भ्रष्ट्राचारमा श्रीमतीहरुको हात

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७७

एउटा कुरा तपाईंलाई पक्कै थाहा होला । या त याद नहोला । जसरी एउटा पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ, त्यसरी नै पुरुष बिग्रनुमा महिलाको हात हुन्छ । त्यसरी नै घर, परिवार, समाज, राष्ट्र र यो समग्र संसारमा केही विवृmति, केही विसङ्गती र केही विफलता मौलाउनुका पछाडि महिलाको लामो हात हुन्छ ।

पुरुष मात्र समग्र परिस्थिति र परिवेशका जिम्मेवार छैनन् । हिजोका महिला जस्ता आजका महिला छैनन् । यति सम्मकि महिलाहरुको आचरणले पुरुषको नीति र नियतलाई प्रतिकूल प्रभाव पारेको छ । महिलाको आकांक्षा र अपेक्षाले पुरुषलाई नियन्त्रण गरेको छ । तिनको पेशा, व्यवसाय र रोजगारलाई प्रभावित पारेको छ ।

समाजमा छयाप्छ्याप्ती महिलामुखी भावना सुन्न पाइन्छ । जस्तो कि –

– ‘मेरो लोग्नेले यति गहना किनिदिए, यति महङ्गो सारी र मोबाइल किनिदिए ।’
– ‘मेरा बुढाले मलाई कति माया मान्छन्, वर्थडेमा यस्तो … उपहार किनेर ल्याईदिए ।’
– ‘मेरो लोग्नेले फलानो ठाउँमा …घर, घडेरी मेरो नाममा किनिदिएका छन्, कति इमान्दार छन् मेरो लोग्ने त वाई ।’
– ‘मेरो लोग्नेले त मेरो सुख र खुसीको मात्र चिन्ता गर्छन्, आफूले कमाएको सबै पैसा मेरो

हातमा दिन्छन् । मन लागेको लाउन खान किन्न मलाई कुनै आइतबार कुर्न पर्दैन ।’

ती भावनाले अर्काे सोझी लोग्नेकी सामान्य श्रीमतीका मनमा कस्ता कुरा खेल्छन् । मानसिकतामा कस्तो असर पुर्‍याउँछ, कुनै पर्वाह हुँदैन । यद्यपि भावनाहरु यसरी सङ्क्रमित हुन्छन् । सुन्ने महिलाले आफ्नो लोग्ने माथि दबाब दिन थाल्छे । धनको महिमा बढाइचढाइ सुनाउँछे । अर्थात आफू मात्र आफ्ना साथीहरु सामु कमजोर, निमुखो र लाजमर्दाेसमेत बन्नु परेको कथा तोडमरोड गरेर सुनाउँछे । लोग्नेले प्रतिरोध गरेको अवस्थामा धुर्की र थर्की लाउन पनि श्रीमती पछि पर्दिन् । सेक्स हडताल गर्नसमेत । धरै, करै नपाई लोग्ने श्रीमतीले देखाएको बाटो समाउँछ, अपनाउँछ । या त श्रीमतीले नै लोग्ने हिँड्नु पर्ने बाटो समथर बनाइदिन्छे । प्रायः कर्मचारी र पार्टी नेताहरुको हकमा यो सन्दर्भ लागू हुन्छ । जसको दृष्टान्त दिन प्रासङ्गिक होला, अच्युत कृष्ण खरेलद्वारा लिखित ‘आत्मकथा’ को पृष्ठ २०१ मा अधिराजकुमार धिरेन्द्रका ए.डि.सी. भरत गुरुङसँग लिएको बयानको प्रसङ्गमा उल्लेख छ । ‘धिरेन्द्रको घरबाट केटीहरुको एलबम नै बरामद गरिएको रहेछ । तीमध्ये उच्च ओहोदामा रहेका केही व्यक्तिका पत्नी पनि थिए, जो धिरेन्द्रलाई खुसी राखेर श्रीमान्को पोस्टिङ र बढुवा गराउँथे ।’

आत्मकथालाई जीवनमा घटेका यावत् घटनाहरुसँग जोडेर हेरिन्छ । जसलाई सत्य तथ्यका हिसाबले बुझिन्छ, मनन गरिन्छ । पूर्व आ.जि.पि समेत रहेका अच्युत कृष्ण खरेलले आफ्नो आत्मकथामा उल्लेख गरेको तितो सत्यले केही नेपाली महिला, अझ उच्च पद धारण गरेका लोग्नेहरुका धरानिया श्रीमतीको चरित्रचित्रण भएको छ । जो परिवार र लोग्नेको माया भन्दा भौतिक सुख र खुसीलाई सर्वस्व ठान्छन् । अझ त्यस्तो प्रवृत्ति नेपाली समाजमा भयानक विवृmति बनेर छाइरहेको छ भन्दा अत्युक्ति नहोला ।

वडो शर्मनाकको कुरा । वडो आश्चर्य जनक सन्दर्भ । आफ्नो आत्मसम्मान र प्रतिष्ठा पनि बजारमा सुम्पन तयार हुन्छन् । सतित्ववान हुनु भन्दा सम्पतिवान हुनुमा जीवनको सार्थकता ठान्छन् । भौतिक लालसाका निम्ति अहोरात्र चिन्तित हुन्छन् र अपूरा सपनामा आफ्नो लोग्नेलाई झिज्याउँछन् । सटाउँछन् । तड्पाउँछन् । अरुको लोग्नेसित दाँजेर नामर्दको उपमा दिनसमेत पछि पर्दैनन् । धिक्कार छ ती श्रीमतीहरुलाई ।

यो कुरा सत्य हो, श्रीमती खुसी नभएको घर खुसीले वास पार्दैन । अझ श्रीमती अतिरिक्त महत्वकांक्षी परे त त्यो घर नर्क समान बन्दछ । पुरुषको भगिरथ प्रयास पनि वेकम्बा र निरर्थक बन्दछ । त्यसपछि पुरुषले विकल्प देख्दैन । ऊ श्रीमतीका हरेक इच्छा पूरा गर्न विवश हुन्छ । तत्पर र तयार हुन्छ । आफूले आत्मसात गरेका नैतिक मूल्य र मान्यता सजिलै बिर्सन्छ । चोर बाटो भए पनि सम्पति आर्जनमा लागि पर्दछ । श्रीमतीको खुसी आफूमा रुपान्तरण गर्दछ । उसको सुख र सन्तोषमा परिवारको भाग्य ठान्दछ । भाविष्य देख्दछ । आम्दानी बढेपछि र पैसा हात परेर श्रीमतीले गर्ने मायामा जीवनको महत्व बुझ्छ । अनि ठान्छ, जे जसरी भए पनि पैसा कमाउनु पर्दाे रहेछ । मान प्रतिष्ठा भनेको पैसा कै खुट्टा टेकेर समाजमा उभिएको, चलेको हुँदो रहेछ । पैसामा जे जति छ अरु केहीमा केही छैन । पैसाले किन्न नसकिने के छ ! आदर्श त सुन्दा मात्र राम्रो लाग्ने पक्ष हो जस्ता धनमत्त विचारमा, व्यवहारमा लोग्ने मान्छे रुपान्तरण हुन रत्तिभर लाग्दैन । केवल श्रीमतीका कारणले । केवल श्रीमतीलाई खुसी पार्ने ध्ययले । केवल गुजाराको जीवन भन्दा माथि उठेर भौतिक विलास गर्ने उच्चतम् चाहनाले ।

श्रीमान्ले अनगर्ल माध्यमबाट कमाएको पैसा जब श्रीमतीको हातमा पर्छ । अझ भनौ जब भष्ट्रचारको सुत्राधार श्रीमती बन्छे, उसलाई कुनै सन्ताप, कुनै पश्चताप हुँदैन । उल्टो दिनचर्यामा अपरिमित रोवरवाफ छाउँछ । आडम्बर र अलङ्कारले आकाश छुन्छ । दैनिकीमा एक प्रकारको खानदानको लेस लाउँछ । एउटा समपन्न खानदानी कहलिन्छन् । चाहे त्यो परिवार हिजो वनमा घाँस दाउरासँग मितेरी लाउने परिवार किन नहोस् । चाहे त्यो श्रीमती सुरुमा शहर पस्दा पाखेको दर्जा पाएकी महिला किन नहोस् । तिनले हिजोका दिनहरु सहजै बिर्सन्छन् । आईस्योस, गहिस्योस्मा रमाएका हुन्छन् । ज्युँनार र सवारीमा नोकरचाकरको भर पर्छन् । अनि श्रीमतीले हिजोका दिन बिर्सेर साथीसंगीसँग तुजुक देखाउँछे । धनको ध्वाँस लगाउँछे । गाउँको जीवनमा पाएको दुःख र पीडाको व्याख्या गर्दछे । आजकल आफूले पाएको सुख, खुसी र सुविधामा फूलबुट्टा भर्छे । उसका आफन्तले पनि मौका अनकूल यस्तै तर्क गर्छन्– ‘मेरो छोरी त भाग्यमानी रहिछे, त्यति राम्रो, पौरखी र इमान्दार लोग्ने भेटाई । आँखामा राखे पनि नबिझाउला जस्ता छन् हाम्रा ज्वाइँ त ।’

– ‘मेरा भिनाजुको काठमाण्डौमा तीन तले ढलान घर छ, पोखरामा पनि दुई/दुई वटा घडेरी छन् । पचासौ लाखको गाडी चढ्छन् । छोराछोरी पनि रातो बङ्गालामा पढाएका छन् । कति पैसा कमाउन सकेका हुन् बुढाले ।’
– ‘फलानाका छोरा जस्तो मेहनती हुनपर्छ छोरो भएपछि । के थियो र तिनको गाउँमा ? बारी मात्र हो खेत थिएन । बाबुले गाउँलेको हलो जोत्दै हिँड्थे । आज त्यसैको छोरो अलवल्ले भयो, करोडौंको मालिक भयो ।’

साच्चै भन्ने हो भने नेपाली समाज नै भ्रष्ट्रचारी समाज बन्दै गराएको छ । पैसा कताबाट आउँछ ? कसले कसरी पैसा कमाएको छ मतलब छैन । मतलब छ, उसले कति पैसा सम्पति कमायो र उसले जीवन स्तर कसरी चलाएको छ । या चलेको छ । महलमा बस्नु, गाडीमा गुड्नु, सकिलो ठाँटबाटमा हिँड्नु, बेला बखतमा हुने पार्टिमा वेपर्वाह खर्चनु, त्यसरी नै परिवारका सदस्यको व्यवस्थापन गर्नु जस्ता चल्ती व्यवहारले समाजको आँखालाई रङ्गिन तुल्याउछ । यहाँ धनलाई प्रतिष्ठाको समकक्षी सरह पुजिन्छ । बरु इज्जतदार र इमान्दार मान्छे कहिलेकाहीँ झुक्नु पर्ला तर धनीमानी कसैका सामु झक्नु पर्दैन । ऊ त साम, दाम, दण्ड, भेद चारै अर्थले समाजमा बलियो बन्दछ ।

यहाँनेर श्रीमतीहरु मात्र दोषी छैनन् । व्यभिचारी पुरुषहरु पनि उत्तिकै भागिदार छन् । तर लेखकीय सन्दर्भको आशय के हो भने घरमा आमा शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । एउटी श्रीमती संस्कारी भयो भने लोग्नेको अलवा छोरा छोरीहरु पनि संस्कारी हुन्छन् तर श्रीमतीले आँखा चिम्लिदिई भने लोग्ने मान्छे पथभ्रष्ट हुन्छ, परिवारमा नै अन्धकार छाउँछ । परिवारलाई के कसरी चलाउने, लोग्नेलाई कसरी सुल्झाउने र जीवनलाई अर्थपूर्ण बनाउने भन्नेमा श्रीमतीहरुको महत्वपूर्ण हात हुन्छ । यसैले श्रीमतीहरु थप सचेत हुनुपर्छ । श्रीमान्को कर्म र कर्तव्यलाई अपभ्रंश तुल्याउनु हुँदैन । उसले इमान्दारिता साथ ल्याएको कमाइमा गर्व गर्नु पर्छ, यसो होइन कि उसको विशुद्ध मानसिकतालाई भड्काएर भ्रष्ट्रचार गर्न प्रेरित गर्ने । असत्को धन कमाउन प्रभावित पार्ने । देखावटी संस्कृति अपनाए, हैसियत भन्दा गरुङ्गो सपना देखेर, अवसरको नाजायज फाइदा उठाएर लोग्नेलाई चोर–बाटो हिँडाउनेहरुले नै यो राष्ट्र र समाजलाई बिगारेका छन् । यदि श्रीमतीहरु मात्र गुजाराको जीवनमा रमाइ दिने हो भने, आफ्नो धरातल नबिर्सने हो भने, भोग बिलासको अतिवादी सोच नलिइकन ‘सन्तोषं परमं सुखम्’ भन्ने हो भने केही हदसम्म भ्रष्ट्राचार घट्थ्यो कि !

Related News

सम्बन्धित समाचार

hero news full width