बुद्धशिक्षा र मानव समुदाय

यज्ञप्रसाद बास्तोला
श्रावण १, २०७७

भगवान बुद्धको उपर्युक्त शिक्षाप्रति मानव समुदायको ध्यानाकर्षण गराउँनु आजको प्रमुख आवश्यकता हो । आजको मानिस व्यक्तिगत आचरणमा, पारिवारिक सम्बन्धमा, सामाजिक व्यवहारमा तथा राष्ट्रिय दायित्व निर्वाहमा पथभ्रान्त एवं विपथगामी हुँदै गएको छ । फलस्वरुप युवा यवतीहरु अपराध उन्मुख आचरणमा फँसिरहेका छन् , पारिवारिक सम्बन्ध चिसो हुँदै गएको छ । सामाजिक व्यवहार विभेदपूणर््ा,शोषणमूलक तथा विरानो हुँदै गएको छ । राष्ट्रिय जनजीवन अराजक, अराष्ट्रिय , भ्रष्ट तथा आपरधिक चक्रव्यूहमा फँसिरहेको छ । अहिले हरेक समस्याको समाधान हिंसात्मक तरीकाले खोज्न थालिएको छ ।

हरेक व्यक्ति भित्र एउटा न एउटा द्वन्द्वले एकातिर उत्तेजना,उपभोग र उन्माद पैदा गरेको छ भने अर्कातिर घोर कुण्ठा, विषाद र निराशा उत्पन्न गरेको छ । को कता गइरहेको छ, कसको स्वार्थ कोसँग बाझिएको छ , कसले कतिबेला के गर्दछ र कहाँ के कस्तो घटना घट्छ कसैले केही भन्न सक्दैन । कसैले कसैको विश्वास गर्न सक्दैन । कोही कसैबाट सुरक्षित छैन । संस्कृति, सभ्यता, सेवा, साधना र संस्कार तथा नैतिकता, सदाचार एवं श्रद्धा सम्मानजस्ता मूल्य मान्यताहरु सवै उपेक्षित र तिरस्कृत भएका छन् या त व्यापारिक विनिमयका विषयवस्तु बनेका छन् । स्नेह,ममता,प्रेम र वात्सल्य जस्ता संवेगहरु स्वार्थप्रेरित तथा देखावटी र अभिनयमूलक प्रस्तुतिमा फेरिएका छन् । संक्षेपमा आजको मानिस आफ्नो सत्व र मनुष्यत्व गुमाउँदै गइरहेको छ तर यो तथ्यप्रति ऊ स्वयं जिम्मेवार छ भन्ने कुरामा अझै सहमत हुन आनाकानी गरिरहेकोछ । यसको परिणाम मानव समुदायको अवनति र अहित हुने सुनिश्चित छ ।

“जसको मन बहिरी सौन्दर्य र वैभवको खोजीमा भौँतारिन्छ , जो आफ्ना इन्द्रियमाथि मालिकले झैँ नियन्त्रण गर्न सक्दैन जो अशुद्ध भोजन गर्दछ, जो अल्छी छ , साहसहीन छ, त्यसलाई अज्ञानरुपी दुःखले त्यसरी नै नष्ट गरिदिन्छ जसरी आँधीले सुकेका रुखहरुलाई नष्ट गरिदिन्छ ।”  भगवान बुद्ध

संसारमा हरेक कार्यको कारण हुन्छ । अविकसित एवं असंयमित मनकै कारण समस्या उत्पन्न हुन्छ । सयमित र विकसित मनद्वारा नै समस्याको समाधान हुन्छ । मनलाई विकसित पार्न ध्यानको अभ्यास गर्नु पर्दछ । समस्या भन्नु नै दुःख हो र दुःखको कारण हुन्छ । ती कारणहरु धैरै हुन्छन् ती मध्ये भगवान बुद्धले संकेत गर्नुभएका निम्नलिखित कारणहरुको निवारणमा ध्यान दिनु आवश्यक छ जुन यस लेखको आरम्भमै उद्धृत प्रसिद्ध बौद्ध ग्रन्थ धम्मपदका पदावलीको सूक्ष्म अनुशीलन गर्ने हो भने ती वाक्यहरु अत्यन्त मनन योग्य तथा ग्रहणयोग्य रहेका देखिन्छन् । तदनुसार: ती यस प्रकारका छन् ।

१. जसको मन बाहिरी सौन्दर्य र वैभवको खोजीमा भौँतारिन्छ ।
२. जो आफ्ना इन्द्रियमाथि मालिकले झैँ नियन्त्रण गर्न सक्दैन ।
३ं जो अशुद्ध भोजन गर्दछ ।
४. जो अल्छी छ ।
५. जो साहस हीन छ ।

उपर्युक्त कारणहरुको यहाँ व्याख्या गरिरहनु पर्दैन जुन आफैँमा प्रष्ट छन् र सबैले बुझने भाषामा व्यक्त गरिएका छन् । यदि मानिसले शारीरिक , भौतिक र कृत्रिम सौन्दर्यसंगै आन्तरिक सौन्दर्यको पनि पहिचान गर्दथ्यो भने उसले संंसारका प्रत्येक सिर्जनामा सुन्दरता मात्र देख्ने थियो । कुरुपताप्रति उसको मनमा कसैमाथि घृणाभाव जागृत हुने थिएन । यदि मानिसले बुद्धि, विवेक, बोधी, मैत्री र करुणालाई नै वैभव मान्दथ्यो भने तुच्छ भोगविलासका निम्ति लुछाचूँडी र हत्या हिंसामा संलग्न हुने थिएन । यदि मानिसले आफ्ना इन्द्रियमाथि नियन्त्रण राख्न सक्थ्यो भने कामवासना, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता षडरिपुद्वारा समाजलाई आक्रान्त पार्ने थिएन ।

आज मानिसले मानिसमाथि जे जति दुव्र्यवहार गर्दै आइरहेको छ र आफैँले आफूलाई जसरी विभिन्न रोगव्याधि र पीडाग्रस्त तुल्याइरहेको छ त्यसको प्रमुख कारण अशुद्ध भोजनको दुष्प्रभाव नै हो । आज आफ्नै घरमा भोजन बनाएर खाने चलन हराउँदै गएको छ । होटल तथा रेष्टूँरा र सडकमा खाने प्रचलन बढ्रदैगएको छ । सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै सुतौँ भन्ने आह्वान आजको नगरसभ्यताको परिचायक भईसकेको छ ।

भोजन पनि बासी, सडे गलेको जंकफूड खाने प्रवृत्ति व्यापक हुदै छ । धूम्रपान, मद्यपान, लागुपदार्थ दुव्र्यसन र अखाद्य पदार्थको मिसावटद्वारा अत्याधुनिक मेसिनमा तयार परिएका तयारी मिष्टान्नहरु सहित मांसाहार तथा बोतबन्द र प्याकेटका पेयपदार्थको सेवन गर्ने प्रवृत्तिले गर्दा मानिस पनि एउटा मेसिनजस्तै हुन पुगेको छ । मानिसको पेट एउटा डम्पिङसाइटमा परिणत भइसकेको छ । हाम्रा साना साना नानीहरुलाई अब घरमा बनाएको खाना पटक्कै मन पर्न छोडिसकेको छ ।

अर्को ध्यान दिनु पर्ने कुरा आजको मानिसमा आलस्यको मात्रा क्रमिक रुपले बढ्दै गइरहेको छ । कार्यमा मन लगाउनै कठिन, मन लगाएको केहीबेरमै कार्यमा शिथिलता बढ्दैजाने र विश्रामको खोजीगर्ने प्रवृत्ति खासगरी युवा वर्गमा देखा परेको कुरा अध्ययनले बताएको छ । आज विद्यार्थीको पढाइमा आलस्य बढेको छ । कर्मचारीतन्त्रमा त आलस्यको रोग धेरै पुरानो हो । आलस्य कहाँ छैन ? के हो त यसको कारण ? उत्तर आउँछ उही अशुद्ध भोजन । अशुद्ध भोजनले शरीरको पाचन संस्थान र स्नायु प्रणालीमा पार्ने दूषित प्रभावकै कारणले शरीरमा आलस्य तन्द्रा र जडता पैदा गर्दछ । अशुद्ध भोजनले विचारमा पनि प्रतिकूल प्रभाव पारिरहेको हुन्छ । फलस्वरुप काम, क्रोध, लोभ आदि उद्वेग, उत्तेजना र उन्मादको शिकार हुनु पर्दछ । मादक पदार्थ सेवन गरेर कलझगडा गर्ने प्रवृत्ति नेपाली समाजमा व्यापकरुपले फैलिएको मात्र हैन यो एउटा संस्कृति पनि बनेको छ र यो विकृतिलाई सामान्य र क्षम्यसमेत मानिएको छ । अझ यो विकृति त्यहाँ बढी गहिरो छ जहाँ बुद्ध धर्म मान्नेहरुकै बाहुल्यता रहेको छ । आज विद्यालयको पिकनिक, विवाहको भोजभतेर, जन नेताहरुको वैठक, सभासमारोह तथा सरकारी मिटिङ, समारोह आदि सबै अवसरमा मद्यपान, धूम्रपान र माँसाहार अनिवार्य आकर्षणको वस्तु ठहरिएको छ । घरमासमेत अतिथि सत्कारका लागि ऋण काढेरभए पनि मासुको परिकार पस्किनै पर्ने संस्कार यथावत रहेको छ । जुन मानिस यस्ता विकृतिहरुको वातावरणमा रमाएको छ र यसैलाई निरन्तरता दिने आसक्ति प्रकट गर्दछ त्यस्ता मानिसहरुको मनमा कुनै परिवर्तन, विकास र निर्माण गर्ने आँट एवं रचनात्मक साहस पनि हरउँदै जान्छ ।

शुद्ध भोजन सभ्य मानिसको पहिचान हो । शुद्ध भोजनले शुद्ध विचार र शुद्ध संस्कार भएका सन्तानको आगमनका लागि शुद्ध क्रोमोजोम्स निर्मित हुने संभावना प्रवल हुन्छ । त्यस्ता सन्तानका कुलमा मात्र सिद्धार्थ गौतमजस्ता महापुरुषको आविर्भाव हुन सक्दछ र त्यस्ता पुरुष नै भगवान बुद्ध बन्न सक्दछन् । यसको ज्वलन्त प्रमाण हो भगवान बुद्धका पिताजीको नाम । संसारलाई थाहा छ भगवान बुद्धका पिताजीको नाम शुद्धोदन हो । शुद्ध र ओदन यी दुई शब्दको समस्त शब्द नै शुद्धोदन हो । शुद्ध शब्दको अर्थ पवित्र हुन्छ भने ओदन शब्दको अर्थ भात वा अन्न हुनछ । राजा शुद्धोदनको आहार विहार अत्यन्त पवित्र थियो । राजा भएर पनि उँहाको जीवन सर्वसाधारणको जस्तै सरल र शुद्ध थियो । यो सत्य र तथ्यप्रति सवैको ध्यान जानु आवश्यक छ ।

अब अन्तमा धम्मपदबाट भगवान बुद्धका केही उपदेशहरु आजका अध्यापक, विद्यार्थी, युवा, व्यवसायी, नागरिकसमाज तथा राजनीतिक दल र राज्य संयन्त्रका वाहकहरुले आफ्नो जीवन र आचरणमा उतारुन् भन्नका लागि यहाँ प्रस्तुत छन् ।

१. प्रमादी नहोऊ, कामविषयमा आसक्त नहोऊ, प्रमादरहित भई ध्यान गर्‍यो भने विपुल सुख प्राप्त हुन्छ ।
२. सुमार्गमा लागेको चित्तले आफूलाई जति उपकार गर्दछ, त्यति उपकार बाबुआमा र कुटुम्बलेसमेत गर्न सक्दैनन् ।
३. अर्काको दोष र अर्काले के गर्‍यो, के गरेन भनी हेर्नु भन्दा आफ्नो दोष र आफूले के गरेँ के गरिन भनी हेर्नु नै बेस छ ।
४. भरसक आफूभन्दा गुणी मानिसको संगत गर्नू , नभए आफूसमानको सत्सगंत गर्नू , तर आफूभन्दा दुर्गुणीको संगत कहिल्यै नगर्नू ।
५. अरुलाई अनुशासनमा राख्न पहिले आफै अनुशासित बन्नुपर्दछ । आफूलाई दमन गर्नुपर्दछ । आत्म दमन गर्नु ज्यादै गार्‍हो कुरा हो ।

भगवान बुद्धका सम्बन्धमा जति धेरै चर्चा गरिएको छ , त्यसको एक प्रतिशत मात्र पनि व्यक्तिगत आचरणमा उतार्ने अभ्यास हुन्थ्यो भने आज संसारमा मैत्री, करुणा र न्यायपूर्णसमाजको स्थापना हुने थियो । बुद्धलाई मन पराउने तर बुद्धको शिक्षालाई आचरणमा नउतार्ने मानिसहरुको बाहुल्य भएको राज्य र समाजमा कसरी सुख, शान्ति र समृद्धिको परिकल्पना गर्न सकिएला ? फरि पनि आशा र विश्वास गर्नु पर्दछ । उज्यालो तिरै प्रस्थान गर्नु पर्दछ । भवतु सब्ब मंगलम् ।।

Related News

सम्बन्धित समाचार

hero news full width