विश्व परिवेशमा नेपालको शिक्षा

प्रा. विश्वराज अधिकारी प्रा. विश्वराज अधिकारी
असाेज १२, २०७७

परिचय

शिक्षा आर्जन गर्ने विभिन्न माध्यमहरू हुन्छन् । शिक्षालाई व्यवस्थित गर्ने विभिन्न प्रक्रिया, पद्धति र व्यवस्थाको विकास मानव सभ्यताको विकास सँगै सुरु भएको मानिन्छ । पूर्वीय संस्कृतका विद्वान् गुरु शंकराचार्यले व्यक्तिले आफूलाई चिन्नु शिक्षा भनेका छन् जसको अर्थ हुन्छ मानिसले आफूभित्रको संवेग, आवेग र भावनालाई उचित किसिमले अगाडि बढाउनु हो । पश्चिमका महान् दार्शनिक प्लेटोले पनि शिक्षाले मानिसलाई सुख र दुःख अनुभव गर्न सक्ने बनाउँदै व्यक्ति र समाजको पूर्णता र सुन्दरताको विकास गर्दछ भन्ने आशय व्यक्त गरेको पाइन्छ । यसरी हेर्दा शिक्षा दिने र लिने प्रक्रिया निरन्तर चलिरहने समाजको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न विधा र विषयमा ज्ञान र सिपको हस्तान्तरण गर्नु देखिन्छ । यस लेखमा संसारका सफल शिक्षा प्रदान गर्ने केही अनुकरणीय देशहरूको सामान्य शिक्षा प्रणालीको सार सङ्क्षेप प्रस्तुत गरी हाम्रो देश नेपालमा प्रयोगमा आएको शिक्षण प्रणालीसँग जोडेर हेर्ने कोसिस गरिएको छ ।

अमेरिका

अमेरिका संसारकै शक्तिशाली, प्रविधियुक्त उच्च शैक्षिक प्रणाली प्रयोगमा ल्याउने देश हो । यहाँ सरकारी, सामुदायिक तथा संस्थागत सबै किसिमका शिक्षण संस्थाहरू सञ्चालन गरिएका छन् । राज्य सरकारले सम्पूर्ण शैक्षिक मानकहरू निर्धारण गर्ने गर्दछ । राज्य र स्थानीय सरकारले १.३ ट्रिलियन डलर र संघीय सरकारले २०० विलियन डलर शिक्षामा छुट्याएका छन् (शिक्षा बजेट २०१६–२०१७) । १८ वर्ष भित्रको शिक्षा अनिवार्य तथा निःशुल्क प्रदान गर्दछ भने उमेर समूह अनुसार पूर्व प्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालय शिक्षामा वर्गीकरण गरेको पाइन्छ । त्यस पछिको उच्च शिक्षा प्रतिस्पर्धात्मक हुन्छ जसमा धेरै सामुदायिक तथा संस्थागत कलेज तथा विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिका विभिन्न विषयहरूमा विद्यार्थीहरूलाई अध्यापन गराइन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि माथिल्ला तहमा प्रशस्त ऋण तथा छात्रवृत्ति प्रदान गरिन्छ । २०१८ को तथ्याङ्क अनुसार ८९.५ प्रतिशत विद्यार्थीहरू उच्च मा.वि., ३४.९ प्रतिशत स्नातक वा सो सरह, १३.५ प्रतिशत स्नातकोत्तर र ३.५ प्रतिशत विद्यार्थीहरू मात्र विद्यावारिधिसम्मको अध्ययन गर्न सकेका देखिन्छन् । उच्च शिक्षा अनिवार्य गरिएको हुँदैन । हजारौँ कलेज र विश्वविद्यालयले विभिन्न क्षमताका विद्यार्थीहरूलाई उनीहरूको रुचि, क्षमता र आवश्यकता विचार गरी अनगिन्ती विषयहरूको पठनपाठनको व्यवस्था मिलाइएको हुन्छ । विश्व विद्यालयमा भर्ना लिँदा उमेर, उच्च मा.वि. को ग्रेड, पढेको विषय र त्यसका विषय वस्तुहरू, कक्षाको स्तर, ब्ऋत्रक्ब्त् जस्ता परीक्षाको प्राप्ताङ्क, अतिरिक्त क्रियाकलाप,भर्ना आवेदकको निबन्ध, शिक्षक वा प्राध्यापकको सिफारिस पत्र समेतलाई आधार मानी छनोट गरिन्छ । विश्वविद्यालयहरूमा अनुसन्धान केन्द्रित पठन पाठन हुन्छ भने कलेजहरूमा व्यवसायिक शिक्षामा जोड दिइन्छ । विद्यार्थीहरू पूर्णकालीन वा आंशिक भएर अध्ययन गर्ने मौका पाउँछन् । पेशागत उच्च शैक्षिक संस्थाहरू जस्तैः ःक्ष्त्, ऋक्ष्त् मा स्वास्थ्य, प्रविधि, वाणिज्य, शिक्षा, कृषि, बन तथा इन्जिनियरिङ विषयका उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेका छन् । (Source;\ www.wenr.wes.org)

क्यानडा

यस देशमा किण्डर गार्डेनदेखि (k-12) १२ कक्षा सम्मको शिक्षा अनिवार्य र निःशुल्क छ । शिक्षाको व्यवस्थापन गर्ने पूर्ण जिम्मेवारी प्रान्तीय सरकारलाई दिइएको छ । सरकारी तथा संस्थागत दुवै प्रकारका शिक्षण संस्थाहरू भए पनि ९५ प्रतिशत भन्दा बढी विद्यार्थीहरू सरकारी वा सामुदायिक शिक्षण संस्थाहरूमा आबद्ध छन् । १२ कक्षा अथवा उच्च माध्यमिक शिक्षा प्राप्त गरेपछि विद्यार्थीहरूलाई विभिन्न सामुदायिक कलेज, प्रविधिक शिक्षालय, भाषा स्कुल, समर स्कुल, विश्वविद्यालय जस्ता संस्थाहरूले उत्कृष्ट शिक्षा प्रदान गरी आएका छन् । ११ कक्षाबाटै विश्वविद्यालय उन्मुख वा प्राविधिक स्नातक कलेज केन्द्रित पाठ्यक्रम हुने हुँदा व्यक्तिको ज्ञानका आधारमा उच्च शिक्षाको पहुँच हुने गर्दछ । प्रयाप्त छात्रवृत्ति र अध्ययन ऋणको व्यवस्था हुनाले विद्यार्थीहरूलाई आर्थिक समस्या पर्देन । तर पनि प्रान्तीय सरकारलाई शिक्षाको पूर्ण जिम्मेवारी दिइने हुँदा प्रान्त अनुसार नीतिगत विविधता भने पाइन्छ । उच्च शिक्षालयहरूमा विश्वविद्यालय, ग्य्राजुएट विश्वविद्यालय तथा विश्वविद्यालय क्याम्पसहरूमा अध्ययनका साथसाथै अनुसन्धानमा विद्यार्थीहरू सक्रिय हुने गर्दछन् । यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधि सम्मको अध्ययन गर्न पाइन्छ । अर्काे तर्फ व्यवसायिक शिक्षा प्रदान गर्ने कलेजहरू र पेशा व्यवसायमा संलग्नलाई स्तर वृद्धि गर्ने कलेजहरू पनि प्रयाप्त पाइन्छन् । विज्ञान र प्रविधि शिक्षण संस्थाहरूले डिप्लोमा र स्नातक तहका प्रमाणपत्रहरू दिने काम गर्दछन् । व्यवसायिक शिक्षाको मूल उद्देश्य विभिन्न पेशामा आवश्यक जनशक्ति उत्पादन गरी कार्य क्षेत्रमा पठाउनु हो । विश्वविद्यालयमा भर्ना हुन भने धेरै क्षमता र प्रमाणपत्रहरूको आवश्कयता पर्ने हुँदा प्रतिस्पर्धा गरी थोरै तर उत्कृष्ट विद्यार्थीहरू मात्र पढ्न पाउँछन् । टोरोन्टो, म्याकगिल, म्याकमास्टर जस्ता संसारका उत्कृष्ट विश्वविद्यालयले धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ध्यान केन्द्रित गरेको पाइन्छ । (Source;\ www.huffinatonpost.ca)

अस्ट्रेलिया

अमेरिका र क्यानडा जस्तै अस्ट्रेलिया पनि शिक्षामा अग्रस्थानमा पर्ने देश हो । यहाँ पनि प्राथमिक, माध्यमिक र उच्च शिक्षा, व्यवसायिक र तालिम दिने स्कुल, कलेज तथा विश्वविद्यालयहरू प्रान्तीय सरकारको प्रत्यक्ष निगरानी, योजना र व्यवस्थापनमा अगाडि बढाएको पाइन्छ । केन्द्रीय सरकारले आर्थिक अनुदान र नीति निर्माण गर्न सहयोग पुर्‍याउँछ । यहाँ ६०५ विद्यार्थीहरू सरकारी स्कुल तथा महाविद्यालयमा अध्ययन गर्दछन् भने ४०५ प्राइभेट अथवा संस्थागत शिक्षण संस्थाहरूमा अध्ययन गर्दछन् । अमेरिका र बेलायत पछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षणको केन्द्र अस्ट्रेलिया बनेको छ ।

२०१९ को तथ्याङ्क अनुसार ८,१२,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियाका विश्वविद्यालय र व्यवसायिक अध्ययन संस्थानहरूमा अध्ययन गर्दछन् । अमेरिका, क्यानडा जस्तै यहाँ पनि क्याथोलिक गैर सरकारी तबरले संचालित विद्यालयहरू पाइन्छन् । तर सबै खालका शिक्षण संस्थाहरूमा एउटै स्तरीय पाठ्यक्रमको नमुना सरकारले लागु गरेको हुन्छ । संस्थाहरू थुप्रै काममा स्वायत्त हुने गर्दछन् । तर पनि सबै शिक्षण संस्थाहरूको नियमन सङ्घ, प्रदेश तथा टेरिटोटरीले गरेको पाइन्छ । (Source;\ www.austrade.gov.au)

बेलायत

बेलायत सरकारको शिक्षा विभागले देश भर संचालित शिक्षण संस्थाहरूको नियमन तथा निर्देशन गर्ने गर्दछ । प्रान्तीय सरकारी शिक्षण संस्थाहरू बाहेक स्वतन्त्र रूपले संचालित विद्यालयहरू तथा प्रान्तीय लगानीमा रहेका ग्रामर स्कुलहरू र कम्प्रीहासिप स्कुलहरू पनि उत्तिकै महŒवपूर्ण मानिन्छन् । प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक शिक्षामा विद्यार्थीहरूको उमेर अनुसार शिक्षण अनिवार्य र निःशुल्क गरिएको हुन्छ । त्यस पछिको उच्च शिक्षाको रोजाइ विद्यार्थीहरूको क्षमता र रुचि अनुसार शैक्षिक अनुसन्धानात्मक वा व्यवसायिक विषय अन्तर्गत हुने गर्दछ । कलेजस्तरमा ‘३’ लेभल वा लेभल ‘इ’ सम्मको शिक्षा लिने गर्दछन् । उच्च शिक्षामा विश्वविद्यालयले स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गराउँछ । विद्यावारिधि कम्तिमा ३ वर्षको अनुसन्धान केन्द्रित हुने गर्छ । सबै तहका शिक्षण प्रणालीमा पाठ्यपुस्तक भन्दा अन्य क्रियाकलाप जस्तै कार्यशाला, सेमिनार, गोष्ठी प्रस्तुतीकरण, खोज, छलफल जस्ता काममा विद्यार्थीहरू केन्द्रित हुन्छन् र त्यसैको आधारमा धेरै मूल्याङ्कन हुने गर्दछ । स्वभावैले सम्पूर्ण विद्यार्थीहरू बादविवादमा भाग लिने, छलफल गर्ने, हाजिर जवाफ तथा समूहगत कार्यमा अभिरुचि राख्ने गर्दछन् । यसले गर्दा उनीहरू अनुसन्धान केन्द्रित, सिर्जनात्मक, समालोचनात्मक चेत भएका, तर्क र विचार व्यक्त गर्न सक्ने हुन्छन् । जसले गर्दा संसारकै उत्कृष्ट विश्वविद्यालयहरू जस्तै अक्सफोर्ड र क्याम्ब्रिजमा विद्यार्थीहरूको आकर्षण बढिरहेको पाइन्छ । (Source;\ en.wikipedia.org)

डेनमार्क

डेनमार्कलाई पूर्णतया लोककल्याणकारी राज्य मानिन्छ । धेरै सार्वजनिक सेवाहरू जस्तै शिक्षा र स्वास्थ्य निःशुल्क प्रदान गरिन्छ । शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले नै बहन गरेको हुन्छ । छ वर्षको उमेरसम्म बच्चा स्याहार केन्द्र अनिवार्य नभए पनि ७ वर्ष माथि विद्यालय शिक्षाको सुरुआत हुने गर्दछ । एउटा कक्षामा सामान्यतया २० जना मात्र विद्यार्थीहरू राखेर पठाइन्छ । शिक्षा मन्त्रालयले प्रमुख विषयहरूको पाठ्यक्रम बनाउँदछ र त्यसैको आधारमा पालिकाहरूले विषयहरू थपघट गर्न पाउँछन् । उच्च माध्यमिक तहको शिक्षा पूरा गरिसकेपछि व्यवसायिक शिक्षा र तालिम, सामाजिक र स्वास्थ्यसम्बन्धी विषयहरू, कृषि, वन, अर्थशास्त्र, शिक्षा जस्ता विषयहरू प्रत्यक्ष रूपमा रोजगारीसँग जोडिएका हुन्छन् । विशेष गरी उच्च शिक्षा लिनका लागि विभिन्न परीक्षाहरू जस्तै उच्च माध्यमिक परीक्षा, उच्च वाणिज्य शास्त्रको परीक्षा, उच्च प्राविधिक परीक्षा, उच्च तयारी कक्षाका परीक्षाहरू पास गर्नु पर्ने हुन्छ ।(Soruce;\ umsl.edu)

फिनल्याण्ड

युरोपियन देश फिनल्याण्ड संसारकै उत्कृष्ट शिक्षा दिने देशमध्ये एक हो । तर अचम्म के छ भने स्तर निर्धारण गर्ने औपचारिक परीक्षा भने ज्यादै कम हुन्छन् । उच्च माध्यमिक तह पार गर्ने एउटा राष्ट्रिय परीक्षा गुणस्तर निर्धारण गर्ने खालको भए पनि अनिवार्य भने छैन । पठनपाठनको सम्पूर्ण जिम्मेवारी शिक्षकलाई दिइन्छ र उसले विद्यार्थीहरूको स्तर निर्धारण समेत गर्दछ । शिक्षा विभागहरूले विद्यालयमा हुने सम्पूर्ण क्रियाकलापको रेकर्ड भने राखेका हुन्छन् । शिक्षण पेशामा लाग्नु अगाडि सबै शिक्षकहरूले स्नातकोत्तर उपाधि कम्तीमा लिनु पर्ने हुन्छ । शिक्षण पेशा अति आर्कषण पेशा मानिन्छ भने शिक्षकहरू ज्यादै सम्मानित व्यक्तिमा पर्दछन् । प्रतिस्पर्धात्मक शिक्षण प्रणाली भन्दा सहयोगात्मक भावनालाई जोड दिइन्छ । कुनै पनि शिक्षण संस्थाहरू राम्रा वा नराम्रा भनेर छुट्याउँदैनन् । शिक्षक बन्न पनि थुप्रै तालिम र अनुभव लिनु पर्ने हुन्छ । सबै स्कुले विद्यार्थीहरूले स्कुलमा निःशुल्क खाना पाउँछन् । स्वास्थ्य सेवा उपलब्ध हुन्छ । मनोवैज्ञानिक परामर्शका साथै प्रत्येक विद्यार्थीहरूको निरीक्षण पनि गरिन्छ । त्यसैले शिक्षा सामाजिक असमानताको अन्त्य गर्ने विषय बन्न पुगेको छ । प्राथमिक कक्षा ६ वर्षदेखि सुरु हुन्छ र नौ वर्षको अध्ययन पछि माध्यमिक तह सकिन्छ । यो तह अनिवार्य र पूर्ण निःशुल्क हुन्छ । उच्च माध्यमिक तहमा विभिन्न व्यवसायिक विषयहरू रोज्न पाइन्छ । उच्च माध्यमिक तह पार गरी विशुद्ध शैक्षिक स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गर्ने वा व्यवसायिक शिक्षा लिएर क्रमिक अनुभव पछि प्रविधि विज्ञान विश्वविद्यालयबाट पनि विद्यावारिधि सम्मको शिक्षा लिन सकिन्छ । फिनल्याण्डमा सबै भन्दा राम्रो पेशा शिक्षण हो । तर यसमा संलग्न हुन धेरै तालिम, अध्ययन अनुसन्धान र अनुभवको आवश्यकता पर्दछ । शिक्षकलाई कसैको हस्तक्षेप हुँदैन, समाजले नै शिक्षकको मूल्याङ्कन गर्ने गर्दछ । विद्यार्थीहरूलाई गृहकार्य तथा परीक्षाको बोझ कत्ति पनि हुँदैन । (Soruce;\ www.infofinland.fi)

चिन

हाम्रो छिमेकी देश चिनमा आधारभूत शिक्षा पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक शिक्षा १६ वर्षसम्म अनिवार्य छ । ६ वर्षबाट सुरु हुने ६ वर्षे प्राथमिक, ३ वर्षे निम्न माध्यमिक र ३ वर्ष माध्यमिक गरी उच्च माध्यमिक विद्यालय सकिन्छ । माध्यमिक तहबाटै शैक्षिक, व्यवसायिक तथा प्राविधिक शिक्षा समूहमा विद्यार्थीहरूलाई पढ्ने अवसर मिल्दछ । उच्च शिक्षा अध्ययन गर्न चाहने सबै विद्यार्थीहरूले राष्ट्रिय उच्च शिक्षा परीक्षा (गाओ कायो) उत्तीर्ण गर्नु पर्छ । उच्च शिक्षा पनि विश्वविद्यालय र कलेज दुई भागमा बाँडिएको छ । विश्वविद्यालयले स्नातक देखि विद्यावारिधि सम्मको शिक्षा प्रदान गर्दछ भने कलेजले शैक्षिक तथा व्यवसायिक डिप्लोमाको प्रमाण पत्र दिने गरिन्छ । शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रको सम्पूर्ण योजना तयार गरी प्राइभेट तथा सरकारी शिक्षण संस्थाहरूलाई नियमन गर्दै आएको छ । (Soruce;\ www.oecd.org)

जापान

जापान गणित, विज्ञान र प्रंविधिको उत्कृष्ट शिक्षा प्रदान गर्ने एसियाको विकसित देश हो । जापानले थुप्रै युरोपियन र अमेरिकन देशहरूबाट भित्र्याएको शिक्षण विधि र पद्धतिको विशिष्ट प्रयोगलाई देश विकासको माध्यम बनाएको छ । किण्डर गार्टेन (३–६ वर्ष) प्राथमिक (७–१२ वर्ष) निम्न मा.वि. (१२–१५ वर्ष) र माध्यमिक (१५–१८ वर्ष) समूहमा विद्यार्थीहरूलाई पठनपाठन गराइन्छ । उच्च माध्यमिक तहमा ३ किसिमको पढाइ हुन्छ । सिनियर हाई स्कुल, प्राविधिक कलेज र विशेष तालिम दिने कलेजहरू पर्दछन् । सिनियर हाई स्कुल ज्यादै प्रतिस्पर्धात्मक हुन्छ जुन पास गरेपछि विश्वविद्यलायीय अध्ययन गरिन्छ । प्राविधिक कलेजमा इन्जिनियरिङ जस्ता विषयहरू अध्यापन गराइन्छ । विशेष तालिम दिने कलेजमा व्यवसायिक शिक्षा दिइन्छ जुन खुल्ला किसिमले पढन पाइन्छ । शिक्षा मन्त्रालयले प्रत्येक विषयहरूको खाका, उद्देश्य र विषयवस्तु प्रदान गर्दछ भने त्यस अनुरूप स्वतन्त्र भएर पाठयोजना तयार गर्दछन् । पाठ्यक्रमलाई ३ भागमा बाडिएको हुन्छ । अनिवार्य विषयहरू, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापहरू अध्यापन गराइन्छ । (Source;\ blog.edsense.in/2019)

माथि उल्लेख गरिएका देशहरूको शिक्षा प्रणालीलाई सार सङ्क्षेप गरेर मुख्य तथा निम्न निष्कर्षमा पुग्न सकिन्छ ।

  • शिक्षामा सरकार पूर्ण जिम्मेवार र सजग भएको पाइन्छ ।
  • शिक्षामा उल्लेख्य बजेटको व्यवस्था गरिएको छ ।
  • कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप/स्वार्थ शिक्षामा हुँदैन ।
  • समाजले शिक्षण पेशालाई उत्कृष्ट पेशा भनेर मानेको छ ।
  •  शिक्षक बन्न उच्च योग्यता र विशिष्ट तालिम आवश्यक पर्दछ ।
  • शैक्षिक वातावरण घर परिवार जस्तै सुमधुर हुने गर्दछ ।
  • शिक्षण संस्थाहरू श्रोत, साधन र प्रविधिले युक्त हुन्छन् ।
  • विद्यार्थीहरूलाई परीक्षा र गृहकार्यको बोझ थुपारिँदैन ।
  • अभिभावकहरू आफ्ना सन्तानले पाएको शिक्षामा विश्वस्त छन् ।
  • माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क छ ।
  • उत्कृष्ट विद्यार्थीहरूले मात्र उच्च शिक्षामा प्रवेश पाउँछन् ।
  • संस्थागत भन्दा सरकारी विद्यालयमा आकर्षण बढी छ ।
  • झण्डै सबै शैक्षिक संस्थाहरू स्वायत्त हुन्छन् ।
  • पठनपाठन पाठ्यक्रम, परीक्षा र मूल्याङ्कन प्रणालीलाई बारम्बार पुनरावलोकन गरिन्छ ।
  • शिक्षकहरूलाई नियमित तालिम तथा सूचना प्रदान गरिन्छ ।
  •  शिक्षण पेशालाई अत्यन्त महत्व दिएर शिक्षकहरूले ज्ञान र सिपको विकास गर्दछन् । शिक्षण संस्था प्रमुख अत्यन्त इमानदार, अनुभवी र लगनशील हुने गर्दछन् ।
  •  वैकल्पिक शिक्षाको तुरुन्त प्रयोग गर्न सक्ने वातावरण हुन्छ ।

यसरी हेर्दा हाम्रो देशको शिक्षा प्रणाली अन्य देशको तुलनामा कमजोर देखिँदैन । विशेष गरी शैक्षिक तह, अध्ययन गर्ने समय तथा पाठ्यक्रम विकसित देशमा जस्तै भए पनि प्रतिफल ज्यादै कम हुनुका कारण खोज्नु शिक्षा क्षेत्रका विद्वान्हरूको धर्म हो । वास्तवमा बाल विकास कार्यक्रमदेखि विश्वविद्यालय तहसम्म शिक्षा दिने संस्थाहरू र शिक्षा दिने र लिने व्यक्ति, साधन, श्रोत तथा प्रविधिमा हामीले पुनर्विचार गर्नु आवश्यक देखिन्छ ।

कक्षा १ देखि ८ सम्म आधारभूत तथा ९ देखि १२ कक्षासम्म माध्यमिक शिक्षालाई वर्गीकरण गरेको हाम्रो देशमा मात्र नभई अन्य देशमा पनि देखिन्छ । प्राथमिक देखि माध्यमिक तहसम्म शिक्षालाई निःशुल्क बनाउन सरकारका लागि सामान्य कुरा होइन । तर पनि शहरमा अध्ययनरत विद्यार्थी तथा उनका अभिभावकको आकर्षण संस्थागत विद्यालयमा बढ्नु सरकारी लगानी खेर जाने त हैन भन्ने प्रश्न स्वभाविक छ । ११ कक्षाबाटै विशिष्टीकरण गरेर उच्च शिक्षा प्रवेशको बाटो तय गर्ने काम हामीले पनि गरेकै छौ । व्यवसायिक विषयहरूका अध्ययन केन्द्रहरू पनि देशैभरि छन् । ११/१२ वटा विश्वविद्यालय स्थापना गरी सञ्चालन पनि भएकै छन् । स्वास्थ्य, कृषि, वन तथा इन्जिनियरिङ जस्ता विषयमा सीमित सिटमा विद्यार्थीहरूलाई डरलाग्दो प्रतिस्पर्धा गराउने काम पनि यथावत छ । तर पनि हामीले आशा गरेका र राम्रा शैक्षिक जनशक्ति स्वदेश भन्दा विदेश बस्न लालयित छन् । सरकारले छात्रवृत्तिमा ठूलो रकम खर्चेर देशमा र विदेशमा अध्ययन गरेका उत्कृष्ट जनशक्ति पलायन हुनुको कारण आजसम्म पनि उस्तै छन् ।

अर्काे तर्फ विश्वविद्यालयमा मानविकी, शिक्षा, व्यवस्थापन तथा कानुन अध्ययन गर्ने स्नातक तहमा सबै र स्नातकोत्तर तहमा ९७ प्रतिशत विद्यार्थीहरू प्रमाणपत्र प्राप्ति पछि के गर्ने भन्ने दुविधाले ग्रस्त छन् । त्यसरी नै कानुनमा BALLB, व्यवस्थापनमा BBa\, विज्ञानमा BSc.CSIt\जस्ता विषयहरू सामान्य अभिभावकका लागि पहुँच भन्दा बाहिर र नगण्य छात्रवृत्तिको व्यवस्थाले गरिब तथा क्षमतावान् विद्यार्थीहरूको हितमा नभएको प्रष्ट छ । हाम्रा विश्वविद्यालयका पाठ्यक्रम युरोप र अमेरिकाका विश्वविद्यालयहरूमा भन्दा कम नभए पनि हाम्रो शिक्षण प्रणाली, परीक्षा तथा मूल्याङ्कन पद्धति प्राध्यापक र स्वयं विद्यार्थीका कारणले आशातित परिणाम आएको पाइँदैन ।

झण्डै सबै स्नातक अध्ययन हुने विषयहरू ४ वर्षे वा ८ सेमेसटर छन् भने स्नातकोत्तर पछि एम.फिल गरेर मात्र विद्यावारिधि गर्न पाइने अवस्था छ । जुन अध्ययन तथा अनुसन्धानका लागि उपयुक्त समय पनि हो । यति धेरै व्यवस्था र प्रणाली हाम्रो शिक्षामा भए पनि विद्यार्थीहरूको क्षमता र उत्तीर्ण सङ्ख्या निकै कमजोर छ । शिक्षामा भएका लगानी र तहअनुरूप उपलब्धि प्राप्त नहुनुका केही व्यवहारिक तथा नीतिगत कारणहरू यस प्रकार हुन सक्दछन् ।

  • शिक्षा सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नु ।
  • शिक्षामा उल्लेख्य बजेटको व्यवस्था नहुनु ।
  • विद्यालय देखि उच्च शिक्षासम्म अनावश्यक राजनैतिक हस्तक्षेप हुनु ।
  • शिक्षण पेशा मर्यादित र आकर्षक बन्न नसक्नु ।
  • सबै शिक्षण संस्थाहरूमा प्रयाप्त श्रोत, साधन र प्रविधिको व्यवस्था नहुनु ।
  • सम्पूर्ण शैक्षिक कार्यक्रम, पाठ्यक्रम, परीक्षा, मूल्याङ्कन केन्द्रिकृत हुनु । शिक्षक, प्राध्यापकको जवाफदेहिता न्यून हुनु ।
  • विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम, परीक्षा प्रणाली, शिक्षण क्रियाकलाप तथा मूल्याङ्कन पद्धति पुरातन तथा समयानुकूल परिवर्तन नहुनु ।
  • सरकारी शैक्षिक संस्थाका पदाधिकारीहरू अनुभवी, वरिष्ठ तथा योग्य चयन हुन नसक्नु ।
  • शिक्षक, प्राध्यापकहरूलाई निरन्तर तालिम, वृत्ति विकास तथा अन्य सुविधा प्राप्त नहुनु ।
  • सम्पूर्ण शिक्षक, प्राध्यापकहरूको नियमित मूल्याङ्कन गरी दण्ड र पुरस्कारको व्यवस्था गर्न नसक्नु ।
  • विश्वविद्यालयमा क्षमतावान् विद्यार्थीहरूलाई प्रतिस्पर्धाका आधारमा मात्र भर्ना लिन नसक्नु ।
  • विश्वविद्यालयहरू अनुसन्धान केन्द्रको सट्टा कक्षाकोठा शिक्षणमा मात्र केन्द्रित हुनु ।
  • प्रविधि र व्यवसायिक शिक्षामा जोड दिन नसक्नु ।
  • सक्षम र उत्कृष्ट शैक्षिक जनशक्तिलाई तत्काल रोजगारीको व्यवस्था गर्न नसक्नु ।
  • बैकल्पिक शिक्षण प्रणालीको विकासमा चासो नदेखाउनु, आदि ।

यी र यस्तै अन्य दृश्य अदृश्य कारणहरूले हाम्रो शिक्षा र यसबाट प्रत्येक वर्ष निस्कने हजारौँ शैक्षिक जनशक्तिले आशा गरिएका परिणाम ल्याउन सकेको देखिँदैन । मुख्य कुरा माथिका केही मूलभूत समस्याहरू समाधान गर्नु, शिक्षण संस्थाहरूमा नियमित अनुगमन गर्ने संयन्त्र निर्माण गर्नु, राजनीति भन्दा अलि माथि उठेर निर्णय गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रो देशमा सक्रिय सयौँ शिक्षाविद्हरू यी समस्याबाट अनभिज्ञ भने छैनन् । तैपनि नीतिगत तथा प्रणालीगत सुधार शिक्षामा हुन नसक्नु लाजमर्दाे कुरा हो ।

हाम्रो सुझाव