बौद्धवाद : एक बहुलवादी ऐतिहासिक दृष्टिकोण

depakbastola
माघ २०, २०७७

जब जब बौद्धवादले मथिंगलमा प्रवेश गर्छ तब तब यसलाई अनेकतामा एकता स्थापित गर्ने एक दर्शनशास्त्रको रूपमा आत्मसाथ गर्दै केही हदसम्म न्याय गरेको महसुस हुन्छ । अर्थात् बौद्धवादले एक र अनेक दर्शनहरूको रूपमा बहुलवादलाई प्रोत्साहित गरेको प्रमाणहरू इतिहासदेखि वर्तमानसम्म विभिन्न अनुसन्धानमूलक लेख तथा पुस्तकहरूमा यत्रतत्र भेटिन्छ । पूर्वीय संस्कृतिमा यसलाई उक्त संस्कृतिको एक अभिन्न पर्यायवाचीको रूपमा ग्रहण गरिएता पनि पश्चिमेली संस्कृतिमा यसलाई मात्र धर्मको रूपमा सीमित नगरी एक रहस्यपूर्ण र चाखलाग्दो दर्शनशास्त्र जसले जीवन शैली र जीवन पद्धतिमा आमूल परिणतीकरण मार्फत् जिजीविषामा अभिवृद्धि गर्ने क्रान्तिकारी सोचकारूपमा स्वीकारिएको वास्तविकतालाई नकार्न सकिदैन । यसै सन्दर्भमा बौद्धवादलाई एक र अनेक दर्शनको रूपमा ऐतिहासिक लघु शल्यक्रिया मार्फत पस्कने प्रयास यो आलेखले गरेको जानकारी संप्रेषण गराउदछु ।

बौद्धवादले आत्मसात गरेका विभिन्न दर्शनहरू वास्तवमा नै एक जीवित परम्पराको विविधतालाई स्वीकार गरि संगठित भएको पाइन्छ । यसलाई लोकप्रिय बनाउने सन्दर्भमा विभिन्न लेख, व्याख्यान र विश्लेषणहरूले आफ्नो अधिपत्य स्थापित गर्दै गर्दा यसलाई एक र अनेक दर्शनहरूको रूपमा ध्यानपूर्वक परिचय दिएको देखिन्छ । ती व्याख्यानहरूले वैचारिक विविधताहरूलाई कम गर्दै कथित आदिम बौद्धवादलाई एक आधारभूत इकाईको रूपमा परिचय दिने प्रयास गरेको देखिदैन । यथार्थमा ती लेखहरूले प्रत्यक्षतः आदिम बौद्धवादलाई तिबेतन, जैन र थेरावादी बौद्धवादमा यसरी रूपान्तरण गरेका छन्, कि ती सबै बौद्धवादहरू मौलिक स्वरूप वा अवस्थाबाट व्यूत्पन्न भएका छन् । विभिन्न पृथक संस्कृतिहरूको प्रभावबाट विकसित विविधतापूर्ण बौद्धवादलाई न्याय प्राप्त नगरेको सन्दर्भमा बौद्धवादहरूले केही विशिष्ट विचारहरूमा केन्द्रित भएको छ र जसलाई विभिन्न बौद्धवादीहरूले पालन गर्नु पर्ने देखिन्छ ।

बौद्धवादका सिद्धान्तहरूको विकास सर्वप्रथम उत्तर भारतमा लगभग पाँचौ ईशा पूर्वमा भएको थियो । तत्पश्चात् यसको विस्तार भारतवर्षका निर्माता सम्राट अशोकको धर्म परिवर्तनपछि तेस्रो ईशा पूर्वमा भएको प्रमाणहरू देखिन्छ । उक्त समयमा बुद्धका अनुयायीबीच वैचारिक मतभेदका कारण सैद्धान्तिक विभाजन भर्ई मुख्यतःदुई सम्प्रदायहरूको जन्म भएको थियो । ती दुई सम्प्रदायहरूलाई हिनयान अर्थात् सानो वाहन्, महायान अर्थात् वृहत वाहनका रूपमा चिनिन्छ । महायानीहरूले हिनयानीहरूलाई पुरातनवादीको रूपमा चित्रण गर्दै सानो वाहन वा हिनायानको आधारमा नामाकरण गरेका थियो । पछि गएर उक्त हिनायानीहरूलाई थेरावादीका रूपमा नामकरण गरेको इतिहासमा यत्रतत्र पाइन्छ । यी २ सम्प्रदायको वर्गीकरण जसरी आम मानिसलाई बुझ्नका लागि भनिएको छ त्यसरी नै कठोर प्रकृतिको भएको पाइँदैन । अर्थात् यी दुई सम्प्रदायहरू बिचको सैद्धान्तिक विभाजन नितान्त प्राविधिक होइन वा छैन । त्यस्तै तेस्रो सम्प्रदाय जसलाई वज्रयान वा वज्रवाहनको रूपमा चिनिन्छ र जसलाई रहस्यमय वा गोप्य आशयपूर्ण बौद्धवाद वा तन्त्रवादको रूपमा परिचय दिएको पाइन्छ । उक्त सम्प्रदायको विकास वा अनुशरण पछिल्लो समयमा भएको पाइन्छ ।

सम्राट अशोकको अनुपस्थितिमा बौद्धवाद मात्र अल्पसंख्यक मानिसहरूको वैचारिक आस्थाको रूपमा सीमित हुने यथार्थतालाई नकार्न सकिँदैन । अनुश्रुति अनुसार सम्राट अशोकले समस्त भारत वर्षमा ८४ हजार शाररिक स्तूपहरू (बुद्धको अस्तू धातु निदान गरी निर्माण गरिएको स्तूप) निर्माणका लागि लिएको ऐतिहासिक पहल कदमीलाई बौद्धवादीहरूले अविष्मरणीय घटनाको रूपमा स्वीकारेको पाइन्छ । भारतवर्षमा मात्र नभई चीनमा पनि उक्त स्तूपहरूको निर्माण भएको इतिहासले बौद्धवाद र एसियाको अन्य राज्यहरूको संस्कृतिबीच प्रगाढ वा घनिभूत सम्बन्ध भएको सत्यलाई स्वीकार्नु पर्ने देखिन्छ । उक्त समयमा भारतवर्षमा बौद्धवादको फैलावटले विभिन्न समूहहरूलाई जन्माएको थियो र यसै कारण प्राचीन बौद्धवादलाई निकाय बौद्धवादको रूपमा पनि नामकरण गरेको पाइन्छ ।

बुद्धको परिनिर्वाण पश्चात् भारतवर्षमा बौद्धवादमा आएको आमूल विविधीकरणका मूलभूत कारणमध्य प्रथम कारण भिक्षु तथा भिक्षुणीहरूको व्यवस्थापन थियो भने दोस्रो बौद्धवादका केन्द्रीय विचारहरूमा आएको दुरी वा फरकपन थियो । जब जब बौद्ध गुम्वाहरूको आम्दानी वा आयमा वृद्धि हुन थाल्यो, भिक्षु र भिक्षुणीहरूको जीवनमा विलासिताले प्रवेश पायो । तत्पश्चात् तपस्वि बौद्धवादीहरू र सहरकेन्द्रित बौद्धवादीहरूमा एक प्रकारको ध्रुवीकरण सिर्जना भयो । जसले गर्दा बौद्धवादीहरूको विभिन्न समूहहरूमा सैद्धान्तिक, कर्मकान्डी, व्यवहारिक र नैतिक ध्रुवीकरण यत्रतत्र देखिन थाल्यो ।

पहिलो ध्रुवीकरण बुद्धको परिनिर्वाणको सय वर्षपछि भारतको वैशाली सहर जहाँ बौद्धवादीहरूको दोस्रो परिषद्मा देखिएको थियो । त्यस्तै बौद्धवादीहरूको प्रथम परिषद् भारतको राजगिर सहरमा बुद्धको परिनिर्वाणको ३ महिनापछि सम्पन्न गरिएको थियो र जसमा ४ सय ९९ जना भिक्षुहरूको उपस्थितिमा बुद्धको उपदेशहरू र नैतिकशीलहरूलाई घनिभूत रूपमा सुरक्षा गर्ने निर्णय गरि सम्पन्न गरिएको थियो । यसै गरि तेस्रो परिषद् भारतवर्षका महान् सम्राट अशोकाको नेतृत्वमा ईशा पूर्व २५० मा भारतको पाटलीपुत्र (हालको पटना) सहरमा १ हजार जना भिक्षुहरूको सहभागितामा सम्पन्न गरिएको थियो ।

दोस्रो परिषद्मा भएको ध्रुवीकरणको प्रधान कारण केही परिपक्क भिक्षुहरूले नैतिकशीलहरू मा केही समायोजनको माग गरिएको तर उनीहरूको मागको संवोधन नहुँदा ती भिक्षुहरूले विभाजित भएको घोषणा गर्दै महायान सम्प्रदायको रूपमा नयाँ सम्प्रदाय घोषणा गरेका थिए । महायान सम्प्रदायको उत्पत्तिका सन्दर्भमा अन्य केही विश्लेषण र व्याख्यानहरूलाई पनि आत्मसात गर्नु पर्ने हुन्छ । प्रथम भिक्षुहरूको विलाशिता र सुखसयल लगायत गुम्बाहरूको आर्थिक समृद्धि र वैभवहरूको विरुद्धमा साधारण मानिसहरूको असामान्य प्रतिक्रिया थियो । दोस्रो बुद्धका मूर्तिहरूको, स्तूपहरूको र बुद्धसँग सम्बन्धित विविध आकृतिहरूको भौतिक रूपमा पूजा र उपासना गर्नु थियो जसमा हिनायानीहरूले विश्वास गर्दैनथे । तेस्रो आध्यात्मिक संघ सोचहरूबाट प्रभावित हुनु थियो ।

विश्वलाई उत्कृष्ट जीवनशैली अवलम्वन गर्न प्रोत्साहित गरेको तथ्यलाई सहर्ष स्वीकार्नु आजको आवश्यकता हो

महायानीहरूको केही विरोधावास पूर्ण अभिव्यक्तिहरू रहे तापनि यिनीहरूले हिनयानीहरूको परिपूरकको रूपमा भूमिका निर्माण गरेका थिए । महायान सम्प्रदायले निर्वाण प्राप्तिको पहुँच सबैलाई हुने तथ्यलाई स्वीकार्दछ भने हिनायान सम्प्रदायले निर्वाण प्राप्तिको पहुँच ती भिक्षुहरूलाई हुने गर्दछ जसले पूर्ण रूपमा तपस्विको जीवनलाई अनुशरण गर्दछन् ।

महायान सम्प्रदायका केही लचकदार दृष्टिकोण भए तापनि यसले तपस्वि, साधक, त्यागी र योगीको सद्गुणहरू जस्तै; दया र उपायहरूको प्रयोगबाट निर्वाण प्राप्त गर्ने सोचलाई आत्मसात गरेको थियो । त्यस्तै बुद्धका पृथक भौतिक स्वरूपहरूको उपासना र आराधनामा पूर्ण विश्वास गर्दै पञ्चबुद्ध र बोधिसत्वको अवधारणा पनि सहर्ष स्वीकारेको थियो । पञ्चबुद्ध अन्तर्गत अमिताव, अक्षोभ्य, भैरोचना, अमोघसिद्धि र रन्तसम्भव रहेका छन् भने बोधिसत्व अन्तर्गत अभलोकितेश्वर, मञ्जुश्री, सामन्तभद्र जस्ता पात्रहरूलाई लिन सकिन्छ ।

ईश्वी संवत्को सुरुवात सँगै १ लाख ऋचा तथा श्लोकहरूसहितको प्रज्ञा परिमिता सूत्र र लगभग एक पेजको हृदय सूत्रको पृष्ठभूमिमा महायान चिन्तन द्रुतगतिमा विस्तार भएको थियो । यसको विस्तारको क्रम मध्य एसिया, चीन हुँदै कोरिया, जापान र भियतनामसम्म उक्त कालखण्डमा पुगेको थियो । जब कि हिनायान सम्प्रदायको फैलावट सम्राट अशोकाको शासन कालमा भारतवर्षबाट श्रीलंका र दशौं ईश्वी संवत्मा दक्षिण पूर्वी एसिया (म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडिया) मा भएको थियो । अहिले पनि उल्लेखित राष्ट्रहरूमा थेरावादको स्वरूपमा उक्त हिनयान सम्प्रदायको प्रभाव र प्रभुत्व भएको पाइन्छ ।

ईश्वी संवत्को पाँचौ र सातौं कालखण्डमा बौद्धवादको तेश्रो सम्प्रदाय जसलाई रहस्यपूर्ण वा गोप्य आशय युक्त बौद्धवादको रूपमा चिनिन्छ, त्यसको उद्गम भएको थियो । यद्यपि यो सम्प्रदायले महायान सम्प्रदायको आधारभूत दृष्टिकोणलाई आत्मसात गरे ता पनि यो मौलिक रूपमा नयाँ विचारको रूपमा विकसित भएको बौद्धवाद थियो । यो बौद्धवादलाई वज्रयान बौद्धवादकै रूपमा नामाकरण गर्दै प्राचीन बुद्धको मौखिक, भौतिक र मानसिक क्रियाहरूलाई अनुशरण गर्दै मन्त्र, मुद्रा र मण्डलामार्फत तान्त्रिक कर्मकान्डबाट निर्वाण प्राप्त गर्ने पथ यो बौद्धवादको प्रधान बौद्धपथ थियो । ईश्वी संवत्को आठौं र नवौं शताब्दिमा यो सम्प्रदाय भारतवर्षबाट सञ्चरण भर्ई तिव्वत, चीन, जापान र दक्षिण पूर्वी एसिया (इन्डोनेसिया, म्यानमार, कम्बोडिया) मा पुगेको थियो । यो सम्प्रदाय दक्षिण पूर्वी एसियामा असफल भए तापनि तिव्वत र जापान जस्ता राष्ट्रहरूमा यसको दबदबा कायम रहेको थियो । वर्तमानमा भुटान जस्ता राष्ट्रमा यो सम्प्रदायको एकाधिकार वर्चश्व रहेको पाइन्छ ।

थेरावाद सम्प्रदाय जसको श्रीलंका र दक्षिण पूर्वी एसियामा आफ्नो दबदबा छ त्यसलाई हिनयान र निकाय बौद्धवादको आधुनिक स्वरूपको रूपमा लिन सकिन्छ । यसलाई महायान सम्प्रदाय भन्दा पुरातनपन्थि मानिए तापनि यो इतिहासको विभिन्न कालखण्डहरूबाट विकास र विस्तार भएको थियो । यसलाई प्राचीन र प्रमाणित हो भनेर स्वीकार्दा त्यो असत्य हुने गर्दछ । यो सम्प्रदाय ईशा पूर्व तेस्रो र ईश्वी संवत् पाँचौं कालखण्डमा श्रीलंकामा विकास भएको थियो । तत्पश्चात् त्यहाँबाट म्यानमारमा ईश्वी संवत् दशौं शताव्दिमा उक्त सम्प्रदाय विस्तार भएको थियो । त्यस्तै ईश्वी संवत् तेह्रौं र चौधौं शताब्दिमा उक्त सम्प्रदायको थाइल्यान्ड र भारत–चीन प्रायद्विपहरूमा भएको थियो । यसरी थेरावाद सम्प्रदायले संस्कृति र धर्मका रूपमा एसियाका अनगिन्ती राष्ट्रहरूमा पाली भाषालाई आत्मसात गर्दै प्रबलरूपमा सेवा गरेको थियो र ती राष्ट्रहरूमा प्राचीन बुद्धलाई उपासनाको प्रमुख आधारको रूपमा स्वीकारिएको थियो । त्यस्तै यो सम्प्रदायमा पनि रहस्यपूर्ण वा गोप्य आशययुक्त तत्वहरूको प्रभाव छैन भनेर व्यक्त गर्दा त्यो सत्य हुँदैन अर्थात् तान्त्रिक थेरावाद जुन विगतमा पनि थियो र वर्तमानमा पनि पाइन्छ, त्यसमा बौद्धवादका रहस्यपूर्ण वा गोप्य आशय युक्त तत्वहरूको उत्कृष्ट प्रभाव रहेको पाइन्छ ।

अन्त्यमा, शुद्ध बौद्धवादका बारेमा जति विवेचना, व्याख्या, विश्लेषण र वैचारिक शल्यक्रिया गरिए तापनि विभिन्न कालखण्ड, स्थान विशेष र संस्कृतिहरू अनुरूप बौद्धवादको रूपान्तरण, विकास र विस्तार अविरल रूपमा एक र अनेक दर्शनहरूको स्वरूपमा भएको यथार्थलाई निषेध गर्न सकिँदैन । त्यस्तै इतिहासदेखि नै बौद्धवादले बहुलवाद र निरपेक्षवादलाई अंगाल्दै हामीहरूबीच जीवन दर्शनका असंख्य सोचहरू पस्कँदै जीवन्त रहेको सुन्दर सत्यलाई पनि वर्जित गर्न सकिँदैन । तसर्थ, अनेकतामा एकता रूपी सौष्ठव र सौम्य दर्शनको रूपमा बौद्धवादले जनप्रियता प्राप्त गर्दै समग्र विश्वलाई उत्कृष्ट जीवनशैली अवलम्वन गर्न प्रोत्साहित गरेको तथ्यलाई सहर्ष स्वीकार्नु आजको आवश्यकता हो ।

Related News

सम्बन्धित समाचार

hero news full width