Worldlink ads

निजी स्वास्थ्य संस्थामा काम नगर्ने डाक्टर गौचन

सुनील सापकोटा
मंसिर २१, २०७८

‘प्राइभेट क्लिनिकबाट एप्रोच भइरहेको छ, ‘प्राइभेट प्राक्टिस’ नगर्ने डाक्टर हुँ भनेर गर्वका साथ भन्छु, अछाममा रहँदा पनि बयलपाटा अस्पतालमै २४ सै घन्टा सेवा सञ्चालन गरेको थिएँ ,’ यो भनाइ हो, गण्डकी प्रदेश मातहतको सरकारी अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनको । उनी भन्छन्, ‘जहाँ काम गर्छु, त्यसैमा समर्पित हुन्छु, म बिहान एउटा, दिउँसो अर्काे र बेलुका अर्काेमा जाने राम्रो मान्दिनँ ।’ अहिलेसम्म प्राइभेट प्राक्टिस नगरेका उनी आगामी दिनमा पनि प्राइभेट प्राक्टिस नगर्ने दृढ अठोट रहेको बताउँछन् ।
नेपाल सरकारको निजामति सेवामा कार्यरत थिए उनका बुबा । उनकी आमा घर व्यवहार चलाउन व्यस्त थिइन् । दुर्गम जिल्ला मुस्ताङको मध्यमवर्गीय परिवारका सदस्य हुन् उनी । थकालीहरु विभिन्न व्यवसाय गर्ने र धेरै कमाउने सफल व्यवसायी बनिरहेका थिए । उनका बुबाले सन्तानहरुलाई शिक्षा दीक्षामा जोड दिए । तर डा. गौचन भने सामाजिक सेवा र शैक्षिक उन्नतिबाट अघि बढ्ने सपना साकार पार्न अघि बढे । उनकी दिदी बैंकर, व्यापारी, होटल मालिक छिन् । उनकी बहिनी शर्मिला फिस्टेल हस्पिटल नर्सिङ संयोजक छन् । पछिमात्रै उनको घरमा भित्रिएको उनकी पत्नी पनि स्वास्थ्य क्षेत्रमै छन् । उनी दन्तरोग चिकित्सक तथा जनस्वास्थ्यकर्मी हुन् ।
बुबाका साथी सिनियर अहेव दलबहादुर रानाबाट प्रभावित भएर विकासमा डाक्टर बन्ने इच्छा जागृत भयो । सिअहेब राना गाउँका घरघरै पुग्ने र उपचार गर्ने गरेको उनी सम्झन्छन् । उनी भन्छन्,‘गाउँलेहरु उनलाई भगवान्को रुपमा रेस्पेक्ट गर्थे ।’ सिअहेब रानाबाट प्रभावित गौचनले पढाइ र सामाजिक सेवातर्फ ध्यान दिए । विकास एसएलसी त पास भए तर उच्च शिक्षा इन्जिनियरिङ जाने कि मेडिकल लाइन जाने भन्नेबारे परिवारमा छलफल भयो । विकासका बुबा कम खर्चिलो इन्जिनियरिङ हुने र पढाइमा खर्च जुटाउन सकिनेतर्फ सोच्न थाले । उनका बुबा भन्थे,‘पैसा खर्च गरेर डाक्टर पढाउन सकिँदैन ।’ उनको डाक्टर बन्ने सोच पैसाका कारण बदलिने अवस्थामा पुग्यो । उनी भन्छन्,‘भाग्यवश एमबिबिए र एमडी दुवै तहका लागि छात्रवृत्तिमा नाम निस्कियो ।’ छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका उनी गरिब र न्यून आर्थिक अवस्था भएका बिरामीको उपचार हुने सरकारी अस्पतालको गुणस्तर वृद्धि हुनपर्नेमा जोड दिन्छन् । कोभिड महामारी उच्च भएपछि गण्डकी प्रदेश सरकारले तत्कालीन लेखनाथ सामुदायिक अस्पताललाई आफू मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनायो । नयाँ अस्पताल भएकाले प्रदेश सरकारले खुला प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक नियुक्ति गर्ने योजनाबमोजिम विज्ञापन प्रकाशन ग¥यो । प्रतिस्पर्धीबाट उनै डा. गौचन कार्यकारी निर्देशक छानिए ।
मुस्ताङका गौचनले मुस्ताङकै सरकारी विद्यालय ज्ञानोदय माविबाट एसएलसी उत्तीर्ण गरी काठमाडौंमा प्लस टु विज्ञान संकायमा गरेका थिए । उनले मुख्य विषय वायोलोजी रोजे । एमबिबिएस र एमडीको पढाइ भने धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूरा गरे । जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिनमा उनले एमडी गरेका थिए । सुरुमा विपीमै मेडिकल अफिसरका रुपमा सेवा थालेका गौचन अछाममा बयलपाटा अस्पतालमा मेडिकल निर्देशकका रुपमा जिम्मेवारी सम्हालिरहेका थिए ।
करिब ११ वर्ष अछामको बयलपाटा अस्पतालमा रहँदा अस्पताललाई रोलमोडल अस्पताल बनाउन सफल भएको उनी दाबी गर्छन् । उनी भन्छन्,‘साधारण स्वास्थ्य संस्थालाई नेपालको रोलमोडल अस्पताल बनाउन सफल भएको छु, अस्पतालको सेवा, आवश्यक व्यवस्थापन र समुदायसँगको सम्बन्धलाई मूल्यांकन गर्दा बयलपाटा अस्पताल अरुले पनि अवलोकनयोग्य छ ।’ अनुभवी डा. गौचन कार्ययोजना र अन्तर्वार्ताका आधारमा अब्बल ठहरिए । सिफारिस समितिको सिफारिसबमोजिम डा. गौचनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय प्रदेश सरकारले २०७७ मंसिर २० गते गरेको थियो ।

अछामको बयलपाटा अस्पताललाई रोलमोडल बनाएको दाबी गर्ने उनी संक्रामक तथा सरुवा रोग अस्पताल पनि रोलमोडल बनाउन प्रतिबद्ध छन्

संक्रामक अस्पताललाई पनि नमुना बनाउने उनको प्रतिबद्धता छ । वि.स.२०७७ को माघदेखि कोभिड बढ्न थाल्यो, चैतमा दोस्रो लहर सक्रिय थियो । सानो एक बच्चा, ६६ वर्षका बुबाआमा, क्वारेन्टाइनमा बस्नुपर्ने, छुट्टै बस्नुपर्नै कुराले उनलाई फरक खालको तनाब पनि भयो । त्यसैमाथि प्रशासनिक जिम्मेवारी, व्यवस्थापन, बिरामीको हेरचाह, पारिवारिक जोखिम चिन्ता त थियो नै । सारा समस्या बेवास्ता गर्दै अस्पतालका जिम्मेवारी पूरा गर्न तल्लीन भए पनि नयाँ अस्पतालमा स्वास्थ्य प्रणाली बुझाउनै सकस प¥यो उनलाई । अस्पतालमा लक्षण नभएका, सामान्य लक्षण भएका केसमात्रै थिए तर कन्सल्टेन्ट थिएनन् । उनले बिरामी बचाउन त जटिल केस भएका बिरामी भर्ना गर्नुपर्ने धारणा अघि सारे । प्रदेश सरकारसँग समन्वय गरेर ४ जना कन्सल्टेन्टलाई छिट्टै करार नियुक्ति दिएको उनी सम्झन्छन् ।
चिकित्सक, नर्स, प्रयोगशाला प्राविधिक लगायत विभिन्न क्षेत्रमा सुधारका लागि सामाजिक विकास मन्त्रालय लगायत अन्य दातासँग समन्वय गरेर काम गरेका थिए । अस्पतालमामा गुणस्तरीय स्वास्थ्य सेवा दिने, जनशक्ति व्यवस्थापन, तालुक संस्थासँग समन्वय र सहकार्यबाट गर्नुपर्ने व्यवस्थापनमा चुनौती रहेको कार्यकारी निर्देशक डा. गौचनको निष्कर्ष छ । यद्यपि अस्पताल राम्रो बनाउन पहल भइरहेको उनको भनाइ छ । गण्डकी प्रदेश सरकार मातहतका शोधभर्ना उपलब्ध गराउने पहिलो अस्पतालको रुपमा संक्रामक तथा सरुवा रोग अस्पताल भएको डा. गौचन दाबी गर्छन् । कोभिड बिरामीको उपचारमा प्राइभेट अस्पतालमा १० दिनमा ३ लाख बिल आउँछ भन्ने मानेर हिसाब गर्दा पनि कम्तीमा ५० करोड आम जनताको पैसा बचाएको उनको दाबी छ । यसैका लागि सरकारीमा लगानी बढाउनु पर्छ, स्वास्थ्य सेवा बिस्तार गर्नुपर्छ भन्ने आफ्नो धारणा रहिरहेको उनले सुनाए ।
डा. गौचन आएपछि विभिन्न पक्षसँग समन्वय गरी १ वर्षभित्रमै आइसियु, एचडियु सञ्चालन, प्रयोगशाला स्तरोन्नति, अक्सिजन प्लान्ट स्थापना, एन्टिजेन टेस्टिङ सुरुजस्ता महत्वपूर्ण काम भएका छन् । अक्सिजन सिलिन्डर संख्या २ सय हाराहारी छ भने अक्सिजन कन्सन्ट्रेटर ७५ पु¥याएको उनी बताउँछन् । आधुनिक बेड ५०, प्यासियन्ट मोनिटर, आपूर्ति तथा विभिन्न दातासँगको समन्वयमा १० करोड बराबरको मेडिकल औजार अस्पतालमा भिœयाएको डा. गौचन बताउँछन् । करिब ३५ लाख पर्ने क्षयरोगको जिन एक्पर्ट मेसिन ग्लोबल फन्डले नेपाल सरकार, राष्ट्रिय क्षयरोग केन्द्रमार्फत दिनुपर्नेमा बजेट छैन भनेपछि दातामार्फत ल्याएको उनले सुनाए । ३ जना क्षयरोगी पत्ता लगाइएको छ, क्षयरोग केन्द्रको लोड कम भएको छ, त्यो मेसिनबाट कोभिड पिसिआरसमेत गर्न सकिने गरी काम गरेको उनको भनाइ थियो ।
अस्पतालमा कोभिड बिरामी साढे १२ सय हाराहारीले उपचार पाएका छन् । स्क्रब टाइफस १, डेंगु बिरामी १ जनाले समेत अस्पतालबाट सेवा लिएका छन् । अस्पतालमा मलेरिया, डेंगु, कालाजार निशुल्क पत्ता लगाउने व्यवस्था मिलाइएको छ । बिजुलीको लोड बढी वा कम भएर हुने समस्या समाधान १ महिनाभित्र अन्त्य गर्ने उनको योजना छ । उनी भन्छन्, ‘यो सबै अस्पतालको समस्या हो तर एक महिनामा अन्य अस्पतालले समेत अनुकरण गर्न लायक हुनेछ ।’ भवनभित्रको वायरिङ पनि विदेशी स्टान्डर्डको गरिसकिएको छ । ‘तत्कालीन सामाजिक विकासमन्त्री नरदेवी पुनको कोभिड उपचार नै यही गरिएको थियो। भर्नाका बिरामीलाई नर्सिङ टिम बलियो चाहिन्छ भनेर कन्भिन्स गर्न सकें, गुणस्तर वृद्धि भयो,’ उनले भने, ‘जहाँ गरिन्छ, त्यही ध्यान दिएर गर्नुपर्छ भन्ने मेरो धारणा हो, संक्रामक अस्पताललाई पनि रोलमोडल अस्पताल बनाएरै छोड्छु ।
संक्रामक तथा सरुवा रोग अस्पताल हुनुअघि उक्त अस्पताल लेखनाथ सामुदायिक अस्पतालका नामले परिचित थियो । आधारभूत सुविधामात्रै भएको उक्त अस्पताललाई प्रदेश मातहत ल्याएर सरकारी अस्पताल बनाइएपछि सेवा सुविधा थप भएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन तथा आवश्यक स्वास्थ्य सामग्री थप भइरहेको छ । उक्त अस्पताल पछिल्लो समयमा कोभिड अस्पतालको रुपमा परिचित छ । तर उक्त अस्पतालमा सरुवा र संक्रामक रोगको उपचारका लागि प्रदेशमातहत ल्याएर सेवा दिन थालिएको हो ।

Related News

सम्बन्धित समाचार

    • खोप अभियान तीव्र पार

      आदर्श समाज सम्वाददाता पौष २२, २०७८
      स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा खोपको अभियान स्थगित गरेकोमा मानिसहरु आश्चर्य चकित भएका छन् । सरकारले…
    • बधाई र शुभकामना ! लिङ्देनजी

      दिनेश बस्नेत पौष ११, २०७८
      राजेन्द्र लिङ्देनको जीतले युवाहरुमा केही आशा र सम्भावनाको छनक छाएको छ । नेपाली जनमानसमा वितृष्णामुखी बन्दै गएको राजनीति, खोके बूढाहरुले…
    • चापाकोटका घुम्नैपर्ने केही पर्यटकीय स्थलहरु

      आदर्श समाज सम्वाददाता पौष ६, २०७८
      बढ्दो सहरीकरण, आधुनिकता, सूचना प्रविधिमा पहुँच तथा आर्थिक क्षमतामा भएको विकासलगायत कारणले केही वर्ष यता नेपालीहरुमामा पनि घुम्न जाने संस्कृति…
    • विदेशमुखी वर्तमान र नेपालको दुर्दशा

      जीवन बराल सङ्घर्ष मंसिर १३, २०७८
      झण्डै २५० वर्षको विरासत रहेको राजपरिवार । जुन समय पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका थिए । जुन समय बाइसे, चौबिसे…
    • खोट नियतमा छ, नियतिलाई दोष !

       नगेन्द्रराज पौडेल मंसिर १२, २०७८
      व्यवस्था भन्नु निर्जीव चिज हो, मानव अस्थिपञ्जरजस्तै । अस्थिपञ्जरमा हाड, छाला, रगत, मासुमात्र होइन, प्राण भरेपछि मात्र चलायमान हुन्छ ।…

    hero news full width