इशानेश्वर : धार्मिक आस्थाको केन्द्र

सुदीप घिमिरे
फागुन २७, २०७७

लमजुङको मध्यनेपाल नगरपालिका करापुटारस्थित इशानेश्वर मन्दिरमा ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । रातभर जाग्राम बसी उभिएर बत्ती बाल्ले चलन छ । उठेर रातभर बत्ती बालिने भएकाले ठाडो बत्ती भनिएको हो । बिहे गरेको लामो समयसम्म पनि सन्तान अझ छोरा नहुनेहरुले सन्तान प्राप्ति वा छोरा प्राप्तिको कामना गर्दै रातभर उठेरै बत्ती बाल्ने चलन अझै कायमै छ । उभिँदा असहज नहोस भनेर अडेस लाग्न मिल्ने र जस्ताका छाना सहितको स्थान पनि निर्माण गरिएको छ । बत्ती बाल्न र पूजाआजा गर्न आउने भक्तजनको सहजताका लागि यसो गरिएको हो ।

ठाडो बत्ती बाल्नेमा प्राय महिला बढी हुने गर्दछन् । बत्ती ननिभोस भनेर तेल राख्ने काम श्रीमान्ले गर्छन् । तर पछिल्ला केही वर्षयता श्रीमान्/श्रीमती दुवैले बत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । शिवरात्रिका दिन मन्दिर परिसरमा ठाडो बत्ती बाल्नेको भीड ठूलै हुने गर्दछ । सन्तान प्राप्तिको मनोकांक्षासहित व्रत, पूजा गरिने भएकाले ईशानेश्वरलाई सन्तानेश्वर महादेवको मन्दिरका रुपमा चिनिन्छ ।

ठाडो बत्ती बाल्नका लागि लमजुङ, गोरर्खा, तनहुँ, कास्की, काठमाडौं, चितवन, स्याङ्जा, नवलपरासीदेखि करापुटार आउने गर्दछन् । कोही व्यक्तिहरु भने डाठो बत्ती बालेपछि सन्तान प्राप्ति भयो भन्दै छोरा/छोरी देखाउन ल्याउने प्रचलन समेत रहिआएको छ । कतिपय भक्तजनहरु दर्शन गर्न, शिवलाई दूध र जल चढाउन, भजनकीर्तन र मेला भर्नका लागि आउने गर्दछन् ।

सन्तान प्राप्तिको मनोकांक्षासहित व्रत, पूजा गरिने भएकाले ईशानेश्वरलाई सन्तानेश्वर महादेवको मन्दिरका रुपमा चिनिन्छ

लमजुङ बेसीसहर नगरपालिका वडा नम्बर ४ की ८० वर्षीय बालकुमारी अहिले पोखरा बस्छिन् । उनलाई यो उमेरमा अझै ईशानेश्वर मन्दिर जान मन लाग्छ । उनले भनिन्, ‘छोरा भएनन् । ६ वटा छोरी छोरी भए । छोरा नभएका कारण सामाजिकरुपमा नकरात्मक व्यवहार सहनुप¥यो । छोरा हुने पर्छ, नत्र स्वर्ग तरिन्न भन्ने विश्वास थियो । त्यसैले मैले र मेरो श्रीमान्ले मन्दिरमा पुगेर ठाडो बत्ती बालेका थियौं । ठाडो बत्ती बाले सन्तान नहुनेको सन्तान हुने र छोरा नहुनेको छोरा हुन्छ भन्ने विश्वास छ । ३० वर्षभन्दा पहिलेनै हो मैले श्रीमानसँग मिलेर रातभर जाग्रामबसी ठाडो बत्ती बालेको थियो । बत्ती बालेको केही वर्षमै छोरो छारा भए । अहिले ६ छोरीहरु र ४ छोराहरु र नाति/नातिना भएका छन् । यो ईशानेश्वरकै आशीर्वाद हो जस्तो लाग्छ ।’ उनीजस्तै धेरै आमाहरुको काखमा ईशानेश्वरले भरिदिएको विश्वास छ । त्यसवाहेक सन्तानको खुसी, स्वास्थ्य र दीर्घ जीवनका लागि भन्दै दर्शन गर्नेहरु पनि हजारौं हुने गर्दैंछन् ।

यस मन्दिर करापुटारकाबीच खेतमा अवस्थित छ । प्यागोडा शैलीमा यो मन्दिर निमार्ण गरिएको छ । २०७२ सालमा आएको भूकम्पले मन्दिरलाई क्षति पुर्‍याएको थियो । मन्दिरको पूर्वमा पार्वती र गणेशका मन्दिर पनि छन् । यसको स्थापना कहिले भयो । कसले गर्‍यो भन्ने ऐतिहासिक तथ्य फेलापरेको छैन । केही तथ्य र किम्बदन्तीलाई आधार मान्दा करिब ६ सय वर्ष पहिले किसानले खेतमा धानको बिऊ राख्न जोत्दै गर्दा शिवलिंग भेटिएको भनाइ छ । हलोको चोटले उक्त शिवलिंगबाट रगत बग्यो । त्यही बेला जोतिरहेका एक हल गोरु र हलीको जलेर निधन भएको थियो । फालीले जोतिएका कारण शिवजीको लिंग चोइटिएको हो भन्ने विश्वास छ । सोही समयदेखि अर्थात् विस १४१४ मा लमजुङका तत्कालीन राजा वीरनारायण शाहले मन्दिर निमार्ण गरी पूजाआजको व्यवस्था गरेको बताइन्छ । पूजा गर्न र मेलामा आउने पाहुनाहरुलाई खानपानको व्यवस्था गर्न सोही समयदेखि सदाव्रत गुठी स्थापना गरेको पाइन्छ । मन्दिरमा गुठी राखी देवी देवताका नाउँमा र तीर्थाटनमा आएका योगी, साधुहरुलाई सुविधा पुर्‍याउन सदाव्रत दान गर्ने परम्परा लमजुङका तत्कालीन शाहवंशीय राजाहरुले गर्ने गरेको तथ्य भेटिएको छ । मन्दिर नजिकै रहेको सदाव्रत शिलामा लेखिएको तथ्यले के प्रष्ट हुन्छ । हाल ईशानेश्वर मन्दिरका नाउँमा रहेको गुठीको परिचालन प्रभावकारी ढंगबाट परिचालन हुन नसकेको गुनासो समेत सुनिँदै आएको छ ।

त्यसैगरी पौराणिक कथालाई आधार मान्दा श्रीस्वस्थानी व्रतकथामा अध्याय १० मा हालको ईशानेश्वर महादेव मन्दिरमा सतीदेवीको दायाँ तिघ्रा पतन भएको वर्णन गरिएको छ । त्यसैले मन्दिरमा पूजाआजा सत्ययुग देखिनै भएको मान्न सकिन्छ । त्यसैले पनि यस पुण्य भूमिमा ताराकेश्वर महादेव उत्पन्न भई, इशानकोणमा अवस्थित रहेकाले ईशानेश्वर महादेवका रुपमा रहेको पौराणिक मान्यता छ ।

डाक्टर डम्बर अधिकारी आफ्नो पुस्तक ‘लमजुङको पर्यटनको इतिहास’ भन्ने पुस्तकमा ‘लमजुङका राजा यशोव्रम्ह शाहलाई कास्कीबाट लैजादै गर्दा ईशानेश्वर मन्दिरलाई दाहिने पारी मादी नदीको तटमा रहेको अग्लो ढुंङामा हातको पञ्जा लगाएको सन्दर्भ उल्लेख गरेका छन् । यसको अर्थ ढुंगा अटल रहने भएकाले शासन पनि अटल रहिरहने छ भन्ने विश्वास त्यस बेलाको हो । समग्रमा डा. अधिकारीले नेपालको एकीकरण हुनुपूर्व र पछि पनि ईशानेश्र मन्दिरमा नियमित पूजा गर्ने परम्परा रहिआएको बताउँछन् ।

यिनै तथ्यहरुलाई आधार मान्दा परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको छ । हरेक वर्ष शिववरात्रिमा भव्य पूजाआजा र मेला लाग्ने गर्दछ । स्थानीय सामानहरुको किनबेच पनि हुने गर्दछ । यही भूमिबाटै देउबहादुर दुराले ठाडो भाकाका गीतलाई स्थापित गरेका थिए । उनको उनुकरण गदै कास्कीका पञ्चसुब्बा गुरुङले ठाडो भाका सिकेका थिए । पछि सोही भाकालाई लमजुङका भेडीखर्के साइँला र तनहुँकी भक्ति दुराले जीवन्त प्रदान गरेका थिए । त्यसवाहेक सामूहिक व्रतबन्ध पनि गरिन्छ ।

कोरोना संक्रमणले देशको अर्थतन्त्र थलिएका बेला यस्ता धार्मिक पर्यटन आर्थिक विकासका लागि कोसेढुंगा सावित हुन सक्छन् । कोरोना संक्रमणबाट बच्न न्यूनतम सुरक्षाका मापदण्डहरु कडाइका साथ लागु गर्दा भक्तजनहरुको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्नेछ । त्यसका लागि अनिवार्य मास्कको व्यवस्था, हात धुने स्थानहरुको व्यवस्था, बत्ती बाल्नेहरुको लागि उपयुक्त स्थानको व्यवस्था गर्नु जुरुरी देखिन्छ ।

ईशानेश्वर महादेदवको दीर्घकालीन विकासका लागि स्थायीय नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारले धार्मिक प्रर्यटन प्रबद्र्धनमा विशेष जोड दिनुपर्ने देखिन्छ । ईशानेश्वरदेखि पोखरा वा देशका महत्वपूर्ण सहरहरुबाट सातामा वा महिनामा नियमित धार्मिक बस सञ्चालन गर्न सके थप पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ । मन्दिरको गुठीको परिचालन प्रभावकारी ढंगबाट सञ्चालन हुनुपर्ने स्थाानीयको माग समेत सुनुवाई गर्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width