गीता, सुगीता, कर्तव्या : नगरौं आत्महत्या

मदन भण्डारी मदन भण्डारी
असाेज ३, २०७७

‘मनोहरा खोलामा बाध्य भएर हाम फाले सानुबहादुर कार्की
आफैं आगो लगाएर डढे सिद्धार्थ आउजी
क्वारेन्टाइनमै आत्महत्या गरे रमेश धामी
रुखमा पासो लगाई प्राण त्याग गरे देवबहादुर
घरकै कोठामा झुण्डिएर रुदै हारिन् सिर्जना बस्याल
यस्तै–यस्तै थुप्रै नेपाली मनहरु हार्दै जीवन छोड्छन्
घरबाट, हस्पिटलबाट र क्वारेन्टाइनबाट ।’

‘जनमत’को २७३ औं अंकमा मोहन दुवालले ‘नेपालको क्वारेन्टाइन’ कवितामा यही लेखेका छन् । हामीले थाहा पायौं, एकजनाले सन्तान र श्रीमतीको हत्या गरेर आत्महत्या गरेछ । यो शृङ्खला बढ्दो छ । आठ महिने लकडाउनका बेला नेपालमा तीन हजार बढीले आत्महत्या गरेको समाचार मिडियामा आएका छन् । यो भीरैभीरको देशमा पीरैपीरका जनताले ०७७ भदौको अन्त्यतिर गीताजीको आत्महत्याको दुखद समाचार सुन्नु पर्‍यो । गीताजी महान सम्भावनाकी शक्तिशाली कवि हुनुहुन्थ्यो । स्वरको मिठासले कविता वाचन र गीत गायनले प्रशस्त प्रशिद्धि कमाइसक्नुभएको थियो । गलामा रुद्राक्षको माला, शान्त र सौम्य । सोँच्न सकिन्छ, उहाँले आत्महत्या गर्न नपर्ने !

गीताजी बालबालिका, गुरुजन र इष्टमित्रप्रति अत्यन्त आदरभाव राख्नुहुन्थ्यो । आफ्ना गुरु डा. रामप्रसाद ज्ञवालीको सम्मानमा उहाँले लेख्नु भएको कविता रामबहादुर पहारीले मिठो लोकलयमा गाएका छन् :

‘बन्दै मंगल गान तालहरुमा डुल्दै छ तिम्रो मन
बाधा विध्न कतै नहोस् हृदयमा मेरो छ यै कामना
छर्दै मगमग वासना कुसुमझैँ वैशाखझैँ भैदिनु
टल्केका घरझैँ बनेर युगका तारा बनि चम्किनु !’

उहाँको आफ्नै हृदयमा चाहिँ कस्तो बाधाविध्न पर्‍यो होला ? डलर खेतीको राजनीति गर्नेहरुबाट यसको प्रत्युत्तर सम्भव छैन तर पढ्ने–लेख्नेहरुले यो रहस्य उद्घाटनको प्रयत्न गर्नैपर्छ । अरुलाई शुभकामना व्यक्त गर्ने गीता आफै युगको एउटा छुट्टै तारा बनेर आकाशमा टाँस्सिनु भयो । हामी नौलाख तारामध्येको एउटा विशेष ताराका रुपमा गीताजीलाई ठम्याउन सक्छौं । सौतेनी आमाको हेलाले धु्रव तपस्याले चम्केका थिए । गीताजीको तपस्या सानो थिएन । अनुपम सुन्दरी गीता साहै्र मीठो स्वरले गाउनु हुन्थ्यो । स्वस्थ समाजको निर्माणमा उहाँ निर्धक्क लेख्नु हुन्थ्यो । रवि लामिछानेको कामलाई उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

‘सत्य बोल्ने सधै
असत्य बीचको पर्दा खसालिदिने…!’

रवि लामिछाने अहिले ठीक छन्, पछि बेठीक पनि हुन सक्लान् तर गीताजीले रविको प्रशंसा गर्नु उहाँको आफ्नै आत्माको आराधना हो । अरुलाई शहिदी मार्गमा हिँडाउने नेता गद्दार भएपनि शहीदहरु महान् छन् ।

शरीर र आत्मा बीचको तहलाई मन भनिँदो रहेछ । मान्छेमा मनको पीडालाई शान्त गर्न आत्महत्याको भूत चढ्छ । आत्महत्याको कारण रिस हो, रिसको कारण हार हो । थाप्ले ठेकेदार गोरो, मोटो र बलियो थियो । उसले मलाई छिर्के हानेर लोटायो । म चिप्लिएर झनै नराम्ररी पछारिएँ । मेरै लठ्ठीले उसले मलाई बजायो । हारको पीडामा मैले आत्महत्याको विचार लिएँ । संयोगको भेटमा त्यो विचार कर्तव्यालाई सुनाएँ । जिउँदी शहीद कर्तव्याले ‘शत्रूलाई त केही गरेर देखाउनु पो पर्छ !’ भनिन् । मैले आत्महत्याको आँट गर्न सकिनँ ।

पुडासैनीले आफ्नै श्रीमती र प्रेमीकालाई बेइज्जतीमा पारेर रविलाई फँसाउन आत्मघात गरे । पुडासैनी प्रतिनिधि पात्र मात्र हुन् । यस्तै पुडासैनी रविलाई हत्केलाले छोप्न खोज्छ, पैसा कमाउँछ र परपीडामा रमाउँछ । रविलाई फसाँइँदा गीता मन रुन्छ र अन्यायबिरुद्ध कविता लेखिन्छ ।

ओशो भन्छन्, ‘आत्महत्या जीवनबाट थाकेर गरिँदैन, जीवनमा मनको इच्छा पूर्ति नहुँदा गरिन्छ । इच्छालाई आवश्यकतासँग दाँज्नुपर्छ । इच्छा कहिल्यै पूरा हुँदैन । आवश्यकता पूर्ति गर्न सकिन्छ ।’ यति कुरा गीताजीले नबुझेको हुन सक्दैन । यही तीजको थोरै दिन अगाडि (०७७/०४/०५ मा) उहाँले ‘बालव्यथा’ कविता लेखेर सुनाउनु भयो ।, तीजमा तड्पिनुपर्ने नानीको व्यथालाई यसरी मुखरित गर्नुभयो :

‘रम्दा हुन प्रिय ती सखी सब मिली यो तीजमा साथमा
हे पंक्षी सब ले न है खबर त्यो उड् जा तँ आकासमा !’

आकासमा उड्ने उहाँको आकांक्षा पूरा भएन । यो निर्दयी समाजले उहाँलाई बाँच्नसम्म दिएन ।

पीडाको आवेगलाई उहाँले खप्न सक्नुभएन । मैले मनको उद्धेलन खप्न सकिनँ । साथी भेट्न हिँडेँ । असफल गौतमले सञ्जालमा शोकको मार्मिक मुक्तक राखेछन् । त्यो देखाउँदै भने, ‘जरोटुप्पोबाट श्रद्धाञ्जली सभा राखौँ है ?’

भदौ मसान्तको दिन पोखरा रोयो । बिहानैदेखि अविराम पानी प¥यो । साँझपख थोरै विधो भयो । म घरबाट निस्केँ । महेन्द्रपुलमा रश्मि भेटिइन् । कविता लेख्छिन् । हिस्सी परेकी युवती, पार्टीमा राम्रै हैसियत राख्छिन् । मैले गीताको प्रसङ्ग कोट्याएँ ।

‘अपराध नगरी मान्छेले आत्महत्या गर्छ ?’ तिनी च्याँठिइन् । म छुट्टिएँ । नरेन्द्रजङ् पिटरले लेखेछन्, ‘आदर्शको पतन र मौनता !’ विजयसँग कुरा गर्दै अर्हत स्वामीले भने, ‘न्यूटन वा आइन्सटाइनकै अनुसार पनि हामी बालुवाका कण मात्रै हौँ तर घमण्डहीन भएर निरन्तर सत्यापनमा लाग्नुपर्छ !’ चोककै विश्रामस्थलमा आध्यात्मिक चिन्तनका गुरु भेटिए । हेला गर्नेहरु उनलाई आचिगुरु भन्छन् । लामो टुप्पी, निधारमा चन्दन लेपन । सफा स्वेत वस्त्र । बेन्चीमा बस्दै मैले सोधेँ, ‘गुरु, गीता भट्टराईको आत्महत्यालाई कसरी हेर्ने ?’

गुरुले संस्कृतको शिलोक फलाके :
‘लोकेषु निर्धनँ दुःखी/ऋणकर्ता तथस्परम्
बाध्यम् दुःखी रोगग्रस्तो/तेज्यो दुःखी कुभार्यता !’
‘मतलब ?’ मैले सोधेँ ।
‘गरिब, ऋणी र रोगीभन्दा पनि दाम्पत्य जीवन दुःखद हुनु सबभन्दा ठूलो दुःख हो !’

मैले खालि भिआइपी एकल महिला खोजेर हिँड्ने थाप्लेलाई सम्झेँ । ऊ सिआइएको फुच्चे एजेन्टलाई बोक्छ र एमसीसीको बिरोध सभामा ङिच्च गर्दै टुप्लुकिन्छ । मैले शान्ति, सोम र ओमको आत्महत्यालाई सम्झेँ । गीता महात्म्यको एउटा श्लोक सम्झेँ

‘गीता, सुगीता, कर्तव्या किमन्यैः शास्त्रविस्तरैः
या स्वयं पद्यनाभस्य मुखपद्याद्विनिःसृतमः!’

भदौरे कुकुर, पीचको बीचको गोरु वा खातेनी फकाउने खातेभन्दा नीच स्तरको प्रेम प्रदर्शन गर्ने थाप्ले जस्ता ठालूले व्यभिचार बढाए । दाम्पत्यलाई कटु पारिँदा समाज भाँडियो । सरकारको लकडाउनले जीवनप्रतिको मोह झनै घटेको छ । राबो, उनैका साथीहरु थाप्लेलाई ‘राष्ट्रियबोके’ भन्छन् । मर्नुभन्दा बहुलाउनु निको, मलाई झरीमा रुझ्दै महेन्द्रपुल चोकमै उभिएर चिच्याउन मन लाग्छ :
‘गीता, सुगीता कर्तव्या : नगरौं आत्महत्या !’

हाम्रो सुझाव