खरको झुप्रोबाट जन्मिएको गण्डकी

हरि शर्मा
भाद्र २७, २०७९

पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुल राष्ट्रिय विद्यालय नामबाट देश विदेशमा परिचित छ । ज्ञानसीपमा आधारित चरित्रवान् एवं सेवाप्रति समर्पित गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको समृद्धिमा अग्रणी भूमिका खेलेको गण्डकीको स्थापना आजभन्दा ५७ वर्षअघि खरले छाएको झुप्रोबाट भएको हो । अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै भौतिक सुविधासम्पन्न विद्यालय अहिले २७० रोपनीमा बिस्तार भई शिक्षाको ज्योति फैलाइरहेको छ ।

स्थानीय शिक्षानुरागी जनताको सहयोग, युनाइटेड मिसन टु नेपालको व्यवस्थापन र शिक्षा मन्त्रालयको पहलमा २०२३ जेठ २९ मा ‘नेपाल आदर्श विद्यालय’ नामले स्थापित भएको हो । शैक्षिक गुठी ऐेनअन्तर्गत मुनाफारहित विद्यालयरूपमा स्थापना भई नेपाल सरकारको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालन भएको छ । विद्यालयले सालवसाली छात्रवृत्ति एवं स्तरोन्नतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा अनुदान प्राप्त गर्दै आएको छ ।

श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको शुभ जन्मोत्सवमा उद्घाटन गरिएको यस विद्यालयमा २०२३ जेठ ३० गतेदेखि पठनपाठन प्रारम्भ गरिएको थियो । स्थापनाकालमा ६ शिक्षक र ६० छात्र विद्यार्थीबाट अध्यापन प्रारम्भ गरिएको थियो । हाल गण्डकीमा ५५ जिल्लाका करिब १२ सय विद्यार्थी छन् भने १५० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । यहाँ कक्षा ४ देखि १२ सम्म अध्ययन अध्यापन गरिन्छ । यसको विस्तारित कार्यक्रमअन्तर्गत सन् १९९९ मा स्थापित गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा स्नातक तहमा बिई कम्प्युटर इन्जिनियरिङ, बिइ सफ्टवेयर इन्जिनियरिङ र स्नातकोत्तरमा एमएससी इन इनफरमेसन सिस्टम इन्जिनियरिङ विषयको हुन्छ ।

विद्यालयले गरिब तथा जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थीका लागि कक्षा ४ मा पूर्ण र आंशिक छात्रवृत्तिमा प्रवेश परीक्षा लिई प्राथमिकता आधारमा वार्षिक २२ देखि २७ जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गर्छ । कक्षा ४ र कक्षा ११ मा पूर्ण शुल्क तिरेर अध्ययन गर्न चाहनेलाई प्रवेश परीक्षा लिई मेरिट बेसमा भर्ना लिइन्छ । २/३ वर्ष अन्तरालमा कक्षा ५ देखि ९ सम्म रिक्त सिटमा समेत प्रवेश परीक्षा लिएर मेरिट वेसमा भर्ना लिने गरेको छ । हाल गण्डकीमा २ सय विद्यार्थी छात्रवृत्ति सुविधामा अध्ययनरत छन् ।

विद्यालयको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने संस्थापक जोनाथन लिन्डेल, हवार्ड बाक्ले, लक्ष्यबहादुर गुरुङ र कवि भूपि शेरचन लगायतको योगदान छ । स्थानीय जग्गाधनी एवं समाजसेवीले केही जमिन सशुल्क र केही जमिन निशुल्क प्रदान गरी विद्यालय स्थापनामा महत्वपूर्ण सहयोग पुर्‍याउनुभएको छ । राष्ट्रियस्तरको स्वीमिङ पुल, सूचना संचार प्रविधि भवन निर्माण गरी अत्याधुनिक उपकरण जडानसहित सूचना तथा सञ्चार प्रविधिमार्फत विद्यार्थीलाई अध्ययन अध्यापन गराउ“दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्दै आएको यथार्थता ५७ औं वर्षका शैक्षिक उपलब्धिबाट स्पष्ट हुन्छ । शिक्षा मन्त्रालयको उद्देश्यअनुसार सार्वजनिक शैक्षिक गुठी अन्तर्गत मुनाफारहित शैक्षिक संस्थाका रूपमा सञ्चालित छ । विद्यालयले शिक्षालाई चेतनाको संवाहक र विद्यार्थीको व्यक्तित्व विकासको आधारशीलारूपमा ग्रहण गरेको छ । होलिस्टिक ऐजुकेसन प्रोसेसका सबै प्यारामिटर सन्तुलितरूपमा कार्यान्वयन गर्दै स्थापनाकालदेखि राखेका उद्देश्य समयसापेक्ष परिमार्जन गरी अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन सदा झैं जुटिरहेको देखिन्छ । यहाँबाट उत्पादित विद्यार्थी देशविदेशमा विविध क्षेत्रमा सफल नेतृत्व प्रदान गरेका छन् । २०४४ सालमा राजेन्द्र गुरुङले एसएलसीमा बोर्ड प्रथम स्थान प्राप्त गरे । त्यसबेला राजधानीबाहिर पहिलो पटक यस विद्यालयले बोर्ड प्रथम पाउन सफल भएको थियो । २०६० सालमा एकैपटक ४ विद्यार्थी बोर्डको उत्कृष्ट १० (द्वितीय, तृतीय, पा“चौ र नवौं) भित्रसमेत पर्न सफल भए ।

सार्वजनिक गुठीअन्तर्गत राज्यको नमुना शैक्षिक निकायरूपमा सञ्चालित यस विद्यालयप्रतिको सामाजिक उत्तरदायित्व महसुस गरौं

शिक्षा मन्त्रालयबाट १८ पटक राष्ट्रिय एवं क्षेत्रीय मावि सिल्ड प्राप्त गर्न समेत सफल गण्डकीबाट एसएलसी/एसइई र प्लस टु उत्तीर्ण विद्यार्थी एमबिबिएस, इन्जिनियरिङ र विश्वविख्यात विदेशी विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् ।

शिक्षा नियमावली, २०३७ अनुसार नेपालमा संस्थागत विद्यालय सञ्चालन हुन सक्ने नीतिअनुरुप सरकारले यस विद्यालयलाई संस्थागतरूपमा सञ्चालन गर्न अनुमति प्रदान गरेपश्चात् २०३७ सालमा युनाइटेड मिसन टु नेपालले नेपाल सरकारलाई यो विद्यालय हस्तान्तरण गरेको थियो । २०४१ सम्म संस्थागत विद्यालयको रुपमा सञ्चालित रह्यो । सन् १९८५ नेपाल सरकारको हरेक विकास क्षेत्रमा नमुना क्षेत्रीय विद्यालय स्थापना गर्ने नीतिअनुरुप पहिलो क्षेत्रीय विद्यालयरूपमा छनौट गरी युनाइटेड मिसन टु नेपाललाई सञ्चालन जिम्मा दिएको थियो । सन् २०२० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘राष्ट्रिय विद्यालय’ को मान्यताप्राप्त भएको हो ।

२०४१ सालदेखि अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको विद्यालयले सोही वर्षदेखि कक्षा ४ मा छात्राहरू भर्ना गरी सहशिक्षा पनि लागु गरेको थियो । विद्यालयले ५० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा २०७२ जेठ २९ देखि १ वर्षसम्म स्वर्ण जयन्तीसमेत भव्यरुपमा मनाएको थियो । वार्षिकोत्सव अवसरमा बर्सेनि विद्यालय परिसरमा वृक्षरोपण गर्दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने सोचअनुरुप २०४७ सालमा क्याम्ब्रिज ओ लेभल कक्षा सञ्चालन गर्‍यो । अर्को वर्ष नै प्लस टु विज्ञान संकायमा नेपालमै पहिलो पटक विज्ञान विषयमा अध्यापन प्रारम्भ गरेको थियो । सन् २०१० देखि क्याम्ब्रिज विश्वविद्यालयकै सम्बन्धनमा ए–लेभलको पढाइ सञ्चालन गर्दै आएको छ । स्थापनाकालदेखि नै यस विद्यालयले प्लस टु र ए–लेभलतर्फको नतिजाफल उत्कृष्ट गर्न सफल भएको छ ।

सफा, स्वच्छ, शान्त, प्राज्ञिक वातावरण, राष्ट्रियस्तरको स्वीमिङ पुल, सुविधासम्पन्न सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय, विज्ञान तथा गणित प्रयोगशाला, विद्यार्थीको शैक्षिक गतिविधिका अलावा चौतर्फी सीप र ज्ञान अभिवृद्धि गर्ने क्लब, अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री कक्षाकोठा, सिकाइ प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग, पर्याप्त खेलमैदान, छात्राबास सुविधा, स्थायी शिक्षक तथा कर्मचारीका लागि आवास सुविधा, करिब १५ सय जना क्षमताको छुट्टै हल, भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त जमिन, सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्ने अवसर, छात्रवृत्ति सुविधा जस्ता सुविधामार्फत गुणस्तरीय शिक्षा गरिनु नै यसका सवल पक्ष हुन् । उत्कृष्ट शैक्षिक नतिजाका साथै होलेस्टिक ऐजुकेसन प्रोसेसका सबै प्यारामिटर र सहशिक्षालाई समेत सन्तुलितरूपमा कार्यान्वयन गर्दै ५७ औं वसन्त पार गरिसकेको गण्डकी देशमै एक उत्कृष्ट शैक्षिक संस्था हो ।

यो साख जोगाई अभैm सर्वोत्कृष्ट बनाउने सत्कार्यमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय जनता, स्थानिय जनप्रतिनिधि, स्थानीय संघ संस्था, पत्रकार, नागरिक समाज, नेपाल सरकार र शिक्षास“ग सरोकार राख्ने सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विद्यालय व्यवस्थापन एवं प्रशासनले कही कतै प्राविधिक र सैद्धान्तिक त्रुटि पाइए विद्यालय प्रशासनमा राय, सुझाव, सल्लाह दिई अन्तर्राष्ट्रिय शैक्षिक शैक्षिक संस्था बनाउने यसको मिसनमा सहयोगी बन्न सकिने अवस्था छँदैछ । विद्यालयको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र यसको शैक्षिक उन्नयनमा प्रभाव पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिने, समाचार प्रकाशित एवं प्रसारण गर्नेजस्ता कार्य न त व्यक्तिको सामाजिक निष्ठाभित्र पर्दछ, न त यसले संस्थाको दीर्घकालीन विकासलाई नै सघाउ पुर्‍याउँछ ।

अन्त्यमा, सार्वजनिक गुठीअन्तर्गत राज्यको नमुना शैक्षिक निकायरूपमा सञ्चालित यस विद्यालयप्रतिको सामाजिक उत्तरदायित्व महसुस गरौं । विद्यालयलाई समाज रूपान्तरण धरोहररूपमा स्वीकार गरौं । र, विद्यालयको चौतर्फी विकासमा सहभागी बनौं ।

(लेखक विद्यालयका कार्यालय सचिव हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width