विश्वमा बर्सेनि हजारौं चलचित्र बन्छन् । केहि चलचित्रहरु सफल हुन्छन् त कुनै पूर्णरुपमा असफल । केहिले करोडौं, अरबौं कमाउँछन् भने केही फिल्मले लगानी नै उठाउन नसकेर टाट पल्टेको अवस्था पनि देखिन्छ । ती चलचित्र सफल हुन्, जुन चलचित्र दर्शकहरुले खोजी खोजी हेर्छन् साथै अरुलाई हेर्नका लागि सिफारिस गर्छन् । समाज र राष्ट्रको रुपान्तरणका लागि चेतनामूलक विषयवस्तु समावेश गरी समाजमा तरंग ल्याउन सक्षम चलचित्र नै वास्तवमा सफल चलचित्र मानिन्छन् । पछिल्लो समयको सफल चलचित्र मध्येको एक चलचित्र हो – ‘मेडम गीता रानी’ । यस फिल्ममा भारतको एक सामुदायिक विद्यालयको बेथिति र कुशल नेतृत्वले विद्यालयमा आएको क्रान्तिकारी परिवर्तनको प्रसंगलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
मनोरञ्जनका साथसाथै समसामयिक समाजको यथार्थ चित्रण गर्ने, विकृति विसंगतिमा चोटिलो प्रहार गर्ने एक सशक्त माध्यम हो– चलचित्र । विश्वमा अधिकांश देशहरुमा चलचित्र बन्छन् । ती चलचित्र गुणस्तर, विषयवस्तु, प्राविधिक पक्ष आदिले फरक फरक अवश्य हुन्छन्, तर उद्देश्य चाहिं मिल्दो नै हुन्छ । भारत चलचित्रको राम्रो विकास भएको देश हो । यहाँ सयौं चलचित्रहरु बर्सेनि बन्छन् तर केही चलचित्रले मात्र समाज देश र विश्वमै ठूलो तरंग ल्याउन सक्षम भएका छन् । ठूलो धनराशी खर्चेर बनाईएका सफल चलचित्रको चर्चा विश्वभर नै रहेको पाइन्छ तर केही त्यस्ता चलचित्र पनि छन् जसको लगानी र कमाई भन्दा पनि धेरै चर्चा हुने गर्छ – चलचित्रको विषयवस्तुको । चलचित्रले उठान गरेको विषयवस्तु र दिएको सन्देशका कारण चर्चित फिल्म हो – मेडम गीता रानी । यस चलचित्रमा उजागर गरिएको विषयवस्तुको गाम्भीर्यताका कारण मेडम गीता रानी चलचित्र शिक्षाकर्मीहरुका लागि एक आदर्श चलचित्र बनेको मान्न सकिन्छ ।
भारतको सरकारी विद्यालयको प्रवृत्तिलाई व्यावहारिक रुपमा प्रस्तुत गरी समाधानको सशक्त उपाय पनि सँगसँगै प्रस्तुत गरिएको छ ।
मेडम गीता रानी एक तामिल फिल्म हो । यस फिल्मको तामिल भर्सनमा नाम राक्षसी हो । हिन्दीमा डबिङ गर्दा यसको नाम मेडम गीता रानी राखिएको छ । सैयद गौतमराजद्वारा लिखित र निर्देशित फिल्ममा कलाकार ज्योतिकालाई मुख्य भूमिकामा उतारिएको छ । भारतको सरकारी विद्यालयको प्रवृत्तिलाई व्यावहारिक रुपमा प्रस्तुत गरी समाधानको सशक्त उपाय पनि सँगसँगै प्रस्तुत गरिएको छ ।
फिल्मको सुुरुआती चरणमा एक सामुदायिक विद्यालको बेथितिको पराकाष्ठालाई प्रस्तुत गरिएको छ । शिक्षकको गैरजिम्मेवारीपन, अनियमितता, भ्रष्ट प्रवृत्ति तथा पदीय मर्यादाको चरम उल्लघन गरेको, विद्यालयमा हाँजिर भएर व्यक्तिगत काममा नै व्यस्त हुने शिक्षकको लज्जास्पद घटना जस्ता विषयवस्तुहरु पस्किएको छ । विद्यालयको नेतृत्वले विद्यालयको भौतिक विकासलाई मागी खाने भाँडोको रुपमा लिई विद्यालयलाई भौतिक रुपमा अव्यवस्थित बनाएको, शिक्षकहरुलाई शिक्षण सिकाईमा जिम्मेवार बनाउन नसकेको, पदको दुरुपयोग गरेको परिदृश्य देखाइएको छ । विद्यार्थीहरुमा अनुशासनको अभाव, सिक्ने संस्कार नै नभएको, विद्यालयमा बालबालिकाहरुका विकृत व्यवहारका साथै विद्यालयले विद्यार्थीको सिकाइमा अभिप्रेरित गराउने कुनै कार्य नगरेको दृश्य देखाइएको छ । विद्यालयका शिक्षकहरु नै निजी विद्यालयका एजेन्ट रहेका, सकेसम्म आफ्नो विद्यालयलाई बिगारेर विद्यार्थीलाई निजी विद्यालयमा पठाई कमिसन खाने शिक्षकहरुको प्रवृत्तिका कारण जवाफदेहिता नरहेको प्रसंग जोडिएको छ । यस्ता नकरात्मक प्रवृत्तिलाई हटाउनका लागि मेडम गीता रानीलाई एक सशक्त पात्रको रुपमा उतारिएको छ ।
भताभुंग वातावरण रहेको विद्यालयमा गीता रानीको प्रवेशसँगै सुधारका लागि विभिन्न योजनाहरु प्रस्तुत गरिएको छ । शिक्षकलाई शिक्षणमा व्यावहारिक विधिको प्रयोग गर्न लगाइएको छ । विद्यार्थीको सिकाइ उपलब्धिको सुधारमा जिम्मेवार बनाउनका लागि शिक्षकलाई प्रोत्साहित गरिनुका साथै अटेरी शिक्षकलाई दण्डको मनोवैज्ञानिक डर देखाएर भए पनि सक्रिय बनाइएको छ । विद्यार्थीमा अनुशासन, व्यावहारिक सिकाइ विधि, फरक क्षमताका विद्यार्थीप्रतिको सकारात्मक व्यवहार, व्यक्तिगत भिन्नताका आधारमा प्रतिभाको विकासको उपयुक्त अवसर दिइएको छ । शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर र विश्वासपूर्ण बनाइएको छ । विद्यालयको वातावरण सुधारमा विद्यार्थी र अभिभावकालाई संलग्न बनाइएको छ । जसबाट विद्यालयमा प्रभावकारी सिकाइ क्रियाकलाप हुन थालेको देखाइएको छ । यो सबै सकारात्मक कदम विद्यालयको नेतृत्व गीता रानीको निडर व्यक्तित्वबाट सम्भव भएको छ ।
विद्यालयको वातावरण सुधार कुनै एक व्यक्तिको एकल प्रयासबाट सम्भव हुँदैन तथापि सबल नेतृत्वले विद्यालयलाई उचित गति दिने वातावरण भने अवश्य बनाउन सक्छन् । विद्यालयको कुशल, सक्षम, दृढ नेतृत्व तथा जिम्मेवार, क्रियाशील र दक्ष शिक्षकबाट नै गूणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिन्छ । प्रधानाध्यापक गीता रानीलाई फिल्ममा एक असल शैक्षिक नेतृत्वमा हुनुपर्ने धेरै गुणहरु समावेश गरी प्रस्तुत गरिएको छ । एक असल शैक्षिक नेतृत्वमा बालमैत्री व्यवहार, बालबालिकाको सुरक्षा र सिक्नका लागि उचित प्रेरणा दिन सक्ने क्षमता हुनु पर्दछ । शैक्षिक वातावरण अनुकुल बनाउनका लागि बालबालिकाको विश्वास शिक्षकले जितेकै हुनुपर्दछ । शिक्षकहरुले चाहेमा विद्यालय सुध्रन सक्ने सकरात्मक सन्देश फिल्मले दिएको छ ।
सरकारी विद्यालयको सुधारको प्रयास गर्दा धेरैको आँखाको कसिंगर बन्नु पर्ने भएकोले नेतृत्वमा जस्तो सुकै समस्यामा पनि मुकाविला गर्न सक्ने निडर व्यक्तित्व तथा विचलित नहुने अटल व्यवहार आवश्यक छ । फिल्ममा धेरै थरि समस्याहरुसँग प्रधानाध्यापकले जुध्नु पर्ने तर सही बाटोमा विद्यालयको सुधारका लागि निरन्तर लागेमा जनताले साथ दिने सन्देश दिन खोजिएको छ । समग्रमा फिल्मले सार्वजिनक शिक्षाको राम्रो चित्र प्रस्तुत गर्दै सुधारका लागि उपयुक्त बाटो पनि देखाएको हुनाले फिल्म समाजका सचेत वर्ग र शिक्षाकर्मीहरुले एक पटक हेर्नै पर्दछ । यसबाट हरेक व्यक्तिमा एक नयाँ ऊर्जाको विकास हुने देखिन्छ ।
नेपालको सन्दर्भ
नेपालका केही सामुदायिक विद्यालय बाहेक अधिकांश सामुदायिक विद्यालयहरुको अवस्था फिल्मको शुरुवाती चरणमा देखाइएको विद्यालयसँग मेल खाने देखिन्छ । नेपालका सामुदायिक विद्यालयका अनेकन समस्या छन् । सबै समस्याहरु जादुगरी रुपमा समाधान हुँदैन तर कुशल प्रधानाध्यापकले विद्यालयमा सिकाइको वातावरण भने अवश्य सुधार गर्न सक्छन् । यसका लागि सर्वप्रथम प्रधानाध्यापक नै नियमको पूर्ण पालना गर्ने, विद्यालयमा धेरै समय दिने, विद्यालयका सबै समस्यालाई सम्बोधन गर्दै जिम्मेवार र पारदर्शी व्यवहार प्रदर्शन गर्नु अत्यावश्यक हुन्छ । प्रधानाध्यापकले विद्यालयको शैक्षिक गुणस्तरलाई कुनै हालतमा पनि न्यून हुन दिन्न भन्ने संकल्प गरी पूर्णरुपमा खट्नुपर्छ । प्रधानाध्यापकले विद्यालयको सुधारका लागि गरेका सकरात्मक कदमलाई सबैले साथ दिन्छन् । नेपालको सन्दर्भमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियुक्ति प्रक्रियादेखि कार्यशैली नेतृत्व क्षमतामा धेरै समस्याहरु रहेका छन् । सक्षम नेतृत्व भएका विद्यालले छोटो समयमा नै शैक्षिक सुधारमा फड्को मारेर नमूना विद्यालयका रुपमा स्थापित भएका उदाहरण पनि देख्न सकिन्छ ।
नेपालका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापकको नियुक्तिमा शिक्षा ऐन तथा नियमावलीको पूर्ण पालना भएको पनि पाईदैन । केही विद्यालयमा राजनैतिक पहुँच, विद्यालय व्यवस्थापनको स्वार्थ तथा विभिन्न प्रकारका लेनदेनबाट समेत प्रधानाध्यापकको नियुक्ति हुने गरेको देख्न सुन्न पाईन्छ । । अर्कोतर्फ हामी विशेष क्षमता र दक्षताका कारण यो पदमा आशिन छौं भन्ने आत्मकेन्द्रीत मनोवृत्ति पनि केही प्रधानाध्यापकमा निहीत देखिन्छ । आफू नै विद्यालयको सर्वेसर्वा भएको भनी विद्यालयलाई निजी सम्पत्तिको रुपमा लिई स्वेच्छचारी रुपमा विद्यालय सञ्चालन गर्ने गरेको पनि देखिन्छ । यी र यस्ता प्रवृत्तिको शैक्षिक नेतृत्व भएका विद्यालय सकटापन्न अवस्थामा घिस्रिरहेका छन् । विद्यालय सुधारका लागि सुधार प्रधानाध्यापकबाटै सुरु हुनु पर्नेमा दोष अरुलाई थोपरेर आफू पानी माथिको अभानो हुने प्रवृत्ति नेपाली सामुदायिक विद्यालमा हावी छ ।
प्रधानाध्यापकको योग्यता क्षमता र नेतृत्वशैलीको बारेमा चर्चा गरिरहँदा शिक्षकको विद्यालयप्रतिको दायित्वलाई पनि नकार्न सकिँदैन । शिक्षक एक मर्यादित र जिम्मेवार पूर्ण पेशा भएकोले समय परिस्थिति अनुसार नविन शिक्षण विधि अनुसार बालमैत्री रुपमा शिक्षण गर्नु पर्दछ । यो विद्यालयको सुधारमा मैले केही न केही योगदान अवश्य गर्दछु भन्ने अठोट हरेक शिक्षकले गर्नै पर्दछ । सबै शिक्षकहरु इमान्दारीपूर्वक आफ्नो कर्तव्यमा तल्लिन रहने विद्यार्थीलाई कसरी प्रभावकारी रुपमा सिकाउन सकिन्छ भनी निरन्तर प्रयास गर्ने हो भने पक्कै पनि विद्यालयको वातावरण सुध्रन सक्छ । परिवर्तित समयमा सूचना प्रविधिका साधनहरुसँग अद्यावधिक हुँदै प्रविधिलाई सिकाइसँग कसरी जोड्ने भन्ने बारेमा जानकारी हासिल गर्नै पर्दछ । हरेक शिक्षकले विषयवस्तुमा निपूर्णता, सिकाइ शैलीमा विविधता, सकरात्मक प्रवृत्तिको विकास गरी समय तालिका अनुसार आफ्नो कक्षा पढाएको छु भनेर निस्क्रिय नबसी समग्र विद्यालयको वातावरण सुधारका लागी लाग्नु पर्दछ । जबसम्म हामी शिक्षकहरु सबै स्वार्थ छोडेर विद्यालको शैक्षिक सुधारमा समुदायसँग सहकार्य गर्दै लागिँदैन तबसम्म सामुदायिक विद्यालयको दुर्दशा कायमै रहन्छ ।
अन्त्यमा, सामुदायिक विद्यालकको सुधार कसरी गर्न सकिँदो रहेछ भन्ने विषयवस्तु समेटेर बनाइएको फिल्म ‘मेडम गीता रानी’ हामी शिक्षकहरुलाई शैक्षिक सुधारका लागि झकझकाउने खालको छ । चरम बेथितिले ग्रस्त विद्यालयमा कुशल नेतृत्वले कसरी छोटो समयमा आमूल परिवर्तन गर्न सक्छ भन्ने विषयवस्तु निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । शिक्षक अन्य पेशाको तुलनामा धेरै नै जिम्मेवार हुनुपर्ने भएकोले शिक्षकले चाहेमा विद्यालय सुधार्न सकिन्छ भन्ने सन्देश प्राप्त गरी व्यवहारमा रुपान्तरण गर्न हामी शिक्षाकर्मीहरुले यस फिल्मबाट धेरै पाठ सिक्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१