‘अल रोडस् लिड नर्थ’ : एक पूर्ण पुस्तक

तिलक पराजुली
वैशाख १०, २०७८

मोटर चल्ने २ वटा बाटामात्रै छन् उत्तरतर्फ । तातोपानी र रसुवागढी । अर्थात्, कुती र केरुङ । २०७२ सालको भूकम्पले क्षति पुगेको तातोपानी नाका त्यसै पनि थला परेको छ, राम्रोसँग खुलेको छैन । अनि विश्वव्यापी संक्रामक रोग कोभिड १९ का कारण चीनले कडा गर्दा रसुवागढी नाका पनि अवरुद्ध भइरहेको छ, नियमित आकस्मिकता जस्तै ।

उत्तरतर्फका बाटाहरु अवरुद्ध भइरहँदा चीनसँग व्यापार गर्ने नेपाली व्यापारीहरु दिक्क भएर अब दक्षिणतिर नै आफ्नो व्यापार स्थानान्तरण गर्न लागे भन्ने नरमाइलो समाचार नेपाली सञ्चारजगत्ले सम्प्रेषण गर्दागर्दै अमिशराज मुल्मीको ‘अल रोडस् लिड टु नर्थ’ (सबै सडकहरु उत्तरतर्फ लाग्छन्) नामक पुस्तक सार्वजनिक हुनु एउटा कौतुहलपूर्ण संयोग मान्नुपर्छ । राजनीतिमा पनि प्रतिनिधिसभा विघटन र नेकपा विभाजनपछि चीनको हैसियत नेपालमा खुम्चिएको र भारत–अमेरिकी प्रभाव बढेको विश्लेषण भइरहेको छ ।

वर्तमानको उक्त परिस्थितिले गर्दा एउटा भद्रव्यंग्य वा विडम्बना जस्तो लाग्छ पुस्तकको शीर्षक । तर पुस्तकको विषयवस्तु यसमा विश्लेषण गरिएका कुरा नेपाल–चीन सम्बन्धका विविध आयाम र आयातन मात्रै होइन, नेपाली राजनीतिमा परेको भूमण्डलीय शक्तिका खेल र प्रभाव अनि त्यसमा नाच्ने नेपाली पात्रहरुको पहिचान र प्रवृत्ति पनि प्रस्तुत छ ।

भूमिका, उपसंहार र धन्यवादका अलावा ३ भागमा विभाजित मुख्य विषयहरु र त्यसका १० उपशीर्षकमध्ये अन्तिममा ‘अल रोडस् लिड नर्थ’ छ । किताबको नामै त्यही भएकोले स्वभावतः यही पहिला पढ्ने हतार हुन्छ । हुन सक्छ, यो पंक्तिकारको मात्रै निजात्मक कुरा होस् ।

लेखक एक पत्रकार हुन् । यो त पछाडिको कभर पृष्ठको भित्री भागमा रहेको उनको संक्षिप्त परिचयबाट खुल्छ–राइटर्स साइड लिटेररी एजेन्सीको विशेष सम्पादक । उनी काठमाडौंबाट प्रकाशित अंग्रेजी दैनिक काठमाडौं पोस्टका नियमित लेखक पनि हुन् । प्रायः शुक्रबार उनका महिनामा २ वटा लेख मैले पढेको छु । यो किताबमा पनि उनको पत्रकारिता शैली प्रचूरमात्रामा प्रकट भएको छ । र, अध्यायको सुरुआत अनौपचारिक तर बडो रोचक तवरमा गरेका छन् ।

अल रोडस् लिड नर्थकै कुरा गरौं । यसमा ठमेलका एक होटल व्यवसायी सान्दाइ (रमेश विश्वकर्मा) सँगको कुराकानीबाट उनको लेखकीय प्रारम्भ हुन्छ । चिनियाँ सम्भ्रान्त भाषा फरर बोल्ने यी सान्दाइ जस्ता व्यवसायीले चीनियाँ लगानी र पर्यटक दुवै आकर्षित गरेको बताउँदै ठमेलमा पर्यटकीय सेवा व्यवसायमा चीनियाँ बढ्दो लगानीले यो आकर्षणको केन्द्र बनेको बताउँछन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको इतिहासमा लेखकको मिहिन अध्ययन रहेको विषय पाठकले सहजै बुझ्न सक्छन्

उनी भन्छन्, ‘चिनियाँहरु नै विश्वमा ठूलो संख्यामा विदेश भ्रमण गर्छन् र भ्रमणमा उच्च खर्च गर्नेमा यिनीहरु पर्छन् । नेपालले यिनीहरुको केही संख्या मात्रै प्राप्त गर्न सके पनि पर्यटन व्यवसाय तरक्की गर्न सक्नेछ । तर पहिले माओवादी जनयुद्धले त्यसपछि भुइँचालोले र अहिले कोभिड १९ महामारीले यत्रो ठूलो सम्भावना भएको पर्यटन उद्योग थला परेको सरल विषयबाट उठान गरेर शाक्यमुनि बुद्ध जन्मेको देश नेपालसँग बहुसंख्यक बौद्ध धर्मावलम्बीहरु रहेको देश चीनसँगको धार्मिक, सांस्कृतिक सम्बन्धको सानिध्यतालाई जोड्दै बुद्ध र बौद्ध धर्मको उन्नयनको विषय पनि भूराजनीतिको कोपभाजन बन्न परेको कुराको विवेचना गरेका छन् ।

चीनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र जस्तै रहेको ‘पिपुल्स डेली’ का वरिष्ठ सम्पादकले लेखेको ‘लुम्बिनी एउटा धार्मिक स्थल हुनुको साथै एक राजनीतिक स्थल पनि हो । वर्तमान राजनीति बुझ्ने एउटा सूत्र (क्ल्यु) पनि हो यो’ भन्ने कुरा पुस्तकमा उद्धृत गर्दै सन् २०११ मा लुम्बिनीको विकासमा ३ अर्ब अमेरिकी डलर लगानीको योजना भारतीय दबाबका कारण तुहिएको विषयलाई पनि यसमा विवेचना गरिएको छ ।

प्रसंगवश एउटा सम्भाव्यको तर पेचिलो विषय लेखकले यो उठाएका छन् कि अहिलेका दलाई लामाको दैहिक अवसानपछि दुइटा दलाई लामा एकैचोटि अस्तित्वमा आउनेछन् । एउटा चीनियाँ सरकारले मान्यता दिएको र अर्को स्वनिर्वासित तिब्बतीहरुले मान्यता दिएका दलाई लामा । कुन दलाई लामालाई मान्यता दिने ? नेपालका लागि यो एक चुनौतीको कुरा हुनेछ ।

सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीले आमनेपालीलाई उत्तरापन्थ खोज्न बढी प्रेरित गरेको कुरा लेखकले तर्क र तथ्यका आधारमा विश्लेषण गरेका छन् । नेपालमा अहिले चीन एक विश्वशक्ति, उदार सहयोगदाता, दुःख पर्दाको साथी, आवश्यकताको आपूर्तिकार, सरोकारवाला छिमेकी, ज्येष्ठ भ्रात्रा, एक प्रतिस्पर्धी, विकासको एक नमुना र सम्बुद्ध भविष्यको द्रष्टा हो (पृष्ठ २०९) भन्दै चीनले क्षेत्रीय तथा विश्व शक्तिको रुपमा जुन गतिशील भूमिका खेलको छ, अरुभन्दा नेपाली त्यसका नजिकका चश्मदिद साक्षी हुन् भन्ने लेखकको कथन छ । उत्तरतिर सडक त बनेका छन्, नाका खुलेका छन् तर अब त्यसको सुपथ उपयोग कसरी गर्ने हो ? यो त नेपालीको हातमा छ भन्ने लेखकको भनाइले सबै सचेत नेपालीको मथिङ्गल तताउँछ ।

आफू किशोर अवस्थादेखि कम्युनिस्ट आन्दोलनमा संलग्न रहेकाले पनि हुन सक्छ, किताबको दोस्रो भाग अर्थात् साम्यवाद सडकबाट आउँछ’ (कम्युनिज्म कम्स् बाई रोड) ले यो पंक्तिकारलाई आकर्षित ग¥यो । उनले सुरुआत डा. केआई सिंहको विद्रोहबाट गरेका छन् । २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुंगाएपछि सिंहको असन्तुष्टि विद्रोहमा परिणत हुन्छ । सिंहदरबार कब्जा र दिनदहाडै उनी सिंहदरबार तोडेर उत्तरतर्फ आफ्ना समर्थकसहित चीनको तिब्बत जान्छन् र अन्ततः आफ्ना ३७ जना सहयोगीसहित पेकिङ पुग्छन् । यसको रोमाञ्चकारी वर्णन किताबमा गरिएको छ ।

के आई सिंहलाई असिमले ‘हिमालयन रविन हुड’ भनेका छन् । रविन हुड पुराना अंग्रेजी साहित्यमा पाइने यस्ता पात्र हुन्, जसले धनीको लुटेर गरिबलाई बाँड्छ । कपिलवस्तुका जमिनदारको के आई सिंहले हुर्मत लिएका थिए र जोताहा किसानको पक्षपोषण गरेका थिए ।

त्यसबेला के आई सिंह कति महत्वका थिए भन्ने कुरा भारतीय प्रधानमन्त्री नेहरुको पेकिङ (बेजिङ) भ्रमणमा उनले आफ्ना समकक्षी चीनका प्रधानमन्त्री चाउ एन लाइसँग वार्ता गर्दा यो विषय उठाएका थिए र चाउले सिंहलाई कुनै अबाञ्छित गतिविधि गर्न नदिने आश्वासन नेहरुलाई दिएका थिए भन्ने तथ्ययुक्त कुरा पुस्तकमा विवेचना गरिएको छ । धेरैले उठाउने गरेको यो प्रश्न असीमले पनि उठाएका छन् कि सिंहले किन तिब्बत पलायन हुन रोजे यो अझै रहस्यको कुरा छ (पृष्ठ ८३) । यो पंक्तिकारले २०३६ सालको जनमतसंग्रह सिंहसँगको एक भेटमा यो कुरा सोधेकाे थियाे । उनको सोझो उत्तर थियो भारतीय सेनाले आफूलाई पक्राउ गरेको र मातृका सरकारले झैं आफूलाई भारत सरकारले पनि डाँका (वेन्डिट) घोषणा गरेकोले पनि यो उनको बाध्यता नै थियो । भारत जानु भनेको आत्महत्या जस्तै हुन्थ्यो, उनले भनेका थिए ।

अरनिको राजमार्ग प्रारम्भ गर्ने प्रसंगमा दक्षिण छिमेकी भारतीय शासक वर्गले यो बाटोबाट साम्यवाद भित्रिन्छ भन्ने भय देखाउँदा राजा महेन्द्रले ‘टेक्सी चढेर साम्यवाद आउँदैन’ भनेर दिएको जवाफ नेपालको राजनीतिक एवं कुटनीतिक वृत्तमा अहिले पनि एउटा चर्चाको विषय छ । किताबमा ‘साम्यवाद मोटर चढेर आउने’ शीर्षक दिएर यी सबैको विवेचना गरिएको छ । र, यो राजमार्ग नेपालको भन्दा चीनको प्राथमिकता हो भन्ने तत्कालीन पाकिस्तानी विदेश मन्त्रीको लिखित विचार पुस्तकमा (पृष्ठ ९०) उद्धृत छ । तिब्बतको खाद्य संकट पूरा गर्न यो बाटो खोल्नुपरेको थियो ।

अमिशराजको नेपाली इतिहासको गहिरो अध्ययनको छाप त पुस्तकमा छँदै छ, नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको इतिहासमा पनि उनको मिहिन अध्ययन रहेको कुरा पाठकले सहजै बुझ्न सक्छन् । सन् १९४९, डिसेम्बर १५ मा कम्युनिस्ट पार्टीको घोषणा पत्र प्रकाशित भएको छ । यसको ठीक १ सय वर्ष अगाडि जंगबहादुरले कोतपर्व घटाएर देशभक्त भारदारहरुको कत्लेआम गरेका थिए । यो कुरा लेखकले स्मरण गरेका छन् । पुस्तकमा बम्बईबाट प्रकाशित अंग्रेजी इकोनोमिक एन्ड पोलिटिकल विक्ली पत्रिकामा प्रकाशित बहुचर्चित ‘कम्युनिस्ट मुभमेन्ट इन नेपाल’ आलेखका केही पंक्तिहरु उद्धृत गरिएका छन् । यसका लेखक एमडि गुरुङ अरु कोही नभएर क. पुष्पलाल नै हो । यो लेख लेख्दा र प्रकाशित हुँदा यो पंक्तिकार र पुष्पलाल बनारसमा सँगै बस्थ्यौं ।

सन् १९६० पछि चीन र सोभियत नेतृत्वबीच कम्युनिस्ट आन्दोलनका सम्बन्धमा उत्पन्न मतभेद र त्यसले नेपाली कम्युनिस्ट आन्दोलनमा ल्याएको दरारको पुस्तकमा राम्रै विवेचना गरिएको छ । पुस्तकका पृष्ठ ९२ मा रुसपन्थी भएका केशरजंग रायमाझीलाई चीन समर्थक बन भनेर राजा महेन्द्रले दबाब दिएको कुरा असीमले चर्चा गरेका छन् । अमेरिकी बाह्य गुप्तचर संस्था सिआइएको प्रतिवेदनका आधारमा यस्ता अझ कैैैयौंँ अप्रकाशित विषयहरु नेपालको कम्युनिस्ट आनदोलनका सम्बन्धमा प्रकट गरिएकोले कम्युनिस्ट आन्दोलनको इतिहासका अध्येताको लागि यो पुस्तक पढ्नै पर्नेछ ।

नक्सलाइट आन्दोलनका प्रणेता एवं प्रयोगकर्तामध्ये एक कानुसल्याल नेपाल भएर कसरी चीन पुगे भन्ने कुरा किताबमा पढ्दा जति रोमाञ्चक छ, पेकिङ उनी माओसँग बिदा हुँदा–‘यहाँ सिकेको कुरा यही छाड्नुहोस्, भारतको क्रान्ति आफैं आवश्यकता र अनुभवमा विकसित गर्नुहोस्’ भनेर माओले कानुलाई दिएको सल्लाह त्यत्तिकै महत्वपूर्ण पनि छ । पुस्तकको पृष्ठ ९७ मा यो कुरा लेखकले आफ्नै भाषा र शैलीमा प्रस्तुत गरेका छन् ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको कालदेखि अहिले गणतन्त्र नेपालका कम्युनिस्ट बहुमत सरकारको समयसम्मका विदेश सम्बन्धका महत्वपूर्ण घटना र प्रवृत्तिको वस्तुगत विश्लेषण गरिएको यो पुस्तकमा चीर सनातन वर्तमानको नूतनसम्म हाम्रा वैदेशिक सम्बन्धका आयामहरु समेटिएको छ । उपसंहारलाई लेखकले भविष्यकाल (फ्युचर टेन्स) शीर्षकमा विश्लेषण गरेका छन् । यसमा वर्तमान नेपालमा चलेको वैदिक प्रभाव र दबाबको सूक्ष्म विश्लेषण छ ।
चीन प्रायोजित बेल्ट एन्ड रोड (बिआरआई) र अमेरिकी प्रयोजित एमसिसीबीच नेपालमा प्रतिद्वन्द्विता, भारत अतिक्रमित नेपाली भूभाग समेटिएको चुच्चे नक्सा छापिएपछिका क्रिया र प्रतिक्रिया पुस्तकमा चर्चा गरिएको छ । भारतीय बाह्य गुप्तचर संस्था ‘रअ’ प्रमुखसँगको ओलीको एकान्त मन्त्रणा, स्थलसेनाध्यक्ष र विदेश सचिवको नेपाल भ्रमणपछि नेपालको राजनीतिमा आएको विभाजन र अनिश्चितका कारक तत्वहरु किताबमा विश्लेषण गरिएको पाइन्छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियालाई विगतमा भारतले गर्ने सूक्ष्म व्यवस्थापन जस्तै तुलना गरिएको छ । छिमेकीको आन्तरिक मामिलामा दख्खल दिँदा हुने गल्ती भारतीयहरुले महसुस गरेको प्रतीत हुन्छ । नेपालमा भारतीय राजदूत रहिसकेका श्यामशरणको ‘हाउ इन्डिया सिज् द बल्र्ड’ नामक किताबमा नेपालको राजनीतिमा कुनै एक पक्षलाई काँधमा हाल्दा भएका गल्ती महसुस गरेका छन् । असिमले चीनले त्यही गल्ती दोहो¥याउँदै छ भन्ने संकेत पनि गरेका छन् । र, यो कुरामा विदेश नीति निर्माताको ध्यान आकर्षण गरेका छन् कि एक शताब्दी अगाडि उत्तर र दक्षिणका महाशक्तिबीच नेपालमा स्वार्थको जुन टकराव थियो, त्यो अहिले पुनरावृत्ति हुँदै छ । त्यसबाट नेपालको स्वार्थ र स्वाधीनता कसरी जोगाउने हो ? किताबमा अगाडि एउटा दृष्टिकोण पेस गरेका छन्–अमिशले ।

Related News

सम्बन्धित समाचार

hero news full width