अब्दुलका कृति, प्रवृत्ति र पुरस्कार

राजेन्द्र भण्डारी
कार्तिक ६, २०७८

नश्लवाद र उपनिवेशवाद समयको कुनै कालखण्डमा सीमित रहन सक्छ तर त्यसको असर समाजमा लामो समयसम्म रहिरहन्छ । अब्दुल रजाक गुरनाह अक्टोबरको महिना संसारभरिका साहित्यिक अनुरागी मनहरुका लागि विशेष महत्व राख्दछ, किनकि यस महिनामा साहित्यको नोबेल पुरस्कारको घोषणा हुन्छ । यस वर्ष साहित्यका लागि नोबेल पुरस्कार पूर्वी अफ्रिकाको तान्जानियाको जंजीबार द्विपमा जन्मेका हाल बेलायतमा शरणार्थी जीवन बिताइरहेका ७३ वर्षीय अश्वेत लेखक प्रो.अब्दुल रजाक गुरनाहलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
नोबेल पुरस्कार चयन समितिले उनका प्रकाशित कृतिहरुमा उपनिवेशवादले पारेको प्रभाव तथा संस्कृति र भूगोलका भिन्नताले शरणार्थीका कर्म र भाग्यमा वर्षाैंसम्म कोरेको असरलाई यथार्थ र करुणामय तबरबाट उजागर गरेको भन्दै उनलाई नोबेल पुरस्कारबाट पुरस्कृत गरेको छ । उपनिवेशवादविरुद्धको लडाइँमा सम्झौता गर्न नचाहने र गलतका विरुद्धमा सदैव सशक्त प्रतिकार गर्न रुचाउने एक शरणार्थीलाई यस वर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिएको छ । गुरनाहको लेखनमा बिना सम्झौता महाद्विप र संस्कृति तथा शरणार्थीका समस्यालाई करुणापूर्ण, गहन र सुझबुझका साथ विश्वसमक्ष साक्षात्कार गराएका छन् । आफ्नो साहित्यिक विचारको माध्यमबाट उपनिवेशवादका नकारात्मकता र त्यसले पारेको प्रभावलाई देखाउने प्रयास गरेका छन् । उनले आफ्नो जीवनयात्रा पूर्वी अफ्रिकाको तान्जानियाको जन्जिबार द्विपबाट प्रारम्भ गरे र १८ वर्षको उमेरदेखि शरणार्थीको रुपमा बेलायतमा निर्वासित जीवन आजसम्म बिताइरहेका छन् । गुरनाह आफू केवल आफ्नो नाम र रचनाबाट चिन्न र चिनाउन चाहने गुरनाह युनिभर्सिटी अफ केन्टका अवकाशप्राप्त प्राध्यापक हुन् । गुरनाहले आफ्नो मातृभूमिदेखि बेलायतसम्मका आरोह अवरोहमा लुकेका पीडाहरुलाई समेटेर १० वटा उपन्यास र केही लघु कथा लेखेका छन् । उनका प्रकाशित पुस्तकहरु मध्ये ‘पैराडाइज’, ‘डेजरसन’ आदि महत्वपूर्ण कृतिमा गनिन्छन् । शारीरिक उमेरले ७३ ओटा वसन्त देखेका, कपाल फुलेर सेतै भएका र फ्रेन्च दारी पालेका गुरनाहको आकृतिमा ज्येष्ठताको झलक देखिए तापनि उनीमा नयाँ जोस र जाँगरले भरिपूर्ण भएका युवाजस्तै देखिन्छन् । नोबेल पुरस्कारको पचास वर्षको विगतमा यो सफलताको शिखरमा पुग्ने चौंथौ अश्वेत व्यक्ति हुन् ।
एक शताब्दी अघि एउटा पर्यटकीय सम्भावना बोकेको, अरब र विश्वका लागि व्यापारिक हब बनेको, साम्राज्यवादको चपेटामा अल्झिएको, गैरप्रजातान्त्रिक शासनको जाँतोमा जनता पिसिन बाध्य भएको मुलुकको रुपमा तान्जिानियालाई विश्वले चिन्दथ्यो । तर समयको परिवर्तनसँगै आज त्यही मुलुक एक शताब्दीपछि फरक अवस्थामा पुगेको छ । साहित्यको सर्वोच्च नोबेल पुरस्कार चुम्न सफल भएको छ । जन्जीबारको स्वतन्त्रता, शान्तिपूर्ण जन्जिबारको विद्रोह, विद्रोह पश्चात्को दमन, शोषण, शरणार्थी भई बेलायतमा निर्वासन, बेलायतमा शरणार्थीप्रति गरिएको व्यवहार, प्रतिकूलतामा अध्ययन पूरा, प्रतिष्ठित प्राध्यापक र अन्तत नयाँ चिन्तन र परिवेशको उजागर गर्दै सफल साहित्यकारको रुपमा चिनिनु गुरनाहका संघर्षका आयामहरु हुन् । मातृभूमि तथा परिवारसँगको विछोड र देशभित्र भएको चौतर्फी कत्लेआम साथै फरक पुस्ताले भोगेका यातना र पीडा काला दिनहरु, क्रान्तिको नाममा मारिएका र क्षत विक्षत भएका समुदायहरुका सचित्रलाई उनले बेलायतको रंगीचंगी भौतिक संसारमा रहँदा पनि कहिले भुल्न सकेनन् । आफ्नो गौरवमय तान्जानियाको माटोप्रति सदैव नतमस्तक रहे । यही नै गुरनाहको महानता हो ।

गुरनाहका साहित्यिक विशेषताः
रोग, भोक, गरिबी, युद्ध, द्वन्द्व, अनुपम प्राकृतिक सम्पदा, जटिल सामाजिक तथा सांस्कृतिक स्वरुप आदि विशेषताले भरिएको पूर्वी अफ्रिकी जीवनका कयौँ पाटामा खुलेका उत्तरित् कथा र अनुत्तरित् व्यथालाई उनले आफ्ना उपन्यासमार्पmत सशक्त ढंगबाट विश्व साहित्यको क्षितिजमा उदित गर्न खोजेका छन् । उनले राज्यले कहिल्यै सम्बोधन गर्न नसकेको महाद्विप र संस्कृति तथा विगतको पुस्ता र वर्तमान पुस्ताबीचको विरोधाभासलाई कठोर रुपमा उठाएको कुरा स्वयम् नोबेल एकेडेमीले स्वीकार गरेको छ ।
गुरनाहले नोबेल साहित्यिक पुरस्कार पाउनु, लाखौं शरणार्थीहरुले पाउनु हो । लाखौं शरणार्थीहरुले भोगेका यथार्थहरुलाई छलफलका लागि विश्वसमक्ष आमन्त्रित गर्नु हो । ६० को दशकको तुलनामा वर्तमान संसार अझै कहालीलाग्दो र हिंसात्मक छ । अझै पनि संसारका लाखौं शरणार्थीका थुप्रै समस्या छन् । राष्ट्र, झण्डा र स्वाभिमान गुमेको छ । मानिस मरेका छन्, घाइते भएका छन् र अनाथ तथा टुहुरा भएका छन् । अझै पनि कुनै न कुनै बहानामा मानवता, स्वतन्त्रता र समानतालाई आतंकित र प्रताडित छन् । यिनै वास्तविकताहरुलाई गुरनाहले आफ्नो उपन्यासमार्फत् विश्वसमक्ष उजागर मात्र गरेका छैनन् बरु दयाको भाव राखेर समाधानका लागि शान्तिपूर्ण प्रयासका लागि विश्वसमक्ष अनुरोध गरेका छन् । उनले आफ्ना उपन्यासमा अफ्रिका र युरोपको भूगोल फरक भए तापनि कसरी संस्कृति र परम्पराहरु एक अर्कासँग आदान प्रदान हुन्छ भन्ने कुरालाई दर्शाएका छन् । शरणार्थीका पीडादायी जीवन अनुभवका विराटरुपलाई यति निर्वस्त्र हुनेगरी आफ्ना कृतिहरुमा वर्णन गरेका छन् । उनले पहिचान र आत्मछबिलाई केन्द्रबिन्दुमा राखेर आफ्ना विचारहरु पोखेका छन् । उनले वास्तवमा संस्कृति र महाद्विपको बीच, एउटा यस्तो जीवन बिताए जहाँ यस्तो कठिन अवस्था सिर्जना हुन्छ जसको कुनै समाधान निस्कँदैन । उनको साहित्यमा एउटा उपनिवेश अध्ययनका विज्ञ गुरनाहले शरणार्थी, महादेश, संस्कृति, नश्लीय भेदभाव, पूर्वाग्रह, कालो र गोरो, धनी र गरिब, बलवान् र कमजोरका साथै सामाजिक तथा ऐतिहासिक समीकरणलाई इतिहासका स्मृति र वर्तमानका भोगाइका गहिराइबाट देखाउने कोसिस गरेका छन् ।

गुरनाहका साहित्यिक कृतिहरुः
सुरुवाती अवस्थामा मातृभाषा स्वाहिली र पछि अंग्रेजी भाषालाई अभिव्यक्तिको हतियार बनाई २१ वर्षको उमेरदेखि लेखन यात्राको थालनी गरेका अब्दुल रजाक गुरनाहले हालसम्म १० उपन्यास र केही लघु कथाहरुको संग्रह प्रकाशित गरेका छन् । उनको लेखनकलामा अत्यधिक मात्रामा उपनिवेशवाद र शरणार्थीका समस्याहरुलाई वर्णन गरेका छन् । उनका प्रमुख उपन्यासहरु ‘मेमोरी अफ डिपार्चर’,‘पिलिग्रिम्स वे’, ‘डाँटी’, ‘एडमायरिंग साइलेन्स’, ‘बाई द सी’ , ‘डेजरसन’, ‘माई मदर लिव्ड अन ए फर्म इन अफ्रिका’ आदि प्रमुख हुन् । अब्दुल रजाक गुरनाहको साहित्यमा अरबी फारसी काव्य, द अरेबियन नाइट्स, सदा स्मरणीय पवित्र धार्मिक ग्रन्थ कुरान, सेक्सपियर, वी एस नाँयपाँल र अंग्रेजी साहित्यको प्रभाव देख्न सकिन्छ ।

नस्लवाद, उपनिवेशवाद र शरणार्थीका पीडामा कथा लेख्ने ७३ वर्षीय साहित्यकार अब्दुल रजाक गुरनाहलाई नोबेल साहित्य पुरस्कार

सन् १९८७ मा प्रकाशित गुरनाहको पहिलो उपन्यास ‘मेमोरिज अफ डिपार्चर’ मा अफ्रिकी महादेशको एक असफल विद्रोहलाई प्रस्तुत गरेका छन् । सन् १९८८ मा प्रकाशित गुरनाहको दोस्रो उपन्यास ‘पिलिग्रिम्स वे’ मा शरणार्थी जीवनको बहुमुखी यथार्थको अन्वेषण गर्ने नायक बेलायतमा नश्लवादी व्यवहारको छायामा छतविच्छत भएको सच्चाइलाई सामना गरेको कथा, लामो समयसम्म आफ्नो अतीतलाई लुकाउन बाध्य भएको र अन्तत तान्जानियाको राजनीतिक उथल पुथलभित्रको त्रासदीपूर्ण स्मृतिका साथ बलपूर्वक भागेको घटनालाई चित्रण गरेका छन् । यो कथा वास्तवमा स्वयम् गुरनाहको जिन्दगीबाट प्रेरित भएको मानिन्छ । उनको मुख्य पात्र महिला भएको ‘डाँटी’ नामक उपन्यासमा एउटा अश्वेत प्रवासी महिलाले ५० को दशकमा बेलायतमा भोगेकी नश्लीय पूर्वाग्रही र भेदभावलाई चित्रण गरिएको छ । जन्म र पालन पोषण बेलायतमा भए पनि उनी आफूलाई जराविहीन, माटोविहीन र अस्तित्वविहीन वृक्षको रुपमा अनुभव गर्छिन् । नितान्त सम्बन्धविहीन र आफन्तविहीन जीवनको संघर्षमा कोही कसैमा नाताको बिम्व महसुस गर्छिन् । जतिसुकै प्रतिष्ठित काला व्यक्ति भए पनि काला व्यक्तिको मृत्युमा गोरा बेलायतीले श्रद्धाञ्जलीका एक शब्दनखर्चिनु नश्लीय पूर्वाग्रह र भेदभावको पराकाष्ठतालाई देखाइएको छ । ‘डाँटी’ उपन्यासमा गुरनाहले डाँटीमार्फत काला मानिसहरुले आफ्नो इतिहास स्वयम्ले लेख्नुपर्छ, कथा आफैंले सुनाउनु पर्छ र आफ्नो आत्मविश्वासलाई जगाई राख्नुपर्छ भन्ने उद्गार व्यक्त गर्नुको साथै महिलालाई युवा, दृढ र बुद्धिमानी साथै प्रतिभाशालीको रुपमा उभ्याइएको छ । सन् १९९० को आसपास पूर्वी अफ्रिकाको अनुसन्धान यात्राको क्रमा लेखिएको एउटा दुखद् प्रेम कथाले भरिएको गुरनाहको चौथौं र सबैभन्दा चर्चित उपन्यास हो, ‘पैराडाइज’ यस उपन्यासले गुरनाहको लेखन यात्रालाई उचाइमा पुर्‍याउन मद्दत गरेको थियो । बिसौँ शताब्दीको तान्जानियाका एक युवा नायक युसुफलाई उनकी प्रेमिका अमीनाले छोड्नु परेको वियोगान्त प्रेम कथा साथै फरक मान्यता र संसारको प्रतिस्पर्धालाई उपन्यासमा देखाउन खोजिएको छ । यो उपन्यासमा वर्तमान संसार र मानव निर्मित मान्यताहरु कसरी एक आपसमा प्रतिस्पर्धामा उत्रन्छन् भन्ने कुरालाई निर्वस्त्र रुपमा देखाइएको छ । समग्रमा यो उपन्यास प्रथम विश्वयुद्धको समयमा उपनिवेशवादको जाँतोमा पिसिएको पूर्वी अफ्रिकाको अद्भूत तस्बिरको रुपमा लिइन्छ । उनको सन् २००५ मा प्रकाशित उपन्यास ‘डेजरसन’ विरोधाभाषी प्रेमको विषयमा लेखिएको छ । जसलाई ‘द इम्पिरियल’ रोमांसको संज्ञा दिइएको थियो । उपन्यासमा कहिलै समाप्त नहुने अफ्रिकी जमिनमाथिको विवादमा आधारित रहेको छ । यो उपन्यासलाई अफ्रिकाको इतिहास, विखण्डन र असरमाथिको गहिरो चिन्तनको प्रतीकको रुपमा चिनिन्छ । सन् २०२० मा जब विश्व कोराना महामारीविरुद्ध संघर्षरत थियो, ठिक त्यसैबेला गुरनाहको उपन्यास ‘आफ्टर लाइफ्स’ प्रकाशित भएको थियो । उक्त उपन्यासमा जर्मन सैनिकले चोरेको बालक आफ्नो गाँउमा फर्केर आफ्नै रगत र सम्बन्धका विरुद्धमा गरेको युद्धलाई देखाइएको छ । बेलायती मिडियाले यो उपन्यासको बारेमा एकपल्ट सोच्न बाध्य बनाएको थियो । उपन्यासले भुलेकाहरुलाई सम्झने, नजिक ल्याउने र आफ्नो अस्तित्वको रक्षाको अनवरत रुपमा मानिसहरु लड्छन् भन्ने सन्देश दिएका छन् । साथै व्यक्ति निर्वासनमा रहेर पनि आफ्नो माटो, मातृभूमि, परिवार र सम्बन्धको स्मृतिलाई तोड्न सक्दैन भन्ने कुरालाई लेखनको एउटा प्रमुख हिस्साको रुपमा गुरनाहले उभ्याएका छन् ।

उपन्यासका पात्रका प्रवृत्तिः
उनका उपन्यासका पात्रहरु अतीत र वर्तमानको द्वन्द्वमा मौनता साँध्न चाहन्छन् । यस विचारलाई उनले ‘एडमायरिंग साइलेन्स’ तथा ‘बाई द सी’ मा पनि देखाएका छन् । शरणार्थी, नश्लवाद तथा पूर्वाग्रहको सामुन्नेमा आफ्नो अतीत र पहिचानलाई मौनताको घुम्टो ओडाउँदै नयाँ वर्तमान, परिवार र कथा लेखनमा संघर्षरत छन् । बाध्य छन् । अब्दुल रजाक गुरनाहका उपन्यासका पात्रहरु युरोप, अमेरिका र खाडीमा निर्वासित जीवन बिताइरहेका लाखौं लाख शरणार्थीहरुका प्रतीकात्मक आयामहरु हुन् । उनीहरु सबै असुरक्षाले ग्रसित छन । उनीहरु स्वयंमा संस्कृति र महाद्विपको अन्तरद्वन्द्व पाउँछन् । उनीहरुका बीच अतीत र वर्तमान जीवनलाई लिएर सदैव द्वन्द्व चलिरहन्छ । यो असुरक्षा र द्वन्द्व कहिल्यै पनि अन्त्य हुँदैन । उनका सबै पात्रहरु कहीँ न कहीँ उपनिवेशवाद, शरणार्थी, नश्लीय भेदभावविरुद्धमा संघर्षरत छन् ।
अन्त्यमा, गुरनाह विश्व साहित्य फाँटमा प्रख्यात लेखक त होइनन् तर पनि साहित्यमा रुचि राख्ने र खोजी खोजी किताब पढ्नेहरुका लागि गुरनाह अपरिचित नाम अवश्य पनि होइनन् । नोबेल साहित्यको पुरस्कारको दौडमा उनले विश्वका प्रख्यात लेखकहरु जस्तै केन्याका नगुगी वा थियोगओ, फ्रान्सेली लेखिका एनी एरनाँक्स, जापानी लेखक हारुकी मुराकामी, क्यानाडाकी लेखिका मार्गरेट एटवुड आदिलाई पछाडि पार्दै उक्त पुरस्कार हात पार्न सफल भएका हुन् । यो सफलतालाई उनले अफ्रिकी जनता, अफ्रिका र आफ्ना प्रिय पाठक समक्ष समर्पित गरेका छन् । उनले आफ्ना उपन्यास तथा कथामार्पmत् जुन संसारको रचना गरे सायद विश्वका कमै लेखकहरुले त्यसमा कलम चलाएका छन् । आज नोबेल चयन समितिले साहित्यको लागि नाबवेल पुरस्कारबाट गुरनाहलाई सम्मानित गरेर स्रष्टा र पुरस्कारको गरिमालाई उँचो बनाएको छ । वास्तवमा गुरनाहप्रतिको यो सम्मान, लाखौैं शरणार्थी, तान्जानियाका नागरिक र संघर्षरत अश्वेत तथा अफ्रिकालीका लागि हो । गुरनाहको लेखन साहित्य जागृतिको माध्यम बनोस् र समग्र मानव जीवनको प्रतिबिम्व बन्न सफलता प्राप्त होस् । हाम्रो शुभकामना ! (विभिन्न स्रोतमा आधारित रहेर )

Related News

सम्बन्धित समाचार

hero news full width