लोपान्मुख घुमाउने घर र गाउँका कुरा

सुरेन्द्र थापामगर
जेठ २०, २०७८

‘घुमाउने घरको सुहाउँदो झ्याल छैन बैमानी भेनाले लैजान बेर छैन’ हिजो गाउँघरतिर यस्ता गीतहरु वनपाखामा सुनिन्थे । गाउँघरमा खरले छाएको घुमाउने घर यत्रतत्र देखिन्थ्यो । रातो माटोले चिटिक्क लिपेर कमेरो लगाएको आँखी झ्याल भएको घुमाउने घर साँच्चै मनमोहक थियो । हाम्रा पुर्खाको सिपले आज्र्याको घुमाउने घरको धुरी र पाली करिब करिब जोडिएको हुन्थ्यो । पिंढीमा ढिकी, झाँतो (जाँतो), कपडा राख्ने झोक र गुन्द्री, चकटी, थर्की पाहुना पर्खेर बसेका हुन्थे । जाँतो पनि मकै पिँध्ने एउटा, कोदो, दाल पिँध्ने अर्को जाँतो हुन्थ्यो । आँगनमा मकैको सुली, घरै मुन्तिर गाईभैंसीको गोठ, गोठैनेर पराल, नलको टौवा, आँगनको अलिपर तगारो हुन्थो । आँगनमा बिस्कुन सुकाएको बलेनीका गाग्री ताउलामा पानी भरिएको, आँगनको डिलमा ढुकुर, डांग्रे, काग चारो खोज्न आएको रमाइलो क्षण गाउँमा जन्मने जो कोहीलाई पनि सम्झना छ होला । आजकल घुमाउने घर गाउँबाट विस्तापित भएको छ । घर विस्तापित भएसँगै त्यस्ता घर बनाउने सिकर्मी डकर्मी पनि हराउँदै छन् । अब खरको घर छाउने कला हरायो । ढंगा माटोको ठाउँमा सिमेन्ट र रडका प्रयोग हुन थाल्यो । घरका डिजाइनहरु परिवर्तन भए । खरको छाना उधारेर टिनको छाना हाल्नेले गाउँघरमा सजिलै छोरी (पत्नी) पाउने दिन पनि थियो एक समय । घुमाउने घरको आँटीमा चित्राले बुनेको भकारी भरी धान, कोदो, अँगेनामा कराइ भरी दूध, गग्रेमा पानीको गाग्री, हाप्रेमा बेसार, ढुंग्रोमा दही, काठको तखतामा टिलिक्क पारेर राखेका चरेशका भाँडावर्तनसँगै, सिकुवामा बसेर भान्सा गरेको हामीमध्ये कतिलाई याद छ कुन्नि? हिजो घुमाउने घरमा पिँढीमा लस्करै भुत्तो ओढेर गुन्द्रीमा सुतेको आनन्द आज एकलाखको खाटले के दिन सक्थ्यो । हिजो घर घरमा बुहारीहरु बिहानै उठेर दैलो लिप्ने गर्नुपथ्र्यो । सबेरै उठेर दैलो लिप्ने बुहारी लच्छिनकी हुन्थिन् भने घाम लागिसकेपछि अथार्त ढिलो उठ्ने बुहारीलाई अलच्छिनी भनिन्थ्यो ।

समयको क्रममा घुमाउने घरमात्र होइन, हाम्रा धेरै चिलहरु विस्थापित हुँदै छन् । गाउँमा गाईडिँगालाई पानी खुवाउने पोखरी हुन्थ्यो । दिनभरि गाईवस्तु चराएर पोखरीमा पानी खुवाइ घर लाने चलन थियो । गाउँको बीचमा रहेको पोखरीले गाउँ नै रसिलो बनाएर खेतीयोग्य बनाउने कुरा वैज्ञानिकहरु आज बताउँछन््। आजकल पोखरी बिस्तारै हराउँदै छन् । हिजो गाउँघरमा आजकलजस्तो प्याट्ट गर्दा आगो बल्ने ग्याँस चुलो थिएन । आगो सल्काउने सल्काउने लाइटर, सलाई थिएन । वल्लो घर पल्लोमा आगो माग्न जानुपर्थो । अँगेनामा मुढोको कोइलालाई खरानीले पुरेर आँगो राख्ने चलन थियो । छिमेकी घरबाट आगोको कोइला देउरी अथवा झुम्रोमा आगो ल्याएर पालीको खरले सल्काउनु पथ्र्यो । आजकल ग्यास सहरबजारमा चुलो बालेर खाने ज्यानहरु खरको छाप्रोमा बसेर दाउराले पकाएको खान छुटृै इज्जत ठान्छन् । लाग्छ, हाम्रो पुराना संस्कारहरु आनन्ददायी र स्वास्थ्यवद्र्धक पनि रहेछन् । युग फेरि पुरानोतिर फर्कदै छ । आगोको कुरा सम्झँदा हिजो भुसा खाने चलन थियो । भुसा खाने अम्मलीहरुले चक्मा बाल्ने गर्थे । दर्शनीढुंगामा फलामको टुक्राले रगटेर केराको झुसमा च्याउको टुक्रासँगै राखेर आगो बाल्ने गर्थे । प्राचीन समयका मान्छेले विकासक्रममा आगोको उत्पति यसरी नै गरेका थिए भनेर बुझन सकिन्छ । त्यतिबेला गाउँमा पत्थर राखेर बाल्ने लाइटर लाहुरेहरुले ल्याएका हुन्थ्ये । साँच्चै त्यतिबबेला गाउँमा लाल्टिन, लाइट र लाइटर हुनेको सान बेग्लै थियो । उज्यालोको कुरा गर्दा गाउँमा लाल्टिन पछिमात्र प्रवेश गरेको थियो । विवाह उत्सवमा मेन्टोल बालेर झलमल्ल उज्यालो बनाइन्थो लाहुरुहरुले चुरोट खान दिँदा लाइटर बालेर चेलीहरुलाई दिन्थे । चुरोट दिने तरिका पनि बडो विचित्रकै थियो । देब्रे हातले दाहिने हातको पाखुरामा टेको लगाएर दाहिने हातको चोर औंला र बुढी औंलाले चुरोट समातेर सिगरेट खान दिने चलन कम्ती रमाइलो थिएन । चेलीहरुले धेरै मान खोजर लामो समय लगाएर मात्र ग्रहण गर्थे । यता दिनेको हात थाकिसकेको हुन्थ्यो । मजेत्रोले मुख छोपेर लजाउँदै चुरोट लिएको दृश्यभित्र नारीको सौन्दर्य लुकेको हुन्थ्यो । मुस्लिम समाजको घुम्टोजस्तै हाम्रो समाजमा पनि नारीले हतपत अनुहार नदेखाउने चलन थियो । टाउकोमा पूरै ढाक्ने गरी पछ्यौरा ओढ्ने चलन थियो । यसको अलवा बुहारीले जेठाजु ससुरालाई खाली टाउको नदेखाउने चलन थियो । यो चलन नारीप्रतिको दमन नै हो भन्न सकिन्छ ।

हाम्रा परम्परगत ज्ञान पश्चीमाहरुले रुढीवादी भन्दिएपछि आँखा चिम्लेर मिल्काइदियौं, तिब्बतले आधुनिकताको नाममा त्यहाँको पुराना चिजवस्तु भत्काएन

अहिले पनि यो चलन प्राय सबै जातजातिमा छ ।अहिले पनि शीलसुवास र संस्कारीको नाममा महिलालाई दमन गर्ने हाम्रा हजारौं यस्ता हत्कण्डा छन् हाम्रो समाजमा ।

गाउँमा पर्म लाउने चलन थियो । पाखुरा साटसाट गर्ने चलन मित्रताको अनुपम नमुना हो । गाउँमा पाखुरामात्र होइन, मिलेर बाँडीचुँडी खाने चलन छ । मोही पारेर वल्लोघर पल्लो घरमा दिने चाडपर्वमा मीठो मसिनो पकाएको बाँडेर खाने कति मिठो चलन सहरमा आउँदा कता हरायो कता । हिजोसम्म गाउँघरमा भेट हुँदा भात खाएर जानु भनिन्थो । मित्रताको ठाउँमा पैसाको कुनै गणना हुँदैनथ्यो । हो साँच्चै गाउँमा सहयोगी मन भएका हितैषी मान्छेहरुको बस्ती छ भने सहरमा सबै मित्रता पैसाले नापिन्छ, जोखिन्छ । आजकल सहरमा मान्छे मर्दा मलामी किन्नु पर्छ । हुन त आजकल गाउँघरका बलिया पाखुराहरु रोजगारीका लागि विदेशिएका छन् । केही सहर पसेका छन् । गाउँका घरहरुमा दैलो लगाइएको ढोकामा धमिरा लागेको छ । बारी बाँझै छ । खेतमा सिरु उम्रेको छ ।

हिजो गाउँमा कुवा, पँधेरो धारा थियो । मुलको पानी खाएर तृप्त हुन्थे तिर्खाएका मनहरु । धारा आएर गाउँका पँधेरो कुँवाहरु बिस्थापित भएका छन् । गाउँको पानी खाएको सन्तुष्टि कति रहन्छ भन्ने कुरा नेपालका प्रख्यात न्यूरोलोजिस्ट डा. उपेन्द्र देवकोटाले जीवनको अन्तिम क्षणमा गोरखाको आफ्नो गाउँको पानी खान्छु भनेर काठमाडौंदेखि हेलिकोप्टरबाट गाउँमा आएर सानामा आफूले पानी खाएको पँधेराको पानी खाए । उनको अन्तिम इच्छा गाउँको पानी खाने रहेछ । गाउँमा धारा आएपछि पँधेराको संरक्षण भएन । पँधेरा नभएपछि पँधेरामा गाउने गीत हरायो । मगर समुदायमा गाइने प्रचलित कौराहा गीत पँधेरोमा पानीको पालो कुर्दा गाइने गीत भएको हुनाले कौराहा भनियो पनि भनिन्छ । गाउँमा पानीको दुख हुने ठाउँमा सबेरै प्राय आमा दिदीबहिनीहरु पानी लिन जाने गर्थे । पँधेरोमा उनीहरुको जमघट हुन्थ्यो । त्यतिबेला नै उनीहरुले आफ्ना मनका बह गीत र कुरामार्फत पोख्ने गर्थे। पँधेरो उनीहरुको सभा गर्ने हल थियो । हिजो गाउँका लोग्ने मान्छेहरु चोैतारीमा सभा गर्थे । गाउँको चौतारो सभ्यताको प्रतीक थियो

मूल बाटोमा ढुंगाको छपनी छापेर चौतारो बनाइन्थो । बटुवाहरु शीतल तापेर थकाइ मारून् भनेर चौतारो निर्माण गर्ने हाम्रो परम्परा थियो । चौतारोमा दायाँ वर बायाँ पीपल रोप्ने चलन थियो । हिन्दु धर्मअनुसार वर, पीपललाई भगवान्को प्रतीक मानिन्छ । अहिले पनि वर पीपललाई पुज्ने चलन छ । वैज्ञानिक दृष्टिकोण अनुसार वनस्पतिमा सबैभन्दा धेरै अक्सिजन पीपलले दिने गर्छ । धर्मको नाममा चौतारो निर्माण गर्ने चलन थियो । चौतारोमा सारेको वर र पीपलको विवाह धुमधामसँग गरिदिने गरिन्थ्यो । चौतारोमा गाउँ सभा, कचहरी हुने गर्थे । गाउँका मानिसहरु चौतारोमै डोको नाम्लो दाम्लो बुन्दै सभामा सामेल हुन्थे । चौतारोको सभामा महिलालाई बस्ने हक थिएन । महिलाहरु घाँस दाउरा गरेर चौतारोमा थकाई मार्थे । चौतारीमा बसेर कोही गीत गाउँथे, कोही गट्टा खेल्थे भने कोही बागचाल खेल्थे । त्यतिबेला गाउँको चौतारो सुन्दर स्टेडियम हल थियो जहाँ हरेक मनोरञ्जनका खेल खेल्न पाइन्छ । डोजर आतंकले यतिबेला गाउँका चौताराहरु घुमाउने घरझैं मास्सिएका, नास्सिएका छन् । चौतारो हाम्रो संस्कृति हो । भविष्यका सन्ततिलाई हामीले चौतारो सग्लै राखिदिनुपर्छ । आजको स्थानीय सरकारभन्दा त्यतिबेला चौतारो बढी अधिकारमुखी थियो । त्यहीँबाट गाउँलेहरु आफ्नो कानुन निर्माण गर्थे । आजको सिंहदरबारभन्दा त्यतिबेलाको चौतारो बलियो ।

गाउँमा दसैंताका चम्डाले पिङ हाल्ने चलन थियो । यतिबेला त्यस्तोे पिङ खेल्न रमाइलो मेला लाग्नुपर्छ । भारतीय मित्रलाई गुहार्नुपर्छ । हिजो गाउँमा चिठ्ठा खेल्ने, खोपी खेल्ने, डण्डीबिया, पांग्रा खेल्ने गरिन्थो । गाउँले यी खेलहरु यतिबेला हाम्रो पुस्ताले सम्झनेमात्र गर्छ । आजकल क्यान्डिक्रस र मोबाइलको खेलमा नानीहरु झुम्मिएका छन् ।

गाउँमा गितार पुगेर मादल, खैजडी सहरमा बसाइँ सरेका छन्् । गाउँको खुर्पेटो र नाम्लो हराउँदै छन् । गाउँमा गोरु पाल्ने परम्परा हाते ट्«याक्टरले धपाइदियो । गोरु नपालेपछि हलोजुवा, नारा हरायो । विकासको क्रममा पुराना मूल्य र मान्यता भत्कँदै नयाँ बन्दै गर्छन् । यस्तो हुने गर्छ नै । बारीमा सनपाट रोपेर नाम्लो बुन्ने सिप थियो । खुट्टा हात भाच्चिँदा काप्रो बाँधेर हड्डी जोड्ने स्वास्थ परम्परा थियो हाम्रो । धामी झाँक्री परम्परा आधुनिक चिकित्सा प्रणालीले बिस्तापित गरेको छ । हाम्रा यस्ता परम्परगत ज्ञान पश्चीमाहरुले रुढीवादी भन्दिएपछि हामीले आँखा चिम्लेर मिल्काएर फाल्दियौं तर यिनै हाम्रा ज्ञानलाई उनीहरुले सच्चाइ, हिलिङ भनेर अहिले सहर बजारमा धर्मको बिगबिगी व्याप्त छ । विदेशीहरुले हाम्रा घुमाउने घर , ढिकी, जाँतो, टौवा, पाटीपौवाको फोटो खिचेर मानवसभ्यताको एउटा जिउँदो इतिहास पढिरहेछन् । यिनै ज्ञान संसारलाई बेचिरहेछन् । तर हामीले हाम्रा पुराना भनिएका पुरातात्विक महत्वका सम्पदाहरुलाई बचाउन सकेनौं ।

पुराना सबै नराम्रो हुने रहेनछ । चीनको स्वशासित क्षेत्र तिब्बतले आधुनिकताको नाममा त्यहाँको पुराना चिजवस्तु भत्काएन । जस्ताको तस्तै राखिदियो । बाटो बनाउने नाममा गाउँको चौतारोजस्ता पुराना सम्पदा भत्काएन । तिब्बतमा पुरानो ढुंगाको छपनी भत्काउन पर्छ भनेर बाटो घुमाएर लगेको देखिन्छर रे । अहिले विश्वका अधिकांश पर्यटकहरु तिब्बत हेर्न आउनुको मूल कारण पुराना संरचनाजस्तो छ, त्यस्तै राखेका कारण मुख्य हो भनिन्छ । हामीले पनि हाम्रा पुर्खाहरु गाउँघरमा कसरी बसेका थिए उनीहरु बस्ने घर, उनले पानी खाने कुवा, पँधेरोे, उनी हिँड्ने बाटो, हाम्रा पाटीपौवा संरक्षण गरेर राख्न सकेको भए विश्वलाई हाम्रो मानव सभ्यता देखाउन सकिन्थो । अब अर्बौ खर्च गरेर पनि गाउँघरका ती बहुमूल्य मानव सभ्यता जस्ताको तस्तै बनाउन सक्दैनौं । हाम्रा पुर्खाले र हाम्रो पुस्ताले व्यहोरेका सम्पदाहरु सन्ततिलाई चिनाउन हामीले इतिहासमा केही कुराहरु संरक्षण पनि गरिदिनुपर्छ । ताकी भोलि बिहान आफू आएको बाटो मान्छेले नर्र्बििऊन् । साँच्चै गाउँका ती घुमाउने घर, कुवा, पँधेरोे, पोखरी, पाटीपौवा घाँटु, सोरठी चुड्कालगायत महत्वपूर्ण मानव सम्पदाहरुको संरक्षरण गर्न सकियो भने हाम्रो देशका धेरै गाउँघर विश्वमा एउटा जीवित संग्रहालय बन्न सक्थ्यो ।

Related News

सम्बन्धित समाचार

hero news full width