राष्ट्रिय बालदिवस र आजका बालबालिका

युवराज खनाल युवराज खनाल
भाद्र २९, २०७७

वि.सं. २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी वि.सं.२०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिरमार्फत् टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ५५ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापनापश्चात् यसको पुरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर्यो । वास्तवमा वि.सं.२०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो ।

आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रुपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ । २०६३ साल अघिसम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रुपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ ,२० नोभेम्बरलाई सन् १९९०, १४ सेप्टेम्बर २९ भाद्रमा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ । यद्यपि २९ भाद्रमा राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर मूल कुरा बाल दिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन । यस्ता दिवसलाई वास्तविक रुपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बालदिवसमा । बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रुपमा उठिरहेको विषय हो । तर पनि हामीले बालदिवसलाई बेसी औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा हामीले कति उपलब्धि हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणमा त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । तिनीहरुको पुनव्र्याख्या गरिनुपर्दछ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको विषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धि प्राप्त गर्यौ कति चुनौतीहरु आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरुको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागिताको कुरा गरिराखेको छौं । ती कुराहरु सहज र सरल भाषामा उनीहरुबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरुको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो, प्रक्रिया के हो र उनीहरुलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्रदेखि स्थानिय तहसम्मका यस क्षेत्रमा क्रियाशील बालअधिकारकर्मी गैरसरकारी संस्थाहरु सरकारका विभिन्न निकायहरु मन्त्रालय केन्द्रीय बाल कल्याण समितिलगायतका निकायहरु बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।

भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्यको कुरा, कम उमेरमा मागेर, भागेर वा सामाजिक सञ्जालबाट सिर्जित हुने बालविवाह, वैदेशिक रोजगारमा गएका अभिभावकका बालबालिकाको अवस्था, श्रमका क्षेत्रमा लागेका बालबालिका, मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालबालिका, विपद र द्वन्द्वका कारण बाबुआमा गुमाएका बालबालिका, बालगृह र सडकमा रहेका बालबालिका, राज्य अभिभावक, विद्यालयले समयमा ध्यान नपुर्याएका कारण आत्महत्या गर्न बाध्य बालबालिकाको संरक्षणमा हामीले कहाँनेर सुधार गर्नुपर्ने हो भन्नेतर्फ ध्यान दिन जरुरी छ । अपाङ्गता भएर शिक्षा, स्वास्थ्यबाट वञ्चित, जेलमा अभिभावकसहित रहेका बालबालिका, यात्रामा रहेका बालबालिका, हाम्रो संस्कार र सस्कृति जोगाउने नाममा छाउपडी, महिनावारीबाट पीडित र प्रताडित बालबालिकाको विषय उत्तिकै गम्भीर रहेको छ । बालबालिकाले अभिभावक ठानेका संरक्षण गृह, विद्यालय, घर परिवारबाट नै बालबालिकाको बेचविखन, यौन हिंसा, दुव्र्यवहार, बलात्कार, शारीरिक र मानसिक सजायका घटनाहरु घटन नदिन हामीले गरेका प्रयासहरु कती प्रयाप्त भए भएनन्, हाम्रा ऐन कानुन, नियम, कार्यविधिहरु निर्माण भएका छन् तर कार्यान्वयनको तहमा कहाँनिर कमीकमजोरीहरु भएका छन् । राज्य नागरिक संघ संगठन सबैले समीक्षा गर्न जरुरी छ । यसका साथसाथै समय सापेक्ष सुधार गर्न पनि जरुरी छ ।

नेपालको अन्तरिम संविधान २०६३ को बालबालिकाको हकसम्बन्धी महलमा जोखिममा परेका सडक बालबालिकाको लागि भविष्य सुनिश्चित गर्न राज्यबाट विशेष सुविधा प्रदान गरिने कानुनी हक, अधिकार सुनिश्चित गरिए तापनि यस्ता बालबालिकाले शिक्षा, स्वास्थ्य, पोषण, गाँस, बास र कपास जस्ता आधारभूत अधिकार प्राप्त गर्नबाट वञ्चित नै देखिन्छन् । विभिन्न संघसंस्थाले बालबालिकालाई रात्री आवास सुविधा, स्वास्थ्य सेवा, मनोवैज्ञानिक परामर्श, तालिम, शिक्षा, खाना, कामको व्यवस्था, पारिवारिक, सामाजिक पुनर्मिलन, पुनस्र्थापना संरक्षण, सचेतना प्रदान गरिनु ज्यादै राम्रो कुरो हो । अझ यस्ता कार्यक्रम मनोवैज्ञानिक रुपमा परिवर्तन गर्ने किसिमले लैजानुपर्ने देखिन्छ । तपाईँ हामीले नै कतै हाम्रा सन्ततिलाई आफैले सडकमा जानुपर्ने वातावरण सृजना त गरिरहेका छैनौं, गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । यदि सरकारले जिम्मा लिन्छ आयआर्जन कार्य गराउँछ, समाज, अन्याय, अत्याचार र हिंसारहित बन्छ, परिवार द्वन्द्व कलह झैं झगडा र विखण्डनबाट मुक्त हुन्छ, केटाकेटीहरू रमाइरमाइ खान, बस्न खेल्न र पढ्न घर, समाजमा नै पाउँछन् भने यो पुस माघको चिसोमा सडक पेटीमा सुत्न र मागेर खान सडकमा जान्छन होला र ? यसप्रति सबै सचेत होऔं । सन्तान जन्माउनु ठूलो कुरा होइन, उनीहरूको भविष्य निर्माण गरी दिनु राज्य र परिवारको दायित्व पनि असल अभिभावकको कर्तवय हो ।

कोरोना कारण २०७६ सालको अन्तिम परिक्षा दिएर घरमा बसैका हाम्रा कयौं नानी बाबुहरु कैंयौं बलात्कारको सिकार बनेका छ्न । कयौं बालबालिकाहरु दुव्र्यसनमा लागेका छ्न । सरकार बर्सेनी विभिन्न नाराका साथ बालदिवस मनाउने गरेको छ । यसको उपलब्धि कति भयो त्यसको मूल्याङ्कन छैन । शिक्षामा जति निजी क्षेत्रले आफ्नो पहुँच पुर्याइ गुणस्तरीय शिक्षा प्रदान गरेको छ । सरकारले सरकारी विद्यालयको गुणस्तर उकास्नुको सट्टा प्रतीरक्षामा मात्रै सीमित छ । अहिले चैत महिनादेखि हाल्सम्म सिन्को पनि नभाँची जनतालाई कर तिर्न ताकेता गरेर सरकरी तलब भत्ता खाएर बस्नेहरुलाई के थाहा कति बालबच्चा भोक र दुव्र्यवहारको सिकार बनिरहेका छ्न भनेर । बालदिवसलाई औपचारिकता मात्रै हैन उनीहरुलाई भित्रैबाट बुझ्नु जरुर छ । भोका र नाङ्गा कैयौं छ्न । एक मुठी गाई भैंसीको दूध खान नपाएका कैयौं छ्न । बेलैमा औषधि उपचार नपाएर संसार छोडेका कैंयौं छ्न । एक पटक ती बालबालिका मेरा छोराछोरी हुन् भनेर सोचौ । बल्ल ठीक र सही नीति नियम बन्ने छ्न । बालबालिकाका लागि छुट्याइएको बजेटको दुरुपयोग हुने छैन । प्यारा नानीबाबुहरु आज बाल दिवस रहेछ । तपाईहरु सबैलाई राष्ट्रिय बाल दिवसको शुभकामना ।

हाम्रो सुझाव