घरबाट निकालिएकी आमाको पत्र

युवराज खनाल
वैशाख ३०, २०७८

मुटुको टुक्रा,
यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा–पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त थाहा छ/छैन, पोहोर साल तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ । यो तेह्र महिनामा म तेह्र हजार पटक मरेँ हुँला, तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि देख्न नपाएर ।

मेरो प्यारो छोरा,
सन्तानको माया कस्तो हुन्छ भन्ने त यतिबेलासम्म तिमीले थाहा पाइसक्यौ होला नि है ! तिमीले मलाई वृद्धाश्रम लग्ने बेला बुहारी दुई जिउकी थिइन् । आफ्नो मुटुको टुक्रा आफूदेखि अलग हुँदा कति पीडा हुन्छ, त्यो कुरा तिमीले बुझिसक्यौ होला । म पनि तिम्रै यादले गर्दा आजसम्म बाँचेकी छु । एकमुठी श्वास फेर्न सकेकी छु । मलाई आशा छ, म मर्ने बेलासम्म तिम्रो अनुहार हेर्न पाउनेछु ।

तिमीले मलाई छाडेको वृद्धाश्रममा म अटाइनँ छोरा । किनकि मभन्दा धेरै दुखी आमाहरु थिए त्यहाँ । जसको यस संसारमा कोही थिएनन् । मेरो त तिमी छौ, बुहारी छिन् र नाति पनि छ रे भन्ने सुनेकी छु । त्यसैले म आफैं त्यो तिमीले छाडेको वृद्धाश्रम छाडेर बाहिर सड़क पेटीमा आएँ छोरा ।

सड़कको जीवन त मलाई त्यति कठोर भएन, जति तिम्रो यादले पीडा भो । तिमी मेरो पेटमा हुँदादेखि मलाई यहाँ छोड्ने बेलासम्म मैले तिमीसँग बिताएका पलहरु ओढेरै बाँचे, तिम्रा मायाहरु खाएरै बाँचे । कहिलेकाहीं कुनै पवित्र मनले केही खानेकुरा दिँदा पनि मलाई कतै तिमी भोकै पो छौ कि भन्ने पीडा हुन्छ छोरा । आमाको मन कस्तो हुन्छ, एकपटक बुहारीसँग सोध ल, ‘भर्खरै जन्मेको बाबुको तिमीलाई माया कति लाग्छ भनेर ?’

हो छोरा,
तिमीले बुहारीको लहलहैमा लागेर मलाई त्याग्यौ, यसमा मलाई केही दुख लागेको छैन । मेरो लागि त तिमीभन्दा अमूल्य सम्पत्ति अरु के नै थियो र ? एक वचन ‘जा’ भनेको भए मेरो जीवन नै तिम्रो नाममा त्यागिदिन्थें । किनकि तिम्रो बाबा स्वर्गे भएपछि यो संसारमा तिमीमात्र त छौ मेरो भन्ने । आफूले माया गर्ने मान्छेले दिएका पीडा पनि कति मीठो लाग्दो रहेछ । उपहास पनि सुमधुर हुँदो रहेछ । म सबै यातना चुपचाप सहन तयारै थिएँ । मैले राम्रो लुगा र मिठो खाना पनि त मागेकी थिइन । तर मलाई घरबाट निकाल्ने फैसला गरेछौ । तिम्रो एउटा तस्बिरसम्म भएको भए त्यही हेरेर चित्त बुझाउँथे होला, त्यही पनि बुहारीले निकालिदिइछिन् । अब त तिमीलाई थाहा भइसक्यो होला आफ्नो सन्तानले गरेको हरेक कुरा सह्य हुन्छ आमा–बाबुलाई होइन र ?

मलाई माफ गर बाबु,
मैले बुहारीलेजस्तै आधुनिक बोल्न जानिनँ । उनलेजस्तै मीठो पकाउन सकिनँ । म सफा सुग्घर बस्न सकिनँ । मैले कुपोषित शरीरले पाएको सजाय दम र खोकी रोक्न सकिनँ, म बूढी भएँ । म त खोले खाएर, भुत्ला ओढेर हुर्केकी मान्छे, तिमी सानो छँदा तिमीलाई मागेरै भए पनि मीठो खुवाएर हुर्काएँ । तिम्रो बाबा तिमी पेटमा हुँदादेखि परदेशिएर पाँच वर्षसम्म बेखबर हुँदा पनि मैले तिमीलाई कहिल्यै भोकै राखिनँ । मेरो छाती सिस्नोको खोलेले पनि भरिएकै थियो । रसाएकै थियो ।

हो बाबु,
म धेरैपल्ट मरेर पनि बाँचें । किनकि मलाई भोक लाग्दा तिमी भोकाएको देख्छु । प्यास लाग्दा तिमी तिर्खायौ कि भनेर झस्किन्छु । म पीडाले कराउन सक्दिनँ छोरा । किनकि म कराउँदा पनि तिमीलाई दुख्छजस्तो लाग्छ । हो छोरा, यो आमाको मन अचम्मको हुने रहेछ ।

पोहोरको वैशाखमा आमाको मुख हेर्ने दिन थियो, सबैका छोरा–छोरी आए, तर तिमी आएनौ । छोरा ठिक गर्यौ, जाबो एक दिन भेटेर अनि मीठो खुवाएर के हुन्थ्यो र ? जाबो एकसरो लुगा दिएर अनि एकपटक आमा भनेर के हुन्थ्यो र कमसेकम देखावटी स्वाङ त पारेनौ !

मलाई दागबत्ती दिनुपर्दैन छोरा बरु भोकाएका गिद्ध र स्यालहरुलाई खान दिनू । किनकि भोकको पीडा मलाई थाहा छ

मलाई थाहा छ, तिमीले मनको एउटा कुनाले पक्कै सम्झ्यौ होला, तर मैले त हरेक श्वास र कसैले दिएको गाँसमा पनि यो शरीर लास नहुन्जेल सम्झिरहनेछु छोरा । मैले भुलेकी छैन, तिमीले मलाई कति धेरै माया गथ्र्याै सानोमा । बाटोमा भेटाएको काफलगेडी पनि मलाई दिएरै खान्थ्यौ । मेरो जुठो नखाएसम्म तिमी अघाउँदैनथ्यौ । अहिले सायद माया सकियो होला क्यारे, सकिएपछि यसमा तिम्रो के दोष होइन र ? बाँकी नै नभएपछि त के दिनु है ?

हो छोरा,
यो स्वार्थी संसारमा तिमीमात्र होइन, धेरै यस्ता छोराछोरी छन् रे अचेल । त्यसैले सुर्ता नमान्नू है, बरु आफ्नो ख्याल राख्नू । तिमीले कहिल्यै समयमा खाना खाँदैनथ्यौ । मैले हरेकचोटि मुटु धड्किँदा तिमीलाई बाहेक अरुलाई सम्झिन्नँ । मेरो यो संसारमा अरु को नै छ र छोरा ? तिमीलाई पक्कै दिनभरि बाडुकी लाग्दा कति गाह्रो हुँदो हो है, के गर्नु छोरा मेरो यति अधिकार त नखोस न है ।

म सायद धेरै बाँच्दिन होला छोरा, तिमीलाई थाहा छैन होला भोको पेटमा बोरा ओढेर सड़कसँग सुत्नुको पीडा कस्तो हुन्छ भनेर । हिजो हाम्रो फुसे घरको छानु पुसे झरीमा चुहिँदा मेरो छाती ओढाएरै तिमीलाई बचाएको कुरा तिमीलाई थाहा छैन छोरा ।

मेरो छोरा,
अब त नाति पनि बाबा–मम्मी भन्ने भयो होला । तिमीहरुले ठीक गर्‍यौ मलाई घरबाट निकालेर । नत्र नातिले भोलि जान्ने भएपछि बुहारीले मलाई गरेको माया देखेर त्यही सिको गर्ने थियो, अनि तिमीहरुलाई भोलि बुढेसकालमा मैलेजस्तै सडकको या वृद्धाश्रमको बास बस्नुपर्ने हुन के बेर ! आफ्नै सन्तान सडकमा भिख मागेको म हेर्न सक्दिनँ छोरा । म आफू जस्तोसुकै पीडा खप्न तयार छु, तर तिमीलाई सडकमा बोराभित्रको जिन्दगी बाँचेको हेर्न त के कल्पनासम्म गर्न सक्दिनँ । बुहारीको मन पनि नदुखाउनु है छोरा । उनी पनि कसैकी छोरी हुन्, मैले तिमीलाई जन्माउँदाजस्तै पीडा सहेर जन्माए–हुर्काएकी । हेर न, आफ्ना सबै आफन्त छाडेर सर्वस्व तिमीलाई नै सुम्पेकी छिन् ।

अन्त्यमा आज फेरि आमाको मुख हेर्ने दिन भन्ने सुनेकी छु, शरीरभरिका घाउहरु र अन्तर्मनका घाउहरु बेजोड़सँग दुखिरहेका छन् । तिम्रो बाटो हेर्दा हेर्दै मेरा आँखा थाकिसकेका छन् । मैले कालसँग पनि दयाको भिख मागेकी छु, मर्नुभन्दा अघि केवल एकपल्ट तिमीलाई हेरेरै मर्ने रहर छ । मलाई दागबत्ती दिनुपर्दैन छोरा बरु भोकाएका गिद्ध र स्यालहरुलाई खान दिनू । किनकि भोकको पीडा कस्तो हुन्छ, मलाई थाहा छ । तिमी जहाँ भए पनि काँडाले नघोचोस् । कुनै रोगले नभेटोस् । अर्को जन्म हुनेरहेछ भने तिमीलाई मेरै कोखमा जन्माउन पाऊँ, किनकि तिमीलाई मैले गर्ने मायाको धीत मरेकै छैन । तर मलाई अर्को जन्ममा घरबाट ननिकाल्नू है ।

बाटोपारि तिमीजस्तै अनुहार देखिरहेकी छु, तिम्रो आगमन महसुस गरिरहेकी छु छोरा । आमा हुँ नि म । मलाई थाहा छ, तिमी दुनियाँको लाजले होइन, मेरै मायाले डोहो¥याएर आउँदै छौ । तर मेरो एक मुठी प्राण जानै लाग्यो छोरा । कहीं कतै मलाई मरेकै देख्यौ भने पनि आँसु नझार्नू है, म मेरो आफ्नै मुटुको टुक्रा रोएको देख्न सक्दिनँ । बस् मलाई एकपटक आमा.. मात्र भन्नू, मेरो आत्मले शान्ति पाउनेछ । अर्को जुनीमा भेट्ने आशामा मृत्यु कुरिरहेकी छु ।’

Related News

सम्बन्धित समाचार

hero news full width