‘छन्द बचाऊँ अभियान–२०५३’ को औचित्य

डा. शैलेन्दुप्रकाश नेपाल
जेठ ३२, २०७७

म पूर्वी नेपालको भोजपुरमा जन्मेको मान्छे । बाल्यकाल सुनसरी र मोरङमा बित्यो । मेरा पिताजी पूर्णप्रकाश नेपाल ‘यात्री’ साहित्यकार हुनुहुन्थ्यो । वि.सं. २०२७ देखि ‘स्वदेश दर्शन अभियान’ प्रारम्भ गरी सिङ्गो नेपालको पैदलयात्रा गरी नेपाली भाषा, साहित्य, संस्कृतिको खोजीमा लाग्नुभएछ । म सानै हुनाले त्यति बोध हुने कुरै भएन । घरमा साहित्यकार, पत्रकार तथा शिक्षासेवीहरूको बेलामौकामा जमघट भइरहन्थ्यो । पिताजी बेलाबेलामा कतै जानुहुन्थ्यो र महिना दुई महिनापछि आउनुहुन्थ्यो । २०३२ साल हिउँदमा पूर्वी मोरङको सौँठा माविमा एउटा भव्य कार्यक्रम भाषाशास्त्री महानन्द सापकोटाको आतिथ्यमा सम्पन्न गरेपछि पिताजी धेरै समय घरमा आउनुभएन । एकैचोटि २०३३ पुसमा पोखराबाट पिताजीको पत्र आयो । म त्यतिखेर सौँठा माविमा ९ कक्षामा पढ्दै थिएँ । मलाई स्थानान्तरण प्रमाणपत्र लिएर तुरुन्त आउनू भनेर बोलाउनुभएको रहेछ । आमासंग सल्लाह गरेर म आवश्यक कागजपत्र बोकेर पोखरातर्फ लागेँ । माघको दोस्रो हप्तामा जनकपुर र काठमाडौँ हुँदै पोखरा पुगेँ । पिताजीले बगरमा डेरा लिनुभएको रहेछ । कोठामा पुस्तकपत्रपत्रिका टन्न थिए ।

संस्कृत भाषा र साहित्यको मूल पठनपाठन मेरा लागि नौलो थियो । परन्तु गुरु शुकदेव बराल, इन्दप्रसाद पराजुली, सोमेश्वर पौडेल, जगतराज पौडेल र गुरुआमा शारदा श्रेष्ठ, आशा थापा, लीला प्रधानहरूको स्नेहपूर्ण गुरुत्वले हामी सबै मन्त्रमुग्ध भएका थियौँ । संस्कृत व्याकरण गाह्रो भएपनि साहित्य चाहिँ रोचक र आनन्ददायी हुनेगर्थ्यो । रामायण र महाभारतका सन्दर्भ थोरबहुत आइहाल्थे ।

पोखरामा पिताजीले पं. मुक्तिनाथ तिमल्सिना , जनकविकेशरी धर्मराज थापा, कविवर मुकुन्दशरण उपाध्याय , प्रा. सुषमा आचार्यलगायत व्यक्तित्वसंग भेटघाट गराउनुभयो । अनि मलाई संस्कृत माविमा कक्षा ९ मा भर्ना गरिदिएर पिताजी सेतीअञ्चल भ्रमणमा जानुभयो । पोखराको सुन्दर प्राकृतिक वातावरणले मलाई निकै मोहित तुल्यायो । विद्यालयमा झलकपाणि तिवारी , माधवप्रसाद घिमिरे , कृष्णबहादुर भुजेललगायतका सहपाठीहरूसंग घुलमिल हुँदै म सहजाउन थालें ।
संस्कृत भाषा र साहित्यको मूल पठनपाठन मेरा लागि नौलो थियो । परन्तु गुरु शुकदेव बराल, इन्दप्रसाद पराजुली, सोमेश्वर पौडेल, जगतराज पौडेल र गुरुआमा शारदा श्रेष्ठ, आशा थापा, लीला प्रधानहरूको स्नेहपूर्ण गुरुत्वले हामी सबै मन्त्रमुग्ध भएका थियौँ । संस्कृत व्याकरण गाह्रो भएपनि साहित्य चाहिँ रोचक र आनन्ददायी हुनेगर्थ्यो । रामायण र महाभारतका सन्दर्भ थोरबहुत आइहाल्थे । कालिदासका रघुवंश र कुमारसंभव तथा भारविको किरातार्जुनीय महाकाव्यको रसास्वादनले हामी संस्कृतका छन्द, रस, अलङ्कारतर्फ विशेष आकर्षित हुनेगथ्र्यौं । कतिपय विद्यार्थीको कवितातिर रुचि पनि थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना हुने प्रतियोगिताहरूमा हामी सहभागी हुन्थ्यौँ । शास्त्रीय स्वादका कवितातर्फ खासगरी मित्र माधवप्रसाद घिमिरे र मेरोे विशेष अभिरुचि थियो । हामी कविता सृजनाका लागि गुरुहरू तथा साथीहरूमाझ परिचित थियौँ । शास्त्रीय छन्दलय र लोकलयका अभ्यासहरू गर्ने गथ्यौं । शास्त्रीय छन्दतर्फको हाम्रो आकर्षण त्यसै बेलादेखि उत्पन्न भएको हो ।

पोखरा पुग्दा म त तीव्र रूपमा मन्त्रमुग्ध हुनपुगेँ भने त्यही परिवेशमा जन्मेका मित्र माधवप्रसाद घिमिरेमा कविता प्रस्फुटन हुनु स्वाभाविक भइहाल्यो । पोखराको समग्र परिवेश काव्यात्मक छ । मित्र माधवप्रसाद घिमिरे पछि नेपाली काव्यजगत्मा माधव वियोगीका नामले उपस्थित भई शास्त्रीय छन्दको उत्थानमा पूर्ण समर्पित बन्नुभएको पाउँदा म पनि गौरवान्वित बन्नपुगेको छु ।

मेरा आत्मीय मित्र श्री माधव वियोगीजीले आफ्नो पुरातन परम्परा , संस्कार र सभ्यताप्रति तीव्र आस्था राखी वि.सं. २०५३ मा एकल प्रयासबाट प्रारम्भ गर्नुभएको छन्द बचाऊँ अभियान २०५३ रजतवर्ष यात्रा (अढाई दशक) तर्फ लम्किरहेको छ । यसबीचमा अनेकौँ आरोह अवरोह देखापरे । परन्तु एकनिष्ठ भावले महाकाव्यकेन्द्रित सृजन यात्रा र शास्त्रीय छन्द प्रयोगसम्बन्धी अभियानयात्रालाई मनसा वाचा कर्मणा निरन्तरता दिन सफल बन्नुभएका सर्जक वियोगीजीप्रति यस अवसरमा हार्दिक बधाई तथा शुभकामनाका शब्दपुष्प अर्पण गर्न मन लागेको छ । कुनै पनि विषय , सन्दर्भ , क्षेत्रलाई त्यसको महत्व र आवश्यकता बुझेर पुनर्जीवन दिई हुर्काउने वा विस्तार गर्ने अभियानमा लाग्नु सामान्य कुरा होइन । कसै न कसैले यस्ता विषयप्रति चासो नदिए मूल्यवान् कुरा पनि विस्मृतिका गर्भमा बिलाउन सक्छन् । सम्बन्धित विषयमा अभिरुचि र चासो राख्ने व्यक्तिले नै अग्रसरता लिनुपर्ने हुन्छ । यसै सन्दर्भमा स्रष्टा माधव वियोगीजीले हाम्रो मूल्यवान् सम्पत्तिका रूपमा रहेको शास्त्रीय छन्द परम्परालाई पुनर्जागृत गराई व्यापकता दिने मनसाय एवम् उद्देश्यका साथ अग्रसरता दिनुभएपछि आज त्यस अभियानले वास्तविक जागरण ल्याएको र छन्द दिवससमेत मनाउन थालिएको यथार्थताले उक्त परम्पराका हिमायतीहरूलाई विशेष गौरव बोध हुनु स्वाभाविक छ । स्मरणीय के पनि छ भने मित्र वियोगीले ‘छन्द बचाऊँ अभियान–२०५३’ घोषणा र संचालन गरेको ठीक ३ वर्षपछि अर्थात् २०५६।१।१२ मा एक लामो पत्र लेखी अभियानबारे मलाई जानकारी दिनुभएको थियो ।यसबाट आफ्नो अभियानको प्रचारप्रसारमा उहाँ कत्तिको सचेत हुनुहुथ्यो भन्ने प्रष्ट हुन्छ । छन्दको सन्दर्भमा अत्यन्त उपयोगी ठानेर सो पत्र ‘नेपाली वाङ्मय’ अङ्क ३५ मा छाप्ने काम समेत भयो । नेपाली कविता विशेषतः तीन स्रोतका लय वा छन्द विधानमा रच्ने गरिन्छ , पहिलो संस्कृत परम्पराबाट आएका शास्त्रीय छन्दमा , दोस्रो नेपाली लोक परम्परामा प्रचलित लोकलय वा छन्दमा , तेस्रो पाश्चात्य परम्पराबाट आएको मुक्त लय वा छन्द (जसलाई गद्य कविता शैली भनिन्छ ।) मा । शास्त्रीय छन्दका मुख्य दुई भेद छन्ः मात्रिक (मात्राको गणना गरिने) र वर्ण मात्रिक (वर्ण र मात्रा दुवैको गणना गरिने ) । यी दुईअन्तर्गत असत्य छन्दका प्रकारहरु गणसूत्रसहित व्यवस्थित रहेका छन् । शास्त्रीय छन्दलाई वैदिक वेदहरूमा प्रयुक्त) तथा लौकिक (रामायण र महाभारतलगायतका काव्यकृतिमा प्रयुक्त) गरी दुई भागमा बाँड्ने गरिन्छ । यिनका अनेक भेदउपभेदहरू प्रचलित छन् । नेपाली कविता सृजन परम्परा शास्त्रीय छन्दबाटै प्रारम्भ भएको हो । संस्कृत भाषा र काव्यसाहित्यकै प्रभावमा लोक भावनाहरु, सुसेलीहरू कवितात्मक स्वरूप लिएर देखापरे । आदिमहाकवि उदयानन्द अर्ज्याल तथा आदिकवि भानुभक्त आचार्यले आफ्ना महाकाव्य कृति पृथ्वीन्द्रोदय तथा रामायणमार्फत् शास्त्रीय छन्दलाई नेपाली जगत्मा भिœयाउने र विस्तार गर्ने स्तुत्य प्रयास गरे । खासगरी भानुभक्तीय रामायणले नेपाली जाति र समाजलाई शास्त्रीय छन्दलयको मिठास प्रदान गरी एकताबद्ध गराउने महानतम प्रयास गरेको जगजाहेर छँदै छ । तत्पश्चात् पनि अनेकौँ कवि स्रष्टाहरू क्रियाशील रहे । शास्त्रीय लयसँगै लोक लगायत विविधताको स्वाद पनि नेपाली पाठक वा श्रोताले प्राप्त गरिरहे । पछिल्लो चरणमा अंग्रेजीको सिको गर्दै स्वच्छन्द वा मुक्तलय ढाँचामा गोपालप्रसाद रिमालले कविता लेख्न प्रारम्भ गरेपछि कतिपय कविस्रष्टाहरू त्यसतर्फ एकोहोरिए । कविशिरोमणि लेखनाथ पौड्याल , राष्ट्रकवि माधवप्रसाद घिमिरे , युगकवि सिद्धिचरण श्रेष्ठ , भरतराज मन्थलीय, भरतराज पन्त जस्ता कविस्रष्टाहरूले शास्त्रीय छन्दलाई प्रमुखता दिएर यसको विस्तार गरी उचाइ प्रदान गरे । नाट्यसम्राट् बालकृष्ण सम , महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुक्त लयका कविता पनि लेखे । देवकोटा शास्त्रीय, लोक र मुक्त तीनै शैलीका कविताकाव्य सृजनामा बेजोड रहे । यता रिमालपछि मोहन कोइराला , भूपी शेरचनलगायत कविस्रष्टाहरू मुक्तलयका कविता लेखनमा जुटे । गद्य कविता लेखन जटिल र नारावादी बढी देखिन थाल्यो । यस प्रवृत्तितर्फ उन्मुख स्रष्टाहरूले शास्त्रीय लय परम्परा र तदनुकूल सृजनालाई उपेक्षित गर्ने, स्रष्टालाई छन्देकवि भनेर होच्याउने अनि त्यस्ता रचना रुढिवादी र अकलात्मक हुने भन्ने खालका टीकाटिप्पणी प्रशस्त मात्रामा भइरहे ।

आधुनिक बन्ने होडमा आफ्ना प्राचीन र मौलिक परम्परा, शैली वा पद्धतिप्रति घृणाभाव प्रदर्शनका दृष्टान्तहरू बढ्दै गए र पनि कतिपय शिष्ट र प्रतिभावान् स्रष्टाहरू शास्त्रीय छन्दलय प्रयोग गरी कविता सृजनमा तन्मय रहे नै । यसै पृष्ठभूमिमा शास्त्रीय छन्द जागरणका पक्षमा केही प्रयासहरू हुन थाले । संस्कृत भाषासाहित्यको प्रारम्भिक अध्ययन , आफ्नो पूर्वीय सभ्यता अनुकूलको संस्कार र त्यसप्रतिको तीव्र आकाङ्क्षाका कारण प्रतिभाशाली युवासर्जक माधव वियोगीजी आफ्नो सम्पन्न एवं वैभवशाली परम्पराप्रति आकर्षित भई जिम्मेवारी बोधसमेत गरेर छन्द बचाऊँ अभियान (२०५३ को घोषणासहित कविताकाव्य सृजन प्राङ्गणमा सशक्त रूपमा उभिनुभयो र त्यस अभियानले चर्चा पाउन थाल्यो । २०५४ मा हामीले नेपाली वाङ्मय प्रतिष्ठानबाट १३२ स्रष्टाका शास्त्रीय छन्दका रचना समेटेर नेपाली पद्य प्रवाह प्रकाशनमा ल्यायौँ । कतिपय पत्रपत्रिकाले शास्त्रीय छन्दका विशेषाङ्क निकाल्ने तथा पद्य कविता सङ्ग्रह प्रकाशन गर्ने प्रयासहरू हुन थाले ।

अहिले आएर हेर्दा स्वदेश–विदेशमा शास्त्रीय छन्दमा कविताकाव्य रचना गर्ने कार्य तीव्र रूपमा भए–गरेको पाइन्छ । शास्त्रीय छन्दका रचना वाचनका शृत्लात्मक कार्यक्रमहरू यत्रतत्र चल्ने गरेका छन् । शास्त्रीय छन्द प्रशिक्षणसम्बन्धी कार्यले तीव्रता पाएको देखिन्छ । युवापुस्तासमेत यसतर्फ आकर्षित भइरहेको अवस्था छ । सञ्चार माध्यमहरूबाट शास्त्रीय छन्दलयका कविता वाचनमा व्यापकता आएको छ । सामाजिक सञ्जाल पनि यसतर्फ योजनाबद्धरूपमा सक्रिय भइरहेको पाइन्छ । व्यक्तिगत र संस्थागत प्रयासहरू निरन्तर चलिरहेका छन् । यस्ता दृष्टान्तबाट उक्त छन्द बचाऊँ अभियान–२०५३ को औचित्य स्वतः प्रमाणित भएको छ ।

शास्त्रीय छन्दको परम्परा र प्रयोगप्रतिको अभिरुचि र सक्रियताले व्यापकता पाउनुका पछाडि छन्द बचाऊँ अभियान–२०५३ को परोक्ष–अपरोक्ष विशेष भूमिका रहेको स्पष्ट हुन्छ । आज हामीले छन्द दिवससमेत मनाउने सुअवसर प्राप्त गरेका छौँ । हाम्रा महानतम पूर्वजहरूले प्रारम्भ र विकास गरेका मौलिक र मूल्यवान् आविष्कारहरूको जगेर्ना गर्दै त्यसलाई युगौँयुग प्रचलनमा ल्याउनु हाम्रो महत्त्वपूर्ण दायित्व पनि हो । शास्त्रीय छन्द प्रयोगसम्बन्धी जागरण ल्याउन स्रष्टा माधव वियोगीजीले जुन प्रयास गर्नुभयो त्यसको जतिसुकै प्रशंसा गरेपनि कमै हुन्छ । उहाँ विशेष धन्यवादका पात्र हुनुहुन्छ । आज उहाँलाई विशेष सन्तुष्टि अवश्य मिलेको छ । हामी पनि धन्य भएका छौँ । सबै मिलेर पुर्खाको नासोलाई संरक्षण गरी आफ्नो गौरवशाली परम्परा , उच्च सभ्यता , संस्कार र सृजनात्मक प्रतिभाको पूर्ण उपयोग गर्दै कलात्मक कविताकाव्य निर्माणमा जुटौँ भन्ने आग्रह साथ म पुनः माधव वियोगीजीलाई बधाई तथा शुभकामना भन्दै अभियानको निरन्तरताको कामना गर्दछु । अस्तु ।

Related News

सम्बन्धित समाचार

hero news full width