भ्रष्टाचारको बैना

dineshbasnet दिनेश बस्नेत
पौष २, २०७७

एउटा प्रसंग – सधैं झैं चोकमा सानो जमघट थियो । विभिन्न आस्था र स्वतन्त्र विचारधारी व्यक्ति थिए । मैले प्रसंगलाई फराकिलो बनाउँदै एउटा सरल र सोझो दाइलाई सोधें, ‘यसपाला भोट केमा हाल्नु भयो दाइ ?’

उनले पनि बिना हिच्किचाहट सायद नढाँटिकन भने, ‘भोट त मैले सूर्य चिन्हमा कम्युनिस्टलाई नै हाले ।’ त्यहाँ उपस्थित सबैले मुहारमा दंगभाव प्रकट गरे । किनभने उनका खलक कांग्रेसी थिए । बाबु जुन पार्टीमा लाग्यो, सन्तति उही पार्टीमा लाग्ने सैदान्तिक सुझबुझ अनुरुप उनी कांग्रेस मात्र थिएनन्, उनले मुक्तकण्ठले कांग्रेसको गुनगान पनि गाउँथे । प्राय कांग्रेसको पक्षमा खरोे वकालत गर्दथे । यस मानेमा उनले कम्युनिस्टलाई भोट हालेको कसैले पत्याएनन् ।

एउटाले त प्वाक्क भन्यो, ‘हाल्छौ तिम्ले सूर्यमा भोट । तिमी त सातसाले कांग्रेस हौं । तिम्रा खलकैले कांग्रेस छोड्न सक्दैनन् । हाम्ले चिनेका छैनौ र, यो गाउँमा कुन मान्छे कुन पार्टीको हो भन्ने, कुनले कुन पार्टीमा भोट हाल्छ भन्ने ।’

ती दाइले स्पष्टीकरण दिँदै भने, ‘हो साँच्चै हो ? सत्य रामोराम मैले सूर्यमै भोट हालेको हुँ । घरबाट खाना नखाइकन भोट हाल्न गएको, गेटमा पुग्ने बेलामा सूर्य चिन्ह्को टिसर्ट लगाएर बसेको एउटा केटाले भन्यो, ‘अंकल खाना खानु भयो ? पहिला खाना खानुस्, अनि भोट हाल्न जानुहोला । अहिले लाइन पनि लामो छ ।

म यसो अलमलिए । सोचें, ठिकै भनेको हो यसले । म अलमलिएको भेउ पाएर उसले हात समात्यो र एउटा होटलमा लग्यो । होटल पछाडि खाना खाने व्यवस्था रहेछ, ‘ल हाम्रो अंकल आउनुभयो’ भनेर उसले खाना मगायो । म भोकाएर गएको थिएँ । मासु भात मज्जाले दापे । मज्जाले अघाए । अनि भोट त मलाई सूर्यमै दिन मन लाग्यो । धर्म नछाडि सूर्यमा भोट हालेँ ।’

उनको कुरा सुनेर कोही हाँसे, कोही ट्वाल्ल परे । ‘उसो भए मासुभातसँग भोट बेच्यौँ ।’ चिरपरिचित एकजना बौद्धिक दाइले भने । भोट हालेका दाइ केही बोलेनन् । ‘आज मासुभात खुवाउनेले भोलि मासुभातको पैसा भ्रष्टाचार गरेर असुल्छन् । थाहा पाउनु भएको छैन तपाईंले । यसरी भ्रष्टाचार मौलाउनुमा तपाईं हामी मासुभात खाएर भोट दिनेको पनि उत्तिकै हात छ । भ्रष्टाचार मौलाएपछि क्यारेर देश विकास हुन्छ ?’ मैले पनि तर्क गरें ।

‘पाँच वर्षमा आउने चुनावमा भोट मासुभातको पक्षमा हाल्छन् । पार्टी, सिद्धान्त र नेताको कुनै मूल्यांकन हँुदैन भने कसरी बन्छ समृद्ध नेपाल ? कसरी तह लाउँछन् भ्रष्ट नेता हामी जनताले भेडा छौ भने नेताले देश बिगारे भनेर के दोष दिने ?’ अर्का एकजना प्रोफेसरले भने ।

बिहानको त्यो सारगर्भित कुराकानी नै मेरा लागि लेखकीय उर्जा बन्यो । हुन पनि हो, चुनाव भोजभतेर संस्कार बनेको छ, एउटा विकृति बनेको छ नेपाली राजनीतिमा । चुनावमा बेपर्वाह खर्च गर्ने, पैसाकै बलबुतालाई चुनावको पूर्वाधार बनाउने, सिद्धान्तले होइन पैसा अधिनस्थ रणनीतिले मतको संख्या बटुल्ने एउटा खियादार मान्यता नेपाली राजनीतिमा संस्कारको रुपमा अभ्यस्त छ । तर मलाई कता–कता अपभ्रंश संस्कार जस्तो लाग्छ । के नमिले, के नमिले जस्तो मनोवृत्ति लाग्छ । अरुलाई सुपाच्य र सुचारु बनेको विशेषता मलाई मन नपर्नु मेरै कमजोरी होला । मेरो यस्तो कमजोरीले मलाई राजनीति बुझ्न नसक्ने एउटा पात्र, राजनीतिबाट अछुतो बस्न रुचाउने, अर्थात बुझ्ने प्रयास गर्ने तर सक्रिय राजनीतिबाट आपूmलाई पल्तिर राख्ने एउटा नागरिक बनाएको होला । तर राजनीतिमा नीति सँगसँगै नियतमा पनि स्पष्टता चाहिन्छ । पात्र मात्र भएर हँुदैन पात्रता पनि चाहिन्छ । स्पष्ट भन्दा कार्यकर्ता एवं मतदातालाई एक दुई छाक र एक दुई दिन खुसी तुल्याउने भोजभतेर लोकतन्त्र विरोधी छ । त्यति मात्र होइन चुनावको बढ्दो खर्च भ्रष्टाचारको बैना रकम बन्न सक्दछ । नेपालमा त्यो प्रचलन दोहोरिरहेको पनि छ ।

अझ स्पष्टभन्दा बिना कारण, बिना अपेक्षा र बिना स्वार्थ कसैले लगानी गर्दैन । चाहे त्यो लगानी उम्मेदवारको हैसियतले होस् या व्यापारीले नेतालाई चन्दा स्वरुप दिएर भएको खर्च होस् । भोलि चुनाव जितेपछि त्यो सांसद, त्यो मन्त्रीको पहिलो दृष्टिगोचर नै आफ्नो चुनावताका लगानी उठाउनु हुन्छ । यदि व्यापारी, उद्योगीले दिएको चन्दा रकमबाट चुनाव जितेको भए उसका दुई नम्बरी काम सम्पादन गरिदिनु पर्ने उसको नैतिक बाध्यता हुन्छ । अनि के गरेर भ्रष्टाचार रोकिन्छ ? यो प्रश्न नेपालको सन्दर्भमा निकै गम्भिर बन्दै गइरहेको छ ।

जनवाद, समाजवाद र राष्ट्रवादका बारेमा तर्क दिएर नथाक्नेहरु स्वार्थवादमा झुण्डिएका छन् ।

बडो दुख लाग्दो र गम्भिर सन्दर्भ आज हामी सुन्दछौ । एउटा वडा अध्यक्षको चुनावमा लाखौं लाख खर्च भएको । सांसदको चुनावमा करोडौं खर्च भएको । अझ चुनावी खर्चको कुनै सीमाबन्दी छैन । कुनै आचारसहिंताको रोकतोक छैन । उम्मेदवारले चुनाव खर्च कताबाट जुटाउँछ, पार्टीले चुनाव खर्च कसरी जोहो गर्छ । निगरानी र अनुगमन गर्ने कुनै निकाय छैन । एउटा आमाबाबुले छोराछोरी माथि कर्तव्य पूरा गरेर केही खर्च गर्दा भविष्य सोच्छन् । यो छोराले हामीलाई भविष्यमा हेरचाह गर्ला । या अहिले पढाइमा खर्च गरे जागिर खाला र भविष्यमा हामीलाई पालताल गर्ला । एउटा उम्मेदवारले त त्यत्तिकै चुनावमा खर्च गर्दैन । उसले लगानी गर्दा आम्दानी हुने बाटा देखेको हुन्छ । त्यसको पूर्वानुमान गरिसकेको हुन्छ । त्यही अनुमानको पछाडि ऊ चुनाव जितेपछि लाग्छ । यसरी नै चुनाव खर्चको हिसाब मिलान गर्न लाग्दा देशमा भ्रष्टाचारले थप हौसला पाएको छ । त्यही भ्रष्टाचार राजनीतिकर्मीहरुको मुख्य आय आर्जन बनेको छ । भ्रष्टाचारले नै राजनीतिलाई व्यावसायीकरण गर्न थप टेवा दिएको छ । त्यसैले बाइडवडी एउटा प्रतिनिधि सन्दर्भ मात्र बन्न सक्छ ।

आज सिद्धान्तलाई लिएर ठूला ठूला भाषण गर्ने, आदर्शका तानावान बुन्नेहरु भ्रष्टाचारमा लिप्त छन् । जनवाद, समाजवाद र राष्ट्रवादका बारेमा तर्क दिएर नथाक्नेहरु स्वार्थवादमा झुण्डिएका छन् । हिजोका कुपोषित र कंगाल नेताहरु आज पोटिला र सुकिला देखिन्छन् । हिजोका सर्वहारा आज उच्च घरानिया बनेका छन् । देश प्रतिदिन उधोगति उन्मुख हुँदैछ । विकास र समृद्धिको नारालाई कुर्सीमा चढ्ने र बस्ने माध्यम मात्र बनाएका छन् । चाहे कांग्रेस, नेकपा, वा अन्य पार्टी हुन् कुनै पनि आशा र भरोसा लायकका छैनन् । हिजोका दिनमा आशा र परिवर्तनको अलिकति झिल्को बोकेका प्रचण्ड पनि ‘खुट्टी देख्दै चिनियो’ भने जस्तो असलियत देखाएका छन् ।

नेता आफ्ना लागि मात्र सचेत भएको, आफ्ना लागि मात्र राजनीति गरेको छर्लंग भएको छ । अब हामी जनता देशका लागि सचेत हुनुपर्छ । हाम्रो मत नेताका लागि होइन देशका लागि हो, राष्ट्रियता र विकासका लागि हो भन्ने यथार्थता हामीले अन्तरमनदेखि नै बुझ्नु पर्दछ । अघिपछि राष्ट्रियताका लागि नागरिकको हैसियतले भूमिका खेल्नु सिवाय, चुनावमा हामी कौडीको मूल्यमा बेचिनु हुँदैन । भोजभतेर, बियरजस्ता खानपानसँग जोगिनु पर्छ । भोट हाल्नुअघि पार्टी नेताको विचार र व्यवहार शैलीलाई एकपल्ट राम्ररी निक्यौल गर्नु पर्छ । राजनीतिका फोहोर बढार्ने, ‘राम्रो मान्छेलाई हाम्रो’ बनाउने, देशको वर्तमान र भविष्य जिम्मा लगाउने दिन चुनाव हो । त्यो दिन पनि हामी चुक्यौं भने पश्चातापको अन्त्य कहिल्यै हुँदैन । न त देश समृद्ध बन्छ । न त हामी सुखी नेपाली बन्न सक्छौ । यसैले भ्रष्टाचारको बैना गराउन नलागौं ।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width