भर्जिन कर्णाली

के.वी. मसाल
भाद्र २६, २०७८

मौसम परिवर्तन भएको छ । नेपालीहरुले घुमफिर गर्न रुचाउने मुख्य समय असोजबाट सुरु हुन्छ किनकि यो बेला मौसम पनि अनुकूल हुन्छ । दसैंतिहारका सार्वजनिक बिदाहरु जोडेर लामो छुट्टी बिताउन पनि सकिन्छ । धेरै ठाउँका मानिसहरु घुमफिरका लागि पहाडी र हिमाली जिल्लाको गन्तव्य बनाउन रुचाउँछन् । कर्णाली प्रदेश पर्यटकहरुका लागि सामाजिक–सांस्कृतिक, साहसिक, तीर्थाटन, कृषि, खेलकुद र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि महत्वपूर्ण र भर्जिन ल्यान्डका रुपमा पहिचान भएको छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली र यसको उद्गमस्थल तिब्बतको मानसरोवर क्षेत्र भएर कर्णाली प्रवेश गरेको छ ।
मैदानी भाग अर्थात् तराईको भूगोलमा बस्ने मानिसहरुले हिमाली र पहाडीक्षेत्र घुमफिर गर्न मन मराउँछन् भने हिमाली र पहाडी क्षेत्रका मानिसहरु तराई र समुद्र हेर्न र घुमफिर गर्न रुचाउँछन् । यो मानवीय स्वभाव हो विविधतामा रमाउने । घुमफिरका लागि कर्णालीमा विविधता छ । पर्यटकहरुले जे खोज्दछन् त्यो पाउँछन् । हिमाल, ताल, उपत्यका, झरना, नदी, कला, संस्कृतिलगायत पर्यटकहरुले सबै पाउँछन् । कर्णाली प्रदेश घुमफिर गर्नका लागि प्याकेज बनाउँदा राम्रो हुन्छ । कर्णालीमा के छैन, नेपालको सबैभन्दा ठूलो ताल राराताल, सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल, सबैभन्दा ठूलो जिल्ला डोल्पा, नेपाली भाषाको उत्पति भएको स्थल जुम्लाको सिंजा, नेपालको सबैभन्दा अग्लो स्थानमा धान उत्पादन हुने स्थल जुम्ला यतिमात्र होइन, अझ कति छन् कति प्राकृतिक सौन्दर्यताले श्रृगार दिएको कर्णालीका सम्पदा । सम्पदाको धनी तर, राज्यको आँखा नपुगेको प्रदेश हो, कर्णाली । धेरै सम्भावना, अनुपम प्राकृतिक साँस्कृतिक तथा सम्पदाको धनी भए तापनि पर्यटन विकासका लागि पूर्वाधार भने छैन ।
पर्यटनको विकासका लागि पूर्वाधारको विकास गर्ने हो भने कणालीका मूर्त, अमूर्त पुरातात्विक सम्पदा, नाचगान, जात्रा, भेषभूषा, भाषा, कला र संस्कृतिलाई अध्यन, अनुसन्धान र अवलोकन गर्न कर्णाली प्रदेशमा पर्यटकहरुको भिड लाग्ने गर्छ । कर्णाली सभ्यता र संस्कृतिको केन्द्रबिन्दु, भाषाको उद्गमस्थल, भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, विभिन्न जातजाति भाषाभाषी भएको, प्राकृतिक साधन र स्रोतले सम्पन्न छ कर्णाली प्रदेश । प्राकृतिक सौन्दर्यताको धनी कर्णाली प्रदेश यातायातको असुविधाले गर्दा पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निकै चुनौतीहरु सामना गर्नुपरेको छ । कर्णाली प्रदेशमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, सुर्खेत र पश्चिम रुकुममा हवाईसेवा छ । रुकुममा चौरजहारी र मुसिकोटमा समेत २ ठाउँमा हवाइसेवा छ । नेपाल सरकारले र केही निजी कम्पनीहरुले कर्णाली क्षेत्रमा हवाई यातायात सञ्चालन गरेका छन् । तर ती सेवालाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवम् व्यवस्थित भने बन्न सकेका छैनन् ।
कर्णालीको आभूषणको रुपमा रहेका से–फोक्सुन्डो, राराताल, नेपाली भाषा तथा सभ्यताको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका र चन्दननाथ, कालीकोटको रास्कोट, विश्वकै अग्लो मानिएको पचाल झरना, दैलेखको ज्वालामुखी, दुल्लु दरवार, पञ्चदेवल, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डे दह, सुर्खेतको काँक्रेविहारलगायतका पर्यटकीयस्थल कर्णाली प्रदेशमा घुमफिर गर्ने पर्यटकहरुका लागि पुग्नै पर्ने स्थलहरु हुन् । त्यसैगरी नेपालको सर्वाधिक उचाईमा रहेको डोल्पाको मानववस्ती भोट र मुगुको मुगुभोट पनि पुग्न सके राम्रो हुन्छ । कला–संस्कृति, सभ्यता र प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि कर्णालीको परिचय गरिब, अशिक्षित, अभाव अनि विकटको रुपमा प्रचार छ । तर यथार्थमा कर्णालीमा परम्परागत परिचय बदल्नका लागि कर्णालीसँग धेरै सम्भावना रहेको छ । पर्यटन उद्योगमार्फत भएका स्रोत र साधनलाई आम्दानीको माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने सम्भावना धेरै छन् ।
जैविक विविधताका दृष्टिकोणले कर्णाली प्रदेश घुमफिरका लागि धेरै पर्यटकहरुको रोजाइमा पर्दछ । गर्मी हुनेदेखि बाह्रै महिना हिउँ रहने क्षेत्र कर्णालीमा पाइन्छ । एउटै नदी हुम्ला कर्णाली र मुगु कर्णालीको नामले चिनिन्छ । नेपालमा पाइने स्याउमध्ये बढी गुलियो स्याउ कर्णालीको जुम्लामा मात्र पाइन्छ । रातो मार्सी धान त जुम्लाको पहिचान नै भएको छ । जुम्ला पुगेपछि रातो मार्सीदेखि कागुनोसम्मका परिकारमा स्वादका पारखी पर्यटकहरु रमाउछन् । अर्कोतर्फ कर्णालीमा उत्पादन हुने लट्टेदेखि सिमीसम्म, मकैदेखि कोदोसम्म र फापरदेखि जौसम्म, आलुदेखि पिँडालुसम्म, स्याउदेखि जडीबुटीसम्म अर्गानिक खेतीले पर्यटकहरु रमाउँछन् । कर्णालीमा के उत्पादन हुँदैन ? यस्तो विविधता संसारमा कतै छैन भन्दा पनि हुन्छ । कर्णालीमा उत्पादन हुने धान संसारकै उच्च स्थानमा फल्ने धान हो ।
कर्णालीको मुगुबाट हुम्ला जाँदा बाटोमा पर्ने चंखेली क्षेत्रमा रातो गुराँसका साथै सेतो गुराँस पनि पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । कर्णालीमा लौंठ सल्लो प्रशस्त पाइन्छ जसलाई क्यान्सरको औषधि मानिन्छ । प्रकृतिसँग रमाउने र जडिबुटीका बारेमा अध्यन गर्ने पर्यटकहरुका लागि कर्णाली प्राकृतिक संग्रहालय हो । कर्णालीमा जडीबुटीहरुमा पाँचऔंले, जटामसी र कुडकी पनि पाइन्छ । कर्णालीबाट धेरै जडीबुटी तिब्बत र भारत निकासी हुन्छन् । कर्णालीको प्रदेश हिमचितुवा, कस्तुरी, मृग, घोरल तथा डाँफेको बासस्थान पनि हो । नेपालमा पाइने ठूलो खालको जंगली मौरी अर्थात भिरे मौरी कर्णालीमा मात्र पाइन्छ । साइबेरिया र मानसरोवरबाट हिउँदमा बसाइ सरेर जाडो छल्न आउने चराचुरुङ्गीको बासस्थान हो रारा र से–फोक्सुन्डो ।
कर्णाली नेपाली भाषा र संस्कृतिको उद्गमस्थल हो । कर्णालीको भूगोल एउटा बहुसांस्कृतिक पहिचान भएको क्षेत्र हो । विविध संस्कृति र संस्कार बोकेको कर्णाली प्राकृतिक रुपले सुन्दर छ । बुद्धधर्मभन्दा अघिको बोन धर्मको उत्पत्तिस्थल पनि कर्णाली प्रदेश हो । बोन धर्मको विशेषता कालो बोन र सेतो बोन धर्म कर्णालीको डोल्पो क्षेत्रमा रहेको छ । त्यसैले कर्णालीमा घुमफिर गर्ने पर्यटकहरुले देशको जीवित संग्रहालय अवलोकन गर्न सक्दछन् । कर्णाली बहुपतिप्रथा भएको थलोका रुपमा समेत चिनिन्छ । मुलुकको सबैभन्दा पुरानो मानवबस्ती भएको स्थान कर्णालीमै छ । उपल्लो डोल्पो पर्यटकहरुका लागि पवित्र क्षेत्र हो । कैलाश मानसरोवर जाने बाटो हुम्लाको सिमीकोट हो । नेपालको सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम पनि हुम्लाको सिमकोट नै हो । विश्वकै उच्च स्थानमा रहेको उच्च हिमाली पद मार्ग अर्थात् ग्रेट हिमालय ट्रेल कर्णालीमै पर्दछ ।
हुम्लाको लिमी गाउँ अद्वितीय एवम् आश्चर्यचकित तुल्याउने स्थान हो । हुम्लाको खगाल गाउँस्थित तातोपानीको खोला सम्भवत नेपालकै सबैभन्दा ठूलो खोला हो । हुम्लाको लिमी गाउँमा रहेको हल्जी गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ । लिमी नेपालकै उच्च भागमा रहेको बस्ती हो । हुम्लाको लिमी उपत्यका सिमिकोटबाट करिब एक हप्ताको पैदल यात्रापछि लिमी उपत्यकामा पुग्न सकिन्छ । पर्यटकहरुका लागि ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा मुख्य आकर्षणका केन्द्रविन्दु बन्दछन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति लिमी उपत्यका अन्य आकर्षण हुन् । लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायतका वस्तु पर्यटकहरुले अध्यन अवलोकन गर्न सक्दछन् ।
सरकारले सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय क्षेत्रमध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटनको गन्तव्य हो । रारा ताल सबै पर्यटकहरुलाई रोजाइको गन्तव्य पनि हो । सुर्खेतबाट निजी अथवा सार्वजनिक सवारी साधनको प्रयोग गरेर रारामा पुग्न सकिन्छ । रमाइलो र सजिलो यात्राका लागि स्कारपिओ, सुमो र बाइक निकै उपयोगी हुन्छ । सुर्खेतदेखि राराको यात्रामा दैलेख, कालीकोट र जुम्लाको प्राकृतिक सम्पदाको अवलोकन गर्दै पुग्न सकिन्छ । कालीकोटको नाग्मादेखि रारातालसम्म पूरै बाटो कच्ची छ । रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवं नेपालकै सबैभन्दा ठूलो ताल हो । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ । १ सय ६७ मिटर गहिरो ताल वरिपरि जंगलले घेरिएको छ । त्यहाँ रारा राष्ट्रिय निकुञ्जसमेत अवलोकन गर्न सकिन्छ । राराको स्वच्छ पानीमा आकाशको छायाँका कारण गाढा निलो देखिन्छ । ताल वरिपरि घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण अनुपम देखिन्छ ।
डोल्पाको त्रिपुरासुन्दरी बाह्रै महिना घुमफिरका लागि उपयुक्त स्थान हो । तर त्यहाँ पुग्न खर्चका हिसाबले निकै महँगो पर्न जान्छ । सुर्खेत र नेपालगञ्जबाट हवाई यात्रा गरेर मात्रै शे–फोक्सुन्डो पुग्न सकिन्छ । समुद्री सतहबाट ११ हजार ८ सय फिट उचाइमा रहेको शे–फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो । जुफालसम्म हवाई यात्रापछि करिब १० किलोमिटरसम्म गाडी वा मोटरसाइकलको यात्रामा भेरी र फोक्सुन्डो नदीको दोभान–सुलिगार्ड सांगटा, नाउर हुँदै करिब ३ दिनमा शे–फोक्सुन्डो ताल र राष्ट्रिय निकुञ्जमा पुग्न सक्न सकिन्छ । शे–फोक्सुन्डोको यात्रामा त्रिपुरासुन्दरी नगरपालिकाको टाँके डाँडामा रहेको प्रसिद्ध शक्तिपीठ श्रीबाला त्रिपुरासुन्दरी भगवतीको पनि दर्शन गर्न सकिन्छ । उच्च हिमाली भेग, माथिल्लो डोल्पाका फाँटहरु सधैंका लागि पर्यटक लोभ्याउने स्थान हुन् । माथिल्लो डोल्पा छुट्टै संसार जस्तो ठाउँ छ । डोल्पाका सबै क्षेत्रमा पुग्ने बित्तिकै पर्यटकहरुले स्वर्गीय आनन्दको अनुभूति गर्दछन् ।

कर्णालीको आभूषणको रुपमा रहेका से–फोक्सुन्डो, राराताल, सिंजा उपत्यका र चन्दननाथ, कालीकोटको रास्कोट, पचाल झरना, दैलेखको ज्वालामुखी, दुल्लु दरवार, पञ्चदेवल, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डे दह, सुर्खेतको काँक्रेविहारलगायतका पर्यटकीयस्थल हुन्

पर्यटकहरुका लागि कर्णालीका गन्तव्यमध्ये कुपिन्डे दह अर्को उत्कृष्ट गन्तव्य हो । सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह प्रदेश राजधानी सुर्खेतदेखि करिब ३ घन्टा गाडीको यात्रामा पुग्न सकिन्छ । प्रकृतिको अनुपम सुन्दरता र कम खर्चिलो भएका कारण घुमफिरको लागि कुपिन्डे दह धेरै पर्यटकहरुको रोजाइमा पर्दछ । सुर्खेतमा पर्यटकहरुलाई घुमफिर गर्नका लागि देउती बज्यै र काँक्रेविहार चर्चित पर्यटकीय क्षेत्र हुन् भने मदन–आश्रित पार्क, गिद्धेडाँडा, जाजुरा दह, गुप्ती मादले गुफा र शिव गुफा नयाँ पर्यटकीय स्थलमा पर्दछन् । काँक्रेविहार वीरेन्द्रनगरदेखि करिब २ किलोमिटर टाढा रहेको छ । वीरेन्द्रनगरको प्रवेशद्वार नजिकै देउती बज्यैको मन्दिर छ ।
दैलेखको बहुचर्चित पञ्चकोशी ज्वाला क्षेत्र र कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु क्षेत्र दैलेख जादा पुग्नै पर्ने स्थल हुन् । अहिले पञ्चकोशी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खनन् कार्य पनि भएको छ । दैलेख धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । सुर्खेतदेखि बस यात्रामा साढे ३ घन्टामा दैलखेको रानीमत्ता गुराँसेलेक हुँदै सदरमुकाम पुग्न सकिन्छ । कर्णाली प्रदेशमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, रुकुम, जाजरकोट, दैलेख र सुर्खेत रहेका छन् । भौगोलिक सुगमताका हिसाबले रुकुम, जाजरकोट, दैलेख र सुर्खेत पर्यटकहरुलाई घुमफिर गर्न सजिलो हन्छ । तर प्राकृतिक सम्पदाको अवलोकन गर्न र हिमाली ताल तलैया र कर्णाली सभ्यताको अध्यन अवलोकन गर्न भने जुम्ला, हुम्ला, डोल्पा र मुगु पुग्नै पर्ने हुन्छ । कर्णाली प्रदेश कर्णाली नदी र भेरी नदीले कतै मध्यभाग र कतै सीमा भएर बगेको छ ।
कर्णाली प्रदेशमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकले कर्णाली प्रदेशमा अत्यधिक घुमफिर गरेका छन् । भौगोलिक विकटताले गर्दा पर्यटन विकासका लागि भौतिक पूर्वाधार बढाउँदै उत्पादनमा आत्मनिर्भर बनाउनुपर्दछ । प्रदेश सरकारले अब जडीबुटी प्रशोधन र फलफूल उत्पादन तथा पशुपालनको विकासलाई मुख्य लक्ष्य राखी त्यही अनुसारको कार्यक्रम र बजेट निर्माण गर्नु पर्दछ । पर्यटकका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पदमार्ग, सडक यातायात, होटेल होमस्टे तथा सुरक्षाजस्ता आधारभूत कुरामा विकास हुनुपर्दछ । कर्णाली प्रदेशमा रहेका पर्यटकीय स्थलसम्मको यात्रा निकै कष्टकर रहेकाले पनि एक पटक पुगेको व्यक्ति दोस्रो पटकको यात्राका लागि कर्णाली तिर जान मन गर्दैनन् । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्ग होस् अथवा छिन्चु जाजरकोट हुँदै डोल्पा पुग्ने भेरी करिडोरको सडकलाई स्तर उन्नति गर्नुपर्दछ । निर्माणाधिन सडकका पुल चाडै निर्माण गर्नुपर्दछ ।
विशेषगरी कर्णाली प्रदेशको सबै भूगोल नै पर्यटनका लागि गन्तब्य हुन् । अब पर्यटकहरुलाई सुर्खेतबाट सल्यान, रुकुम, जाजरकोट हुँदै डोल्पा फोक्सुन्डोबाट हुम्लाको सिमिकोट, मुगु रारा हुँदै खस सभ्यता अवलोकन गराई कालीकोट, दैलेख दुल्लु हुँदै सुर्खेत फर्काउन पदमार्ग बनाउनु पर्दछ । जस्ले गर्दा पद यात्रामा रमाउने पर्यटकहरुलाई कर्णाली प्रदेशमा भुलाउन सकिन्छ । जसबाट ग्रामीण क्षेत्रमा रहेका बेरोजगारी युवा युवतीहरुलाई रोजगारीका साथै आय आर्जनको अवसर हुन्छ । पर्यटकहरु घुमफिर गर्दा आफू पुगेको गाउँ ठाउँबाट केही वस्तु वा सामान चिनो स्वरुप किनेर लैजान खोज्दछन् । कर्णालीमा पाइने स्याउ, आरु, ओखर, नास्पती जस्ता बजारको सम्भावना भएका फलफूलको व्यावसायिक खेतीतर्फ कृषकलाई आकर्षित गराउन पर्दछ । अनि मात्र पर्यटनको विकास हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width