फेरि चर्कियो कालीगण्डकी डाइभर्सन विवाद

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७९

चुनावमा उम्मेदवारले मतदातालाई प्रभाव पार्न, आफूतिर आकर्षित गर्न र मतदानको बेला आफूलाई भोट हाल्न लगाउन अनेक उपाय गर्दछन् । तिनीहरुले मतदातालाई लोभलालच देखाउँछन्, आश्वासन दिन्छन्, सपना बाँड्छन्, भए नभएको विकासको कुरा ल्याएर अल्मल्याउँछन् । तिनीहरुले मतदानको बेला सम्भव असम्भव जे पनि कुरा गर्दछन् । तिनीहरुले ती कुरामध्ये अधिकांश काम गर्न सक्दैनन् । त्यस्ता कतिपय कुरा तिनीहरुले बिर्सन्छन् पनि । त्यसै भएर मतदाताहरु अधिकांश उम्मेदवारसँग असन्तुष्ट छन् र क्रुद्ध छन् । यस्तै एउटा ठूलो सपना लुम्बिनी प्रदेशका उम्मेदवार एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । उनले पहिलेदेखि विवादित कालीगण्डकी डाइभर्सनको कुरा लेखेर स्थितिलाई उत्तेजित पार्ने प्रयास गरेका छन् ।

कालीगण्डकी गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको बीचमा पर्ने साझा नदी हो । साझा नदी भएकोले त्यसमा गण्डकी प्रदेशको पनि उत्तिकै हक लाग्छ । त्यसमा पनि काली गण्डकी विशेष नदी हो । यसमा शालिग्राम पाइन्छ । यो धार्मिक दृष्टिले पनि उत्तिकै महत्वको नदी हो, कसैको धार्मिक आस्थामा चोट पु¥याउनु हुँदैन । एमाले उपाध्यक्ष विष्णु पौडेलले आफू सरकारमा भएको बेला र आफ्नो पार्टीको सरकार भएको बेला आयोजनाको कार्यालय नै स्थापना गरी प्रारम्भिक काम सुरु गरेका थिए । गण्डकी प्रदेश सरकारले त्यसैबेला विरोध गरेर त्यसको काम अघि नबढाउन भनेको थियो । त्यो विषय सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चले पनि आयोजनालाई अघि नबढाउन आदेश दिएको छ । यस्तो स्थितिमा उनले चुनावको मुखमा आएर लुम्बिनी प्रदेशको केही मतदातालाई प्रभावित पार्न कालीगण्डकी डाइभर्सनको काम अघि बढाउन आफू प्रतिबद्ध भएको आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

कालीगण्डकी डाइभर्सन एउटा महत्वकांक्षी आयोजना हो । यो आयोजनाका लागि ४० अर्ब लागत खर्च हुने प्रारम्भिक अनुमान छ । त्यसबाट १ लाख हेक्टर जग्गामा सिँचाइ हुने र १ सय २६ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य छ । यो आयोजना सञ्चालन हुँदा पाल्पा, स्याङ्जा, तनहूँ र नवलपुरका १० स्थानीय तहका बासिन्दा प्रभावित हुने आकलन गरिएको छ । यसको पानी डाइभर्सन गरेर लग्दा तल्लो तटीय क्षेत्रमा पानीको सर्वथा अभाव हुने अनुमान गरिएको छ । त्यसो भयो भने धार्मिक अनुष्ठान र अन्य क्रियाकलाप गर्नलाई समेत समस्या पर्ने कालीगण्डकी किनारामा बस्ने बासिन्दाको भनाइ छ । त्यसैले उनीहरुले सुरुदेखि नै विरोध गर्दै आएका छन् । लुम्बिनीवासीहरु केहीले यसलाई सुन्दर र उपयोगी आयोजनाका रुपमा हेर्ने गरेका छन् । तर त्यो आयोजना न अहिले सोचेजस्तो सुन्दर छ, न उपयोगी नै । आयोजनाले रुपन्देहीलगायत क्षेत्रमा सिँचाइको लोभ देखाएको छ । तर यो आयोजना पूरा हुने बेलामा बुटवल लगायत ठाउँमा कंक्रिटको यस्तो घनाबस्ती हुनेछ, जहाँ खेतीयोग्य जमिन के–कति रहलान् त्यो भन्ने अवस्था छैन । रुपन्देही लगायत ठाउँमा भएको बढ्दो सहरीकरणलाई बेवास्ता गरी लागु गरेको आयोजना सफल पनि हुँदैन । यसलाई पनि आयोजनाका पक्षधरहरुले सोच्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width