ नामको उक्त ‘चेभिनोभा’ कार धमाधम बिक्री भएको जस्ता उदाहरण दिएर लेखकले स्थान विशेषमा प्रयोग गरिने भाषामा प्रयुक्त शब्दले कति धेरै फरक पार्दो रहेछ भन्ने कुराप्रति पाठकलाई ‘बुझाइमा अर्थ र अनर्थ’ भन्ने शीर्षकको माध्यमबाट सचेत गराएका छन् ।

नेपालको प्रायः हरेक क्षेत्रमा प्रणाली र पद्धतिको अभाव खट्किरहेको यथार्थतालाई लेखकले सार्वजनिक यातायातमा प्रणाली सम्मत् हिसाबले आफू यात्रा गर्दा भोगेको हैरानी र प्रणाली मिचेर यात्रा गर्ने यात्रुले पाएको सहुलियत र सुविधालाई पटाक्षेप गर्दै एकाघरका दाजुभाइ वा बाबुछोरा एउटै सवारी साधनमा यात्रा गर्न नहुने पुर्खाको मान्यताप्रति उनले ‘पुर्खाको विश्वास’ शीर्षकमार्फत् स्वीकारोक्ति जनाएका छन् । साथै पद्धति र प्रणाली नभएको नेपालको सार्वजनिक सेवाहरू मध्ये सार्वजनिक यातायातलाई पद्धति र प्रणाली भएका देशहरूको यातायात सेवासँग विभिन्न कोणबाट तुलना गर्दै पद्धति र प्रणालीका पक्षपाती लेखकले शिष्टता र सभ्यताको जग घरपरिवार नै हुने र त्यसमा थप निख्खरता ल्याउन विद्यालय, सामाजिक संघ–संस्था र समुदाय जिम्मेवार हुने कुरामा जोड दिएका छन् ।

अमेरिकामा हालसम्म महिला राष्ट्रपति हुन नसकेको र जापानको संविधानमा राजसंस्थाको उत्तराधिकारी जेठो सन्तान हुने भनिए तापनि त्यहाँको कानुनले पुरुष नै हुनुपर्ने व्यवस्था गरेको जस्ता दृष्टान्त दिएर लेखकले ‘लैङ्गिक सवाल र जापानी परिवेश’ शीर्षकमा लैङ्गिक समानताको वकालत गर्ने मुलुकमा लैङ्गिक असमानताप्रति आश्चर्य व्यक्त गरेका छन् । नेपालमा व्यक्तिलाई मर्का नपरे पनि सार्वजनिक सरोकारको विषयको नाममा मुद्दा हाल्न पाउने व्यवस्था छ तर जापानमा त्यस्तो प्रावधान छैन । नेपालमा जस्तो जापानमा व्यक्तिको अराजकता नहुनुको पछाडि सायद यही कारण हुनुपर्छ ,जुन राम्रो पनि हो भन्ने मान्यता लेखकको छ र यसप्रति लेखक सन्तुष्ट देखिन्छन् ।

‘जेनेभा बसाइमा हाम्रो सिकाइ’ शीर्षकबाट लेखकले आफू स्वीजरल्याण्डको जेनेभामा मानव अधिकारसम्बन्धी विश्वव्यापी प्रतिवेदनअन्तर्गत नेपालको प्रतिवेदन प्रस्तुतीकरणका लागि छनोट गरिएको प्रतिनिधिमण्डलका एक सदस्यका हैसियतले भाग लिन जाँदा आफूलाई चाहिने सियो, धागो, चप्पल, सेम्पु, साबुन, टावल, चार्जर, फरक फरक खालका र नापका टुपिन लगायतका सामग्री र पिनट, काजु, कुकिज जस्ता खाद्य पदार्थसमेत लिएर गएको र जेनेभामा रहँदा आवासका लागि अधिकांश सामानहरू सहभागी स्वयम्ले व्यवस्था गर्नुपर्ने भएबाट टिमका साथीहरू आश्चर्यमा परेको प्रसङ्ग र आफ्नो टोली बसेको कोठाको सरसफाइ र व्यवस्थापन सहभागी आफैले चुस्त दुरुस्त राखेबाट प्रभावित भएको तयारी छलफलमा पुगेकी सहभागीमध्येकै विशिष्ट श्रेणीको एक महिलाको टिप्पणी आदिले विदेश यात्रामा निस्कदा ख्याल गर्नुपर्ने कुराहरू र निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जो कोही पाठक सचेत हुन पुग्छ ।

लेखकले पच्चीसओटा शीर्षकबाट भिन्नभिन्न जानकारी भिन्नभिन्न प्रसङ्ग र स्वादमा पस्केका छन् । यहाँ आठओटा शीर्षकको मात्र सूक्ष्म सङ्केत गरेको छु । अति मसिना विषयवस्तुलाई लेख्य प्रसङ्ग बनाएर मन छुने गरी प्रस्तुति गर्न सक्नु लेखकीय क्षमता हो । सरल, सुबोध्य र कौतुहलता बरालका लेखकीय विशेषता हुन् । यिनै विशेषताले ‘सिकाइ र सहयोग’ पुस्तक भरिएको छ । पुस्तक बाल, युवा तथा प्रौढ तीनै पुस्ताका लागि पठनीय छ । पाठकअनुकूल हुन सक्नु यो पुस्तकको विचित्र विशेषता हो । पाठकको मनचिन्ते भावनालाई पुस्तकले पूरा गरेको जस्तो लाग्छ । बालबालिकाले आपूmअनुकूलको विषय पाउँछन्, युवाले पनि आउँछन् भने प्रौढका लागि त आफ्नै अनुभवको पोको जस्तो लाग्छ । पुस्तक सबैका लागि पठनीय छ, सङ्ग्रहनीय छ । यस्तै पुस्तकहरूको लेखनका लागि लेखक बराललाई शुभकामना ।

Related News

सम्बन्धित समाचार

hero news full width