स्मृतिमा समाजसेवी बुवा घनश्याम आचार्य

दामोदर आचार्य
जेठ १३, २०७८

बाल्यकालमा बुवासँग रमाइलो गर्न वर्ष दिनको दसैं नै कुर्नुपथ्र्यो । जागिरको सिलसिलामा बुवा कहिले झापा, बारा त कहिले चितवन । घर आउने भनेको दसैं बिदामा मात्रै । त्यसैमाथि आफ्ना बुढेसकालका बुवासँग टीका थाप्न आउँदा हामी दुई भाइ म र शिव अनि आमालाई नयाँ नयाँ कपडा लिएर दिदी राधा, जयन्ती, तोत्रा, बहिनी निर्मला र दाजु भेषराज साथै आउनुहुन्थो । मेरी ठूली दिदीको बिहे मलाई यादसम्म भएन ।

रातो माटोले घर चिरिच्याट पारेर रंग्याउन झिसमिसेमै कुँडहर पारिको विजयपुर डाँडामा जाँदै गर्दा म पनि आमाको पछि लागेर जाँदा बल्ल थाहा दसैं आएको महसुस हुन्थो । अब बुवा आउनुहुन्छ, नयाँ कपडा ल्याइदिनु हुन्छ । अनि घरकै तगारोसँगै रहेको ठूलो पाखुरीको बोटमा पिङ हाल्ने डोरी र मेरो बढेको कपाल काटिदिनुहुन्छ । कपाल काट्दा कान काटिदिन्छु भन्दै रमाइलो गर्नुहुन्थो, मचाहिँ डराउँथें ।

फूलपातीको अघिल्लो साझँ बुवासहित दिदी, बहिनी र दाजु घर आउनुहुन्थो । भोलिपल्ट सबैसँगै टँुडिखेलमा गई च्यांग्रा डोर्‍याउँदै घर आउँदा निकै रमाइलो हुन्थ्यो । बुवाको रोजगारी जिल्ला बाहिर रहुञ्जेल सधैं यस्तै हुन्थ्यो । दसैंको रमझम सकिएसँगै आमा, म र भाइबाहेक सबै चितवनमै फर्कनुहुन्थ्यो । बेला बखत छोटो छुट्टी लिएर आउनुहुन्थ्यो । बुवामाथि ठूलो जिम्मेवारी थियो । बुवालाई ४ दिदी बहिनीलाई हुर्काइ शिक्षा दीक्षा र असल बिहेवारी गहन जिम्मेवारी थियो भने यता, गाउँमा भाइ, म र आमाले घर सम्हाली बसेका थियौं । लाग्थ्यो, बुवा आमाबीच हाम्रा खातिर जिम्मेवारीसमेत बाँडफाँड भएको छ ।

जिमुवाल मुखिया भीमप्रसाद आचार्यको दोस्रो सन्तानका रुपमा १९९३ साल फागुन ९ गते जन्मलिनु भएका मेरा बुवा हजुरबुवाका मुखबाट बेला बेला बुवाका कुरा सुन्न पाइथ्थो । बुवा अन्यायविरुद्ध आवाज उठाउनु हुने निडर स्वभावको आँटिलो र जोसिलो हुनुहुन्थो रे । भूमिगत अवस्थामा उस्तै नाम गरेका तनहुँ काहूँका घनश्याम आचार्यलाईसमेत प्रशासनले दुख दिएको यस्तै यस्तै बुवाका बारे रोचक जानकारी दिनुहुन्थो हजुरबुवाले ।

मादीका गापाका सीताराम मावि र जनकल्याण मावि, काहुँस्थित दसौद सहकारी संस्था स्थापनामा स्व. घनश्यामका महत्वपूर्ण योगदान

बुवा गाउँबाट पहिलो एसएलसी परीक्षा उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुनुहुन्थो । सरकारी जागिरमा आबद्ध हुनुपूर्व गाउँकै विद्यालयमा हेडमास्टर भई कार्य गर्नु भो । अझै पनि गाउँका बुढापाका आमालाई मास्टर्नी भन्ने गर्दछन् । त्यसपछि समग्र शिक्षा, स्वास्थ्य विकासका अभियन्ता मेजर वीरसिं गुरुङसँगको सहकार्यमा आबद्ध हुने मौका बुवाले प्राप्त गर्नुभयो । उनीसँग धन थियो भने बुवासँग युवा जोस र जाँगर । हजुरबुवा गाउँकै जिमुवाल मुखिया हुनुहुन्थो । यति हुँदाहुँदै पनि गाउँमा केही उच्छृंखल तत्वको हाबीले मेजर वीरसिंका सपना साकार हुन दिएनन् । गाई खाने विद्या चाहिँदैन भन्दै गाउँमै बन्न लागेको अहिलेको अमरसिंह स्कुललाई त्यहाँ धपाउने काम भयो । त्यतिसम्म हुँदा पनि मेजर वीरसिंले आफ्नो अभियानमा अडिग रही मादी गाउँपालिकाको याङ्जाकोटमा सीताराम माध्यमिक विद्यालय निर्माण गरी बुवालाई त्यही विद्यालयमा प्रअको जिम्मेवारी दिएका थिए । मेजर वीरसिंको कामबाट प्रभावित भई मादी गाउँपालिकाकै भाचोक मकैखोलामा जनकल्याण प्राविको स्थापना गर्नु भई प्राध्यापनलाई निरन्तरता दिनुभयो ।

त्यसपछिको समयमा बुवाले नेपाल सरकारको भूमिसुधार कार्यालयमा खरिदार पदमा नाम निकाल्न सफल हुनुभयो । सरकारी जागिरको सिलसिलामा कहिले झापा कहिले बारा कहिले चितवन मालपोत कार्यालय र प्रजातन्त्र प्राप्तिपश्चात कास्की र गोरखा मालपोत कार्यालयबाट निवृत्तिभरण लिनुभयो ।

२०४६ सालको देशको आमुल परिवर्तनपछि प्राप्त प्रजातान्त्रिक अधिकारलाई यस गाउँमा प्रजातान्त्रिक समाजवाद र श्रद्धेय नेता विपी कोइरालाका सिद्धान्तलाई अंगीकार गर्दै गाउँमा नेपाली कांग्रेसको ४ तारे अंकित झण्डालाई आफ्नैै निवासमा पार्टी कार्यालय नै खडा गरी सभापतिको जिम्मेवारी क्षेत्रबहादुर क्षेत्रीलाई जिम्मा लगाई आफू पार्टी विस्तारमा अनवरत लागिपर्नु भयो । उहाँले थाल्नु भएको त्यो अभियानको ज्वलन्त उदाहरण निर्वाचनमा प्राप्त नतिजालाई लिन सकिन्छ ।

बुवा राजनीतिमा मात्र होइन सामाजिक सेवासँगै विकास कार्यमा पनि उत्तिकै व्यस्त हुनुहुन्थ्यो । कास्की मालपोत कार्यालय घरबाट जाने आउने बाटोमा फूलबारी फाँट रहेको छ । असारदेखि कात्तिकसम्म धान खेतीबाहेक अरु महिना बाँझै रहन्थ्यो । धान खेतमा लगाउने पानीसमेत व्यवस्था नहुँदा आकाशे पानीकै भर पर्नुपर्ने अवस्थादेखि नजिकै सेती सिँचाइ नहरबाट शाखा नहर निर्माण गर्ने र बाह्रै महिना खेतीपाती लगाउने उद्देश्य स्वरुप सम्पूर्ण मोही भेला गराई फूलबारी रबि बाली संरक्षण समिति गठन गरी बाँझो खेतलाई समयानुकूल खेतीयोग्य रुपमा परिणत गराउन सफल हुनुभयो ।

त्यसैगरी गाउँमा बढेको जनसंख्याले पिउने पानीको विकराल अवस्था सिर्जना भयो । पञ्चायतकालमा तत्कालीन प्रधानपञ्च कृष्णबहादुर गुरुङको पहलमा आएको ठूलो खानेपानी आयोजनाले काहूँको जनसंख्यालाई नथेग्ने देखेपछि नेपाल रेडक्रस सोसाइटीको फन्ट बोर्डको सहयोग र नपुग रकम आफ्नै जग्गा बैंकमा धितो राखी मौजादेखि काहूँका तल्लो भेकसम्मका घरधुरीलाई सुविधा हुने गरी खानेपानीको व्यवस्थासमेत गर्नु भएको थियो । अहिले काहूँ साबिक १,२,३,७ र ८ नम्बर वडाहरु त्यसबाट लाभाविन्त छन् ।

गाउँका अधिकांश मानिस रोजगारको सिलसिलामा पोखरा नै झर्नुपर्ने स्थिति र वैदेशिक रोजगारमा समेत रहेका त्यसबाट आएको रेमिट्यान्स रकम लिन र जम्मा गर्न पनि पोखरामै झर्नु पर्ने बाध्यतालाई महसुुस गर्दै गाउँमै एउटा सहकारी भइदिए गाउँमा आएको रकम बाहिर जाने थिएन भन्ने धारणालाई मान्यता दिँदै गाउँका बुद्धिजीवीको सल्लाह लिई दसौद बचत तथा ऋण सहकारी संस्था स्थापना गर्नुभयो । पछि त्यही संस्था काहूँ देउराली बहुद्देश्यीय सहकारी संस्थामा परिणत भयो । पशुपालनसमेत गरी त्यहाँ उत्पादित दूग्ध पदार्थ अहिले पोखराभरि पुर्‍याउने काम भइरहेको छ भने करिब २५ जनाले रोजगार पाएका छन् । संस्थाको भवन निर्माणका लागि आफ्नै २ आना जग्गासमेत संस्थालाई दिनु भएको छ । हाम्रो आफ्नै निजी वन थिएन, बुवाकै प्रयासमा करिब ३६५ हेक्टर वन हाम्रै अधिकारमा रहेको छ । जुन थामकुसुण्डे सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्छ ।

प्रेरणका स्रोत, असल मार्ग प्रदर्शक आदरणीय बुवा उमेरको पूर्वाधद्र्धमा ब्लडप्रेसर, मुटुरोगबाट पीडित हुँदै गर्दा अल्जाइमर रोगले थप पीडा दिलाई दियो । यसै जटिलताबीच दुर्घटनामासमेत हुन गई पीडामाथि पीडा दियो । अथक प्रयासको उपचार र शल्यक्रिया गरेपश्चात डेढ महिनापछि अस्पतालबाट घर त आउनु भयो तर बिडम्बना दुवै गोडा टेक्न सक्नुभएन । पीडा माथि पीडा थपिँदै जाँदा २०७६ भदौ महिनादेखि ओछ्यान पर्नुभयो । आमाको धैर्यता र निरन्तर सेवा हाम्रो अथक प्रयासका बाबजुद निष्ठुरी दैवले आखिर २०७७ वैशाख २६ गते बिहानै दिन उज्यालो हुँदै थियो तर हामीलाई अँध्यारो बनाई चुँडेर लग्यो । आवाजसमेत गुमाउनु भएका मेरा बुवा अन्तिम घडीमा हजुरको आवाज सुन्ने चाहना पनि अपूरो रह्यो । हामी हजुरका सन्तान भएर हाम्रा लागि गर्नु भएको दुखकष्टका लागि हामीले हजुरप्रति गरेका कर्म कमी नै हुनेछन् । हजुरले देखाउनु भएको असल बाटो बाट हामी कहिल्यै विचलित हुने छैनौं । मरणोपरान्त हजुरलाई गर्नुपर्ने कर्म सधैं गर्ने वाचा गर्दै आमाको आँखामा आँसु आउन दिने छैनौं ।

यसैबीच बुवा स्वर्गीय हुनुभएको ४९ दिनपछि अर्का कुशल अभिभावक साहिँला बुवा यदुनाथ आचार्र्य पनि हामीमाझ रहनु भएन । अत्यन्त मिलनसार, साहसिक र समाजसेवी अभिभावक गुमाउनु पर्दा हामी अत्यन्त मर्माहत भएका छौं । नौबिसे काहूँ खोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष रही कार्यसम्पन्न गर्न सक्रिय भूमिकामा कार्य गर्नुका साथै गाउँका हरेक विकास कार्यमा निकै सक्रियताका साथ लाग्नुभएका आदरणीय बुवाको ७६ वर्षको उमेरमा पेटको क्यान्सरबाट निधन हुनपुग्यो । दुबै हाम्रा कुशल अभिभावकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुले देखाएको असल बाटोलाई सधैं अगींकार गर्ने छौं भन्ने प्रण गर्दछौं ।

देश कोभिड–१९ भाइरस कोरानाको चपेटामा परी लकडाउन भइरहेको असहज अवस्थाबीच हामीमाथि परेको शोकको घडीमा सहानुभूति र समवेदना प्रकट गर्नुहुने इष्टमित्र, कुलकुटुम्ब, आफन्तजन, छरछिमेक, शुभेच्छुक संघ संस्था, राजनीतिक दल, उपचारमा संग्लग्न चिकित्सकलगायत सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
सन्दर्भः वार्षिक पुण्यतिथि

Related News

सम्बन्धित समाचार

hero news full width