नेपाली भाषाको उत्थानमा भानुको अविस्मरणीय योगदान

शिवप्रसाद गौतम
असार २९, २०७८

आदिकवि भानुभक्तले आफ्नो नामअनुसार नै नेपाली भाषाको प्रकाश छर्ने काम गरे जसका कारण भानुभक्त नाम चरितार्थ हुन गएको छ । भानुको शाब्दिक अर्थ धेरै छन्– जस्तै शब्दकोशअनुसार सूर्य, रवि, किरण, प्रकाश र दिवाकर हुन् । जसरी सूर्य भगवान्ले अन्धकारलाई नास गरेर संसारलाई उज्यालो पार्नु हुन्छ, त्यसैगरी भानुभक्तले बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यमा छरिएर रहेको भूभागलाई एकीकरण गरेर सिंगो नेपाल बनाए, त्यसै गरी विभिन्न भाषा भाषीमा छरिएर रहेको नेपाली भाषाको एकीकरण गरेर नेपालको राष्ट्रभाषा बनाए । यी महान् पुरुषहरुले भूगोल र भाषाको एकीकरण गरेर राष्ट्रप्रति ठूलो गुन लगाएका छन् । भानु भनेका सूर्य र भक्त भनेको ईश्वर वा देवताको भक्ति गर्ने भक्तालु, धार्मिक कार्यमा आस्था भएको व्यक्तिलाई भक्त भनिन्छ । भानुभक्त सूर्य भगवान्का उपासक पनि थिए । त्यसैले उहाँको नाम भानुभक्त रहन गएको हुन सक्छ ।
भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते चुँदी रम्घा, तनहुँमा भएको थियो । उनी पिता धनञ्जय र माता धर्मवती देवीको पुत्ररत्नका रूपमा जन्मेका थिए । भानुको १० वर्षको उमेरमा पहिलो विवाह श्रीमती चन्द्रकान्तासँग भएको छोटो समयमा उनको देहवासन भएपछि ११ वर्षको उमेरमा चन्द्रकलादेवीसँग भएको इतिहास पाइन्छ । उनका उत्तराधिकारी रमानाथ आचार्य थिए । भानुको परिवार शिक्षित र खानदानी थियो । भानुभक्तले आफ्ना हजुरबा श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका र एउटा घाँसीको घाँस काटेर बेचेर आएको पैसाले बाटो हिँड्ने बटुवालाई शीतल बस्न, तिर्खा लाए पानी पिउन र रात परे बास बस्ने व्यवस्था गर्न चौतारा, कुवा र पाटी पौवा बनाएर नाम कमाउने इच्छाले उनलाई प्रेरणा दियो । उनी सानै उमेरदेखि नेपाली भाषामा कविता लेख्दथे । उनी कवितामा बोल्थे, कवितामा नाच्थे र कवितामा नै सोधेका कुराको जवाफ दिन्थे ।

पहाडको अतिवेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया
खुप उच्च कुल आर्यवंशी हुन गै सत्कर्ममा मन दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिन्ही लिया ।।

भानुभक्त दश वर्षको उमेरदेखि साहित्य साधनामा लागेका थिए । उनले ४४ वर्षसम्म नेपाली साहित्यको सेवा गरेर विसं. १९२५ आश्विन ६ गते ब्रह्मलीन भएका थिए । उनी संस्कृत भाषामा लेखिएको वाल्मीकि रामायणका अनुवादकको रूपमा प्रख्यात छन् । युगकवि मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदि कवि उपाधि दिएका थिए । भानुले प्रश्नोत्तरी (वि.सं. १९१०), भक्तमाला (विसं. १९१०), बधूशिक्षा (वि.सं. १९१९) लगायतका धेरै साहित्यिक कृतिहरु लेखेका छन् । उनको पाण्डुलिपहिरुलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरे पछि उनी नेपाली साहित्यमा चिनिएका हुन् । घाँसीको प्रेरणा र मोतीरामको पाण्डुलिपि प्रकाशन नै भानुलाई प्रख्यात गराउने स्रोत हुन् । नेपाल सरकारबाट भानुको नेपाली भाषाको उत्थानमा अमूल्य योगदानको कदर गरेर उहाँलाई राष्ट्रिय विभूतिबाट सम्मानित गरेको छ ।

रामायणका श्लोकहरु पढे लेखेकामात्रले होइन, नपढेकाले पनि एकपटक सुनेपछि कण्ठ सुनाउँछन्

वि.सं. १८९८ मा उनले रामायणको बालकाण्ड तयार परिसकेका थिए । उनका पिता धनन्जयको मृत्युपछि भानुभक्तलाई त्यस बेलाको सरकारी हिसाब फछ्र्याैट गर्ने अड्डा कुमारीचोकले समात्यो । उनका पिता पाल्पा मालमा खरीदार छँदा केही हिसाब बिगारेको भनी छोरा भानुभक्त पक्राउ परेका थिए । यो १९०६ सालको कुरा हो । पाँच महिनासम्म भानुभक्तले कुमारी चोकको राणाहरुको मात्र हैन ऐले पनि सरकारी अड्डाका कर्मचारीहरुको भोलिवादको नजरबन्दमा रहनु परेको थियो । यस अवधिमा उनले रामायणका अयोध्या, अरण्य, किस्किन्धा र सुन्दर काण्डहरुको रचना गरे । नजरबन्दबाट मुक्ति पाएपछि काठमाडौंमा बसेर युद्ध र उत्तरकाण्ड लजेखेर १९१० सालतिर सम्पूर्ण संस्कृत अध्यात्म रामायणको सरल र सरस नेपाली पद्यमा सङ्क्षिप्त अनुवाद गरी, नेपाली साहित्य भण्डारमा अमूल्य कृति प्रदान गरे । यो रामायणका श्लोकहरु पढे लेखेकामात्रले होइन, नपढेकाले पनि एकपटक सुनेपछि कण्ठ सुनाउँछन् । घर घरमा रामायणका श्लोकहरु घन्किरहन्छन् । अहिलेको फेसबुकमा युट्युबमा भानुभक्तीय रामायणका श्लोक कवयित्री सरु गुरागाईंको सुमधुर स्वरमा श्रवण गर्न पाइन्छ । भानुभक्तको वधूशिक्षा कृतिले उनलाई छिटपुट नारीहरुले विवादमा ल्याएको पनि पाइन्छ । संसारमा भगवान्लाई पनि विवादमा ल्याइन्छ । रामायण नायिका भगवती सीतालाई धोवीको अपवादले दरबार त्यागेर वाल्मीकी आश्रममा बस्नुपरेको थियो यो कुरा रामायणमा नै वर्णित छ ।
राष्ट्रिय विभूति भानुभक्त आचार्यको सरकारले भन्दा साहित्यकारहरूले बढी सम्मान गरेको पाइन्छ । भानुको सम्झनामा स्थानीय समाजसेवी साहित्यकारहरूले भानु प्रतिभा, भानु मार्ग भानु स्मृति प्रतिष्ठान निर्माण गरेर भानु जयन्तीको अवसरमा यिनै स्थानमा सरसफाइ गरेर विभिन्न साहित्यिक कार्यक्रम गरेर भानु जयन्ती मनाउँछन् । सरकारले भानुको तस्बिर अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । भारतको दार्जिलिङ, बनारस आदि स्थानमा भानु जयन्ती भव्य रूपमा मनाइन्छ । विद्यालय विश्वविद्यालयको नाम पनि भानुभक्तका नाममा खोलिएका छन् । नेपालको संविधान, २०७२ को धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन भनिएको छ भने धारा ७ मा सरकारी कामकाजको भाषा (१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ । यो हुनु आदिकवि भानुभक्त आचार्यकै देन हो ।
भानुभक्तको अन्तिम कृति ‘रामगीता’ हो । जसको अनुवाद उनले बिरामी अवस्थामा छोरा रमानाथलाई लेख्न लगाएर गरेका हुन् । यो अवस्थाबाट उहाँ उठ्न सक्नुभएन । यसरी अमूल्य कृतिहरु हामी नेपालीहरुलाई दिएर उहाँले वि.सं. १८२५ आश्विन ६ गते अर्थात् ५४ वर्ष २ महिना ७ दिन यस देश र जनताका लागि अमूल्य योगदान दिएर बिदा हुनुभयो । आज हामी उहाँको २०७ औं जन्मजयन्ती मनाइरहेका छौं । आदरणीय स्वर्गीय आदिकवि भानुभक्तज्यू प्रति यो सानो लेखमार्फत् सम्पूर्ण साहित्यकारहरूको तर्फबाट अमरताको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं ।
लेखक गीताञ्जली साहित्य परिवार, पोखराका निवर्तमान अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

    • स्मरणीय व्यक्तित्व गोविन्द शर्मा “विखर्ची” पौडेल

      प्रेमप्रकाश गौतम श्रावण ८, २०७८
      माता चन्द्रकला पौडेल र पिता हरिप्रसाद पौडेलका ज्येष्ठ सुपुत्रको रुपमा विसं १९९८ साउन २४ गते शुक्रबार पोखरा ६ स्थित जरेवरमा…
    • सार्वजनिक प्रशासनमा सुशासन

      भोला शर्मा श्रावण ६, २०७८
      नागरिकहरुको सर्वोत्तम हित, सर्वपक्षीय समुन्नति र सर्वांगीण विकासका लागि क्रियाशील सार्वजनिक प्रशासनमार्फत जनताले सार्वजनिक सेवा प्राप्ति र उपभोग गरेका हुन्छन्…
    • आत्म एक विवेचना

      शिवप्रसाद गौतम श्रावण ३, २०७८
      आत्मा के हो ? यसको उत्तर दिन कठिन छ । आत्माको बारेमा जान्न पर्दा जीवात्माको बारेमा ज्ञान हुनैपर्छ । प्राणीको…
    • इतिहासको ऐनामा राजा र राष्ट्रपति

      मदन भण्डारी असार ३०, २०७८
      १) प्रणयको प्रसंग – बलि राजा र युधिष्ठिरको वार्ता सर्वयुुग रोचक छ । बलिले सोधे, ‘तिम्री आमा कुन्ती साह्रै राम्री…
    • प्रशिक्षण व्यवसाय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान

      टापेन्द्रप्रसाद रिजाल असार १७, २०७८
      भनिन्छ, प्रशिक्षण समस्याको समाधान गर्ने उपकरण हो । प्रशिक्षण कुनै पनि कुरा सिक्ने र सिकाउने विधि हो । कर्मचारी/जनप्रतिनिधिको ज्ञान…

    hero news full width