कोभिड र यसको प्रभाव

माधवप्रसाद थपलिया
भाद्र १४, २०७७

अहिले चलिरहेको महामारी विश्वव्यापी रूपमा चलिरहेको छ यो एउटा ज्यादै सर्ने प्रकारको सरुवा रोगको रूपमा आइरहेको छ र यो रोग भाइरसबाट हुने गर्दछ ।

कोरोना भाइरस के हो ?

प्राणी जगत््मा वनस्पति र जीवजन्तु गरी मुख्यत दुई समूह छन्, त्यसमध्ये जीवजन्तु जगत्को मानिएको भाइरस यस जगत्को सबैभन्दा सूक्ष्म जीवाणु हो यसलाई कतिपय वैज्ञानिकहरूले वनस्पति जगत्मा पर्छ पनि भन्दछन्, भने कतिपयले दुवै जगत्को बीचको प्रोटिन पार्टिकल हो पनि भन्दछन्, जेहोस यो जैविक प्रोटिन पार्टिकल हो । यो कोरोना नाम दिइएको प्रोटिन पार्टिकल पनि भाइरस नै हो, जसलाई हामी कोरोना भाईरस वा छोटकरीमा कोभिड–१९ भनिरहेका छौ । संसारमा कति प्रकारका भाइरस छन् त्यो सायद पत्ता लगाई साध्य छैन, तीमध्ये थोरै मात्र र मानिस तथा पशुपन्छी र वनस्पतिमा लाग्ने वा नराम्रो असर गर्ने भाइरसको अध्ययन गरी तिनीहरूलाई कसरी रोक्न सकिन्छ भनी वैज्ञानिक हरू निरन्तर लागिरहेकै छन्, कतिपयमा सफलता मिलेको र कतिपयमा आगामी दिनमा सफलता मिल्दै जाने निश्चित नै छ ।

मानवमा भैइरहेका भाइरसबाट हुने रोगहरू

मानिसमा लाग्ने सरुवा रोेगमा भाइरस, ब्यक्टेरिया, प्रोटोजोआ, पेटको जुका, फंगस आदि मुख्य सरुवा रोक्का कारक तत्वहरू हुन् । आजसम्म भाइरसबाट मानिस संक्रमित हुने रोगहरूमा सामान्य रुघाखोकी, पोलियो, दादुरा, एचआइभी, हिपाटाइटिज ए, बी, रेबीज आदि प्रमुख हुन्, जुन मानवमा धेरैजसो प्रत्येक वर्ष नयाँ, नयाँ व्यक्तिमा देखिन्छ र कतिपय को ज्यानै लिन्छ । त्यस्तै सन् २००३ मा पहिलोचोटि देखिएको र्सास रोगले ८ हजार ४ सय ३७ संक्रमित मध्ये ८ सय १६ जनाको ज्यान लियो । मर्स २०१२ मा देखिएको थियो र त्यसले दुई हजार चारसय संक्र्रमितमध्ये ८ सय १३ जनाको ज्यान लियो । संक्र्र्रमितमध्ये मृत्यु हुने संख्या सार्समा १० प्रतिशत र मर्समा ३४ प्रतिशतसम्म देखिएको छ । त्यस्तै इबोला नेपालमा आजसम्म आइपुगेको छैन जसबाट ९० प्रतिशतसम्म मृत्युदर भएको पाइएको छ । यी सबै भाइरसबाट हुने रोगहरु हुन् । हाल कोरोना भाइरसले ज्यान लिँदैछ । तुलनात्मक रूपमा यी माथिका रोगहरु भन्दा कम मृत्यु दर छ । पुराना भइरहेकै रोग मानिसमा लाग्नु वा नयाँ देखिएका रोग लाग्नु विषय मानिस भइसकेपछि सामान्य हो तर यसो भन्दैमा रोग लाग्नुभन्दा रोग लाग्न नदिने उपाय गर्नु उत्तम त हुँदै हो, रोग रोकथामका उपायहरू सामान्य छन् , सजिला छन्, सस्ता छन् तथा अधिकांश सजिलै उपलब्ध छन्, तर रोग लागेमा त्यसको प्रभाव शारीरीक, मानसिक, पारिवारिक, आर्थिक र सामाजिक रूपमा पर्दछ ।

किन लकडाउन ?

ब्यक्टेरिया, प्रोटोजोआ, जुका, फगंसबाट हुने रोगहरू यससँग सम्बन्धित औषधि निर्देशन अनुसार सेवन गरेमा मर्दछ तर भाइरस मार्ने औषधि पत्ता लगाउन सकेका छैनन् वैज्ञानिकहरूले । भाइरसलाई पूरै नमारे पनि केही कमजोर गर्ने औषधिहरू निस्किएका छन् । हामीले के बुझ्नुपर्दछ भने भाइरसहरू मानिसमा आएपछि यात हार मानेर मानिसलाई छोडेर छिट्टै आफै जान्छन् अथवा शरीरबाट भाग्छन् या थोरै मानिसलाई लिएर जान्छन् । थोरै भाइरसले मात्र मानिसको शरीरमा पसिसकेपछि मानिसलाई केही प्रतिशतलाई मात्र मृत्यु हुने अवस्थामा पुर्‍याउछन् । यीमध्ये कतिपय भाइरसले छिट्टै मृत्युको मुखमा पुर्‍याउँछन् भने धेरैले जीवन लामो जिउन दिन्छन् । तर कोरोना भाइरस ज्यादै सर्ने प्रकारको भएको हुँदा एक मानिस अर्को रोगी मानिसको नजिक जाने समयमा श्वासप्रश्वासद्वारा वा उसले प्रयोग गरेको सामान अर्को व्यक्तिले प्रयोग गरेमा वा सम्पर्कमा भएमा सर्ने भएकोले सधैँ जस्तै मानिसहरूलाई हिँडडुल गर्न दिएमा रोगीको संख्या बढ्न जानेर फेरि तिनीहरूले अरुलाई सार्न सक्ने हुन्छ । त्यस्तो महामारी हुन लागेको बेला आ–आफ्नै घरमा बस्नाले कसैमा रोग लाग्दै छ भने अरुलाई सर्न पाउँदैन र अरुलाई छ भने घरभित्रै भएको मानिसलाई सर्न पाउँदैन साथै सरकार र स्वास्थ्यकर्मीलाई यस्ता बिरामीहरू खोजी परीक्षण गर्न र रोगीको पहिचान गर्न अथवा रोगको स्रोतव्यक्ति पत्ता लगाउन सजिलो हुन्छ । त्यसैले यस्तो अवस्थामा लकडाउन आवश्यक छ तर यो समयमा व्यापक खोजी गरी सम्भावित बिरामीहरूको स्वाव परीक्षण गरेमा मात्र महामारी रोक्न सकिन्छ अन्यथा जति थोरै परीक्षण त्यति नै लकडाउनको महत्व कम भई महामारी निर्मुल होइन महामारी समय केही पछि सर्ने मात्र हुन्छ ।

के हो क्वारेन्टाइन र आइसोलेसन ?

हुनत यी शब्द आम जानकारीमा आइसकेका छन् । कुनै व्यक्ति रोगीको सम्पर्कमा आएको शंका छ र उसलाई सो रोग तत्काल नदेखिए तापनि केही समयपछि देखिन सक्छ भनी अरु मानिसहरू भन्दा छुट्टै राखी निश्चित समयसम्म निगरानी गरिने प्रक्रिया हो क्वारेन्टाइन । केहीसमय भन्नाले भिन्ना भिन्नै रोगको भिन्दाभिन्दै समय हुन्छ । कोरोनामा यो समय दुई हप्ता मानिएको छ । यो समय भनेको रोगका किटाणुहरू शरीरमा प्रवेश गरेपछि लक्षण नदेखिएको बीचको अवधि हो । यसलाई चिकित्सा विज्ञान र नेपालीमा रोग पाक्ने अवधि पनि भनिन्छ । यसमा धेरै अध्ययन भए र हुँदैछ कोभिडको रोग पाक्ने अवधि कतिपय अध्ययनले २ देखि २७ दिन बीचमा पर्दछ पनि भनेका छन् तर विश्वव्यापी रूपमा आधिकारिक मानिएको विश्व स्वास्थ्य संगठनले दुई हप्ताको अवधिलाई नै क्वारेन्टाइन मानिनु पर्ने भनेको छ । हामीले पनि त्यसैलाई अधिकारीता दिई आएका छौं । मानिसमा परीक्षण गर्दा रोगको किटाणु देखियो भने उस्ले अर्को मानिसलाई सार्न सक्ने अत्यधिक सम्भावना हुन्छ त्यसलाई रोक्न किटाणु देखिएका व्यक्तिलाई क्वारेन्टाइन भन्दा अझै व्यवस्थित रूपमा भिन्दै व्यवस्था गरी वा अस्पतालमा विशेष निगरानी गरी उसको शरीरमा किटाणु नहटुन्जेल राखिने व्यवस्था हो आइसोलेसन । यसमा विश्व स्वास्थ्य संगठन र सरकारले भने बमोजिम नियमहरू पालना गरी बसेमा अरुलाई रोग सर्दैन र आफू पनि सुरक्षित भइन्छ । यसमा यति दिन बस्नुपर्छ भन्ने छैन । प्रयोशाला परीक्षणमा भाइरस देखिन छाडेपछि मात्र आइसोलेसनबाट निस्कन पर्छ ।

के हुन् पीसीआर र आरडिटि टेष्ट ?

यसलाई अङ्ग्रेजीमा Polymer Chain Reaction भनिन्छ । यस परीक्षणले कुन किसिमको किटाणु हो भन्ने पत्ता लगाउँछ । यो परीक्षणका माध्यमबाट रोगको कारक तत्व भाइरस हो र होइन, कुन भाइरस हो भनी पत्ता लगाउँछ । यो परीक्षणले कतिपय व्याक्टेरियाबाट हुने रोगहरूको पनि परीक्षण गरिन्छ । यसको प्रयोग एच.आइ.भी. लहरेखोकी जस्ता रोगहरू पत्ता लगाउनमा पनि प्रयोग गरिन्छ, कोषहरूको अध्ययनमा पनि सहयोगी छ । विभिन्न रोगहरूको अनुसन्धानमा पनि यो प्रयोग गरिन्छ । यसले सुक्ष्म जीवहरूको ऐतिहासिक पृष्ठभूमि बुझ्न पनि सहयोग गर्छ । यसको परीक्षण धेरै सफा सुरक्षित र होसियारीसाथ गरेमा मात्र सही नतिजा आउँछ । अन्यथा यसले हामीले गर्न परेको रोगथाम कामको प्रक्रियालाई निष्क्रिय र उल्टो गतिमातर्फ उन्मुख गराउन सक्छ । त्यसैले अनुसन्धानहरूले पीसीआर परीक्षण कोभिड १९ का लागि सहीसँग गरियो भने ७५ प्रतिशतभन्दा माथि प्रभावकारी छ देखाएको छ । आरडिटि परीक्षण भनेको भाइरसले कुनै मानिसमा प्रवेश गरेपछि ८, १० दिनपछि उसको शरीरले यो भाइरससँग लड्न एक किसिमको प्रोटिन तत्वहरू उत्पादन गर्दछ, त्यसको परीक्षण गरेर उसलाई शंका भएको रोग छ वा थियो भनी पत्ता लगाउने परीक्षण हो तर यसलाई विश्व स्वास्थ्य संगठनले विश्वासिलो परीक्षण नमानेको हुँदा नेपालमा हाललाई यो परीक्षण रोकिएको छ । यस भाइरसलाई औषधी खुवाएर शरीरभित्र मार्ने कुनै औषधि आजसम्म पत्ता लागेको छैन । यसको लक्षणहरू जस्तै ज्वरो आउने, घाँटी दुख्ने भएमा स्वास्थ्यकर्मीलाई तुरुन्त देखाउनु पर्दछ ।

कोभिडका लक्षण

खासगरी नाक, श्वासप्रस्वास र पेटसँग सम्बन्धित लक्षणहरू देखिन्छन् । ज्वरो आउनु र जाडोको अनुभव हुनु, घाटी खसखस गर्नु, सुख्खा खोकी लाग्नु, शरीर र मांसपेशी दुख्नु, कमजोरी अनुभव हुनु टाउको दुख्नु, नाक बन्द हुनु र नाकबाट पानी आइराख्ने हुनु, वाकवाकी लाग्नु, श्वासप्रश्वासमा गाह्रो हुनु, छातीमा अप्ठेरो महसुस हुनु, बास्ना वा गन्ध नआउने र स्वाद महसुस नहुने, झाडापखाला लाग्ने आदि यसका प्रमुख लक्षण हुन् ।

कोभिड लागेपछि उपचार

यस भाइरसलाई औषधि खाएर शरीरभित्र मार्ने कुनै औषधि आजसम्म छैन । यसका लक्षण अरु भाइरसबाट हुने रोगहरू जस्तै माथि भनिए अनुसारका लक्षण कम गर्ने औषधि दिने हो । ज्वरो आउने, शरीर दुख्ने, घाटी दुख्ने, टाउको दुख्ने, झाडापखाला लाग्ने जस्ता लक्षणलाई कम गर्न विभिन्न किसिमका औषधि प्रयोग गर्न सकिन्छ । आराम गर्ने, अरुलाई आफूबाट नसरोस् भनेर मास्क लगाउने, १ देखि २ मिटरको दुरी कायम गर्ने, छुट्टै बस्ने जथाभावी नथुक्ने, बोल्दा वा हाच्छिउँ गर्दा, त्यतिकै बस्दा मास्क लगाई राख्नुपर्दछ । खाँदा, पिउँदा, नुहाउँदा, मुख धुँदा बाहेक अरु समयमा मास्क लगाइराख्नु पर्दछ । छातीमा अप्ठयारो महसुस भएमा तुरुन्त अस्पताल जाने वा स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्दछ ।

कहिलेसम्म खोप

विभिन्न खोपले यसभन्दा पहिलेदेखिनै विभिन्न सरुवा रोगहरूका विरुद्ध मानिसलाई खोपहरू दिँदै आएको हामी सबैलाई थाहै छ । सबै खोप बराबर रूपमा सम्बन्धित रोगहरूलाई रोक्न सक्षम हुँदैनन् र शतप्रतिशत रोग रोक्न सक्षम पनि छैनन् । त्यसैगरी सधैँ शरीरमा एकनास रूपमा रोगसँग लड्न सक्ने क्षमता रही राख्छ भन्ने पनि छैन । विभिन्न खोपहरू निश्चित अवधिसम्म मात्र प्रभावकारी रहन्छन् । त्यसैले कोभिडको खोप आएर लगाउन पाइए पनि कति अवधिसम्म प्रभावकारी हुन्छ भन्ने कुरा प्रयोगमा आएपछि भन्न सकिन्छ । वैज्ञानिकहरू यसको अध्ययन गर्दैछन् । आजभोलि कोभिडको खोप विभिन्न देशले उत्पादन गर्न थालेका छन् । यसको राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यताका कुराहरू पनि आएका छन् । यो खोप सजिलै केही दिन वा महिनामा बन्ने वस्तु होइन, यसको निश्चित वैज्ञानिक प्रक्रिया भएको हुँदा यसका लागि लाग्ने समय लिएर उत्पादन वा प्रशोधन गरेको खोपले मात्र सही काम गर्दछ । त्यसैले वैज्ञानिकहरूले १२ देखि १८ महिना लाग्ने भन्दै आएका छन् । त्यसपछि खोप बजारमा सर्वसाधारणमा आउन सक्छ । त्यो पनि समुदायका कुन मानिस समूह बढी जोखिममा छन् उनीहरूलाई पहिलो प्राथमिकता दिइनुपर्ने हुनसक्छ त्यसको तयार सरकार पक्षबाट अब सुरु गरिहाल्नु पर्दछ । आशा गर्ने ठाउँ यो छ कि, खोप प्रभावकारी आउनेछ सरकारले चाहेमा विश्व बजारमा आएको केही हप्ता वा महिनामा छिटै ल्याउन सक्छ, धैर्य गरौ र हाललाई विश्वास गरौ ।

कहिलेसम्म सतर्क रहने ?

एक शब्दमा भन्दा जहिलेसम्म प्रभावकारी खोप तयार हुँदैन र मानिसहरूलाई लगाइँदैन तबसम्म सुरक्षाका उपायहरू अपनाउने र सतर्क हुनुपर्दछ । सतर्क भन्नाले विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशले रोकथामका लागि तयार पारेको निर्देशिका, नियम अनुसार स्वस्थ बानी व्यहोरा, आचरण, व्यक्तिगत समूहगत र समुदायस्तरमा अपनाउनु पर्दछ ।

के समुदाय र सरकारको सम्पूर्ण स्रोत कोरोना नियन्त्रणमा परिचालन गर्नुपर्दछ ?

होइन, सबै रोगको मृत्युदर हेर्दा पनि यसबाट हुने मृत्युदर हालसम्म नेपालमा कम छ । त्यसमा पनि सबै रोगबाट हुने मृत्यु संख्या र कोरोनाबाट हुने मृत्यु संख्या दुई पक्ष तुलना गर्दा त कहाँ हो कहाँ कोरोनाबाट हुने मृत्यु संख्या धेरै कम पाइन्छ । त्यसैले आगामी दिनमा अन्य रोगका बिरामीलाई सेवा दिने अवस्था यथावत राख्दै कोभिडको सेवालाई छुट्टै व्यवस्था गर्दै जानु उपर्युक्त हुन्छ । अन्यथा अन्य स्वास्थ्य समस्याहरूबाट मृत्यु हुने संख्या बढेर जानेछ जसको लेखाजोखा सरकारले गरेको त होला तर त्यो अनुसार व्यवस्था गरेको छैन ।

स्वास्थ्यसेवा सुधारको अवसर

हिजोका दिनसम्म स्वास्थ्य सेवालाई शब्दमा अति आवश्यक भनियो । संविधानको मौलिक हकमा राखियो । तर बजेट छुट्याउने बेलामा यसलाई समसामयिक सुधार गर्दै लाने पक्षमा विगत र हालको सरकार अघि बढेको देखिँदैन । यी कामहरू यो अवधि भित्र गर्ने भन्ने कुनै समय बिन्दु नतोकी कार्य सञ्चालन हुँदै आएका छन् । यस वर्षको बजेटको विनियोजनको हिसाबले पहिले भन्दा ध्यान दिइने हो कि भन्ने आश त जगाएको छ तर आजसम्म पनि ठोस योजना देखिँदैन । २०४८ सालमा आएको स्वास्थ्य नीतिमा ५ वर्ष भित्र प्रत्येक गाविस वा नगरपालिकामा एक न एक स्वास्थ्य संस्था पुर्‍याउने नीति आयो र सोही अनुसार संगठनात्मक रूपमा विस्तार भयो तर सेवा गुणस्तर आज पनि उल्लेख सुधार हुन सकेको छैन । आगामी दिनमा स्वास्थ्य सेवा संगठनात्मक रूपमा के कसरी जाने हो त्यसका लागि केकति मानव स्रोत आवश्यक पर्ने हो, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनशक्ति कहिलेसम्म पुर्‍याउने हो, सो स्पष्ट आउनुपर्दछ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आधारभूत स्वास्थ्य सेवा दिन प्रति एक हजार जनसंख्यामा एक चिकित्सक र २, ३ नर्स तथा अन्य विभिन्न किसिमका स्वास्थ्यकर्मीहरू आवश्यक पर्दछ । जब हाल नेपालमा २३ हजारको हाराहारीमा चिकित्सक दर्ता देखिन्छ । त्यसमध्ये कति विदेश गए, कतिले संसार छाडिसके, तत्थ्याङ्क छैन । हाम्रो जनसंख्या तीन करोड मान्ने हो भने र हालसम्म दर्ता भएका सबै चिकित्सक कार्यरत मान्ने हो भने पनि अझ ७ हजार चिकित्सक आवश्यक पर्छ । हाल नेपालमा पाँच सयको हाराहारीमा मात्र वर्षेनी चिकित्सक उत्पादन हुन्छन्, १४ वर्ष त यही जनशक्तिका लागि मात्र लाग्यो, यो कहिले पु¥याउने हो ? त्यसरी नै नर्स अन्य जनशक्ति पनि कुनै प्रक्षेपण र उत्पादनको कुनै योजना छैन ।

कोभिडका आर्थिक, सामाजिक र मानसिक पक्षमा प्रभाव

कोभिडका नकारात्मक प्रभाव अनेक परेको र पर्नेछ । तत्काल वा अल्पकालीन र दीर्घकालीन यसका असरहरू हुनेछ । आर्थिक रूपमा मानिसहरू लाई आफ्नो दैनिकी चलाउन गाह्रो परेको छ । शुरूमा सरकार र समाजले केही राहतका सामाग्री वितरण गरे पनि हाल बन्द भएका छन् । संघीय सरकारले गरेको चार महिनाको लकडाउनले ज्याला, मजदुरी गर्ने समुदाय नराम्रोसँग प्रभावित भयो । काम मामको समस्या तीब्र्र रह्यो, अब प्रदेश र स्थानीय निकायले गर्ने लकडाउनले निम्न र मध्यम स्तरीय परिवार जो सानोतिनो लगानी गरेर सामान्य आम्दानीमूलक व्यवसाय गरेको छ, सामान्य कर्मचारी, शिक्षक, घरभाडा लगाएर जीविका चलाउने परिवार आदि ठूलो संख्यामा दैनिकी सञ्चालनको समस्यामा पर्दैछ भने दीर्घकालिन रूपमा रोजगारी स्थायी रूपमा गुमाउने, बैंकका ऋण अलपत्र पर्ने, वित्तिय संस्था र ऋणी बीच झैंझगडा बढने, बेरोजगार युवाको संख्या बढनाले अनेक विकृति समाजमा देखिन सक्छ । यसको प्रभाव बढदै गएमा सामाजिक रूपमा झै–झगडा गुण्डागर्दी, चोरी, डकैती, हत्या, अशान्ति आदिमा वृद्धि हुन सक्छ । यी आदि कारणले गर्दा समाज मानसिक रूपमा तनावग्रस्त र डिप्रेसनलगायतका मानसिक रोगी बढ्न सक्छन् ।

सरकारले निम्न बुँदामा ध्यान दिन उर्पयुक्त होला

टेष्ट बढाउन पर्‍यो, विश्वमा अनुसन्धानपछि प्रयोगमा आएका औषधि पर्याप्त मात्रामा व्यवस्था गर्नुपर्ने, आइ.सी.यु. र भेन्टिलेटर जतिसक्दो थप गर्ने, ज्यादै महत्वपूर्ण बुँदा खोप आएपछि नेपालमा ल्याउन पहिलो प्राथमिकता दिने र सो अनुसार कार्ययोजना जे बनाउनपर्ने हो बनाउनु आवश्यक छ ।

(लेखक पूर्व जनस्वास्थ्य अधिकृत हुन् ।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width