न्याय मरेको समाज

इन्दु सुवेदी पौडेल
चैत्र १०, २०७७

गाउँको बीचमा एउटा घर । घरबाट तल हेर्दा फेवाताल सुतिरहेको दृष्य । माथि फर्केर हेर्दा माछापुच्छ्रेले आशीर्वाद दिइरहे जस्तो लाग्ने । घरको पिँढीमा किताब कापीलाई साथी बनाएर बसिरहेको छोरा । छोरा छोरी आँगनमा चुंगी र ढ्याक खेलिरहेका । बा आँगनको छेउतिर बसेर चोयाको डोको बुनिरहेका छन् ।

आमा गोठतिर गाई भैंसीलाई कुँडो पानी गर्दै । बुहारी भित्र चिया खाजाको बन्दोवस्तमा ।

किताब पढिरहेको छोराको अनुहार बाले पढे र सोधे ? बाबु ! आज निकै निन्याउरो देखिन्छस् नि किन हो ? के भो बाबु ? बिरामी भ’र हो कि? कि कतै के पीर परो ? कि के कुरामा चित्त बुझेन र ? बाले एकोहोरो सोधिरहँदा छोराको मनमा च्वास्स काँडा बिझेजस्तो भयो ।

मनमनै सबै कुरा सुनायो बालाई र हेर्यो बातिर । खासै केही होइन बा । आमा गोठबाट जुठेल्ना नजिकै आएर हात धोएर धोतीको छेउले हात पुछ्दै सोधछिन् । के को गन्थन हो बाउ छोराको ? के नयाँ उद्यम गर्न ला’र हो ? तलाई उद्यमको कुरा । हेर त छोरालाई, पढ उसलाई, सधैं यस्तै हुन्थ्यो छोरो ? आमाले गहिरो गरी हेरिन् आँखामा, अनुहारमा, मस्तिष्कमा अनि शरीरमा । अनि ज्योतिषीले झैं भन्न थालिन्, बाबु, ठूलै अवसर गुमाएर पीर परेझैँ गरेको छस् त केभो ? हामीलाई भन्न मिल्दैन र ? हुनत हामीसँग केही उपाय भए पो ?

छोरो बा आमातिर फर्केर प्रश्नका पोकाहरु पस्कन थाल्छ । बा यसपालिको बर्खा नआउँदै टिनको छानो फेर्नुपर्ने भनेको है ? हाम्रो ऋण अब के कति छ नि ? बैनीलाई सानैमा उम्काइयो, घर गरेर खाने हो कि होइन ? आफ्ना खुट्टामा उभिन ज्वाइँले कत्तिको मद्दत गर्ने हुन् ? रुवाउने पो हुन् कि ? (आमा सुक्क सुक्क गर्छिन् ) बजारतिर व्यापार सुरु गरौं र आमा ? लगानी गर्न थोरै तिनैले पुग्ने छैन ? रातमाटाका दुइटा गरा फाल्न मिल्छ र बा ? छोरा छोरी बजारतिर झार्ने हो कि यतैको स्कुलमा सारम् ? (बुहारी कान टाठा पार्दै छन् भित्र ) कि विदेश हानिने हो बा ? आमा बोल्छिन् बीचमा किन बाबु हिजोसम्म त ठिकै थियौं त सबै आज एक्कासि किन यत्तिका कुराहरु गरी रच ?

के हिजोका दिनमा जागिर नगर्ने हाम्रा बाजे बराजुको जिविका चलेको थिएन र ?

बा, आमा, आज मलाई गहिरो पीर परेको छ । जुन सफलतामा गर्व गर्थें, त्यसैले चोट पुर्‍याएको छ । छोराले पढ्ला भनेर तपाइँहरु सँगै काम गर्न जान्छु भन्दा पनि लैजानु भएन । गोठ बनाउन चाहिने डाँडा भाटा लिन तपाईंहरुसँगै जंगल जान्छु , आज त शनिबार हो भन्दा पनि पढ भोलिबाट जाँच भनेर रोक्नुभयो । घरमा पूजा, सराद हुँदा स्कुल जान्न भन्दा पनि पढाइ नछुटाऊ बरु ढिलो ढिलो गरम्ला भनेर पठाउनु भयो ।

बिहान एक भारी घाँस काटेर स्कुल जान्छु भन्दा पनि बिहान काम गरेपछि दिनभरि अल्छी लाग्छ, पढाइ डिस्टब हुन्छ भनेर रोक्नुभयो । जे जति तपाईंहरुसँग थियो र मेरो पढाइलाई राम्रो गथ्र्यो ती सबै खुला गरिदिनुभयो । मैले पनि सकेजति पढेँ । बाआमाको सपना साकार पार्नु थ्यो एकातिर, भने अर्कोतिर आफ्नो जीवनको लक्ष्यमा पुग्नु थियो । स्कुलमा दोस्रो भनी सुन्नु परेन कहिल्यै । स्कुलमा सबैले उच्चारण गर्ने मध्यमा थिए । अहिलेसम्म बा आमाप्रति कुनै गुनासो छैन । म मेरो प्राप्तिमा खुसी थिए । तर आज मलाई ठूलो चोट पर्‍यो आमा । मैले फस्ट डिभिजन ल्याउनु ठीक होइन रहेछ । यदि सेकेन्ड डिभिजन ल्याएको भए आज उपसचिव सरहको जागिर पाउने थिएँ । म डिलप्रसादको भान्जा भएको भए, यमनाथको भतिज भएको भए, नेत्रनारायणको सानिमाको छोरा भएको भए, ढकप्रसादको जेठान भएको भए अनि बेलप्रसादको ज्वाइँ भएको भए त्यो जागिर सजिलै पाउने थिए । ईश्वर काकाले कापी जाँचेको भए धेरै नम्बरले अन्तर आउने थिएन, अनि मैले अरु प्रतिस्पर्धालाई जित्ने थिए । जुन कुराको लागि मेरा बाआमाले हर हमेशा त्याग गर्नुभयो, हौसला दिनुभयो, त्यही सफलताले आज जीवनको एउटा गतिमा ठेस पु¥यायो । कलमरुपी हतियारले बन्धक बनायो । किताब र कापीका अक्षरहरुले प्रश्नका ठोसाहरुले झैं बिझाइरहे । त्यसैले बा आमा दुखी छु आज । सफलताको पर्याय प्राप्ति हुन नसकेकोमा दुखी छु ।

धुवाँले रसिलो बनेको नाक मजेत्रोको छेउले पुछ्दै खाजा चिया लिएर निस्किन्छिन बुहारी । आँगनबाट बा, आमा र छोरा सर्दछन् पिढीतिर । छोरा छोरीलाई हात धोएर पिँढीमा आउन भन्छिन् बुहारी सबै जना मुखामुख हेर्छन् । भुटेका मकै आ–आफ्नै थालमा, बाक्लो मोही रातो जगबाट गिलासमा खन्याउँदै सबै जना सुरुप्प सुरुप्प पार्दै । चियाको कालो कित्ली टुटीमा हावा जान नदिएरै राखिएको छ आडमा । मकै र मोही खाइसकेपछि तिनै गिलासमा बाक्लो चिया ।

बुहारी सुरु गर्छिन् पोल्टोमा राखेका हिम्मतका पोकाहरु फुकाउन् । सबै कुरा सुनिसकें मैले । चिन्ता लिनुपर्ने अवस्था देख्दिनँ म, भलै जागिर नपाउँदाको पीडा त होला । सानो तिनो जागिर त छँदैछ नि ठूलो पो पाइएन । के हिजोका दिनमा जागिर नगर्ने हाम्रा बाजे बराजुको जिविका चलेको थिएन र ? मान्दिनँ म बजार गएर व्यापार गर्न, सबैलाई ढाँटेर, छलेर पैसा कमाउन यो सारा जग्गा जमिन बाँझो राखेर बजारमा अर्काको घरमा बसेर गमलामा र चुहिने बाल्टीमा तरकारी फलाउन । पठाउन सक्दिनँ म विदेश तपाईंलाई ।

के त्यहाँ गएर रुखमा फलेको पैसा टिपेर ल्याउनी हो र सारा आकांक्षाको बलिदान दिएर पीडाका बिटाहरू फर्काएर ल्याउन् । जीवनको सबैभन्दा ठूलो कुरा पैसा मात्र हो र ? छोरा छोरीलाई पठाउन त्यही नजिकैको सरकारी स्कुलमा । माया गरौं, सम्मान गरौं, एक अर्कामा र दिऊँ तिनीहरुलाई राम्रो संस्कारको वातावरण । जे जति क्षमता लिई आएका छन् गर्छन्, छाडिदिऊँ उनीहरुलाई खुला आकाशमा । सके गरौं समाज सेवा आफ्नै ठाउँमा । किन जानु बजार, किन जानु विदेश ? तयार छु म यही मलका डोका बोकेर तरकारी फलाउन । तयार छु म ढुंगा फोरेर धन्सार बनाउन । तयार छु म भैंसी पालेर जीविका चलाउन । पाए जागिर खान नपाए माटोसँग प्रेम गरेर सन्तुष्टि मिलाउन । त्यसैले अब चिन्ता होइन आधुनिक चिन्तन गरौं हामी गाउँमा पनि खुसी र सुखी भएर बाँच्न सक्छौं यो नयाँ शताब्दीमा पनि ।

Related News

सम्बन्धित समाचार

hero news full width