अरूलाई भन्ने तर आफैं बिर्सने …

ठाकुरप्रसाद खनाल
वैशाख ३०, २०७८

यसपालिको कस्तो पात्रो छापेछन् ज्योतिषीहरूले ? एउटा पनि सोमबारे औंसी छैन २०७८ सालमा, नपत्याए पात्रो हेर्नू ल । विशोभा बनाए नि यस वर्षमा । सोमबारे औंसीको दिन ‘दान पुण्य गर्नू, १ हजार गाई दान गरे सरह फल मिल्छ, वाणीलाई नियन्त्रण गर्नू भनी लेख्या छ रे शास्त्रमा । आफूले त दानपुण्य के गर्न सकिन्थ्यो र, यसो बिहान उठेर नबोलीकन स्नान गर्ने, पितृहरूलाई सम्झेर धूप दिने, कन्नेका निधाराँ ४ वटा अक्षेता गाडेर चिसो हात गर्ने र हातमुख जोर्ने चलन थियो, त्यही पनि गर्न नपाइने भयो । हत्तेरी !

आफ्नो त थाहा पाएको कुरो भन्दिने बानी छ, सबैलाई भन्दिनुहोला, ‘यो वर्ष दान पुण्य गर्दा राम्रो फल छैन भनेर ।’ पहुँच हुनेहरूले सर्खारका मन्त्रीहरूलाई पनि भन्दिनुहोला ‘कोरोनाको खोप आइहाले पनि पहिले आफंैले लगाउनू, जन्तालाई अर्को साल लगाउँदा नि हुन्छ, शुभलग्न पारेर । अहिले दानी बनेर फल छैन, सुस्ता जानू, नारायणीमा स्नान गर्नू, कालापानी जानू, लिम्पियाधुरा जानू तर दान गर्न नतम्सिनू ।’ बरु त्यो दुई शंखे सालाँ तीनोटा सोमबारे औंसी पर्‍याथे, कुरो बुझ्नुभो ? नबुझे पछि भनुम्ला । पोहोर साल सर्खारले त भनेकै हो नि ‘कोरोनाको बिगबिगी छ, सुरक्षित साथ घरमै बस्नु, बाहिर ननिस्कनू, सवारी नचलाउनू, चलाउनै परे हामी आफैं चलाम्ला’ भनेर ।

दुई चार महिना यस्सो टेरेझैं गर्‍याथेँ, अनि त ग्वारग्वार्ती निस्कन थाले सडकाँ मान्छेहरू । भनेका पनि के के हुन् ? राहत चाहियो रे ! रोजगारी चाहियो रे ! सर्खारले अध्यादेश ल्यायो रे ! केजाति आयोग एकलौटी बनाउन खोज्यो रे ! रावणकै शैलीमा सांसद अपहरण गर्‍यो रे ! भ्रष्टाचार गर्‍यो रे ! आफ्ना मान्छेलाई मात्र हेर्‍यो रे ! राजाको ठाममा चुनिएकी त्यहीँ शितलो घराँ बस्नीलाई विवादमा तान्यो रे ! केजाति सभा विघटन गर्‍यो रे ! नयाँ नक्सा किताबाँ छापेन रे !” अनि सर्खारी नून पानी खाएका शिक्षक पनि कोरोनाको दबाइ पाइएन भनेर कराइराछन् बिनामेसै । सर्खारले केही गरे पनि नगरे पनि टाउकै दुख्ने ? हैन के भा को हो यिनीहरूलाई । यस्तालाई पनि कोरोनाको दबाइ गरेर साध्य लाग्छ र ? अहँ, पर्दैन यस्तालाई ।

अस्ति भर्खर एकदिन रेडियोको कान बटारेको खबर आ रैछ । सुन्न त पूरै खबर सुनेँ तर यौटा गतिलो कुरा सुन्न पाइएन । भन्याथ्यो ʿअचेल त गोराको देशबाट नयाँ कोरोना आ’छ रे ! नजिक पर्नासाथ झ्याप्पै सर्छ रे ! हिन्दुस्थानतिर त सखापै पार्ने छाँट छ रे ! पूर्व राजारानी पनि हरिद्वारको मेला भर्न अनि कुन्नि केजाति काम्ले उतै गइस्याथ्यो रे ! गोराको कोरोनाले छोइभ्याएछ, बिचरा क्वारेन्टिनमा बसेर अहिले अस्पताल होइस्या छ रे ! शीघ्र स्वास्थ्य लाभको कामना हामी पूर्व प्रजाको तर्फबाट । यस्सो टाउको दुखे उतै जान बानी परेकाहरूलाई यतिखेर अप्ठ्यारो पर्‍याछ रे ! नेपालको पनि मधेसतिर, सहर बजारतिर छपक्कै भइसक्या छ रे !’

सर्खारले त बेलैमाथिʿहोस् पुर्‍याउनूʾ भनी राख्या छ नि ! निषेधाज्ञा लगाउँदा पनि अटेर गर्छन् मान्छेहरू । नेता कार्यकर्ताको जमघट भै’राछ, भाषण गरेकै छन्, ताली पिटेकै छन् । अनि उता जन्ताहरू शुक्रो र बृहस्पति अस्तले रोकिएको कार्जे भन्दै भट्टाभट बिहे गर्‍या छन् । लोग्ने छोरा माला भिरेर जन्ती गा’कै छन् आमा समूह कुम जोडेर रत्यौली नाचेकै छन् । भतेर पनि खानै पर्‍यो । गीत पनि गाउनै पर्‍यो । मुखौरो पनि कुन बेला लाउने हो र खै ? कोही फेरि इन्गेजमेन्ट भन्दै हिँडिरा’छन्, हैन के रैछ त्यो भन्या ? नातिको काधाँ जनै पनि राख्दिनै पर्‍यो, चारबीस काटेकाहरूले चौरासी पूजा पनि गर्नै पर्‍यो, नयाँ घर पस्दा रुद्री लाउनै पर्‍यो । बालखाको भातख्वाइ पनि गर्दिनै पर्‍यो । नडाके कोरोना बांगो अनि इष्ट पनि बांगो, डाके सर्खार बांगोे । कति हत्ते हो यस्तो । अनि आफैंले भनेको कुरा पनि बिर्सेर हो कि क्या होला ! सर्खारका मान्छेले, कतै शिलान्यास गर्दा, कतै उद्घाटन गर्दा ताली बजाउने मान्छे चाहियो भनेर बोलाइराछन् रे ! अँ, साँच्चै अघि नै भन्छु भनेको कुरा झण्डै बिर्सेको ! त्यो शंखजस्तै घुम्रेको ७ देखेर पोहोर साल दुई शंखे भयो रे पण्डित बाबुले भनेका ।

दिनभरिको थकाई मार्दै थिएँ, रेडियोले भन्यो ‘लौ, अब आयो कोरोनाको क्याप्सुल ।’ अब हाम्ले पनि कोरोनाको क्याप्सुल खान पाइने भयो भनी ढुक्क भएर बसेँ । आखिर सुन्ने कुरोमात्रै रैछ,ʿहिस्स बूढी हरिया दाँतʾ । त्यै बेलाँ डहरपारि रमितेको घरमा हल्ला खल्ला मच्चियो । के भा रैछ बुझम् भनेर गाको त ʿछोरो १० वर्षमा टेकेको खुसीयाली रेʾ । २०/२२ जना केटाकेटी जम्मा भएर चिच्याउँदै थिए, अरु पनि थुप्रै थिए । दंग खानु, ʿबालबालिका कोरोनाको जोखिममा परे भनी सर्खारले स्कुल बन्द गर्छ, यता केटाकेटी जम्मा हुन छाड्दैनन् । हैन, के भा हुन् आजकलका केटाकेटी ? बजारबाट नौनी घ्यूजस्ता केजाति दलेर त्यै बालखाको नाम लेखेको पाउरोटी ल्याएका रे । त्यही काटेर भतेर थियो । अरु के के गरे थाहा पाइनँ है मैले । घर फर्किहालेँ र बिस्तारामा पल्टिएँ । मनमा कुरा खेल्न थाले, निन्द्रा लागेन । …नडाकेको कार्जेमा किन गएँ होला ? …यस्तो कोरोना कहरको बेलामा म त्यो भीडमा किन गएँ होला । …अरूलाई भन्ने तर आफैं बिर्सने थुइय मेरो बुद्धि ।

Related News

सम्बन्धित समाचार

hero news full width