हो बाबा आमा, भुलेको छैन ती दिनहरु

युवराज खनाल
जेठ २१, २०७८

कि त परेकालाई थाहा छ कि त पढेलेखेकालाई भन्थे हो रहेछ । सबैको साथी र साक्षी भनेको नै समय हो । दुखमा रुनु र सुखमा हाँस्नु मानिसको नियति नै रहेछ ।

मैले राम्रोसँग जान्दासमेत घाँस, दाउरा, पराल, सोत्तर, खेती सबैका कार्यक्षेत्र थिए । कताकती किराना र काँचा कपडाका पसल हुन्थे । हिउँदमा चुरेट्नीहरु डोकोमा चुरा लिएर गाउँ चहार्थे । जिम्बु, सियो, खिप , मिश्री, नरिवल लिएर भोटबाट भोटे भोटिनी व्यापार गर्न घर घरमा पुग्थे । अन्नसँग सियो, धागो, खिप साटिन्थो । भोटे भोटिनीसँग मित मितिनी लाउने चलन थियोे ।

प्राय सबैका गोडा नांगा हुन्थे । कपडा टालेर लगाउँथे । नांगा खुट्टामा दगुर्नु पर्दा असंख्य ठेस लाग्थे । पैतालामा काँडाका सोइला बिझ्थे । काँडालाई काँडैले कोट्याउनुपथ्र्यो । काँडा पैतालामा नै बाँकी रहेर खिल बस्थे, चस्किन्थे । ठेस लागेका, काटेका औंलामा झुम्रा बेरिएका देखिन्थे । काटेको औंलाबाट रगत नथाम्मिएमा आफैंले पिसाब फेर्ने, गन्देको मुन्टा निचोरेर त्यसको रस चुहाउने, माटो हाल्ने गर्थे । काँडाले पैतालामा सइन पल्टिन्थे । सइन पर्यो भने तातो तेल हालेर उपचार गरिन्थो । आगोले पोल्यो भने आगैमा सेकाएर निको पारिन्थ्यो ।

मानिसलाई दिनचर्या बिताउन निकै कठिन थियो । महिला र पुरुषमा अत्यन्तै भेदभाव थियो । बुहारीलाई छुट्टै तल्लो स्तरको खाना दिने चलन थियोे । घरमा सबैले खाना खाएपछि मात्रै खाना खाने पालो आउँथ्यो बुहारीलाई । खाना नपुगेमा फेरि बाहान बसाल्ने चलन थिएन त्यो दिन बुहारीले भोकै दिन बिताउनुपर्ने हुन्थ्यो । बिहावारीमा इज्जत जोगाउन अरुका गरगहना मागेर लगाउने गर्दथे । जन्ती जाने घरमुली अरुको कोट औँठी मागेर लगाएर जन्त जान्थे । बिहेमा खाना पकाउने भान्से धोतीपाटे फेरेर चोखो कपडामा तयार हुनुपर्थो । बुहारी माइती जाँदा अनिवार्य सासूसँग बिदा मागेर जानुपथ्र्याे । सासूले तोकेको मितिमा आइएन भने सासूहरु आगो बनेर बस्थे र त्यसको ठूलै सजायँ बुहारीले व्यहोर्नु पथ्र्यो । माइतीबाट घर फर्कंदा अनिवार्य कोसेली लिएर आउनुपर्थो । माइती या बिहेबारीमा लगाएर गएका गरगहना घर फर्केपछि बज्यैलाई बुझाउनुपथ्र्याे ।

दलिन बोक्न र आँटी छाप्ने बेला माटो मुछ्न छरछिमेका गुहारे आउँथे भने दाउरा मार्ने र खर काट्न अर्म पर्म चल्थ्यो

पैसाको मुख देख्न धेरैलाई मुस्किल थियो । कता नै पैसा भएमा त्यो पैसा कसौंडीमा राखी मझेरीमा गाड्ने चलन थियो । हुने खानेहरुको कताकती मुदुस हुन्थे र त्यसमा दाम पैसा गहना राखी भोटे ताल्चा लगाउँथे । मासु खाना कि त बिहेको भोज कि त दसैं कुर्नुपथ्र्यो । हिउँदमा कता नै खसी काटे भने दुब्लो पातलो खसीको मासु बिक्दैनथ्यो । उधारो दिने लिने चलन थियो ।

बर्खामा पर्म लगाएर आली कान्ला तास्ने चलन थियो । चिया चिउरा निकै राम्रो खाजा मानिन्थ्यो । परेली लाउने र अर्मपर्म निकै चल्दथ्यो । हली लगाउने चलन थियो । उक्त हलीलाई बिहान एक छाक खान दिने अनि २ माना चामल ज्याला र मंसिरमा मुजुरी दिने चलन थिए ।

घरका छाना खरका हुन्थे, घर छाउने र धुरी मार्ने काम सहयोगमा नै हुन्थ्यो र खाजा सेलरोटी पकाएर खुवाउने चलन थियो । घर बनाउँदा दलिन बोक्न र आँटी छाप्ने बेला माटो मुछ्न छरछिमेका मान्छेहरु गुहारे आउने गर्दथे ।

हिउँदमा दाउरा मार्ने र खर काट्न पनि अर्म पर्म नै चल्थ्यो । गर्मी हुन्छ भनेर बयरको फाँडो खाने चलन थियो । कति कष्टकर जीवन थियो । शरीरमा जस्तै विशेष गरी आमा, भाउजू, बुहारीका, मनभित्र पनि सोइला बिझ्थे । कोट्याउन कसरी सकून् ? वचनका आगोले पोलिन्थे, सेकाउन मिल्दैन्थ्यो ।

सबै जातजातिका आआफ्नै कामकाज थिए । सार्कीले वर्षमा २ वटा नारा (हल्लुडा) दिने गर्थे । कामीहरु आरन थाप्थे । आरनमा चाहिने गोल जंगलमा दाउरा पोलेर पार्थे । कुटो, बाउसो, फाली, आँसी, करौती अर्र्जाप्ने काम गर्थे । कताकती लुगा छेक्ने दमाइहरु हुन्थे र उनीहरुले हाते मेसिनले लुगा सिलाउँथे । उनीहरुका श्रीमती हिउँदमा फाटेका सिरक डसना, थाग्ना सिलाउन आउँथे, यी सबैलाई वार्षिक रुपमा ज्याला दिनुपथ्र्याे । मंसिर महिनाको अन्ततिर कानचिरा जोगीहरु मध्ये रातमा फेरी लगाउन आउँथे । फेरी लाउने जोगीहरुले भट््याउँदा सातोपुत्लो जान्थ्यो । राति फेरी लगाई भोलिपल्ट अन्न उठाउन आउँथे । हो बा, हो आमा यी यादहरु आज पनि मेरो मानसपटमा घुमिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width