पुस्तक समीक्षा : रमा पराशरको ‘अन्तिम अभिलाषा’

भीमलाल लामिछाने
असाेज २३, २०७८

लेखिका रमापराशर सूदद्वारा लिखित २०७५ सालमा मकालु प्रकाशनगृह काठमाडौबाट प्रकाशित ४६० भन्दा बढीको उनकै आत्मकथालाई अन्तिम अभिलाषा नाम राखेर छापिएको पुस्तक २ पटकसम्म पढें । लेखिका भारतीय मूलकी भएकीले हिन्दीमा लेखेकी र वरिष्ठ चलचित्रविद् एवं संस्कृतिविद् चेतन कार्कीद्वारा नेपालीमा अनुवाद गरिएको उक्त आत्मकथा पढ्दा अनुवाद गरिएकोजस्तो कहीँ कतै लागेन, लेखिकाकै मौलिकरूप हो जस्तो महसुस भयो । यस्तो कार्यलाई अनुवादकको लेखन शैलीको खुलेरै तारिफ गर्न चाहन्छु ।
भारतको पञ्जाबको लुधियानामा पञ्जाबी परिवारमा जन्मेर उत्तर प्रदेशको प्रतापगढमा आफ्ना मातापिताका साथमा रही १२ वर्षको उमेरमा ८ कक्षासम्म पढेकी लेखिका रमाले त्यसपछि आफ्नै मामाघर पञ्जाबकै धर्मकोटमा बसेर द्वितीय श्रेणीमा म्याट्रिक (१० कक्षा) पास गरी पुनः प्रतापगढमा नै आएर १७ वर्षको उमेरमा मनोविज्ञान विषयमा स्नातक पास गरेपछि आफ्नी ठूूलीमा (आमाकी दिदी) को घर दिल्लीमा गएर शर्टह्यान्ड र टाइपिस्टको तालिम लिई टाइपिस्टको नोकरी गरेकीमा त्यसपछि मामा घर धर्मकोटमा गई स्कुलमा पढाउन थालेकी रहिछन् ।
यीनको आत्मकथाको सारवस्तु खोज्दा यिनी केही घमण्डी, केही स्वाभिमानी, आफ्नो अडान ज्यान गए पनि नछोड्ने, काम गर्न अल्छी, कुरा गर्न सिपालु देखिन्छन् । यिनलाई मान्छेको अनुहार र परिस्थिति हेरेर कुरा गर्न आउने हुनाले प्रतापगढमा मातापितासँग बस्दा होस्, मामाघर धर्मकोटमा बस्दा होस्, दिल्लीमा ठूलीमाको घरमा बस्दा होस्, लुधियानामा फुपूको घरमा बस्दा होस् अथवा गुजरातमा मामाको पसल घरमा बस्दा होस् सबैकी प्यारी भएर, सबैको मन जितेर बस्न सक्ने खुबी यिनमा रहेको पाइयो ।
आत्मकथाको चुरो कुरो भनेको जब यिनी विवाहयोग्य उमेरमा प्रवेश गरिन्, तब यिनको केही युवकसँग प्रेमप्रसंग जोडिन जानु एउटा पक्ष देखियो भने यिनका अभिभावकले यिनको विवाह आफ्नै कुल परम्परानुसार गरिदिन खोज्दा आफ्ना प्रेमीलाई सम्झेर विवाहको प्रस्ताव स्वीकार गर्न नमान्नु अर्काे पक्ष देखियो । यिनै दुइटा पक्षको अन्तरविरोधात्मक कारणले यिनी जीवनमा कहिल्यै कल्पना गर्न नसकिने मोडमा पुगेर भौतारिन परेको देखिन्छ । जतिसुकै घमण्डी, स्वाभिमानी र कडा स्वभाव भए पनि यिनको मानसिक स्वभाव प्रेममैत्री देखिन्छ । किनकि १२ वर्षको उमेर नपुग्दै आफूले पढ्ने गरेको विद्यालयका शिक्षकलाई अति मन पराएकी, बिहान बेलुका पनि उनै शिक्षकको घरतिर फर्केर छड्के नजरले हेरिरहने स्वभावले यिनको स्वभाव प्राकृतिकरूपमै प्रेममय रहेको पुष्टि हुन्छ । त्यतिमात्र होइन, जब यिनी दिल्लीबाट लुधियानामा आफ्नी बिरामी फुपूको स्याहार गर्न रेल चढेर आइन्, रेलको डिम्बामा सँगै रहेको एउटा खाइलाग्दो शारीरिक बनावट भएको युवकलाई देखेर आकर्षित भइन्, आफ्नो स्वाभिमानी कारणले युवकसँग प्रेम व्यक्त गर्न त सकिनन् तर आफ्नो मनमा प्रेमको बीउ रोपिन् । उता युवकले पनि यिनको स्वाभिमानलाई जितेर प्रेम प्रकट गर्न नसके पनि यिनको प्रेममय आशय बुझी उसको मनमा पनि बीजारोपण भएछ ।
जब यी लेखिका यिनका नातेदारको घरमा गुजरातमा गइन्, त्यहाँ एक अपरिचित व्यक्तिले यिनको नाम लिँदै, यिनको सम्पर्कमा आएर प्रेम व्यक्त गर्दा यी रमाले उसलाई स्वीकार गरिन् । त्यो नयाँ प्रेमीको पारिवारिक, सामाजिक एवं आर्थिक पृष्ठभूमि थाहा नभए पनि उसले रमालाई नपाए ज्यानै त्यागिदिन्छु भनेकै भरमा त्यही युवकसँग आफ्ना सम्पूर्ण परिवार, इष्टमित्रमात्र होइन, समाज र देशै छाडेर इलाहवादमा रहेकी आफ्नी दिदीलाई मात्र हामी दुवै जना भुटान जान्छौं भन्ने भ्रम छरेर नेपालका भारतसित जोडिएका सबै नाका छाडेर सुदूर पूर्वी नाका झापाबाट नेपाल प्रवेश गरी पोखरामा आएर जीवन थन्क्याएको देख्दा प्रेम भगवान्भन्दा पनि बलवान् हुँदो रहेछ भनेर पुष्टि गरिदिएकी छन्, यी आत्मकथा लेखिका रमापराशर सूदले ।
यी लेखिकाका पिताको केही वर्ष पहिला मृत्यु भइसकेको र आमाको पहलकदमीले जब यिनलाई पञ्जाबी परम्परानुसार विवाह गर्नको लागि अमृतसरको डाक्टर पढेको एक युवकलाई ल्याएर केटाकेटी भेट गराइ कुराकानी गर्दा केटातर्फबाट केटी मन परेको स्वीकृति दिएपछि यी रमाले आफू पञ्जाबीकी छोरी भए पनि पञ्जाबी भाषा बोल्न नजानेकीले उक्त युवकसँग विवाह नगर्ने निर्णय दिँदा त्यो युवकमात्र होइन, यिनका अभिभावकहरू सबैलाई लाजमर्दाे वातावरण बनाइदिइन् । यसरी पञ्जाबी भाषा जान्दिनँ भनेर केटालाई त्याग्नुको कारणमा पहिला रेलमा यात्रा गर्दा भेटिएको केटाको मायामोह यिनको मनमा जरो गाडेर बसेको कारण नै प्रमुख रहेको कुरा यिनले आत्मकथामा व्यक्त गरेको भनाइले पुष्टि गरेकी छन् ।
अर्काे पटक पनि लुधियानाकै जातभात कुलपरम्परा मिल्ने युवकलाई आफन्तमार्फत् झिकाएर दुवै केटाकेटीलाई भेट गराई केटाले केटीलाई मन पराएपछि टीकाटाला अर्थात् साइमुन्द्री साटासाट गर्ने समयमा यी लेखिका विवाह गर्दिनँ भनेर अकस्मात् आफूले पालेको स्वाभिमान प्रकट गरेपछि उक्त केटोमात्र होइन, त्यहाँ जम्मा गरिएका नातेदार र अभिभावकसमेत केटीको कारणले लज्जित हुनु परेको कुरा पनि आत्मकथामा पढ्न पाइन्छ । यसको कारणमा पनि पहिला रेलयात्रा गर्दा भेटिएको बलविन्दर शर्माको प्रेम नै तगारो बनेको कुरा बुझिन्छ । उक्त बलविन्दर शर्माले पछि यिनको खोजी गरी भेटेर विवाह गर्ने प्रस्ताव राख्दा पनि ब्राह्मणपुत्र भएकाले विवाह नगर्ने भन्ने निर्णय दिएकीले मन पराएको प्रेमीसँग पनि विवाह नगर्ने र अभिभावकले व्यवस्था गरेको केटासँग पनि विवाह नगरेर यिनले आफैंलाई असहज स्थिति सिर्जना गरेको पाइन्छ ।
यसै समयमा यिनलाई गुजरातमा रहेका आफन्तको घरमा जाने कार्यक्रम बन्यो । त्यहाँ एक अपरिचित कलकत्ता निवासी राजन सुरी नामक ब्राह्मण युवकले राखेको प्रेम प्रस्तावलाई केही महिना भेटघाट, कुराकानी र छलफलपछि प्रेम विवाह गर्ने निर्णय गरेर गुजरातबाटै दुवैजना भागेर पोखरामा आएर कर्मथलो बनाएर बस्नु यिनको नियति रहेको देखिन्छ ।
भागेर पोखरा आएपछि महेन्द्रपुलस्थित विष्णुप्रसाद बास्तोलाको घरमा डेरा गरेर कहिले दूधको डिलर, कहिले आलुप्याजको डिलर, कहिले स्वीटर बुन्ने काम, कहिले कुरियरको काम गर्दागर्दै अन्त्यमा उत्तर प्रदेशको प्रतापगढमा यिनका पिताले सञ्चालन गरेको पुस्तक पसल नै यिनको पनि पोखरामा विद्या मन्दिर नाम गरेको पुस्तक पसल वंशानुगत व्यवसाय हुन गएको छ । यो पुस्तक पसल आजसम्म पनि कायम छ । पोखरामा आएपछि यिनका श्रीमान्ले आफ्नो नाम राजन सुरीबाट राजन डागर राखेका र केही समयसम्म डागर इन्टरप्राइजेज नामक पसल पनि सञ्चालन गरेका रहेछन् । पोखरामा रहँदैगर्दा सन्तान नभएका र २४ वर्षको उमेरमा भागेर पोखरामा आएकीमा पोखरामा आएको १४ वर्षपछि यिनका श्रीमानकोे दुवै मिर्गाैला फेल भएर मृत्यु भएपछि यिनको एकल जीवनको सहारा पोखरा वासीलाई बनाएर बसेकी छन् । माइती घरमा जान यिनको स्वाभिमानले दिएन । पुनर्विवाहको प्रस्ताव आउँदा आत्माले मानेन । त्यसपछि आफ्नो दिनचर्यालाई व्यस्त बनाउन यी महिला पोखरामा रहेका विभिन्न गैरसरकारी सामाजिक संघ संस्थाको सदस्य बनेर सामाजिक अभियन्ता भई यिनी भारतकी चेली होइन, नेपालकी चेली बनेर रहेकी पाउँदा सन्तोष लिन सकिन्छ । पोखरामात्र होइन काठमाडौंसमेतका विभिन्न संघसंस्था र भद्र भलाद्मीहरूसँग सम्पर्क र सम्बन्ध राखेर साँच्चिकै सामाजिक अभियन्ता बनेकी कुरा उक्त आत्मकथामा पढ्न पाइन्छ ।
दिवंगत पति राजनप्रति अगाध श्रद्धाराखी अहिलेसम्म पनि पतिको तस्बिरमा फूल चढाउने, आरती गर्ने, खाना खानुभन्दा अगाडि पतिको नाममा खाना चढाएरमात्र आफूले खाना खाने गरेकीले यी लेखिका रमाको आफ्ना पतिप्रतिको श्रद्धा अतुलनीय देखिन्छ । आत्मकथा पढ्दै जाँदा पाठकलाई भावुक बनाउँछ । कहिले गला अवरूद्ध हुन्छ, कहिले आँखा रसाउँछ, कहिले हाँसो प्रकट हुन्छ । आफ्ना पति अल्पायुमा नै अनन्त यात्रामा गएकाले उनका सम्मान र सम्झनास्वरूप यी लेखिका रमाले पोखरामा ‘डागरस्मृति प्रतिष्ठान’ स्थापना गरी हरेक वर्ष उनको स्मृति दिवसको दिनमा एकजना सामाजिक अभियन्तालाई पुरस्कार दिएर आफ्ना पतिको नाम सधैं जीवित राख्ने व्यवस्था गरेको देख्दा यिनी साँच्चै नै पतिभक्त रहिछन् भनेर प्रमाणित गरेको देखिन्छ । यो उनको प्रथम उपलब्धि हो ।
त्यसैगरी आफ्ना पतिको मृत्युपछि अत्यन्त चिन्तित र भावुक बनेकी यी रमा पराशरले कविता लेख्न सुरू गरेर आफूमा पलाएको प्रतिभा स्फुरण गरेर ‘सकून’ नामक कविता सङ्ग्रह हिन्दीमा लेखेर समाजलाई दिइसकेकी रहिछिन् । यो नै उनको दोस्रो उपलब्धिमात्र होइन, कहिल्यै नमर्ने जीवित सन्ततिरूपी कृति हो ।
द्वापरयुगको अन्त्यमा भएको महाभारतको युद्धको वर्णन कलियुग लागेपछि लेखिएजस्तै यी लेखिकाको उमेर २०–२२ वर्षको हुँदासम्ममा भए गरेको स्मरण ‘अन्तिम अभिषाला’ नामक आत्मकथा आज करिब ३७–३८ वर्षपछि लेखेर समाजलाई दिनु यो उनको तेस्रो उपलब्धि तथा कहिल्यै नमर्ने र स्मरणयोग्य अमर कृति छ । लेखिका रमापराशर सूदलाई यस्तो स्मरणयोग्य ग्रन्थ लेखेर समाजलाई दिएकीमा धन्यवाद दिन चाहन्छु । यो आत्मकथाको अन्त्यमा जसरी आफ्ना पतिले पोखराबाट अनन्त यात्रामा प्रस्थान गरे, त्यसैगरी आफू पनि बाँकी जीवन पोखरामा नै बिताएर पोखराबाटै अनन्त यात्रामा जान पाऊँ र स्वर्गमा पनि आफ्ना पतिसँग रहन पाऊँ भन्ने अभिव्यक्ति दिएकी छन् यी लेखिकाले । यी वाक्यले पनि पाठकलाई भावुक बनाउँछ । यसैले पनि पुस्तक पठनीय भएको छ ।
धर्मकोटको विद्यालयमा पढ्दा सहरवाली लड्कीको उपनामले, प्रतापगढको कलेजमा पढ्दा नीलो फ्रकवाली र सोर्सवाली लड्कीको उपनामले, सबैसँग मीठो शैलीमा बोल्ने हुनाले सहपाठी साथीहरूले कोइलीको उपनामले, बोलीमा वाक्पटुता भएकोले सबै साथीले नेताजीको उपनामले बोलाउँदा रहेछन् लेखिका रमालाई । घरमा यिनका पिताले गुडिया भनेर बोलाएर मख्ख पार्दा रहेछन् । बोलीवचनमा जति चाटुकार थियो, काममा ठीक विपरीत देखिन्छिन् । उदाहरणको लागि घरमा पाहुना आएको बेला भान्छामा सहयोग गर्नुपर्छ भनेर धाराको टुटीमा हातको औंला रगडेर घाउ बनाएर बिरामीको बहाना देखाएर बस्ने दुस्साहस गरेको कुरा पनि आत्मकथामा पढ्न पाइन्छ ।
आत्मकथाको पृष्ठ १५३ मा ‘म कलेजमा छँदा घटीमा ५० जोर मेरा लुगा थिए’ भनेकी छन् भने पृष्ठ १६८ मा ‘म कलेजमा पढ्ने भए पनि ज्यादै सामान्य पहिरनमा विश्वास गर्थे, नारी घडीबाहेक म कुनै पनि गहना लगाउँन्नथँे । सादा र कोठे लुगा लगाउँथे । शृंगारको त कुरै छोडौं, मैले कहिल्यै पनि गालामा क्रिमसम्म लगाइनँ’ भनेकी छन् । यहाँ एकातिर ५० जोर लुगा थिए भन्ने अर्काे तिर सामान्य पहिरनमा विश्वास गर्थे, सादा र कोठे लुगा लगाउथेँ भनेर विवादित वर्णन गरिएको पनि देखिन्छ । संक्षेपमा आत्मकथा विद्याका रुचिकारले एकपटक पढ्नै पर्ने कृति हो भन्ने यस पंक्तिकारको ठम्याइ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width