ब्रह्मरुपामा प्राविधिक शिक्षा र चुनौती

मधुसुधन सापकोटा
असार ९, २०७८

सूचना प्रविधि र वैज्ञानिक युग, ज्ञान विज्ञानका नित्य नवीन क्षितिज उद्घाटित भइरहने युग हो, विज्ञानका जादूमयी योगदानले विश्वलाई मन्त्र मुग्ध पारेको युग हो । आधुनिक युगको सर्पलाई वैज्ञानिक आविष्कारका जादुगरले लठ्याइदिएको छ र मदानीको तालमा नचाइदिएको छ । विज्ञानले मानवजातिका लागि एकपछि अर्को अमूल्य उपहार पस्किएको छ र आजको मानव समुदाय त्यस्तो उपचारको आहार गर्दै मस्तसँग बिहार गरिरहेको छ । वैज्ञानिक आविष्कारले फुरुंग परिरहेको अवस्थामा कम्प्युटरलगायत आविष्कार हुन पुग्यो र विज्ञानका क्षेत्रमा तहल्का मच्चाइदियो । जन्मिएको वस्तुलाई दीर्र्घजवी बनाउन त्यसको र यसको महत्व र प्रभावकारिताका लागि नेपाल सरकारले पनि पहल कदम लिन आवश्यक ठान्यो । फलस्वरुप नेपालभर माध्यमिक तहमा नै प्राविधिक शिक्षा दिने अवधारणा अगाडि सार्‍यो । यसैको परिणामस्वरुप हाम्रो विद्यालयमा प्रविधिको पूर्वाधार २०६९ सालदेखि कम्प्युटर शिक्षा सुरु भई कम्प्युटर इन्जिनियरिङ शिक्षा प्रदान गर्ने अनुमति दियो र २०७० साल देखि ब्रह्मरुपा मावि कम्प्युटर इन्जियिरिङ शिक्षा प्रदान गर्ने थलोको रुपमा परिचित छ ।
परम्परागत अवैज्ञानिक शिक्षा लिने दिने अवस्थामा सीमित हुँदाहुँदै २०६९ सालमा आएको अवधारणा अनुरुप नेपाल सरकार शिक्षा मन्त्रालयले माध्यमिक तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा ल्यायो । पहिलो चरणमा नेपालभरिका एक सय (१००) विद्यालयले व्यावहारिक र रोजगारमूलक प्राविधिक शिक्षा सञ्चालन गर्ने अनुमति पाएको अवस्थामा यस ब्रह्मरुपा माविले पनि सोही वर्षदेखि नै कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएको हो । पहिलो वर्ष नौलो कार्यक्रम भएको हुँदा विभिन्न अन्योलता रहे । यद्यपि सबै खाले अन्योलाई चिर्दै प्रथम वर्षमा कक्षा ९ मा विद्यार्थीहरु भर्ना भए । ती विद्यार्थीहरुले अहिले उच्च शिक्षा पार गरिसकेका छन् ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अगाडि बढेको यस कार्यक्रम अन्तर्गत हाल मुलुकभरका विद्यालयमा माध्यमिक तहमा प्राविधिक शिक्षा सञ्चालनमा आएको छ । कम्प्युटर इन्जिनियरिङलगायत विभिन्न विषय सञ्चालन भएको यो कार्यक्रमभित्र कम्प्युटर इन्जिनियरिङ शिक्षाले धेरै सकारात्मक प्रभाव पारेको छ । जब विद्यालयमा यो कार्यक्रम सञ्चालन भयो तब विभिन्न क्षेत्रका अभिभावक र विद्यार्थीको चासोको विषय बन्यो । लेखनाथ क्षेत्रभित्रमात्र नभएर पोखरा वरपरका विद्यार्थीहरुले यस संस्थामा पढ्ने चासो देखाए । यसले गर्दा विद्यालयको समग्र कक्षामा विद्यार्थी भर्ना संख्यामा वृद्धि भएको पाइन्छ । यस पछिका हरेक वर्षको विद्यार्थी भर्ना अभिलेखले यस कुरालाई पुष्टि गर्दछ । कम्प्युटर इृन्जिनियरिङ कक्षा सञ्चालन हुँदै गर्दा विद्यालयको शैक्षिक वातावरणमा मात्र सुधार नभएर भौतिक विकास, अनुशासनमा सुधार, सोचइमा सुधार आएको देखिन्छ । प्राविधिक शिक्षा सञ्चालन भएसँगै सामुदायिक विद्यालयमा आमूल परिवर्तन आएको पाइन्छ जुन हाम्रा निम्तिमात्र नभएर नीति निर्माताका निम्ति पनि अत्यन्त खुसीको कुरा हो ।

प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा आमूल परिवर्तन आयो जुन हाम्रा साथै नीति निर्माताका निम्ति खुसीको कुरा हो

वर्तमान अवस्थामा ब्रह्मरुपामा कक्षा ९ देखि १२ सम्म जम्मा १६० जना विद्यार्थी प्राविधिक शिक्षाअन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । कुशल प्रशासन, अनुभवी, लगनशील एवं सक्षम शिक्षक र जिज्ञासु एवं मेहनती विद्यार्थीका कारण कक्षा १० को २०७१ सालको एसएलसी परीक्षामा ३ जनाले ए प्लस, २०७२ सालको एसएलसी परीक्षामा ५ जनाले ए प्लस र २०७३ सालको एसइई परीक्षामा १० जनाले ए प्लस, २०७४ सालको एसइईमा १७ जना ए प्लस २०७५ सालमा १८ जनाले ए प्लस र २०७६ सालमा २१ जनाले ए प्लससहित शतप्रतिशत विद्यार्थी सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डमातहत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यो समग्र नतिजाले विद्यार्थी, शिक्षक, अभिभावक, प्रशासन एवं समग्र सरोकारवालालाई थप ऊर्जा र उत्साह थपेको छ ।
यस विद्यालयबाट कम्प्युटर इन्जिनियरिङ अध्ययन गरी कक्षा १२ उत्तीर्ण गरेका कुनै पनि विद्यार्थीहरु बेरोजगार छैनन् । कयौं विद्यार्थीहरुले उच्च शिक्षामा विभिन्न विश्वविद्यालयमा छात्रवृत्तिमा बिई पढिरहेका छन् भने कतिपय विद्यार्थीले सहज ढंगले नाम निकालेर उच्च शिक्षा अध्ययन गरेका छन् । कक्षा १० बाट नै ओजेटी (अन द जब ट्रेनिङ) मा खटिने हाम्रा विद्यार्थीहरु विभिन्न कम्पनीमा आफ्नो कार्यकुशलता प्रदर्शन गरी प्रशंसित बनेका छन् । यहाँबाट उत्पादिन जनशक्तिले विभिन्न कम्पनीहरुमा सहज ढंगले रोजगराका अवसर प्राप्त गरी आत्मनिर्भर बनेका छन् । कैयौंले आफ्नै कम्पनी सञ्चालन गरी अरुलाई समेत रोजगारी प्रदान गर्ने अवस्थामा छन् त कतिपय वैदेशिक विश्वविद्यालयमा अध्ययनरत छन् ।
यसकारण आउनुहोस् आफ्ना बाबुनानीको सुनौलो भविष्य निर्माणका लागि हामीलाई अबोध बालबालिका जिम्मा दिनुहोस्, हामी तपाईहरुलाई सुबोध र सक्षम नागरिक बनाएर फिर्ता गर्नेछौं । कक्षा ९ मा भर्ना खुली रहेको छ भने कक्षा १० मा अध्ययनरत छात्रछात्रालाई सहज रुपमा कक्षा ११ मा अध्ययन गर्ने वातावरण बनाएका छौं । जहाँ विद्यालयमा सम्पूर्ण भौतिक, (भवन) शैक्षिक (प्रशिक्षक) कम्प्युटर र विज्ञान ल्याब, यातायातलगायतका सुविधा पर्याप्त छन् । कुनै पनि सुविधाबाट बञ्चित हुनुपर्दैन ।
अतः यति धेरै सकारात्मक पाटाहरु सफल पक्षहरु र उज्यालो भविष्य हुँदा हुर्दै पनि माध्यमिक तहमा नै प्रविधि शिक्षा कार्यक्रमका थुप्रै समस्या र चुनौती पनि देखिएका छन् । सबैभन्दा प्रथम चुनौती त हामीमात्र नभएर नीति निर्माता स्वयं पनि अन्योलको भूमरीमा रुमलिएको पाइन्छ । अर्कोतर्फ नयाँ र पहिलो कार्यक्रम भएको हुँदा अभिभावकको चासो निकै बढेको छ । जहाँ प्रशिक्षकको स्थायीको समस्या, विद्यार्थी १२ पास गरिसकेपछि पनि ओजेटी समस्या, उच्च शिक्षाको अध्ययनका लागि सहज वातावरण राज्यको तर्फबाट नभएको जनगुनासो पनि नभएका होइनन् ।
वर्तमान अवस्थामा ‘शिक्षाको सरोकार, प्राविधिक शिक्षा घरघरमा रोजगार’ भन्ने उद्देश्यका साथ सञ्चालित यस प्रकारको शिक्षाबाट यस क्षेत्रका थुप्रै विद्यार्थीहरु र अभिभावकहरु लाभान्वित भएका छन् जसको प्रभाव समग्र शैक्षिक जगत्मा सकारात्मक रुपमा परेको पाइन्छ । राज्यले पनि निकै ठूलो धनराशी लगानी गरेको यस क्षेत्रलाई अझ व्यवस्थित गर्न अपरिहार्य भएको देखिन्छ । यसरी भविष्यप्रति स्पष्ट हुँदै वर्तमानका चुनौतीको सामना गर्नु आजको आवश्यकता बनेकोतर्फ नेपाल सरकार, नीति निर्माता एवं सम्बन्धित शिक्षा सरोकारवालाको ध्यान जान सकेमा माध्यमिक तहमा नै प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी र फलदायी बन्ने कुरामा कुनै शंका रहँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width