वडा दसैँको महिमा सङ्क्षिप्त विश्लेषण

शिवप्रसाद गौतम
कार्तिक १, २०७७

जुनसुकै कुराको पनि महत्त्व हुन्छ । महान् हुनाको भाव वा अवस्था, विशालता, महत्ता, आवश्यकता जरुरत, उत्तमता, श्रेष्ठतालाई महत्त्व भनिन्छ । विक्रम संवत् २०७७ सालको वडा दसैँ कार्तिक १ गते आश्विन शुक्ल दुर्गा पक्ष घटस्थापनाबाट प्रारम्भ भएको छ । यो वर्ष मलमास परेकोले आश्विनमा हुनुपर्ने दसैँ कार्तिकमा पुगेको छ । मलमासका कारण ढिलो परेको छ । मलमास भनेको अधिक मास, पुरुषोत्तम महिना हो । हरेक तीन वर्षमा आउने दुई औँसीका बीचमा संक्रान्ति नपर्ने महिना एक वर्षमा बाह्र महिना भनदा बढी हुने महिना मलमास पुरुषोत्तम महिना मलमास हो ।

वडा दसैँमा घर लिपपोत गरेर चिटिक्क पार्ने, विदेश गएका परिवारका सदस्य स्वदेश फर्केर आफ्ना घर परिवारका साथ आनन्द पूर्वक बस्ने, साथीभाइ, इष्टमित्र सँग भेटघाट हुने, घर परिवार बसेर मिठो मिठो खाने राम्रा राम्रा कपडा लगाउने, पिङ खेलेर रमाइलो गर्ने, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देवी भगवतीहरुका मन्दिर शक्ति पीठहरुमा गएर पूजा गर्ने र शक्ति प्राप्तिको वरदान माग्ने, विजया दशमीका दिन आफ्ना पिता माता गुरु र मान्यजनहरुकोमा गएर दसैँको टीका र जमरा लगाई उहाँहरुबाट जीवनमा सबै कुराहरू पुगुन भनेर आशीर्बाद थाप्ने, देवी दुर्गालाई बली चढाएर त्यही बली चढाइएको बोकाको मासु प्रसाद मानेर मासु र भात खाने जस्ता रमाइला कार्यक्रम गरेर दसैँ मनाउने परम्परा छ । यो पर्व हुने खानेले हर्षेल्लासका साथ मनाउँछन् । पुगेसरी, नआउनेले पनि ऋण गरेर भए पनि रमाइलोसँग मनाउँछन् । सरकारले पनि यो पर्व मनाउन आफ्ना कर्मचारीहरुलाई तलवी सुविधा सहति विदा दिन्छ । त्यसैले वडा दसैलाई राष्ट्रिय पर्व मानिएको छ । यो पर्व हिन्दु धर्मवलम्बीहरुका लागि अत्यन्त महत्वपूर्ण छ । यो पर्वलाई महत्व नदिने सरकारी कर्मचारीहरु पनि विदा सहित चाड पर्व खर्च बुझ्दछन् । सुविधा लिने पर्वलाई मात्यता नदिने हिन्दुधर्म विरोधी प्रशस्त छन् ।

यो पर्वमा दुर्गा भगवतीको आराधना गरिन्छ । आदि शक्तिका रूपमा मानिने देवताहरुले नास गर्न नसकेका दुर्ग नामक राक्षसलाई वध गरेकोले यो नाम रहेकी एक प्रसिद्ध देवी अनेक असुरहरूको विनास गर्ने आठ हात भएको बाघको घोडा चढेकी अर्थात बाघ बहान भएकी सिंहवाहिनी प्रख्यात सर्वशक्तिमान देवी दुर्गा भगवती हुन् । उनको पराक्रम र सौर्यबाट देवताहरुलाई दुःख दिने राक्षसहरूको अन्त्य गरेकाले देवताका पाला देखी खुसीयालीमा दुर्गाको पूजा आराधना गरिदै आएको प्रथा कली युगमा पनि मनाइदै आइएको छ । यस्ती शक्तिशाली दुर्गा भगवतीका आठ रूप छन् । १) शैलपुत्री नव दुर्गा मध्य एक, पार्वती, शैलजा, पार्वती दुर्गा हुन् । २) ब्रह्मचारिणी : ब्रहमचैर्यमा रहेकी, अध्ययनरत देवी, नवदुर्गा मध्य दोस्रो भगवती पार्वती ब्रहमचारिणी हुन् । ३) चन्द्रघण्टा : नवरात्रीको तेस्रो दिन पूजा गरिने एक भगवती, नव दुर्गा मध्य एक भगवती चन्द्रघण्टा हुन् । ४) कुस्माण्डा : चौथो दिन पूजा गरिने शिवको गणमा रहेकी पराक्रमी देवी कूष्माण्डा हुन् । ५) स्कन्दमाता : महादेवको वीर्य अग्नीमा पर्नाले अग्नीका गर्भबाट जन्मेका मानिने कुमार कात्तिकेय स्कन्दकी आमा पार्वती हुन् । ६) कात्यायनी : दुर्गाको एक मूर्ति वा रूप । कात्यायन ऋषि पत्नी कात्यायनी हुन् । ७) कालरात्री : अँध्यारो डरलाग्दो रात, सारा विश्व महाप्रलय हुने रात, मृत्युको रात, नवरात्री मध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा, दुर्गाको मूर्ति वा रुपलाई कालरात्री भनिन्छ । ८) महागौरी : नवदुर्गा मध्ये आठौदेवी महागौरी हुन् । दुर्गा भगवती माताका यी आठ रूप शक्तिशाली रूप हुन् ।

प्रत्येक वर्षको शरद ऋतुमा तिथि अनुसार असोज वा कार्तिक महिनामा असोजको शुक्लपक्षको प्रतिपदा वा घटस्थापनाका दिनदेखि दशमीसम्म नेपालका अधिकांश हिन्दुधर्मावलम्बीहरु विभिन्न शक्तिपिठमा पूजा पाठ गरी बली चढाइ नवदुर्गाको स्तुति आराधना गर्दछन् । महासरस्वती, अर्थात सृष्टि, महालक्ष्मी अर्थात पालन र महाकाली अर्थात संहार (नासगर्ने) की प्रतिक दुर्गा देवीको नौ दिनसम्म पूजा गरिने भएकोले घटस्थापनादेखि नवमीसम्मका दिनलाई नवरात्र वा नौरथ भनिन्छ । घटस्थापनाका दिन पवित्र स्थानहरुबाट बालुवा रातो माटो ल्याई पूजा कोठामा पातको ठूलो टपरी दुना आदिमा बालुवा माटो राखी त्यसमा पानी राखी मकै र जौ रोपेर “जमरा” राखिन्छ । यो दिन देखि घर घर र शक्ति पिठहरुमा चण्डी, वेद, गीता पाठ गरिन्छ । सप्तमीका दिन दुर्गा भवानीका थानमा खड्गआदि हतियार चढाई पूजा गरी बली (देवीलाई भोग दिइने पशुपन्छी) चढाई फूलपाती मनाइन्छ । यो दिन गोरखा दरबार दसै घरबार फूलपाती ल्याएर हर्क बढाईका साथ काठमाण्डौँ हनुमान ढोकामा भित्र्याइने गरिएको छ । यस दिन राती हनुमान ढोकाको मुलचोकमा अर्थात कोतमा राष्ट्रध्यक्षको उपस्थितिमा ५४ बोका, ५४ राँगा, ५४ कुखुरा, ५४ परेवा गरी २१६ पशुपन्छीको देवी दुर्गालाई बली दिने प्रचलन थियो । यो दिन बली दिई कालरात्रीका साथै कोत पूजा तथा निशन पूजा समेत गरिन्थ्यो । महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रीको रूपमा मानेर पूजा आराधना गरी भगवतीलाई उपयुक्त अनुसार सरकारी खर्चमा हर्ष बढाइका साथ बली दिने गरिन्थ्यो । बाग्लुङ कालीका, पोखरामा विन्ध्यवासिनी र गोरखामा गोरखकाली र मनकामना देवीहरुको बली दिएर पूजा आराधना गरिन्छ । यहि दिन मौलो (परम्परागत रूपमा कोत आदिमा पशुको बली दिइने किलो) पूजा गर्ने परम्परा छ ।

दशमीका दिन देखि पूर्णिमासम्म नेपालीहरु आफ्ना मान्यजनहरुबाट टीका जमरा ग्रहण गरी आशिर्वाद प्राप्त गर्दछन् । नेपालमा सबै भन्दा बढी जनताले मनाउने यो चाड हो । यो पर्वमा आफ्नो व्यक्तिगत घरका अतिरिक्त मन्दिर चोकगल्ली पनि आपसमा मिलेर सफा गर्छन् । यसका अतिरिक्त सडकका विद्युत स्तम्भहरुमा बल्बहरु राखेर रातलाई पनि दिन जस्तै बत्ती बालेर झलमल्ल पार्दछन् । राष्ट्रिय पर्वको रूपमा मनाइने यो चाडमा सरकारले पनि सस्तो बजार पशु हाट मेलाको व्यवस्था गर्ने र निजी स्तरका व्यापारिहरूबाट पनि उपभोग्य वस्तुहरूमा सामान्य छुट दिएर जनसाधारणलाई सुविधा पुर्‍याउने प्रयास हुने गर्दछ । गाउँ सहरमा हाटबजार, पिङ मेलाको व्यवस्था गरी भरपुर मनोरञ्जन गर्ने प्रयास गरिन्छ । घटस्थापनादेखि स्कूल कलेजका विद्यार्थीहरूलाई र सप्तमीदेखि सरकारी र गैर सरकारी कर्मचारहिरुलाई सरकारी बिदा दिइन्छ । जसले गर्दा वर्षको एक पटक भेटघाट गरी एक अर्काको सुखदुःखमा सरिक हुन सकून् तथा मान्यजनहरुबाट शुभ आशीर्वाद प्राप्त गरुन् भन्ने अभिप्रायले सुविधा प्रदान गरिने परम्परा छ ।

रामले रावणलाई र देवताहरुले महाकालीको नेतृत्वमा अत्याचारी राक्षसहरू माथि वा दैवी शक्तिले आशुरी शक्ति माथि विजय प्राप्त गरेको खुसीयालीको उपलक्ष्यमा शुरु गरिएको एक आपसमा आशीर्वादको रूपमा माया र सद्भावको सञ्चार गर्ने महान् चाड हो । यो चाड पहिले चैत्र महिनामा मात्र मनाइन्थ्यो र गर्मी मौसम भएकोले रमाइलो गर्ने क्रममा मीठो मसिनो बढी खाँदा स्वास्थ्यमा नकारात्मक असर परेकोले उपयुक्त मौसम शरद ऋतुमा सारिएको हो भन्ने भनाइ छ । यसले गर्दा वर्षमा दुई पटक असोजमा पर्ने वडा दसैँ र चैत्रमा पर्ने चैते दसैँ मनाउने प्रचलन आएको भन्ने किम्बदन्ती छ ।

वडा दसैँमा मान्यजनले टीका लगाई दिँदा आशीर्वाद दिने चलन छ । पहिले पहिले मान्यजनले सन्तानले डाँडाकाँडा ढाकून् मनले चाहेका सबै इच्छा चाहाना पूर्ण हुन रोग नलागोस्, दूध र भात कहिल्यै नटुटोस्, सबैको मान्यगन्य भए जीवन दीर्घ होस् भनी आशीर्वाद दिने चलन थियो । अहिले यो प्रचलनमा समय सापेक्ष परिवर्तन आएको पाइन्छ । व्यक्तिको भेटघाट र पत्रपत्रिकाबाट शुभकामना व्यक्त गर्ने प्रचलन आएको छ ।

संस्कृत भाषाबाट शुभकामना दिने अति सुन्दर शुभकामना श्लोकहरु पनि छन् । प्रायःले जानी नजानी यी आशीर्वचन व्यक्त गर्दछन् । आशीर्वचन पुरुष र नारीलाई अलग अलग छन् भने दुवैलाई यो आशीर्वचन दिने चलन पनि छ ।
जस्तैः पुरुषका लागि
आयुद्रोर्णसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्चपवेन मानञ्च दुर्याेधन ।।
शौर्य, शान्तनवेबलंहल्लघेर सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्ति भवता कीर्तिश्च नारायणे ।

भावार्थ : अश्वस्थामाको जस्तो आयु, नैतिक गुण महाराज दशरथको जस्तो शत्रुलाई नाश गर्नमा भगवान् श्री राम जस्तो, ऐश्वर्यराजा नहुषको जस्तो, गति पवनको जस्तो, सम्मान दुर्याेधनको जस्तो, शुरोमा भिष्मपितामह जस्तो, बलमा बलराम जस्तो, सत्यमा महाराज युधिष्ठिर जस्तो विशिष्ट ज्ञानमा विदुर जस्तो र कीर्ति भगवान् श्री विष्णुको जस्तो तिमीलाई प्राप्त होस् ।

महिलाका लागि आर्शीवचन
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा छात्री स्वाहा स्वधानमोऽस्तुते ।।
जय त्वं देवो चामुण्डा जय मूर्तिार्तिहारिणि ।
जय सर्वगते देवी कालरात्री नमोऽस्तुते ।।
ब्रह्मा करोतु दीर्घायु र्विष्णु करोतु सम्पद ।
हरो हरतुपापानी गात्रं रक्षतु चण्डिका ।।
आवाहनं न जानमि न जानामि समर्पणम् ।
पूजां चैव न जानमि क्षमस्व परमेश्वरी ।।

भावार्थ : देवी जयन्ती, देवी मङ्गलाकाली, देवी भद्रकाली, देवी कपालिनी, देवी दुर्गा, देवी क्षमा देवी पार्वती, देवी रात्री, देवी स्वाहा र देवी स्वधा हजुरहरू सबैलाई नमस्कार छ । हे देवी चामुण्डा हजुरको जय होस् । प्राणीहरु सबैको पीडा हर्नु हुने हे देवी। हजुरको जय होस् । सबैमा व्याप्त हे देवी । हजुरको जय होस्, हे देवी । कालरात्री ! हजुरलाई नमस्कार छ । चतुर्मुखी ब्रह्माले दीर्घजीवी गुरुन्, विष्णु भगवान्ले समृद्ध गरुन्, भगवान शिवले पापहरु नाश गरिदिउन र देवी चण्डिकाले शरीरको रक्षा गरुन् । मलाई आह्वान गर्न आउँदैन, न मलाई समर्पण नै आउँछ । मलाई पूजा पनि गर्न आउँदैन, हे परमेश्वरी ! मलाई क्षमा गर्नुहोस् ।

हे दुर्गे सव देवताको जननी
हे आदि शक्ति माता
पाउपर्छाे हामी सिद्धि दिनुहोस्
सेवक हुँ जाउ कता ।

जय दुर्गा भगवती माता आजको विश्व नै कोरोना भाइरस कोभिड १९ को महामारीको संक्रमणले पीडित नेपाली सहित विश्वमानवलाई यो महारोगको भयावह स्थितिका अन्त्य गरी विश्वमा शान्ति छाइदिने भन्ने प्रार्थना गर्दछु । साथै आसन्न विजयादसैँको पावन अवसरमा विदेशमा रहनु भएका छोरा, बुहारी, नाति नातिना, इष्टमित्र बन्धु बान्धव र स्वदेशमा रहनु भएका पत्रकार, साहित्यकार, कानुन व्यवसाय, डाक्टर, इन्जिनियर, प्शासक, पण्डित, ज्योतिषि, न्यायाधीश, उद्योगपति व्यापारी, कृषक, समाज सेवी राजनीतिज्ञ, महात्मा, ऋषिमुनी लगायत सम्पूर्ण महसुसभाष इष्टमित्र बन्धुवान्धवमा दीर्घायु, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र समुन्नतिका साथै सुख शान्तिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । जय मातृभूमि नेपाल आमा ।

लेखक गिता मन्दिर व्यवस्थापन समितिका सचिव हुनुहु

Related News

सम्बन्धित समाचार

hero news full width