हरेक दिनलाई वातावरण दिवस बनाऔं

श्रीकृष्ण पौडेल
जेठ २२, २०७८

मानिसको आधारभूत आवश्यकताहरूमध्ये स्वच्छ वातावरण पनि हो भन्ने विषयमा हामी अनविज्ञ रहेका छौँ । हाम्रो आसपासका प्राकृतिक र मानव निर्मित भौतिक सामाजिक र सांस्कृतिक संरचनाहरू हाम्रा वातावरण हुन् । वातावरण र हाम्रो स्वास्थ्य अनि वातावरण र हाम्रो हरेक क्रियाकलापबीच अन्तर सम्बन्ध छ । अहिलेको युगमा स्वच्छ वातावरणलाई अलग राखेर हामीले दैनिक कार्यहरू सफल पार्न सक्दैनौं । अतः वातावरणले हाम्रो जीवन र जगतसँग अटुट सम्बन्ध गाँसेको छ । पृथ्वीको जगतमा अवस्थित सम्पूर्ण तत्वहरूबीचको अन्तरनिर्भरतामा एउटा आम सन्तुलन पैदा भएको हुन्छ । त्यस्तो प्रकारको सन्तुलनभित्र अविछिन्न रूपमा क्रिया–प्रतिक्रिया सञ्चालित भइरहेको सन्तुलन नै पृथ्वीको वातावरणको आधार हो । प्रकृतिले सृष्टिदेखि नै सबै प्राकृतिक तत्वहरूलाई आफ्नो अविछिन्न अस्तित्व, स्वच्छता अनि जीवनदायी तुल्याउन समान उत्तरदायित्व र घनिष्ट र अन्तरनिर्भरता गराएको छ र त्यही अन्तरनिर्भरताले गर्दा सम्पूर्ण वस्तुहरूको अस्तित्व सम्भव रहेको छ । हाम्रो वातावरण संरक्षण ऐन, २०७६ ले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली आर्थिक तथा मानवीय क्रियाकलाप र यिनका अवयव तथा ती अवयवबीचको अन्तत्र्रिmया र अन्तरसम्बन्धलाई वातावरण भनी परिभाषित गरेको छ ।

यो युग २१ औँ शताब्दीको युग हो । आज विश्व ज्ञान, विज्ञान र आधुनिक प्रविधिको विकासमा निरन्तर क्रियाशील छ । विज्ञान र प्रविधिको आधुनिक विकासले विश्वलाई एउटा मुठीमा बाँधेको छ । हामीले हाम्रा बाजे पुर्खाहरूले कल्पनासमेत गर्न नसक्ने प्रविधिको विकास र आविष्कार हाम्रा आँखा अगाडि देखिएका छन् । भविष्यमा समेत अझै ज्ञान, विज्ञान–प्रविधि र आविष्कारले उचाइ छुने कुरामा कुनै शंका छैन । यसरी मानव जातिको विकासक्रम सँगसँगै पृथ्वीको वातावरणभित्रका विविधताहरूमध्ये कुनै एक वस्तु वा तत्वमा पर्न गएको असरले अन्तरनिर्भताको शृंखलालाई नै प्रभावित या सन्तुलन बनाउँछ । मानवजातिको विकास मानव संख्यामा वृद्धि, नयाँ तथा आधुनिक प्रविधिको विकास, ठूला–ठूला कलकारखाना, विलासिताका वस्तुमा अधिक प्रयोग, वन विनाश, प्राकृतिक सम्पदाको अधिक प्रयोग आदि कारणले वातावरणको सन्तुलनलाई खलबल्याएको छ । यसरी भइरहेको असन्तुलनले र विविधताहरूको अधिक जसले गर्दा वातावरणले आफ्नो मौलिक बाटोबाट अन्य दिशातिर सञ्चालित गर्न थालेको छ । यो स्थितिले वातावरण र समग्र मानवजातीलाई हित गर्दैन । अतः यो स्थितिले स्वच्छता र जीवनदायी हुँदैन, कष्टप्रद र विनाशकारी हुन्छ ।

हाम्रो वरिपरि रहेको सबै जीवित र निर्जीव, प्राकृतिक प्रणाली, प्राकृतिक वा मानवनिर्मित संरचनाहरू, वायु, जल, भूमि सबै वातावरणअन्तर्गत पर्दछन् । वातावरणले हाम्रो जीवन सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको छ । हामीले फेर्ने सास, पिउने पानी, बस्ने संरचना आदि इत्यादि हरेक प्रणालीमा वातावरणको भूमिका छ । अतः भन्नुपर्दा वातावरणले हाम्रो प्रत्यक्ष जीवनसँग सम्बन्ध गाँसेको छ । प्राकृतिक सम्पदाले कसैलाई पक्षपात गरेको छैन । यो एउटा चक्रजस्तो हो । प्रकृतिले आफ्नो ठाउँबाट जुन भूमिका खेल्नुपर्ने हो, त्यो सम्पन्न गरेको छ तर मानवको हेलचक्राइँ र अज्ञानताले गर्दा प्रकृृतिमा असन्तुलन हुँदै गएको छ । प्रकृतिले आफ्नो दायित्व पूरा गरेको छ भने मानव जातिको पनि दायित्व हुन्छ कि वातावरणको संरक्षण गर्नुपर्दछ । वातावरण संरक्षण गरेर हुने फाइदा भनेको आफ्नै लागि हो । हाम्रै सन्तती अनि युगलाई निरन्तरता दिनको लागि पनि वातावरण संरक्षण गर्न आवश्यक छ । वातावरण संरक्षणको लागि बनेको नीति नियमको सही पालना गर्ने हो भने वातावरण स्वच्छ हुन्छ पहिले यो कुरा विचार गरौं कि वातावरण संरक्षणसम्बन्धी ऐन, कानुन बनाउन किन आवश्यक थियो, किनभने मानव जातिले गरेका विभिन्न कार्यले प्रकृतिमा प्रतिकूल असर पर्दथ्यो र वातवरणीय सन्तुलन बिग्रियो र अहिले विश्वमा डरलाग्दा वातावरण समस्या देखापरेका छन् ।

प्रकृतिले जुन भूमिका खेल्नुपर्ने हो, त्यो सम्पन्न गरेको छ तर मानवको हेलचक्राइँ र अज्ञानताले प्रकृृतिमा असन्तुलन बढेकोे छ

आज विश्वमा बढ्दो मात्रामा उद्योग कल कारखानाको आधुनिक विकास भएको छ । यो एकपक्षीय विकास हो भन्ने कुरामा म सहमत छु । विकासमा आधुनिकीकरण हुनु विकास सँगसँगै एउटा डरलाग्दो समस्याको विकास पनि हुनु हो । यस्ता घातक विकासले संसारको अस्तित्व नै संकटमा पर्ने खतरा देखिएको छ । विभिन्न खोज र अनुसन्धान हेर्ने हो भने मानव सभ्यता र विकास एउटा खतरनाक विन्दुमा देखाइएको छ । यसरी खतरनाक अवस्था हाम्रो इकोसिस्टममा देखिएकाले हाम्रो अन्तरनिर्भरता टुट्ने सम्भावना छ । संसारमा वनस्पतिको विनाश द्रूत गतिले भइरहेको छ । उच्च वर्गका २,५०,००० प्रजातिहरूमध्ये अन्दाजी ५०,००० प्रजातिहरू आउँदो ३० वर्षभित्र लोप हुने अनुमान अध्ययनले देखाएको छ । नेपालमा मौसम तथा जलवायु, विज्ञान विभागले हालै प्रकाशित गरेका तथ्यांक अनुसार काठमाडौंको तापक्रम पनि प्रतिवर्ष ०.०५ डिग्री सेल्सियसका दरले बढेको जनाएको छ । गत चैतमा नेपालका विभिन्न ठाउँहरुमा मापन गरिएको हावाको शुद्धता एकदमै दूषित देखिएको थियो । विश्व प्रदूषण सूचकांकले प्रकाशित गरेको अध्ययन अनुसार नेपाल विश्वमै तेस्रो र एसियाकै पहिलो प्रदूषित सहर बनेको छ । अध्ययनका अनुसार काठमाडौंमा वायु प्रदूषण साथै फोहोर र त्यसको उचित व्यवस्थापन नुहनुले प्रदूषण निकै उच्च विन्दुमा छ भने पिउने पानीमा हुने प्रदूषण पनि उच्च विन्दुमा छ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर हिँड्नलाई पनि रोक लगाएको थियो । उच्च हिमाली क्षेत्रमा पनि वातावरण प्रदूषणको प्रभावको अनुमान गर्न सकिन्छ । अत्यधिक तापक्रममा वृद्धि र हिमाली क्षेत्रमा हिउँ पग्लिनु, समुन्द्रको सतह बढ्नुु, त्यसैगरी वायु र जल र भू–प्रदूषणले पृथ्वीको वातावरणलाई प्रभाव पारेको छ । ओजन तहको क्षयीकरणले विनाशकारी विकीरणहरू पृथ्वीमा आउन सक्छन् जसले घातक रोगहरू लाग्न सक्छन् । यस्ता विभिन्न समस्याहरू देखापरेका छन् । जसले हाम्रो स्वच्छ वातावरण बिस्तारै बिस्तारै प्रतिकूल बनाउँदै गएको छ र हामी यस कुरामा अनविज्ञ छौँ । मानिसबाट प्रकृतिमाथि हुने दोहनको प्रतिफल पाइरहेका छौं । अहिलेको वर्तमान सन्दर्भमा प्रकृतिले थारै भए पनि बिश्राम लिएको छ । कोरोना महामारीले अहिले विश्व आक्रान्त भइरहेको अवस्थामा प्रकृति र मानवबीच समुधुर सम्बन्ध स्थापित गरेको छ । स्वच्छ हावाको आवश्यकताको लागि चौतारो, पीपल, वन जंगल संरक्षणमा लागि पर्नुले पनि मानिस प्रकृति संरक्षणको लागि क्रियाशील रहेको स्पष्ट हुन्छ ।

नेपाल प्राकृतिक सम्पदा, जैविक विविधता अपार, जलशक्ति र भौगोलिक र हावापानीको दृष्टिकोणले सुन्दर मनोरम भए पनि बिस्तारै बिस्तारै हाम्रो देशको स्वच्छ निर्मल तथा फलदायी वातावरण प्रदूषित बन्दै छ जनसंख्याको बढ्दो चाप, वन विनाश, बढ्दो सहरीकरण, बढ्दो मात्रामा उद्योग, कलकारखाना आदिले हाम्रा मनोरम दृश्यहरू कुरूप बन्दै गएका छन् भने स्वच्छ पानी, हावा पनि दूषित बन्दै गएको छ । वातावरणको अन्य प्रसंगमा विशेष गरेर अव्यवस्थित सहरीकरण र औद्योगीकरणले त्यस्ता स्थानहरूमा प्रदूषण यथेष्ट मात्रामा फैलिदै गएको छ । बढ्दो मात्रामा गइरहेको वनविनाशले खडेरी, भूक्षय, वन्यजन्तुहरूको लोप वायु प्रदूषण आदि बढ्दै गएको छ । देशको राजधानीमा जल प्रदूषण र वायु प्रदूषणले उग्ररूप लिएको छ । उचित सरसफाइ, सार्वजनिक स्वास्थ्यको हेरचाहमा कमीले गर्दा सहरी क्षेत्रमा विभिन्न रोगव्याधि प्रकोप बढ्दो अवस्थामा छ । नेपाल हावापानी तथा प्राकृतिक सुन्दरता र सम्पदामा धनी भएर पनि विभिन्न वातावरणीय समस्या भोगिरहेको छ । वास्तवमा हाम्रो देश विकासशील देश हो । आधुनिक प्रविधि र विज्ञानको कम विकास अनि न्यून मात्रामा औद्योगीकरण, रासायानिक वस्तु उत्पादन क्षमता नहुनेले हामीलाई कम मात्रामा समस्या छ भन्ने आधारमात्रै पूर्ण छ । विकसित र सम्पन्न देशहरूले उत्पादन रासायानिक विषाक्त पदार्थको हामी प्रत्यक्ष मारमा परेको छौं । विभिन्न देशले प्रयोग गर्ने जैविक रासायानिक हात–हतियार अत्यधिक गोलाबारी र तेल भण्डारमा लाग्ने आगोबाट त्यस क्षेत्रको वातावरणमात्र होइन, यसले विश्वभरि नै वातावरण असन्तुलन बनाएको छ । यसको प्रत्यक्ष भार विकासशील देशहरूले खेपेको छन् । यसरी गर्दा पृथ्वीको वातावरण उत्तेजित भएका प्रस्तुत उदाहरण छन् । जस्तैः बाढी, पहिरो, अम्लीय वर्षा, भू–क्षय असामान्य तापक्रम ओजन तह पातलिनु, विभिन्न रोगव्याधि आदि विनाशको प्रशस्त प्रमाणहरू छन् ।

कानुन मानव जीवनलाई व्यवस्थित, अनुशासित एवं सन्तुलित बनाउने सहमतिको साझा दस्तावेज हो । वातावरण संरक्षणको लागि देश तथा विदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय कानुन विद्यमान रहेको छ । विश्वका सबै राज्यहरूको साझा दायित्व वातावरणको संरक्षण, संवद्र्धन व्यवस्थापन एवं दिगो विकास गर्नु हो । वातावरण संरक्षणको लागि भिन्न देशमा विभिन्न कानुनहरूले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । प्रस्तावित नजिरहरूद्वारा नागरिकका हक–अधिकार त्यसैगरी रिटमार्फत् पनि मौलिक हक संरक्षण गर्न सकिन्छ । नेपालमा स्वच्छ वातावरणसम्बन्धी अधिकारको पहिलो संकेत गोदाबारी मार्बल इन्डस्ट्रिजको मुद्दाबाट भएको पाइन्छ । सूर्यप्रसाद ढुंगेलविरुद्द गोदाबारी मार्बल इन्डस्ट्रिजसमेत भएको मुद्दामा अदालतले स्वच्छ वातावरण सार्वजनिक हकको रूपमा व्याख्या गर्र्दै आवश्यक नीति नियम बनाउन सरकारलाई आदेश दिएको र गोदाबारी क्षेत्रको वातावरण प्रभावकारी ढंगले संरक्षणतर्फ कारबाही गर्न निर्देशन दिएको थियो । सबै नागरिकले बाँच्न पाउने अधिकारलाई स्वास्थ्य एवं स्वच्छ वातावरणमा बाँच्न पाउने व्यक्तिको मौलिक हकसँग जोडी व्याख्या गरेको सर्वोच्च अदालतको फैसला अहिलेसम्म वातावरण संरक्षणमा भएको सबैभन्दा ठूलो उपलब्धि हो । यस नजिरबाट पनि वातावरण प्रदूषण गर्नेलाई कारबाही र कानुनमा उल्लेख भएअनुसार दण्ड सजाय हुने कुरा स्पष्ट हुन्छ । वातावरण संरक्षण ऐन २०७६ ले पनि वातावरण कानुनलाई पूर्ण रुपमा कार्यान्वयन गराई वातावरण संरक्षणमा प्रत्येक नागरिकलाई कर्तव्यबोध गराएको छ ।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस हरेक दिन मनाउन आवश्यक छ । विभिन्न कार्यक्रमहरू, सभा–समारोह, चेतनामूलक कार्यक्रम हरेक दिन गर्न आवश्यक छ । त्यसैगरी वातावरण स्वच्छ र स्वस्थ बनाउन लागि पर्नुपर्छ । किनभने एक दिन वातावरण संरक्षण गरेर सधैं संरक्षण गर्न सकिन्न । प्रत्येक नागरिकमा वातावरण संरक्षण गर्न उत्साहित बनाउन विभिन्न कार्यक्रमहरू बनाउन जरुरत छ । वातावरणलाई हानि नगरी दिगो विकासको लक्ष्य पहिल्याउन विभिन्न समयमा प्रयासहरू भएका छन् । वातावरणीय कानुनका सिद्धान्तलाई आत्मसात गरी वातावरण संरक्षणतर्फ अघि बढ्न सकिन्छ । अब पनि हामी ढिला ग¥यौँ भने आफैंलाई क्षति हुनेछ । हावापानीमा परिवर्तन र जलवायु परिवर्तनले अबको वातावरण कता जाने हो । यसमा सबै सचेत हुन आवश्यक छ । हामीले आफ्नो ठाउँबाट वातावरण संरक्षणमा हात अगाडि बढाउन सक्यौं भने पनि केही हदसम्म वातावरणसम्बन्धी संयोजन कार्यक्रम चलाउन आवश्यक छ । साप्ताहिक, मासिक फोहोरमैला उठाउने कार्य गर्नुका साथै व्यक्तिलाई फोहोर मैला व्यवस्थापनमा अग्रसर बनाउनु आवश्यक छ । त्यसरी नै सामाजिक संघसंस्था सरकारी तथा गैरसरकारी निकाय, स्थनीय समुदाय, उपभोक्ता समूह, पत्रकार, बुद्धिजीवी, युवा तथा बालक्लबहरूको पनि वातावरणीय अधिकार सुनिश्चित गर्न दिगो विकासलाई संस्थागत गर्न तथा समाजको कमजोर वर्गका वातावरण प्राकृतिक स्रोतसम्बन्धी सरोकारलाई संवद्र्धन गर्न सशक्तका साथ अघि बढ्नु आवश्यक छ । (सन्दर्भ : विश्व वातावरण दिवस जुन ५)

Related News

सम्बन्धित समाचार

hero news full width