चापाकोटका घुम्नैपर्ने केही पर्यटकीय स्थलहरु

आदर्श समाज सम्वाददाता
पौष ६, २०७८

बढ्दो सहरीकरण, आधुनिकता, सूचना प्रविधिमा पहुँच तथा आर्थिक क्षमतामा भएको विकासलगायत कारणले केही वर्ष यता नेपालीहरुमामा पनि घुम्न जाने संस्कृति बढिरहेको छ । खैरो छाला भएका विदेशीलाई मात्रै पर्यटक मानिने मान्यतामा परिवर्तन आएको छ । त्यसो त पर्यटन ऐन २०३५ ले पनि २०५५ सम्म केवल विदेशी नागरिकलाई मात्रै पर्यटक मानेको थियो ।
सिद्धार्थ राजमार्गलाई आधार बनाउँदा वालिङ नगरपालिकाबाट २१ किलोमिटर (पक्की सडक) र गल्याङ नगरपालिकाबाट २३ किलोमिटर (ग्राबेल सडक) बाट चापाकोट नगरपालिकाको मुख्य बजार सुन्तलीटार पुगिन्छ । पहिलोपटक सुन्तलीटार पुगेका मानिसहरुले भित्री मधेश पुगेको अनुभव गर्दछन् । कृषियोग्य समथर भूभाग, फराकिला बाटाहरु, चारैतिर पहाडहरुले घेरेर बनेको उपत्यकाले यहाँ पुग्ने सबैलाई मन्त्रमुग्ध बनाउँछ ।
वालिङ – जगतभन्ज्याङ– मण्डलीथान – केवरे भन्ज्याङ् – बारीकुना – किसान – चापाकोट – गजरकोट सडक कालोपत्रे गर्ने काम धमाधम भइरहको छ । एउटा सडक कालोपत्रे भएर चापाकोटसम्म जोडिएको छ । सडक कालोपत्रेसँगै पर्यटकको संख्या पनि बढ्ने विश्वास गरिएको छ । प्रचारप्रसारको कमीले गर्दा यहाँका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । चापाकोटका केही पर्यटकीय क्षेत्रहरुलाई यहाँ चर्चा गरिएको छ :

१. भ्युटावार
नगरपालिकाको केन्द्र सुन्तलीटार बजारबाट करिब साढे ४ किमी उत्तरपश्चिमस्थित नगरपालिकाको वडा नं १० को घनौसा डाँडामा रहेको भ्युटावर पछिल्लो समय प्रख्यात बन्दै गएको छ । स्थानीयको सामूहिक पहलबाट निर्माण कार्य सुरु गरिएको भ्युटावर केवरेभन्जाङ हुँदै चापाकोट जाने क्रममा नेवारहरुको बस्ती रहेको हटिया सकिएपछि आउँछ । मूल बाटोबाट ३६५ सिंढी चढेपछि भ्युटावर पुगिन्छ । भ्युटावरबाट चापाकोट नगरपालिकाको अधिकांश भागहरुका साथै पाल्पा र तनहुँ जिल्लाका विभिन्न ठाउँहरु देख्न सकिन्छ । जिल्ला र जिल्ला बाहिरका सयौं आन्तरिक पर्यटकहरु यस ठाउँमा दिनहुँ घुम्न आउने गर्दछन् । अहिले यहाँ वनभोजस्थललगातका भौतिक संरचनाहरु निर्माणका काम भइरहका छन् ।

२. शीतलटार
सुन्तलीटारदेखि करिब १.३ किमि दूरीमा नगरपालिकाको वडा नं ९ मा रहेको शीतलटार चापाकोट पुग्ने अधिकांश मानिसहरु पुग्ने गर्दछन् । मुख्य बजारदेखि नजिकै रहेको र हिँडेरै पनि १० मिनेटमा पुग्न सकिने भएकाले यहाँ धेरै मानिसहरु पुग्दछन् ।
कुनै समय शव जलाउन लैजाने बाटो भएकोले मोहोरियाटारले परिचित उक्त ठाउँ यहाँका युवाहरुको पहलमा पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहको छ । यहाँबाट कालीगण्डकी नदी, पाल्पा रामपुरको धार्मिक पर्यटकीयस्थल सिद्धबाबा धाम र कालीगण्डकी करिडोर नजिकबाट देख्न सकिन्छ । पर्यटन पूर्वाधारका लागि यहाँ विभिन्न कामहरु भइरहका छन् ।

३. उत्तरगंगा (मणिमुकुन्देश्वर)
चापाकोट नगरपालिकाकाको वडा नं ९ मा रहेको उत्तरगंगा सुन्तलीटारदेखि ४ किमीको दूरीमा दक्षिण पूर्वमा अवस्थित छ । हिन्दु धर्मानुसार विश्वको सबैभन्दा पवित्र नदी कालीगण्डकी आफ्नो दक्षिण पूर्वको बहावलाई मोडी करिब १ किमी उत्तरतर्फ बहेर पुन दक्षिण मोडिई फेरि पूर्वतिर लागेको हुँदा यसको महत्वपूर्ण धार्मिक स्थान छ ।
गण्डकीको यो बहावलाई धार्मिक दृष्टिकोणले अति नै महत्वपूर्ण र दुर्लभ मानिन्छ । नदीको यस किसिमकाको बहाव विरलै हुने हुँदा उत्तरगंगा अर्थात खोरियाघाटमा आई स्नान गरे सम्पूर्ण पाप नाश भई शिवलोक प्राप्त हुने जन विश्वास छ ।
गण्डकी उत्तरबाट पुनः दक्षिण फर्कदा बनेको मनोरम भू बनावट अति नै सुन्दर देखिन्छ । हाल यस ठाउँ नजिकै औद्योगिक ग्राम बनाउनका लागि पूर्वाधारहरु निर्माण गर्ने काम भइरहेको छ ।

४. रामडाँडा
चापाकोट नगरपालिकाको वडा नं ५ को रामडाँडामा सुन्तैलीटारबाट दामाचौरसम्म ग्राभेल बाटो र त्यसपछि कच्ची बाटो हुँदै १३ किमि यात्रा गरेपछि पुग्न सकिन्छ । रामडाडाँमा रहेको मन्दिर कान्छी मनकामना नामले समेत प्रसिद्ध छ । पछिल्लोसम्म जिल्लाका मात्रै नभएर पाल्पा, तनहुँ र कास्कीबाट समेत मानिसहरु यस ठाउँमा घुम्न आउन थालेका छन् ।
यहाँबाट चापाकोट र रामपुर नगरपालिकाको अधिकांश भूभाग, कालीगण्डकी नदी र ज्याग्दी खोलाको मनोरम दृष्य देख्न सकिन्छ । यस ठाउँलाई प्यारागलाइडिङ उडानका लागि पनि उपयुक्त ठाउँ मानिन्छ । अहिले दामाचौर हुँदै हरिनास जोड्ने सडक फराकिलो बनाएर कालोपत्रे गर्ने गरी काम भइरहको छ ।

५. रामघाट
चापाकोट नगरपालिकाको नगरपालिकाको वडा नं ७ मा प्रसिद्ध धार्मिकस्थल रामघाट रहेको छ । सुन्तैलीटारदेखि १५ किलोमिटरको ग्राभेल बाटो हिँडेपछि यहाँ पुग्न सकिन्छ । यस ठाउँमा राम, बलराम र परशुरामले तपस्या गरेको भन्ने धार्मिक विश्वास छ । रामघाट पारीको रामपुर नगरपालिकामा भगवान श्री राम आई बसेकोले त्यसको ठाउँको नाम रामपुर रहको भन्ने जनविश्वास छ । रामघाटदेखि केलादीघाटसम्म करिब ३ किमी लामो कालीगण्डकीको तहलाई शुक्लागण्डकी र कृष्णगण्डकीको गुप्त संगम तीर्थ भनी वराह पुराणमा उल्लेख गरिएको छ । त्रेता युगमा पाण्डु पुत्र भीमसेनले तनहुँ जिल्लाको भीमादमा बाँध निर्माण गरी शुक्ला (सेती) को जल कृष्ण (कालीगण्डकी) र कृष्णको जल शुक्लामा पु¥याउन गरेको प्रतिज्ञालाई भगवान् शंकर र श्रीरामले सफल पारिदिएको र दुवै नदी गुप्त रुपमा एक अर्कोमा प्रवाहित भएको भन्ने जनविश्वास छ । रामघाट क्षेत्रलाई शालिग्राम पाइने मुख्य खण्ड भनेर पनि चिनिन्छ ।

६.केलादीघाट
केलादीघाट कालीगण्डकीको तटमा रहका विभिन्न धार्मिक स्थलहरु मध्येको एक महत्वपूर्ण स्थल हो । यहाँ भगवान् श्री चतुर्भुजको मन्दिरसहित अन्य मन्दिर, धर्मशाला, वृद्धाश्रम, कुटी, छात्रावास, गौशालाहरु छन् । वैष्णव धर्मका विभिन्न सम्प्रदायहरुमध्ये प्राचीनतम र महत्वपूर्ण सम्प्रदायका रुपमा परिचित श्री निम्वार्क सम्प्रदायको आरम्भ श्रीहंस भगवानबाट भएको भन्ने विश्वास छ ।

कालीगण्डकी करिब १ किमी उत्तरतर्फ बहेर दक्षिण मोडिई फेरि पूर्वतिर लागेको बहावलाई धार्मिक दृष्टिले अति नै महत्वपूर्ण र दुर्लभ मानिन्छ

स्याङ्जा, पाल्पा र नवलपरासीको संगमस्थल केलादीधाम पहिले गोरखादेखि भीमाद हुँदै बुटवल भैरहवा आवतजावत गर्ने व्यापारिक केन्द्र थियो । धार्मिक पर्वहरु जस्तै हरिबोधनी एकादशी, विवाह पञ्चमी, माघेसंक्रान्ति, शिवरात्रि, गुरुपूर्णिमा, निम्वार्क जयन्ती, श्री कृष्णाष्टमी, रामनवमी आदिमा धर्मात्माहरुको घुइँचो लाग्दछ । वैष्णव धर्मको प्रमुख केन्द्र स्याङ्जा जिल्लाको केलादीघाट रहे पनि गण्डकी पारी पाल्पा जिल्लाको रामपुरमा शिवालय, लक्ष्मीनारायण आदि मन्दिरहरुमा पनि धर्मात्माहरुको घुइँचो लाग्ने गर्दछ रामघाट र केलादीघाट बीचको कालीगण्डकी तट शालिग्राम पाइने मुख्य खण्ड भनेर पनि चिनिन्छ ।

७. कालीगण्डकी जलयात्रा
स्याङ्जा जिल्लालाई पश्चिम र दक्षिणबाट कालीगण्डकीले घेरेको छ । यो नदी नेपालका जलयात्रा गरिने नदीहरुमध्यको एक हो । कालीगण्डकी जलविद्युत आयोजना बन्नुभन्दा अघि पर्वतबाट सुरु हुने जलयात्रा रामदीमा पुगी टुंगिन्थ्यो भने कुनै कुनै जलयात्रीहरु केलादीघाट हुँदै चितवनसम्म पनि पुग्ने गर्दथे । अहिले यस नदीमा दुई खण्ड गरी जलयात्रा गरिन्छ । पहिलो खण्ड पर्वतबाट मिर्मीमा कालीगण्डको ड्याममा आई जलयात्रा सकिन्छ भने दोस्रो खण्ड राम्दीबाट सुरु भई केलादीघाट हुँदै देवघाटमा सकिन्छ । यस नदीमा जलयात्रालाई व्यवस्थित र बिस्तार गर्न आवश्यक पूर्वाधार अहिलेसम्म तयार गरेको भने देखिँदैन । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ बजेटमार्फत पनि यसठाउँमा जलयात्रा सञ्चालनको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ । चापाकोट नगरपालिकाका सम्भावित नयाँ पर्यटकीय क्षेत्रहरु निम्नानुसार उल्लेख गरिन्छ :

१. गंगा रिभर विच पार्क :
चापाकोट नगरपालिकाको वडा नं ९ कालीगण्डकीे तटको करिब ५/६ हेक्टर जग्गाबिना उपयोग रहेको छ । नदी किनारको सम्म परेको उक्त जग्गामा व्यवस्थित पार्क एवं विश्रामस्थल बनाउन सके त्यस भेगको पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ । गल्याङ र मिर्मीबाट करिब २ घन्टाको मोटर यात्राबाट पुगिने सो ठाउँ नजिकै हिन्दुहरुका लागि अति नै पवित्र मानिने उत्तर गंगा रहेको हुँदा स्वदेशीमात्र नभई विदेशी धार्मिक पर्यटनका दृष्टिले पनि उक्त पार्क आकर्षक हुन सक्दछ ।
कालीगण्डकी नदीमा जलयात्रामा जाने पर्यटकहरुका लागि पनि उपयुक्त विश्रामस्थल हुने हुँदा उक्त स्थानमा खाना बस्न र घुमफिरका साथै मनोरञ्जनात्मक गतिविधिसहित व्यवस्थित पार्क बनाएर सञ्चालन गरेमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण केन्द्र बन्न सक्दछ ।

२. मगर सम्पदा पदयात्रा
यो पदयात्रा नेपालकै दोस्रो ठूलो मगर गाउँ तनहुँ जिल्लाको भीमाद नगरपालिकाको रहुबाट सुरु हुन्छ । रहु गाँउ मगर संस्कृतिको धनी गाउँ हुनुका साथै मगर परम्परा र रहन सहनको नमूना गाउँ पनि हो । पुरानो संस्कृति परम्परा हराउँदै गइरहेको वर्तमान परिप्रेक्षमा रहु गाउँ आफ्नो संस्कृति संरक्षणमा उदाहरणीय रहेको छ । रहु गाँउको रमाइलो बसाइँपछि दोस्रो दिन स्याङ्जा जिल्लाको चित्रे भञ्ज्याङ, तेस्रो दिन बलिकोट हँुदै क्याक्मिको पुर्कोट, चौथो दिन केलादी घाट हुँदै पाल्पाको मित्याल डाँडा र छैटौं दिन नवलपरासीको आरुङ्खोलामा पुगी पदयात्रा टुंगिन्छ ।
५ रात ६ दिनको यो पदयात्रामा आवश्यक प्रायः सबै पूर्वाधारहरु उपलब्ध भएको हुँदा तुरुन्तै सञ्चालनमा ल्याउन सकिन्छ । यसका लगि पदयात्रा मार्गले समेट्ने सबै गाउँहरुबाट प्रतिनिधित्व हुने गरी एउटा मगर हेरिटेज इको पर्यटन पदयात्रा मार्ग व्यवस्थापन समिति गठन गर्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width