कोभिड संक्रमितलाई मनावैज्ञानिक सहयोग गर्दा …

सुदीप घिमिरे
असार १३, २०७८

‘हेलो । नमस्कार । म मनोविमर्शकर्ता हुँ । कोरोना भाइरसका कारण एकान्तबासमा बस्नु भएका व्यक्तिलाई प्राथमिक मनोवैज्ञानिक सहयोग गरिरहेको छु । आत्तिएको मनलाई शान्त बनाइरहेको छु । मैले दिनेश केसी (नाम परिर्वतन) लाई खोजेको । उहाँ कहाँ हुनुहुन्छ । कस्तो छ उहाँको स्वास्थ्य अवस्था ? उहाँसँग कुरा गर्न सकिन्छ ? एक पुरुषले उत्तर दिनु भयो ‘उहाँ आज बिहानैमात्र बित्नुभयो । भर्खरै शद्गद् गरि फर्केदै छौं ।’ मेरो बोली बन्द भयो । म आत्तिएँ । फोन काट्न सकिनँ । बोली हडबडायो । आवाज आएन । त्यस्तै ३० सेकेन्ड म मौन बसेँ । उनले ‘हेलो’, ‘हेलो’ भने । त्यसपछि मात्र मैले प्रतिक्रिया दिएँ ‘कस्तो दुखद् खबर, समाचार सुनेर दुख लाग्यो’ । त्यसपछि उनले दिनेशको बारे बताउन थाले । जीवनको अन्तिम क्षणसम्मको कथा र व्यथा ।’
यो कुराकानी अंश थियो एक कोरोना संक्रमणबाट आफन्त गुमाएका व्यक्ति र यस पंक्तिकारको । कोभिडको दास्रो महामारीसँगै मनोवैज्ञानिक सहयोग कार्य सुरु गरेको थिएँ । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट मनोविमर्शका लागि केसहरु सिफारिस भएर आउँथ्यो । स्थानीय निकायले परियोजना कार्यान्यन गर्ने भएकाले केसहरु स्थानीय निकायबाटै आउँथे । लकडाउन भएकाले संक्रमितको घर घर जाने अवस्था थिएन । होम आइसोलेसनमा रहेका व्यक्तिलाई हरेक दिन फोन गर्थें ।
दैनिक १०÷१२ जनासँग घन्टौ कुराकानी हुन्थ्यो । सिफारिस भए आएका केही व्यक्तिसँग कुरा गर्ने अवसर मिल्दैनथ्यो । उहाँहरु कोभिडका कारण निधन भएसकेको जवाफ भेटिन्थ्यो । उहाँलाई बचाउन मैले सकिनँ तर आफन्त गुमाउनु भएका व्यक्तिहरुको पीडामा भने मनोवैज्ञानिक मलम लगाएँ । उहाँहरु फोनमै रुनुहुन्थ्यो । उहाँहरुलाई सम्हाल्न हम्मे हम्मे हुन्थ्यो । कुराकानीको अन्त्यसम्म आउँदा विपत्तिसँग लड्न सक्ने सोचाइ, भावनाको विकास गराउन प्रयास गर्थेँ ।
बारम्बार उहाँको पीडाहरु सुन्दा आफैंलाई गाह्रो हुन्थ्यो । भावुक बनाउँथ्यो । त्यसैले फोन गर्न पहिले भगवान सम्झन्थें । नमस्कार गर्थें । उहाँसँग बोल्न पाउँ भन्थें । मेरो प्रार्थनाले कहिलेकाहीं अर्थ राख्दैनथ्यो । निधन भयो भन्ने उत्तर बेलाबेला आइरहन्थ्यो । रुनुहुन्थ्यो । उहाँको प्रतिक्रियाले नरमाइलो लाग्थ्यो ।
आफूलाई व्यवस्थापन गर्दै सहयोग गर्थें । पानी खाने, लामो लामो श्वासप्रश्वास विधि अवलम्बन गर्थें । फेरि अर्कोलाई फोन लगाउँथें । मैले मेरो कतव्र्य भुलिन् । लकडाउनको बेला घर खर्च चलाउन कठिन थियो । नियमित तलब आउँदैनथ्यो । सेवा दिएबापत आम्दानी राम्रै भएको थियो । घर खर्च ढुक्कले चलेको थियो ।
गत वर्षको लकडाउनमा मैले धेरैलाई मनोवैज्ञानिक सहयोग गरेको थिएँ । गण्डकी प्रदेशका अधिकांश आइसोलेसन र क्वारिन्टनमा पुगेको थिएँ । धेरैले मनोवैज्ञानिक सहयोग पाएका थिएँ । यो वर्ष गत वर्षको भन्दा फरक रह्यो । आइसोलेसनमा मान्छेहरु प्राय शून्य थियो । होम आइसोलेसनमा रहनु भएकाले फोन परामर्श विधि प्रयोगमा ल्याइयो । होम आइसोलेनकै कारण संक्रमणबाट निधन हुनेहरुको संख्या यो वर्ष धेरै भयो । चाहिने मात्रामा स्वास्थ्य उपचार पाएनन् । फलस्वरुप मनोवैज्ञानिक सहयोगको आवश्यकता बढी महसुस भएको थियो ।
एकान्तबासमा बस्दा संक्रमितहरु धेरै आत्तिएका थिएँ । व्यक्तिहरुमा डरको भावना बढेको थियो । चिन्ता थियो । मनोवैज्ञानिक समस्याहरु आउनुको मुख्यकारण थियो अक्सिजन अभाव हुनु । उपचार पाइँदैन कि भन्ने चिन्ता । संक्रमित व्यक्ति र उसका आफन्तहरुमा बढी चिन्ता थपिनु स्वाभाविकै थियो । उपचार गर्दा गर्दै कतिपय व्यक्तिहरुले आफन्त गुमाउनुभयो ।

पीडामा मलम लगाउँदा छुट्टै आनन्द लाग्थ्यो । कुराकानीले संक्रमित र उनका आफन्तहरुमा आत्मबल बढ्थ्यो, तनाव घट्थ्यो

लकडाउन भएको पहिलो साता पाका उमेरका व्यक्तिहरुलाई फोन गर्न डर लाग्थ्यो । दुखको खबर सुन्नुपर्छ कि भन्ने सोच बारम्बार आइ नै रहन्थ्यो । त्यसैले पौढ र किशोर किशोरीलाई बढी प्राथमिकता दिन्थेँ । पछि संक्रमणले किशोरकिशोरी भनेन । निधन हुनेहरुको संख्या पौढ र किशोर किशोरी भए । पछि किशोर किशारीहरुलाई फोन गर्न डर लाग्थ्यो । पीडामा मलम लगाउँदा भने छुटै आनन्द लाग्थ्यो । कुराकानीले संक्रमित र उनका आफन्तहरुमा आत्मबल बढ्थ्यो । तनाव घट्थ्यो । कोभिडले मनमा पारेको असरसँग जुध्ने उपाय पाउँथें । म एक्लो रहेनछु भन्ने भावनाको विकास हुन्थ्यो । स्वास्थ्य राम्रो भएपछि पटक पटक फोन आउँथ्यो । प्रेरणा दिनुभयो, मन शान्त भयो भन्दै फोन गर्थे । कोही संक्रमित व्यक्तिहरु लकडाउनपछि भेट्ने बाचा गर्दै छन् । उनीहरु भन्छन् ‘तपाईंलाई भेट्न पोखरा आउँछु ।’
तीन महिनाको अवधिमा झण्डै तीन सय संक्रमित व्यक्तिहरुसंँ मेरो कुराकानी भयो । आफन्त गुमाउनु भएका व्यक्तिहरुमा अझै पीडा छ । मनोवैज्ञानिक समस्याहरु कम भएका छैनन् । संक्रमित भएर स्वास्थ्य अवस्था सुधार भएका ५० प्रतिशत व्यक्तिहरु भने स्वाभाविक जीवनमा फर्कन थाल्नुभएको छ । बाँकी ५० प्रतिशत व्यक्तिहरुले पोस्ट कोभिड सिन्ड्रोमले सताइरहेको छ । संक्रमणमुक्त भइसक्दा पनि व्यक्तिको शरीर र मनले देखाइरहने अस्थिर अवस्थालाई पोस्ट कोभिड सिन्ड्रोम भनिन्छ ।
प्राय शक्ति कमजोर भएको महसुस गर्ने, छिट्टै थकान महसुस हुने, जुरुक्क उठ्न नसक्ने, हात खुट्टाहरु गल्ने, नियमित काम गर्न नसक्ने लक्षण देखिन्छन् । खोकी लागिरहने, सवारी साधनमा चलाउन नसक्ने, छिट्टै रिँगाटा लाग्ने, श्वास फेर्न पनि कठिन हुने, छाती दुख्ने र पेट तातो हुनेजस्ता लक्षणहरु व्यक्तिले महसुस गरिरहेका छन् । यस्ता लक्षणहरु व्यक्तिहरुले दुई महिनादेखि तीन÷चार महिनाभन्दा पनि बढी अनुभव गरिरहेका छन् ।
अनुसन्धानकर्मीहरुका अनुसार पोस्ट कोभिडका लक्षणहरु कहिलेसम्म आइरहन्छन् भन्ने अझै पत्ता लागिसकेको छैन । त्यस्ता समस्या व्यवस्थापनका लागि धेरै व्यक्तिहरुले आइसोलेसनमा रहँदन खाना, पानीलाई जसरी ध्यान दिनुभएको थियो सोही अनुरुप हेरचाह गरिरहनु भएको छ । तातो पानी खाने, झोलिलो कुरा बढी खाने, चिसो खाने कुरा प्रायले खानुभएको छैन । यस्ता व्यवहारलाई निरन्तरता दिन जरुरी छ ।
शरीरमा सुधार नआएका कारण कतिपय व्यक्तिहरुमा मनोवैज्ञानिक प्रतिक्रियाहरु बढिरहेका छन् । बढी आत्तिने, काम गर्न ध्यान नजाने, दिक्क लाग्ने, उदासी हुने, जीवनमा केही गर्न सकिँदैन कि भन्ने भावनाको विकास भएको छ । केही समय समय शरीर प्रतिक्रिया देखिनु स्वाभाविकै हो । यसलाई व्यवस्थापन गर्नका लागि व्यक्तिगत सरसफाइ, खानपिन, आराम र तनाव व्यस्थापन महत्वपूर्ण मानिन्छन् । आफूलाई गाह्रो भएको बेला स्वाथ्यकर्मी, मनोविमर्शकर्ता, मनोविद्, मानसिक चिकित्सकहरुको सल्लाह लिने गर्नुपर्छ ।
‘पोस्ट कोभिडका सिन्ड्रम’ सम्बन्धी वैज्ञानिक तथ्य काहिर आइसकेका छैनन् । त्यस्ता लक्षणहरुले व्यक्तिलाई गुणात्मक हुनबाट रोकेको छ । व्यक्तिलाई थप मनोसामाजिक समस्या हुन थालेको छ । त्यसलै यस्ता समस्याको रोकथामका लागि औषधीमुलो भन्दा शरीर र मनको हेरचाहलाई बढीभन्दा बढी ध्यान दिन जरुरी देखिन्छ । सकेसम्म एक्लै नबस्ने, घरको सानो सानो काममा व्यस्त रहने, हल्का शारीरिक व्यायाम, ध्यानहरु गर्ने, साथै मनलाई बहलाउने क्रियाकलापहरुमा ध्यान दिनुपर्छ । बिस्तारै परिस्थिति सामान्य हुने हुनाले शरीर र मनमा आएका प्रतिक्रियालाई पनि बिस्तारै ठीक हुन्छन् भन्ने भावनाको विकास गराउनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width