समयको कहानी : बानियाँकी महारानी

मदन भण्डारी
असाेज २४, २०७७

‘तिमी मेरी दिलकी रानी, मनकी महारानी…. !’
लभ्ली हिलको उकालो चढ्दाचढ्दै गोरेले कालीलाई गीतको भाकामा भन्यो ।
‘सबै पुरुष सबै महिलालाई यसै भन्दारहेछन् !’ कालीले समातेको हात फुत्काई । ठुस्किई । असोजको पहिलो हप्तापछि झरि थामिँदै थियो । गोरे ठेकेदार ठूलै साहित्यिक संस्थाका अध्यक्ष, संस्थालाई वीर्ता ठान्छ । परिवेश यस्तै छ ।

मैले महारानी किनेँ, पढेँ । दुई अध्याय सक्दा नसक्दै ५० वर्ष अघि हेरेको ‘दुश्मन’ हिन्दी फिल्म झलझली आँखामा नाँच्यो । रातभरि भट्टीमा जाँड धोकेको ट्रकड्राइभर राजेश खन्नाले मीना कुमारीको श्रीमान्लाई कच्याक्कै पार्छ । अदालतले फैसला गर्छ– गाउँको चार किल्ला नाघेर राजेश खन्नाले बाहिर जान नपाउने । मीनाकुमारीको खेतीबाली र सन्तानलाई राजेशले सम्हाल्नु पर्ने । सजायको त्यस्तो जिम्मा पाएको राजेश खन्ना गाउँभरिको प्यारो हुन्छ । मीनाकुमारीको छोराको अति प्रिय साथी हुन्छ । मीनाकुमारी दुश्मन भन्छे । घृणाले हेर्छे । छोरो दुश्मन अङ्कलसँग लपक्क मिल्छ । ‘दुश्मन–दुश्मन जो दोसतों सेभी न्यारा है !’ गीत गाइन्छ । संयोगान्त फिल्ममा बडो मजा आउँछ ।

महारानीको दोस्रो अध्याय, पाँचौं अनुच्छेदको कथामा भनिन्छ, ‘पर्वत राज्यको उत्तरी खण्डमा रह्याको पाखापानी भन्न्या बस्तीमा बालीनाली उठायापछि लोस फुकाउन्या विषयमा पर्न गएको आपसी विवादमा जङ्गे सुनारको ज्यान गयाको रह्याछ । धक्कमधक्की र हानाहान भयाछ । बुधेले झटारो हान्याको धयँरुको लौरोको चोट कुठाममा पर्नाले जङ्गेको ज्यान गएछ ।’

०४६ पछिका नेपाली शासकहरुले कालापानी क्षेत्रमा उनीहरुको हात माथि पार्‍याकै हुन् । माओवादीले राज्यको अंशबन्डा गर्ने कुरा उसै गलत थियो । त्यही गल्तीलाई नसच्याइँदा एमएनओका मान्छेहरु आज राष्ट्रिय झण्डा जलाउन तम्सेका छन् । ऊबेलाको पर्वत राज्यको जस्तो आज पीडितलाई न्याय सम्भव छैन जबकि गाउँ–गाउँमा सिंहदरबार पुर्‍याइँदा तीन सय वर्षअघिको भन्दा आजको लोकतन्त्र धेरै उन्नत हुनुपथ्र्यो ।

दरबार बस्छ । छलफल हुन्छ । दरबारको सभाले राजालाई ज्यानको बदला ज्यानको राय दिन्छ । बुधेले खत स्वीकार्छ । राजाले जङ्गेकी श्रीमतीको राय माग्छन् । ‘उसको लास प¥याको मैले देख्न पाऊँ….!’ गौमती भक्कानिन्छे ।
गौमतीको राय सुनेपछि राजाले सोधे :
“बुधेको लास पर्‍यापछि तँकन शान्ति मिल्छ ?”
“हो, महाराज ।”
“बुधेले ज्यान सजाय पायापछि तेरा सुनार बिउँतन्छ ?”
“बिउँतिदैनन्, महाराज ।”
“बुधे मर्‍यो भन्या तेरो भन्टाङ्भुन्टु्ङको मुखमा माड लाग्छ ?”
“लाग्दैन महाराज ।”
“बुधेकन ज्यान सजाय मिल्यापछि तेरो घरगोठ, खेतीबाली र आरन आफैं सम्हालिन्छ ?”
“सम्हालिँदैन महाराज ।”
“गौमतीको लोग्ने मर्‍यो , असहाय अवलालाई सहयोग गन्र्या कर्तव्य हुन् भनिकन सारा गाउँलेले सदाकाल तँकन सघाउन्या छन् ?”
“…।”
गौमती निरुत्तर भई ।
महाराजले थप प्रश्न गरे :
“बुधेका पनि तेरा जस्तै स–साना लालाबाला छन् कि नाई ?”
“छन् महाराज । मेराभन्दा बढी छन् ।”
“बुधे म¥यो भन्या उसकी जोई र भन्टाङ्भुन्टुङ्को पनि तेरा जस्तै चिलबिल हुन्छ कि नाई ?”
“हुन्छ, महाराज ।”
“बुधेका जहान परिवार तँ जस्तै विलाप गर्दै हिँड्याको देख्दा तँकन सन्तोष हुन्छ, खुसी लागन्या छ ?”
“लागन्या छैन महाराज । दुःख पीडा सबैको उस्तै हो ।”
“जङ्गेको मृत्युपछिको तेरो मुख्य चिन्ता क्या हो ?”
“मन्र्या त मरिगैहाले, बचेका तीन–तीनौटा लालाबालाहरुको पालन पोषण कसरी गन्र्या होला भन्न्या चिन्ता हो, महाराज ।”
“तेरा लालाबालाको देखभाल र पालन पोषणको जिम्मा मैले लिइदिन्छु । तेरो मञ्जुरी छ ?”
“महाराजको निगाह ! नामञ्जुर किन गरुँला र ?”
“ल आजदेखिन तेरो परिवारको जिम्मा मैले लिइदियाँ ।”
“जय होस् महाराज ।”
“जा घर जा …!” राजाले बुधेलाई आदेश गर्दै अन्तिम फैसला सुनाए, “तेरा जहान परिवार, घरगोठ, खेतीबाली, व्यवसाय, व्यवहार सम्हाल । राज्यकन तिर्नुपन्या सित्र्तो इमान्दारीपूर्वक बुझाउनु । आयन्दा छरछिमेकसँग झगडा नगर्नु रिस–तुजुक नदेखाउनु (पृष्ठ २५) !” महाराजले सम्झाए ।

तात्कालीन राजतन्त्रको त्यो न्यायपद्धति आधुनिक राज्यको अवधारणाभित्रै पर्छ । पर्वतको राज्य व्यवस्थाबारे महारानीमा भनिएको छ, “विधि, परम्पराभन्दा व्यावहारिक न्यायकन प्राथमिकता दिनु उपयुक्त हुन्छ (पृष्ठ २८)/चारैतिरबाट किल्लाबन्दी गरिएको पर्वतराज्यको बेनीजस्तो सामरिक दृष्टिले अति नै संवेदनशील स्थानमा पनि निर्धक्क बस्न सकिने परिस्थिति निर्माण भएको थयो (२९)।” छिमेकी राज्यसँग सौजन्य बढाउन पर्वतकातर्फबाट सम्पूर्ण अख्तियारीसहित सुमन्तलाई खटाइएको थियो । के आजका हाम्रा सुमन्तहरु त्यो कुटनैतिक हैसियत राख्छन् ? के आज हाम्रो देश हाँक्नेहरुले आफ्नो मुलुकको सामरिक महत्व बुझेका छन् ? चिन्ता र चिन्तनका विषय उठेका छन् ।

‘कुनै अत्तो, गाह्रो–अप्ठ्यारो त परेन नी ? बाहिरी देश घुमेर आएका कूटनीतिज्ञ सुमन्तसँग राजाले सोधे(३१) ।
‘ऊबेला राज्यको अंशबन्डा गर्नुनै गलत थियो, उनीहरुको हात माथि परेको परिस्थिति हो ।’ सुमन्तले सीधै भने (ऐ)।

०४६ पछिका नेपाली शासकहरुले कालापानी क्षेत्रमा उनीहरुको हात माथि पा¥याकै हुन् । माओवादीले राज्यको अंशबन्डा गर्ने कुरा उसै गलत थियो । त्यही गल्तीलाई नसच्याइँदा एमएनओका मान्छेहरु आज राष्ट्रिय झण्डा जलाउन तम्सेका छन् । ऊबेलाको पर्वत राज्यको जस्तो आज पीडितलाई न्याय सम्भव छैन जबकि गाउँ–गाउँमा सिंहदरबार पुर्‍याइँदा तीन सय वर्षअघिको भन्दा आजको लोकतन्त्र धेरै उन्नत हुनुपथ्र्यो ।

पर्वततिर डिभोर्सको चलन निकै पुरानो रैछ । उद्दिमे भण्डारीकी जोई शुरवीर कार्कीसँग पोइला जान्छे । भण्डारी जार काट्न तम्सिन्छ । खत हेर्दाहेर्दै वर्षदिन बित्छ । कार्कीले ज्यान बचाई पाउन राजाकहाँ निवेदन गर्छ । राजाले बलशाली तर्क तेस्र्याएर भण्डारीलाई जारी बुझ्न लगाई कार्कीको ज्यान बचाइदिन्छन् ।

गण्डकी र कर्णाली प्रदेशका विविध ठाउँको मनोहारी दृश्य र सो समयको नेपाली जनजीवनको सुन्दर चित्रण गर्दै उपन्यास अघि बढ्छ । ठ्याक्कै आधा भाग अर्थात् २५ औं अध्यायको सुरुआत पछि उपन्यासमा निकै ठूलो नाटकीय मोड आउँछ ।

‘भाइ ! लेकमा हुक्र्याएको मान्छे, बेनीको गर्मी पचाउन गाह्रो भया जस्तो छ । निधारमा पसिना देखिन थाल्यो । म ठीकै छु । कुरिरहनु पर्दैन । जाऊ, वराहपाखाको धारामा नुहाऊ । वरिपरि रुखविरुवा छन् । चिसो हावा चल्छ, शरीरको गर्मी मेटेर आऊ । ए सुमन्त ! भद्रिलाई धारातिर लगेर जाऊ ल ।’
‘हस सरकार ।’
‘भद्रिको सवारी सुमन्तले वराहपाखोको वनतिर चलाए । भद्रिवमले नुहाईधुहाई गरुञ्ज्याल चौतारीमा बसिरहे । रुँगी रहे । राजकुमारको जलक्रीडा समाप्त भएपछि उनको आज्ञा लिएर सुमन्त नुहाउन थाले । सुमन्तले नुहाउन थाल्नासाथ कतैबाट एकजना जुम्ली व्यापारी भद्रिछेउ आएर चौतारीमा बस्यो । भद्रिसँग कुराकानी गर्‍यो । सुमन्तसम्म उनीहरुको बोलीको आवाज आइपुगे पनि कुरो भने बुझिँदैनथ्यो । त्यसमाथि सायद कुराकानी जुम्ली भाषामै भएको थियो होला । सुमन्तले त्यसलाई सामान्य घटना मानेर वास्ता गरेनन् (१८५) ।’

तर यो सामान्य घटना थिएन । यहीँदेखि इतिहासको बाङ्गोटिङ्गो रेखा र राजनीतिका अनेक कुत्सित खेलका पर्दा खुल्दै जान्छन् । लेखकको खूबी बढो प्रीतिकर लाग्छ । पाठकमा उपन्यास छाड्नै नसकिने कौतुहल उत्पन्न हुन्छ ।

पर्वतलाई जुम्लाले अँठ्याउन थाल्यो । पर्वते राजा घनश्यामकी जेठी श्रीमती जुम्लाकी थिइन् । गर्भवती अवस्थामै माइत गएकी फर्किनन् । जेठीभन्दा पछि गर्भवती भएकी कान्छीले सातै महिनामा जेठीलेभन्दा पहिल्यै छोरो मलेबम जन्माइन् ।

समयक्रममा मलेबम युवराज घोषित भए । उता जन्मेका भद्रिबम जुम्लामै हुर्के । हुर्केपछि पर्वत आए । जुम्लाद्वारा उचालिएका उनले जेठोकै हैसियतले राज्य खोजे । त्यो कुरालाई पर्वतको राजसभा र जनताले ठाडै अस्वीकार गरे ।

‘जुद्दे पन्र्या अवस्था आयो भन्यादेखिन् अलिकता खुनखराबी त हुन्या नै भो । ओइरो नहालिकन घट्टबाट पिठो उसै कहाँ झर्छ र ? लड्नै पर्‍यो भन्या देखिन् पर्वतको जरो उखेलन्या तागत जुम्लासँग छ । तर त्यस्तो अवस्था नआउला ।’
पृष्ठ २०९ का यी पङ्तिहरु पाठकलाई जुम्लाको चाल र वर्तमानकोे राजनीतिको विहङ्गम अवलोकन गराउँछ । ‘इण्डियाको जरो उखेल्ने तागत नेपालसँग छ !’ शूरा दाजुभाइ र लज्जालु दिदीबहिनीहरु इण्डियासँग लड्न उत्पात मच्चिएका छन् । ‘तर त्यस्तो अवस्था नआउला !’ आम जनता आ–आफै आश्वस्त हुनुपरेको छ । सत्तासीनहरु कुनै नीति, योजना र कार्यक्रममा छैनन् । कोरोना महामारीका बेला पनि लूट धन्दामा व्यस्त छन् ।

‘खसले जनै लगाउँदैनथ्या रे, मगरले पनि जनै नलाउन्या, बिहेवारी सनातन चल्थ्यो रे । खस राजा गगनीराजले पो खसहरु सबैकन एकमुष्ट जनै बाँड्याको हुने रे । जनै बाँड्याको त्यस्तै चार÷पाँच सय वर्ष भयो होला भन्छन् हाम्रा बाज्याहरुले । राजाको कुरा मान्याको भया हाम्रो काँधमा पनि आज जनै हुन्याथ्यो, हामी पनि ठकुरी बाउसाहेब भनिन्याथ्यौं । चतुरो भैखायाको काजीको कारणले हामी निसेलहरु मगरका मगरै रह्यौं (२१७) ।’

डिल्लीले जनैको कथा सुनाए । नाथ सम्प्रदाय र नेपालको नाथ परम्परा पनि उपन्यासमा झल्केका छन् । ४३ औँ परिच्छेदपछि आँसु नबगाई किताब पढ्न सकिन्नँ । युवराज मलेबमका लागि खाँचीकी राजकुमारी महलवसन्ता र देउपुरकी राजकुमारी विश्वप्रभाको डोली भित्रिइसकेको थियो । अपारकी सुन्दरी र विदूषी विश्वप्रभासँग युवराज प्रभावित थिए । दुवैबीच मायाँ टुसाएको थियो । राज्य नपाउने भएपछि भद्रिबमले विश्वप्रभा मागे । मलेबम प्रेमलाई त्याग्नुभन्दा राज्य त्याग्न मञ्जुर भए । बडाकाजी र राजा राज्य जोगाउन राजकुमारी विश्वप्रभालाई सम्झाउन पुगे । यहाँ प्रेमको उच्चतम् रुपको दिग्दर्शन पाइन्छ । पशुतुल्य हुनुपर्ने स्वाभिमानमाथिको चोटले ‘राजकुमारीले आफूलाई सम्हाल्नै सकिनन् । वलिन्द्र धारा आँसु खसालेर रोइन् । दुवै बूढाहरुसँग राजकुमारीलाई नरोऊ भन्ने हिम्मत थिएन (२८८)।’

आँसुको भाका आँसुले बुभ्mदै गयो । वृद्ध राजाको रोदनले राजकुमारीलाई कर्तव्यवोध गरायो । ‘मेरो माया छैन, म भन्दा राज्य ठूलो भयो(३०२)?’ भन्ने युवराजलार्ई राजकुमारी स्वयम् ‘मैले तन भद्रीकन सुम्पे पनि मन हजुरकै पासमा छाडिकन जान्याछु (३०३)/हामीले असल मित्रका रुपमा जीवन बिताउन पन्र्याछ (३०८)’ भनिन् । आफ्नो देशको मुक्तिका लागि राजकुमारीले आफ्नो प्रेमको बलिदान गरिन् तर धर पाइनन् । नलिनीलाई माया गर्ने भद्रीबमले पर्वतलाई घात गर्ने अन्तिम तयारी गरेपछि राजकुमारीकै बुद्धिको बलमा भद्रीको फौजमाथि पर्वते फौजले आक्रमण गर्‍यो । भद्रीबम मारिए । राजकुमारी सन्यास धारण गरेर राधाकृष्ण धामतिर गइन् । पर्वत क्षेत्रमा तिनै राजकुमारी देवीकी रुपमा, महारानीकी रुपमा आजपर्यन्त पुजिन्छिन् । महारानीमा दरवारको मनोविज्ञान र मानवीय चरित्रको राम्रो उद्घाटन छ । लोस, पाइतो, चास, साखुम जस्ता सैयौँ झर्रा शब्दले पाठकको शब्दभण्डार बढाउँछ । नेपाली भाषाको प्रारम्भिक स्वरुप बुझाउँछ ।

अन्त्यमा : साहित्यिक कृति दीर्घायुको हुने मुख्य तीन आधार छन् १) कृतिमा दम २) कृतिकारको चरित्र र ३) प्रचार । महारानीमा दम छ, कृतिकारको चरित्र जनताले ठम्याउँदै जालान् । प्रचारको तौरतरिकामा ठेकेदारी शैली नहोस् भन्ने कामना गर्न सकिन्छ । यसैले बानियाँकी महारानी समयकी कहानी हो ।

Related News

सम्बन्धित समाचार

hero news full width