कोरोना नियन्त्रणमा हामी कहाँ चुक्यौं ?

उदयबहादुर अमात्य
वैशाख ३०, २०७८

आज हाम्रो देश नेपालमा कोराना संक्रमण विकराल रुपमा फैलिरहेको छ । करिब डेढ वर्ष पहिले चीनको उहानबाट फैलिएको कोभिड १९ आजसम्म विश्वका सबैजसो देशमा फैलिएर नेपालको गाउँ गाउँमा समेत मानिस मर्न थालिसकेको देखिन्छ । छिमेकी भारतमा समेत यो रोग कसरी अन्त्य हुने हो यकीन छैन । आज नेपालमा फैलिएको कोराना संंक्रमण निश्चित रुपले भारतबाट आएको स्पष्ट देखिन्छ । भारत जस्तो देशमा त कोरोना नियन्त्रण बाहिर गइरहको देखिँदैछ भने नेपालमा पनि अझ बढी खतरनाक ढंगले बढिरहेको छ । किनभने भारतमा भन्दा नेपालमा कोराना संत्रमण दर बढी भएको र मृत्युदर पनि बढी भएको आशंका उत्पन्न भएको छ । यदि यो रोग नेपालका दुर्गम गाउँमा फैलियो भने लाखौं मानिसहरु मर्ने खतरा छ र रोग नियन्त्रण गर्ने त कता हो कता शव व्यवस्थापन गर्नसमेत हम्मे हम्मे पर्ने देखिन्छ । नेपालमा कोरोना रोगको फैलावटको कारणले नेपालको स्वास्थ्य सेवाको व्यवस्था ध्वस्त हुन लागेको हो कि भन्ने शंका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण व्यक्तिले समेत संकेत गरिसकेका छन् । यस्तो परिवेशमा नेपालमा समेत कोराना किन र कसरी फैलिँदो छ भन्ने गहिरो अनुसन्धान र अध्ययन गर्नु परेको छ भने कोरोना नियन्त्रमा हामी कहाँ कसरी चुक्यौंं भनेर विश्लेषण अवश्य हुनुपर्छ ।

नेपालमा कोरोना गत वर्षको सुरुदेखि फैलिन थालेको थियो भने हामी निकै डरायौं र देशैभरि लकडाउन कठोर नीति अपनायौं र कोरोना केही हदसम्म नियन्त्रण पनि भएर ४/५ महिनापछि लकडाउन खुकुलो पार्दै गयौं । गत मंसिर पुससम्म लकडाउन झण्डै भण्डै खुकुलो पार्दै चैत वैशाखसम्म पूरा खुलाजस्तो वातारवण बनेको देखियो । तर त्यही बेलामा भारतमा कोरोना डरलाग्दो रुपमा फैलिएको देखियो भने हामीले यस रोगको फैलावटलाई गम्भीर रुपमा तयारी सुरु गर्नुपर्ने थियो । तर दुखको कुरा त्यही बेला सरकारमा रहेका दलहरु र विपक्षी दलहरु राजनीतिक समीकरण मिलाउने सत्ता पक्षलाई कसरी हटाउने, अविश्वासको प्रस्ताव कसरी ल्याउने र आफ्नो सत्ता कसरी स्थापना गर्ने भन्नेमै केन्द्रित भएर कोरोना भयावह भएको अवस्थामा रोकथाम र नियन्त्रणको विषयमा ध्यान दिएनौं । राजनीति गर्नेहरुले यस रोग फैलिन सक्ने खतरालाई नै नकार्दै धेरै मानिसहरु जमघट गर्ने समर्थन र विरोधका साथै अन्य कार्यक्रमहरु व्यापक रुपले गर्दै गए । सर्वसाधारण जनताले पनि सरकारले त कोरोना नियन्त्रण भयो भनेर खुकुलो पार्‍यो भने हामीले पनि अब स्वतन्त्र रुपले घुम्न मिल्यो र कार्यक्रम गर्न पाइयो भनेर ठूला ठूला जमघट गर्‍यौं र आज यो भयावह अवस्था आइपुग्यो । यदि हामी यसरी नै गैरजिम्मेवार बन्यौं भने यस रोगले हामीलाई ठूलो धनजनको क्षति पार्ने देखिएको छ ।

कोरोना भाइरस कस्तो हो ? यो कसरी फैलिँदो छ, यसको रोकथाम प्रभावकारी कसरी गर्न सकिन्छ भन्ने धेरथोर जानकारी भएका विशेषज्ञहरु नेपालमा हुँदै नभएका होइनन् । यस्ता व्यक्तित्वहरुले विश्वका अन्य देशहरुमा समेत सेवा गरिरहेका छन् । सरकारले यस्ता अनुसन्धान गर्न सक्ने व्यक्तिहरु को को छन्, कहाँ कहाँ छन् अनि उहाँहरुको उपयोग कसरी गर्न सकिन्छ भनेर खोजीनीति नै गरेको देखिएन । उहाँहरु बीचमा विभिन्न सञ्चार माध्यमबाट आफ्ना अमूल्य सुझाव पनि नदिएका होइनन् । तर राजनीतिले नै सबै समस्या समाधान गर्छ भन्ने गलत सोच भएका सत्ताधारीलाई उनीहरुको सुझावलाई केही वास्तै गरेको देखिएन । डा.सुन्दरमणि दीक्षित, डा.गोविन्द केसी जस्ता व्यक्तिलाई हा“सोको पात्र बनाइए । र सताधारी राजनीतिक दलका नेताहरुले आफैंले सबै बुझेका छौं, आफैंले सबै गर्न सक्छौं भन्ने जस्तै भ्रममा आफू पनि परे भने जनताहरुमा त्यस्तै भ्रममा पारे । यसले गर्दा पनि कोरोना रोकथाम गर्ने नीति र कार्यक्रमहरु के के हुन सक्छन् भन्ने कुरा ठम्याउनै सकेनौं भने कार्यान्वयन गर्ने कुरा त झन् असम्भव प्राय भयो ।

नेपालमा फैलिएको कोरोना भारतबाटै भित्रिएको हो भन्ने देखिन्छ । भारतसँगको सीमाना यतिसम्म खुल्ला छ कि सीमा क्षेत्रका मानिसहरु नेपाली हुन् या भारतीय हुन् जहिले पनि सीमाना खुला भएकोमा ठूलो सुविधा र सहुलियतको रुपमा लिन्छौं । कतिपय नेपाल र भारतबीचमा रोटीबेटीको सम्बन्ध छ र यसरी नै खुला तबरले आवतजावत गर्न दिनुपर्दछ र गर्न पाउनुपर्छ भनेर वकालत गर्छन् । तर यसरी कोरोना भयावह रुपले फैलिन सक्ने सम्भावना हुँदा हाम्रो लागि यो कुरा स्लो पोइजन भएको कुरा निश्चित रुपले स्पष्ट भएको छ । नेपालको राट्रियता र राष्ट्रिय स्वाधीनता चाहन्छौं भने पनि नेपाल भारत सीमा खुला पारिनु कदापि हुँदैन र यसलाई पूर्णरुपले बन्दै नगरिकन एकदम ठोस नीति लिएर नियमन र नियन्त्रण गर्नै पर्दछ । हालै के बुझिन आएको छ भने भारतबाट सिधै अरब मुलुकहरुमा जान सम्ंभव नभएको बेला नेपाललाई ट्रान्जिट बनाएर कतिपय भारतीय केही दिन नेपालमा रहेर यहंीबाटै अन्य मुलुकतिर गएको भन्ने बुझिएको छ । यसमा पनि सरकार मौन वा निस्क्रिय रहेको देखियो । यसबाट पनि कोरोना नेपालमा तीव्र फैलिन सघाएको देखिन्छ ।

कोरोना नियन्त्रणमा चीनले एकदम राम्रो उदाहरण देखाएको छ । हाम्रो देश चीनको छिमेकी मित्र देश पनि हो । हामीलाई दुख पर्दा चीनले हामीलाई धेरै सहयोग गरेकै हो । यदि हामीले चीनसँग उनीहरुको सुझाव वा सहयोग मागेको भए हामीलाई खुला भएर सहयोग गर्ने थियो । तर यस दिशामा नेपालका कम्युनिस्ट पार्टीको सरकार हु“दा पनि सहयोग लिने कुरामा केही ध्यान देखिएको थिएन । चीनले उहानमा कोराना देखिनासाथ पूरा क्षेत्र लकडाउन गरेर घरघरमा भोकाएका जनतालाई खानासमेत पु¥याएका थिए । फेरि उनीहरुले पूरै जनसंख्याको पिसिआर जाँच गराए र औषधोपचार थालिहाल्यो र कोरोनालाई नियन्त्रण गरिहाल्यो । अरु धेरै के भनौं कोरोना नियन्त्रणमा नजिकको देश भुटानको समेत अनुभव बुझ्न सकेन । कोरोना नियन्त्रणमा अंग्रेजी उखान प्रिभेन्स इज बेटर दान केयर लागु गर्न सकिन्छ । भुटानले यस्तै गरेको देखिन्छ । किनभने रोग लागे पछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा राम्रो देखिन्छ । यस कुरा लाई नेपालको सरकार, राजनीतिक पार्टी र सर्वसाधारण जनताले राम्ररी बुझ्नु आवश्यक छ । अंग्रेजीमा अर्को उखान पनि बुझ्नु आवश्यक छ त्यो के हो भने ‘अ स्टिच इन टाइम सेभस नाइन’ यसले के भन्छ भने समयमा लगाएको १ टाँचाले ९ वटा टाँचा बचाउ“छ । त्यसैले रोगीलाई पहिल्यै पहिचान गरेर प्रारम्भिक उपचार गरेको भए कोराना सामान्य भएर हराउँथ्यो । तर सरकारले कोरोनाको संक्रमण भएको लक्षण नदेखिकन पिसिआर टेस्ट नै नगर्ने भनेर पन्छिएर गम्भीर त्रुटि ग¥योे । पिसिआर टेस्टको दायरा बढाउन भरमग्दूर प्रयास गरेर कोरोनाको उपचार तुरुन्त गर्नुपर्ने थियो जुन कुरा चीनले गरेर देखाएको छ । यस्तै छिमेकी देशले गरेको गल्तीबाट पनि शिक्षा लिंदै जानुपर्दथ्यो । भारतले जुन जुन गल्ती ग¥यो, त्यही त्यही गल्ती नेपालले पनि गर्दै गएको देखियो ।

हामी यसरी नै गैरजिम्मेवार बन्यौं भने यस रोगले हामीलाई ठूलो धनजनको क्षति पार्ने देखिएको छ

देश र जनताले कोरोना झेलिरहेको बेलामा पनि देशमा भ्रष्टाचार हुँदै गएको प्रष्ट देखिन्छ । कोराना सुरु सुरुमा फैलिँंदा चीनबाट स्वास्थ्य सामग्री ल्याउँदासमेत भ्रष्टाचार भएकै थियो । किन भने त्यसबेलाको प्रत्येक सामग्रीको मूल्यहरु केलाएर हेर्दा भ्रष्टाचार भएको प्रष्ट देखिन्थ्यो । कोरोनाको बेलामा पनि प्राइभेट हस्पिटलले ठूलो ठूलो रकम बिरामीमाथि असुल्यो । यो पनि एक किसिमको भ्रष्टाचार नै हो । वास्तवमा कोरोना महामारीको रुपमा फैलिरहेको बेलामा सरकारले प्राइभेट हस्पिटलले उठाएको शुल्कबारे अनुगमन र नियन्त्रण गरेर कोरोना बिरामीको निशुल्क उपचार हुनुपर्दथ्यो । यस्तै गरी कोरोनाको भ्याक्सिन आयात गर्ने कुरामा पनि केही व्यापारिक एजेन्टहरु कसरी अकुत नाफा कमाउन सकिन्छ भनेर अवसर पर्खिरहेको देखिन्छ । यस्ता व्यापारिक एजेन्टहरुले सत्ताधारी नेतालाई प्रभावमा पारिरहेको अवस्था हामी सहजै अनुमान लगाउन सक्दछौं ।

देशमा यसबेला कोरानाको महामारी दिन दुई गुणा रात चौगुणा फैलिरहेको बेलैमा सत्ताधारी नेताहरु आफ्नो सत्ता कसरी जोगाउने र सत्तामा पुग्ने सम्भावना देखिएका नेताहरु वर्तमान सरकारलाई ढालेर नया“ सरकार कसरी बनाउने भन्ने घृणित राजनीतिक खेल चलिरहेको देखिन्छ । दुबै पक्षले आफ्ना आफ्ना गल्ती स्वीकार नगरीकन हामी जहिले पनि ठिक छौं जहिले पनि ठीक थियौं भन्ने खालको राजनैतिक दम्भ साथै राजनीतिक हठलाई आफ्नो राजनीतिक हतियार बनाएर अघि बढिरहेका देखिन्छन् । वास्तवमा अहिले सबैले सबैको तर्क र कुराहरु ध्यान दिएर सुनेर सबै एकजुट भएर कोरोनाविरुद्ध लड्ने आत्मबल बढाउनु आवश्यक परेको बेलामा एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने, तथानाम गाली गर्ने र सत्ताको खेलमात्र खेलिरहने हो भने कोरोना नियन्त्रणभन्दा बाहिर जान सक्छ भनेर सबैले बुझ्नु आवश्यक छ ।

नेपालमा पहिलोपटक कोरोना फैलिँदा चैतको पहिलो सातादेखि लकडाउन सुरु भएको थियो । जनताले लकडाउनका नियमहरु पालन गरेकै थिए । त्यसबेला लकडाउन लागु गर्नासाथ गर्नुपर्ने अन्य सहयोगी नीतिहरु अपनाउन भने सरकार असफल नै रह्यो । जस्तै लकडाउनले गर्दा धेरै गरिब जनताहरुको रोजगारी अवसरहरु हराएर रोगले मर्ने कि भोकले मर्ने दुई विकल्प देखियो भने जनतालाई दानापानी पुर्‍याउन धेरै सामाजिक संघ संस्थाहरु लागि परे । तर सरकारले उनीहरुको प्रयासको प्रशंसा गर्न एक शब्द पनि खर्चेन भने यसरी जनताको भोक मेटाउने संघ संस्थामाथि धेरै व्यवधान पैदा गरेर थुन्नेसमेत काम गर्न थाले । लकडाउन गर्ने बेलामा दैनिक ज्यालादारी गरेर खानुपर्नेहरुलाई कसरी खाना खुवाउने, उनीहरुको आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने विषयमा गम्भीरता देखाएको थिएन र पछि कोराना फैलिँदा आवश्यक पर्ने हस्पिटल बेड, औषधी, भ्याक्सिन, अक्सिजन आदि सञ्चय गरी राख्नेतिर ध्यानै दिएन । उल्टो यसो भएन, उसो भएन भन्नेलाई राजनैतिक आरोप लगाई सत्ता पल्टाउने निहु“ निकालेको भन्ने जस्तो गरी दोष लगाउने काम भयो । सरकार त आफूले दूरदर्शी भएर ठोस नीति बनाएर कार्यान्वयन गर्न पनि नसक्ने र अरुले दिएको सुझाव र तर्क पनि वाहियात भनेर पन्छिनेमात्र गरेको देखियो ।

केही महत्वपूर्ण सुझाव

अहिले नेपालका राजनैतिक शक्तिहरु एक आपसमा संघर्षमात्र गर्न खोजेर देशमा फैलेको कोरानाको महामारी, देशको राष्ट्रियता र सार्वभौमिकतासमेत पनि खतरामा परेको प्रष्ट देखिन्छ । यस्तो बेलामा कोरोनाविरुद्ध राष्ट्रिय एकता आवश्यक पर्ने प्रष्ट देखिन्छ । यदि कोरोनाको समस्या समयमै समाधान गर्न नसकेमा हाम्रो स्वास्थ प्रणालीमात्र होइन राजनीतिक प्रणाली, आर्थिक प्रणाली र सामाजिक प्रणालीसमेत ध्वस्त हुन बेर लाग्दैन । त्यसैले हामी गर या मरको अवस्थामा छौं कि कोरानाले हाम्रो अस्तित्व अन्त्य गर्छ कि हामीले कोरोनाको अन्त्य गर्न सक्नुपर्ने अवस्थामा छौं । अब मध्यावधि चुनाव वा अर्लि इलेक्सन जे भनौं यस्तो कोरानाले अत्याएको बेलामा सम्भव पनि देखिँंदैन भने सम्भव भए पनि चुनावतिर लाग्नु हु“दैन । त्यसैले सबैले सबैको सम्मान गरेर सबैको अस्तित्व स्वीकार गरेर एउटा यस्तो राजनीतिक संयन्त्र बनाउनु पर्दछ जसमा सबै राजनीतिक शक्तिहरुको योगदान गर्ने अवसर मिलोस् । त्यसैले तुरुन्तै सर्वदलीय संयन्त्र बनाएर आवश्यकता परे सबैको सल्लाहले संविधानमा त्यस्तो प्रावधान बनाएर अगाडि बढ्नु पर्दछ । भोलि कोरोनालाई जित्यो भने आफ्नो खेल खेल्न सक्छौं । तसर्थ अहिले हामीले खेल मैदान जोगाउनतिर नै लाग्नुपर्छ । भवतु सब्ब मंगलम् ।

Related News

सम्बन्धित समाचार

hero news full width