कलमवीर राष्ट्रवादी तिगेला

असफल गौतम
असार २०, २०७७

पिता मिलबहादुर लिम्बू र माता टीकामाया खापुङका कोखबाट छथर जोरपाटी–१, हात्तिखर्क, प्रदेश–१ मा जन्मेका विश्वास दीप तिगेला हाल बेलायतमा बसोबास गर्दै आएका छन् । ‘जीवन काँडा कि फूल’ कृतिले पंक्तिकारलाई विश्वासदीप तिगेलासँग सानिध्यतामा पु¥यायो । नेपाली वाङ्मयको श्रीवृद्धिमा विविध कर्मले उल्लेख्य योगदान पुर्‍याउँदै आएका उनै तिगेलासँग आफ्नो कृतिमा भूमिका लेखाउने सौभाग्य मिल्यो । जसले हामीलाई अझै नजिक तुल्यायो । यसै सन्दर्भमा उनलाई संघर्षमा कलम साहित्य समाज पोखराले २०६९ चैत ३१ गते स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्‍यो । हिजो पोखराबाटै भर्ती भएर बेलायत गएपछि उनी पहिलोपटक पोखरा टेकेका थिएँ । जुन समारोहबीच आफ्नो गोप्य कुरा आधुनिक गीतिएल्बम पनि सार्वजनिक गरे । फडिन्द्र अकिञ्चन र रुपिन्द्र प्रभावीले उनको व्यक्तित्वबारे चर्चा गरे भने जमुना आरसीले रचनावाचन गरिन् । पद्यराज ढकाल, उत्तम जोशी, दुर्गाबहादुर शाह बाबा, देवी त्रिपाठीलगायतले शुभकामना मन्तव्य राखे । कृष्ण सारथिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने विष्णु वाग्लेले गरे । पंक्तिकारले उनीसँगको सानिध्यताको सामान्य चर्चा गर्‍यो । पोखरामा ब्रिटिस आर्मीका लागि अन्तिम छनौटमा परेपछि देश छाड्नुपर्ने पीडाले खुब रोएका तिगेला यसपटक पोखरामा आउँदा निकै रमाएका थिए । तर बिहान शुरु भएको कार्यक्रम सकिएलगत्तै सोही हलमा अर्को कार्यक्रम भएकाले बिहानदेखि आएका स्रष्टाको भोक मेटाउने व्यवस्था नहुँदाको पीडाले धेरै सर्जक घर पुगेर फर्केनन् । सोहीकारण तिगेलाको मनै रमाउने गरी वाक्लो स्रष्टा साधकको संख्यात्मक उपस्थिति नभए तापनि गुणात्मक उपस्थिति थियो । यद्यपि हामीले उनको योगदानको मन, वचन र कर्मले हृृदय ओच्छयाएर लोककिन्नरी हरिदेवी कोइरालाको प्रमुख आतिथ्यतामा उनलाई विशिष्ट सम्मान अर्पण गरेर विदा गरेकाले त्यसपछि उनीसँगको सानिध्यता बढ्दो क्रममा छ ।

ब्रिटिस गोर्खाका थुप्रै तन्नेरीलाई नेपाली अक्षरका माध्यमबाट उनीहरुका मस्तिष्कमा बाँझै रहेको नेपाली साहित्यको भण्डार खोनजोत गरेर उर्वर बनाउन मलजल गर्दछन् किनकि उनमा नेपाली रगत छ । नेपाली भाषा, संस्कार र संस्कृति भिजेको छ । काम र मामका लागि ज्यान परदेशमा भए पनि उनको मन आफ्नै घरदेशमा छ । गाउँघरमा बिताएका बाल्यकालका रुमानी यादको झल्को छ । त्यसैले उनका काव्यकृतिका विषयवस्तुमा कोरा कल्पना र उत्ताउलो व्याख्या भन्दा आफ्नै आँखाले देखेको र हृदयले छामेको अनुभूति पाइन्छ ।

लाहुरेको जिन्दगी सामान्य मान्छे भन्दा धेरै पृथक छ । उनीहरु कडा अनुशासनमा रहेर, कडा निर्देशनमा चल्नुपर्छ, तालिका मिलाएर जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । यसैले एउटा लाहुरे व्यक्ति साहित्य साधनामा लाग्नु आफैमा गहन कुरा हो । सामान्य परिवारमा धनकुटामा जन्मेका विश्वास बाल्यकालदेखि हुने विरुवाको चिल्लो पात भने जस्ता प्रतिभा थिए । गाउँकै घरछेऊको विद्यालयबाट औपचारिक शिक्षा आरम्भ गरेका तिगेलाले जाल्पादेवी मावि पाख्रीवासबाट एसएलसी उत्तीर्ण गरेपछि धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक पूरा गरेका थिए । त्यसपछिको स्नातकोत्तरको अध्ययन उनले बेलायत पुगेपछि क्यान्टटवरी युनिभर्सिटी बेलायतबाट राजनीति शास्त्रमा स्नातकोत्तर पूरा गरे ।

दुई छोरी, एक छोराका बाबा बनिसकेका तिगेला पेशाले बु्रनाइमा वेलायती गोर्खा सेना अन्तर्गत सन् २००४ देखि सन् २०१४ सम्म २ आर.जी. आर. एजुकेशन सेन्टरमा सेवारत रहेर हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् । स्मृति पत्रिकामा पहिलो पटक २०५० सालताका फुटकर मुक्तक प्रकाशन गरेर साधनामा लागेका थिए । उनी जागिरे जिन्दगीका साथसाथै साहित्य साधनामा लाग्ने स्रष्टा हुन् । तर उनी बन्दुक भन्दा कलमको गोली पड्काउन रुचाउने प्रतिभा भएकाले आफू पनि कलम चलाउने र चलाउनेको उजिल्यान रुचाउने व्यक्ति हुन् । सोही क्रममा उनले झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ कृति प्रकाशक गरे । यसो त उनले झमकको मात्र होइन, पूर्व अर्थ राज्यमन्त्री हरिराज सेवाको ‘अपदस्त जिन्दगी’ एकाङ्की, अमर तुम्याहाङ्गको लिम्बू भाषाको महाकाव्य ‘इमानसिंह चोत्लुङ’, राजकुमार दिक्पालको कथासङ्ग्रह ‘आतङ्कको छायामुनि’, सेसेमी सेरेङको लिम्बु भाषाको खण्डकाव्य ‘सोबुहाङ्सा’, लाकेन्द्र तिगेलाको कविताकृति ‘शृंखला’, हर्क खेवाको कविताकृति वाहिजो र वैरागी काइलाको केसामी मुन्धुम ‘नाम्सामी’ कृतिसमेत प्रकाशन गरेका छन् । उनी नेपाली र लिम्बू साहित्यसम्बन्धी वृत्तचित्र ‘मृद्धुल पदम’का निर्माता पनि हुन् ।

नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका उनी अर्काका कृति प्रकाशन गर्ने स्रष्टा मात्र होइनन् । उनी त जातीय संस्कार संस्कृतिका अन्वेषक, प्रतिभावान प्रतिभाका प्रेरणाका स्रोत र नेपाली भाषा वाङ्मयका सारथि हुन् । उनका हालसम्म ‘निष्पक्ष संविधान ः समृद्ध राष्ट्र’ (राजनीति साहित्य, २०६९), ‘देश बोक्नुको पीडा’ (नियात्रा), ‘बार्नियो परिचय’ (२०६४), ‘गृहयुद्धका पीडा’ (नियात्रा २०६१), अभियान (राजनीतिक शब्दावली २०५६) ‘परदेशीका कोसेली कविताहरु’ (२०५५), ‘गोप्यकुरा’ (२०६९) गीतिएल्बम जस्ता मौलिक काव्यकृति प्रकाशन भएका छन् । लेखन र प्रकाशक मात्र हैन, उनीसँग सम्पादनको अनुभव पनि छ । उनले २०५० सालमै ‘सौगात’ भित्तेपत्रिका र ‘प्रवासी वेदनाका आवाजहरु’, अलवा पदमसिंह सुब्बा व्यक्तित्व र कृतित्व (२०६२), हरिराज खेवा तिगेला कृति (२०७६) सम्पादन गरेका थिए । उनीसँग कृति मात्र होइन, पत्रिका सम्पादन गरेको अनुभव पनि छ । उनले इङघम चौमासिक र धनकुटा क्याम्पसको भित्तेपत्रिका ‘सौगात’का प्रधानसम्पादक, जनविश्वास साप्ताहिक धनकुटाको अतिथि सम्पादक, नेपाली साहित्य डटकम, नेपाली समाचार डटकम र द हिमालयन बर्डमा प्रधानसम्पादक, नेपाली समाचार साप्ताहिक र सोसलिष्ट युकेको सम्पादक प्रकाशक रहेर सम्पादनको कर्म गर्दै आएका छन् । यसरी साधनामा लागेका उनी सामाजिक सेवामा पनि क्रियाशील छन् । सो क्रममा उनी गैर आवासीय नेपाली संघ, प्रवासी नेपाली साहित्य समाज बु्रनाइ र फोनिज युकेको अध्यक्ष, गैर आवासीय नेपाली सङ्घको भाषा तथा साहित्य कार्यदलको संयोजक, प्रवास विशेष प्रदेश समिति जसपाको मुख्य–सचिव, धनकुटा प्रतिभा प्रतिष्ठान बेलायत च्याप्टरका संस्थापक सचिव, विश्वनेपाली साहित्य महासंघ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको महासचिव, किरात याक्थुङ चुम्लुङ बेलायतको सचिव, नेपाली साहित्य विकास परिषद् बेलायतको सहसचिव, भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

अनलाइन नेपाली साहित्य मञ्च बेलायतका संस्थापक रहेका उनी अनलाइन मिडिया एशोसिएसन अफ नेपाल, आदिवासी गीतकार समाज काठमाडौं र एम्नेष्टी इन्टरनेशनल बेलायतका सदस्य पदमा रहेर उल्लेख्य योगदान दिइसकेका छन् । यसरी विभिन्न साहित्यिक अनुष्ठान गरेवापत उनलाई मितेरी नेपाल काठमाडौंबाट सम्मान, सङ्घर्षमा कलम साहित्य समाज, पोखराबाट सम्मान (सन् २०१३), साहित्य संगालो सम्मान, (सन् २०१०), साहित्य उत्थान संघ मलेशियाबाट सम्मान (सन् २००९), अनेसास नारायण तथा जयन्ता प्रसाई वेब पत्रकारिता पुरस्कार, (सन् २००७), तेह्रथुम जनसम्पर्क मञ्च मलेसिया, ताप्लेजुङ प्रवास समिति मलेसिया र संघीय लिम्बुवान राज्य परिषद् मलेसिया सम्मान सन् २०१२ जस्ता सम्मान पुरस्कार प्राप्त भएका छन् । यसैगरी, उनले इष्ट टिमोर (१९९९) अफगानिस्तान र मेसोडोनिया (२००१) कोसभो (२००७) बाट विभिन्न पदक प्राप्त गरेका छन् । यस्तै दीर्घ तथा उत्कृष्ट सेवा पदक (२०११) र महारानी गोल्डेन जुबलि (२००२), महारानी डाइमण्ड जुबलि (२०१२) लगायतका पदक प्राप्त गरेका छन् । कुरा थोरै र काम धेरै गर्न रुचाउने तिगेलाले हालसम्म बेलायत, बेल्जियम, नेदरल्याण्ड, जर्मन, क्यानडा, अमेरिका, बेलिज, फ्रान्स, दुबइ, ओमान, अफगानिस्थान मासेडोनिया, मलेसिया, बु्रनाई, सिंगापुर, थाइल्याण्ड, पूर्वी टिमोर, अष्टेलिया, फिजी, चीन, भारत, हङकङ, जापान, फिलिपिन्स, डेनमार्क, केन्या, सर्बिया, कोसभो, बंगलादेशको भ्रमण गरेर त्यहाँको संस्कार, संस्कृति, कला, साहित्य, भाषा र भेषभूषाको अध्ययन गरेका छन् । सो क्रममा फेला परेका सत्य र तथ्यलाई लिपिबद्ध गरेका छन् ।

जिन्दगीलाई डो¥याउने क्रममा फौजी भएका तिगेलाले धेरै देशका धेरै लाहुरेका दुःख देखेका छन् । विदेशमा हुने घटना, दुर्घटना भोगेका छन् । उनीहरुका विरह, वेदना र अनुभूति राम्ररी छामेका छन् । तिनै सन्दर्भलाई लिखित दस्तावेज बनाएर पाठकको अदालत पठाएकाले उनको साहित्यसँगको अटुट नाता एकातर्फ छ भने अर्कातर्फ विश्वमानचित्रलाई आफ्नो मुठ्ठी भित्र राख्ने सीप र कला । यसैले उनी प्रविधिसँग खेल्दै र खेलाउँदै स्रष्टा साधकका सिर्जना र समाचारलाई सम्प्रेषण गर्दछन् । यसर्थ तिगेला सर्जक मात्र होइनन्, कुलश पत्रकार पनि हुन् । जसले उनको गोर्खा सैनिकको व्यक्तित्व भन्दा साहित्यिक पत्रकार व्यक्तित्वको छवि उँचो देखिन्छ । तिगेला सिर्जनशील मन भएका स्रष्टा हुन् । यस क्रममा उनी कविताका साथसाथै निबन्ध, नियात्रा र समसामयिक विषयमा कलम चलाउँछन् । जीवनयात्राका क्रममा घरदेश छोेडेर परदेश गएकाहरुलाई साहित्यका माध्यमबाट एकीकृत गराउँदै छरिएको शक्तिलाई पूँञ्जीकृत गर्दछन् । जिन्दगीमा सबै एक पटक कवि बन्छन् भनिन्छ यसैले तिगेला पनि कवि मन भएका स्रष्टा हुन् । उनले परदेशीका कोसेली प्रकाशन गरेर पाठकका अदालतमा पु¥याए । यसका साथै तिगेलाको कुशल पत्रकारको छवि प्रवासी वेदनाका आवाजहरूबाट राम्ररी मुखरित भएको पाइन्छ । यसैले उनीसित अथाह ज्ञान र अनुभवको भण्डार भएकाले जहाँ उनले जीवन भोगाइका मूल्य, मान्यता र ताजा अनुभवलाई आफ्ना काव्य कृतिमा प्रस्तुत गरेका छन् ।

सैनिक सेवा अन्तर्गतको कम्प्युटर शिक्षकको जागिरे जीवन भएकाले विज्ञान र प्रविधिको आधुनिक युगमा तिगेलाका लागि यो जागिर ईश्वरकै वरदान सावित भएको छ । उनको दैनिकी एजुकेसन सेन्टरका दिदीबहिनीलाई कम्प्युटर सिकाउनु मात्र होइन । गोराहरूलाई नेपाली सिकाउनु, पेन्सन जानेहरूलाई कोर्ष गर्न सहयोग गर्ने उनका जिम्मेवारी हुन् । तर सेकेन्ड गोर्खा राइफलको एजुकेसन सेन्टरमा व्यवस्थापकीय काम गर्दै गर्दा निस्केको थोरै फुर्सदबाटै उनी साहित्य साधनामा क्रियाशील रहन्छन् । ब्रिटिस गोर्खाका थुप्रै तन्नेरीलाई नेपाली अक्षरका माध्यमबाट उनीहरुका मस्तिष्कमा बाँझै रहेको नेपाली साहित्यको भण्डार खोनजोत गरेर उर्वर बनाउन मलजल गर्दछन् किनकि उनमा नेपाली रगत छ । नेपाली भाषा, संस्कार र संस्कृति भिजेको छ । काम र मामका लागि ज्यान परदेशमा भए पनि उनको मन आफ्नै घरदेशमा छ । गाउँघरमा बिताएका बाल्यकालका रुमानी यादको झल्को छ । त्यसैले उनका काव्यकृतिका विषयवस्तुमा कोरा कल्पना र उत्ताउलो व्याख्या भन्दा आफ्नै आँखाले देखेको र हृदयले छामेको अनुभूति पाइन्छ ।

तिगेला यथार्थवादी सर्जक हुन् । यसैले उनी जहाँ जान्छन्, जस्तो देखेँ त्यस्तै लेख्छन् । यो नै उनको लेखनको मुलभूत विशेषता हो । उनका कृति हेर्दा तिगेला युद्ध साहित्यका अनुयायी हुन् । उनको गृहयुद्धको पीडालाई युद्ध साहित्यको एक अनुपम उपहारका रूपमा लिन सकिन्छ । यो मात्र होइन आफ्नै लागि लेखेको डायरी ‘युद्ध साहित्यको सौगात’ सबैका लागि लोकप्रिय सामग्री बनेको छ । यसैले तिगेला नेपाली डायस्पोराका एक सक्रिय बौद्धिक योद्धा हुन् । सोही नाताले अनुभवजन्य तथ्यलाई अक्षरका माध्यमबाट सघाउने र अनुभूतिलाई विचारले रंगरोगन लगाउने शब्दकर्मीका रुपमा खटेर लागेका छन् । त्यो कटाइमा लाग्दा होस् या यात्रामा निस्कदा उनी जहिले पनि साथमा एउटा डायरी बोकेर हिँड्छन् । अनि जहाँ बस्छन्, त्यही लेख्छन् । जिन्दगी कहिले जङ्गलको बास जस्तो कहिले चपरी मुनीको आस जस्तो भयो होला तर उनी निरन्तर लेखिरहँदै अगाडि बढे । जिन्दगीको यात्रामा कहिले पहाडमा, कहिले समुन्द्रमा, कहिले जहाजमा कहिले रेलमा, कहिले बुलेटमा कहिले बङ्करमा भयो होला । तर उनले आफ्नो एक थान जिन्दगीको जिजीभिषाका लागि यात्रा गरेनन् । सोही सन्दर्भको यथार्थपरक सत्य र तथ्यलाई साहित्यिक कर्मको साधनासँग साक्षात्कार गराएर आफूलाई अगाडि बढाउँदै आए यसैले उनी कलमवीर राष्ट्रवादी सर्जक हुन् । जसले एकबार पाएको सुन्दर उपहार जिन्दगीको राम्ररी जतन गरेर अगाडि बढाएका छन् । यो नै एउटा सजल, सचेत र इमान्दार नेपालीको कर्तव्य र दायित्व हो ।

सन्दर्भः २०६९ चैत ३१ गते सङ्घर्षमा कलम साहित्य समाजद्वारा आयोजित स्वागत सम्मान समारोहमा प्रस्तुत परिचयको संसोधित रुप

Related News

सम्बन्धित समाचार

hero news full width