ज्येष्ठ नागरिकलाई सम्मान गरौं

मोहन थापा ‘संयोजन’
असाेज २१, २०७७

मानव सभ्यताको शुरुवातसँगै जब मान्छेले समूहलाई स्वीकार गरेर सामूहिक जीवनयापन गर्न थाल्यो कृषिजन्य वस्तुहरुको सेवन गर्दै एउटै वासमा बस्ने अभ्यास शुरु गर्‍यो त्यतिवेला देखि नै एउटा पद्धतिको विकास ग¥यो, जहाँ महिला होस् वा पुरुष कुनै एकको नेतृत्व, अभिभावकत्व स्वीकार गर्ने र सामूहिक हितमा उक्त नेतृत्वकर्ताले निर्णय लिन दिने । यस्तो पद्धतिको विकाससँगै उक्त समुहमा जो ज्येष्ठ छ उसले सामुहिक नेतृत्वदायक भूमिका निर्वाह गर्न थाल्यो । यो पद्धतिले मानव समाजमा कालान्तरमा आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखानलाई चरितार्थ गर्ने सामाजिक परम्परा, संस्कार र संस्कृति बन्यो ।

यो चाँहि प्राकृतिक नियमै हो कि मानिसलगायत यावत प्राणी एवम् वनस्पतिसमेतले समयसँगै परिवर्तित हुँदै जानुपर्छ । जन्मपछि विभिन्न चरणहरु पार गर्दै एउटा विन्दुमा पुगेर मृत्युवरण गर्नै पर्छ । मानवले आमाको गर्भबाट नै विभिन्न शारीरिक, वौद्धिक, मानसिक विकासका चरणहरु पार गरेर जीवनका हरेक आरोह–अवरोह, सुख–दुःख संघर्ष आदि अनेकन मोडहरुमा आपूmलाई स्थापित गर्छ । जब ऊ ६० वर्षको उमेर पार गर्छ त्यसपछि यस अघिका सम्बोधनहरु (शिशु, बालबालिका, केटाकेटी, तरुण–तरुणी, वयस्क, प्रौढ) मेटाउँदै ज्येष्ठ नागरिक बनाउँछ । यसरी एउटा मान्छेले आफ्नो जीवनमा ज्येष्ठ नागरिकको अवस्थामा पुग्दासम्म समाजमा आफ्नो पृथक छाप पहिचान बनाएको हुन्छ ।

अहिलेको समाज ज्येष्ठ नागरिकहरुलाई हेला गर्न, विभेद गर्न, विभिन्न लाञ्छना लगाउने, अपमान गर्ने आदि क्रियाकलापलाई प्रश्रय दिएर ज्येष्ठ नागरिकहरुको बाँच्न पाउने अधिकार नै हनन गर्नतिर समाज र परिवार अग्रसर छ

नेपालको कानुनले ६० वर्ष उमेर पार गरेकाहरुलाई ज्येष्ठ नागरिक भनेर सम्बोधन गरेको छ । ६० वर्षको उमेर पार गर्दा एउटा मान्छेले छापिएका छापाका सामग्री पढेर भन्दा जीवनका अनगिन्ती भोगाइहरुबाट धेरै ज्ञान र सीप अनुभव हासिल गरेको हुन्छ । भनिन्छ नि “कि त पढेर जानिन्छ, कि त परेर” । त्यसैले भनिन्छ ज्येष्ठ नागरिकहरु जिउँदा इतिहास हुन् । अनुभव, ज्ञान र सीपका भण्डार हुन, प्रेरणाका श्रोत हुन भनेर जुन अनुभव, ज्ञान र सीप पछिल्लो पिँढिका युवा, वयस्क सबैलाई प्रेरणाको खुराक, दृष्टान्त बन्न सक्छन् । यस्ता अमूल्य निधि, प्रेरणाका श्रोत हाम्रा ज्येष्ठ नागरिकहरुको अवस्था केहि वर्ष यता अपहेलित, अपमानित बन्दै गएको र ज्येष्ठ नागरिकहरु असहाय, अनाथ, एकल र निरश, दुर्भाग्यपूर्ण जीवन बाँच्न बाध्य हुँदै वाध्य पारिँदै गएका छन् । “मातृदेवो भव, पितृदेवो भव” भनेर दिवंगत आत्माहरुको स्मृति गरेर आशीर्वाद माग्ने, श्रद्धाभक्ति र पूजा गर्ने, धर्म र संस्कृतिको भावना हराउँदै गएको छ । अहिलेको समाज ज्येष्ठ नागरिकहरुलाई हेला गर्न, विभेद गर्न, विभिन्न लाञ्छना लगाउने, अपमान गर्ने आदि क्रियाकलापलाई प्रश्रय दिएर ज्येष्ठ नागरिकहरुको बाँच्न पाउने अधिकार नै हनन गर्नतिर समाज र परिवार अग्रसर छ भन्दा अत्युक्ति नहोला ।

आखिर किन गरिँदै छ ज्येष्ठ नागरिकहरु प्रति दुव्र्यवहार, अपमान, हेला र परिवारबाट अलग्याउनेसम्मका क्रियाकलापहरु, अब हामी सचेत नागरिक, युवा पिढीँले सोच्नु पर्ने वेला भएको छ, हामी ढिला भैसकेको छौँ । हाम्रा पुर्खाहरुद्वारा स्थापित मुल्य र मान्यता, असल संस्कार, परम्परालाई धर्म र संस्कृतिका उपयोगी उपदेशहरु र दृष्टान्तहरु पुस्तान्तरण गर्न सकेनौ सहि ढंगले, आफ्नै सन्तानलाई नैतिक दायित्व र कर्तव्यबोध गराउन सकेनौ र आज ज्येष्ठ नागरिकहरु प्रति गरिने व्यवहार नकरात्मक सोचग्रस्त बनेका छन् । यो लेखको आशय यो पनि होइन कि सबै ज्येष्ठ नागरिकहरु अपमानित छन्, दुव्र्यवहार झेल्दै छन् भन्ने तर परिवार समाजमा ज्येष्ठ नागरिकप्रतिको दृष्टिकोण फेरिएको यिनीहरु समाजमा परिवारका बोझ हुन् केही गर्न सक्दैनन्, जिद्धी, घमण्डी हुन्छन्, बच्चाहरुलाई भन्दा यिनलाई हेरचाह गर्न गाह्रो हुन्छ भन्ने मिथ्या भ्रम र नकरात्मक सोचको विकास भै रहेको तथ्य भने उजागर गर्ने प्रयास गरिएको छ ।

उमेर छिप्पिदैँ जाँदा, बढी परिश्रम, रोग, तनाव अस्वस्थ जीवनशैली, पर्याप्त पोषणयुक्त खानाको अभावका कारण मानसिलाइ छिटो बुढ्यौली लाग्छ । समाज र परिवारमा ज्येष्ठ नागरिकहरु प्रति नकरात्मक सोच र भावनाको विकास हुँदै गएको बेला राज्यले भने केही सकरात्मक काम र निर्णय गरेको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको छ भने, ज्येष्ठ नागरिक ऐन २०६३ मा ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, परिवारले पालन पोषण नगरेमा ज्येष्ठ नागरिकले उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारवाही हुने, ज्येष्ठ नागरिकको मुद्धाको सुनुवाइ छिटो हुनुपर्ने ज्येष्ठ नागरिकले आफ्नो सम्पत्ति आफुखुशी गर्न पाउने जस्ता प्रावधानहरु राखेको छ, ज्येष्ठ नागरिकहरुलाई भिक्षा मगाउन नपाउने, अपराधमा सजाय कम गरिने, सार्वजनिक सेवामा छुट दिने जस्ता केही सकरात्मक प्रावधानहरुको व्यवस्था गरिएको छ । यसैगरी केन्द्रदेखि स्थानीय निकायसम्म ज्येष्ठ नागरिक कल्याण कोष स्थापना गर्ने र ज्येष्ठ नागरिक कल्याण समितिको व्यवस्थापन गर्ने, ज्येष्ठ नागरिक हेरचाह तथा दिवा सेवा केन्द्रको स्थापना गर्ने र वृद्धहरुलाई वृद्धभत्ता उपलब्ध गराउने जस्ता महत्वपूर्ण कामहरु पनि नभएका भने होइनन् ।

फेरि पनि परिवारका, समाजका र राष्ट्रका अमूल्य निधि, पथप्रदर्शक ज्येष्ठ नागरिकहरु यी यावत सेवा र सुविधाबाट बञ्चित नै छन् । २०५१ सालदेखि दिँइदै आएको वृद्धभत्ता समयानुकुल बढोत्तरी गरिएको भएपनि वितरण प्रणाली अवैज्ञानिक, ग्रामिण क्षेत्रका वृद्धहरुलाई पनि बैंकिङ प्रणालीद्वारा भत्ता उपलब्ध् गराउँदा वृद्धहरु थप मारमा परेका छन् । लोभी पाखण्डी राष्ट्रसेवक जनप्रतिनिधीहरुका कारण भत्ता समयमा पाउँदैनन् । २०६६ सालमा सर्वोच्व अदालतबाट फैसला भै आदेश गरिएतापनि ज्येष्ठ नागरिकलाई दिने भनिएको सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट र अस्पतालहरुमा दिईने ५० प्रतिशत छुट ज्येष्ठ नागरिकले प्राप्त गर्न सकेका छैनन् ।

अक्टुवर १ अर्थात २०७७ आश्विन १५ गतेका दिन अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । आगामी दिनमा ज्येष्ठ नागरिकहरुको निवृत्त जीवन सम्मानित गर्नका लागि राज्यले निर्धारित गरेका सेवा सुविधा र व्यवहारलाई कडाईका साथ पालना गर्ने गराउने कार्य होस् । ज्येष्ठ नागरिक माथि हुने पारिवारिक दुव्र्यवहार र विभेद कम गर्न सरकारी, गैरसरकारी संस्था र स्थानीय सरकारबाट नियमित घरभेट होम भिटिज गर्ने व्यवस्था मिलाए सके पैतृक सम्पत्ति आय आर्जनका श्रोतका कारण ज्येष्ठ नागरिक माथि गरिने नराम्रा व्यवहारमा सुधार गर्न सकियोस् । घरपरिवारका सदस्य, समाजसेवी, अभियन्ताहरुका लागि तालिमको व्यवस्था गर्ने र ज्येष्ठ नागरिकप्रतिको नकरात्मक सोच र धारणालाई परिवर्तन गर्ने अभियान चलाउने र ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरी तिनीहरुको सीपको सदुपयोग गर्दै, व्यवसायिक काम होस् । मनोरञ्जनका प्रविधिहरुको व्यवस्थापन गर्ने, जीवनपयोगी आस्था र धर्म अनुसारको सामाजिक कार्यमा संलग्न गराउने कार्य गर्न सकेमा ज्येष्ठ नागरिकप्रति न्याय हुने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width