स्वास्थ्य जीवनका लागि ऋतु अनुसार खानपान

कल्याण पन्त
असार ११, २०७६

बिहान ताम्रपात्रमा राखिएको पानी खाली पेटमा पिउनु पर्दछ। अपरान्हपछि दही खानु स्वस्थकर हुन्न। यति मात्र होइन, ऋतुअनुसारका खानपानका पनि आफ्नै नियम विधिविधान छन्, जुन ऋतुमा जे फल्छ त्यही खानु हितकर हुन्छ। अन्य ऋतुमा फलेका कोल्ड स्टोरबाट झिकिएका फलफूल पनि त्यति फाइदाजनक मानिन्न।

आधुनिक युगका वैज्ञानिक चमत्कार र विभिन्न भोग विलासका कारण हरेक मानिसका दिनचर्या जटिल बन्दै गइ रहेको छ। खानपानमा होस् या अनि सुखानुभूतिमा मानसिक शान्ति र शारीरिक स्वस्थ्य दिनप्रति गिर्दो अवस्थामा छ। प्रविधिले ल्याएका विलासिता, व्यस्तता या इन्द्रिय लोलुपताले पनि मानवमा उत्तिकै मानसिक तनाव र शारीरिक कष्ट बढाइरहेका छन्। आजभोलि सहज स्वभाविक गुण– प्रेम, सहानुभूति, सेवा, सद्भाव आदि क्रमशः लुप्त अवस्थामा गइरहेका छन् भने घृणा, भय, ईष्र्या, राग–द्वेष आदि तीव्रतर रुपमा बढिरहेका छन्। शरीर रक्षाको लागि मुख्य रुपले सात्विक, सुपाच्य, सुस्वाद र पौष्टिक खानेकुराको आवश्यकता पर्दछ। रोग दूषित जल, विषम भोजन, दिनमा शयन, रात्रिमा जागरण, मलमूत्र रोक्ने गर्नाले लाग्दछ। सहज जीवनयापनले शरीरलाई अल्छी बनारहेको छ। तर स्वस्थ्य जीवनका लागि वर्षभरको एकनासको खानपानमा मात्र निर्भर गदैर्न। जीवन ऋतु अनुसारको खानपानमा पनि अडेको छ।

सुखसयल र सोचाइले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शरीरमा प्रभाव पार्दछ। पीर चिन्ता भएको बेलामा पाचन प्रणालीबाट उत्सर्जित केही हमोर्नले पेटमा केही गडबडी निम्त्याउछ। आहारविहार तथा रहनसहनका अनियमिताले मात्र निरोगी बन्न सकिन्न। असंयमले पनि विभिन्न रोगव्याधि जन्माउछ। प्राचीन कालमा परम्परागत संयमित आहार विहारयुक्त नियमपूर्वक जीवनयापन पनि स्वस्थ्य जीवनका सर्वोत्तम उपाय मानिन्थ्यो तर आजभोलि यसप्रति ध्यान दिइएको पाइदैंन। समयमा खाइएको खानपानले स्वस्थ्य रहन निकै ठूलो भूमिका खेल्दछ। बिहान, बेलुकी साँझमा खाइने कुन खानेकुराले फाइदा पुर्याउँछ, यसबारेमा हेक्का राख्नु जरुरी हुन्छ। बिहान ताम्रपात्रमा राखिएको पानी खाली पेटमा पिउनु पर्दछ। अपरान्हपछि दही खानु स्वस्थकर हुन्न। यति मात्र होइन, ऋतुअनुसारका खानपानका पनि आफ्नै नियम विधिविधान छन्, जुन ऋतुमा जे फल्छ त्यही खानु हितकर हुन्छ। अन्य ऋतुमा फलेका कोल्ड स्टोरबाट झिकिएका फलफूल पनि त्यति फाइदाजनक मानिन्न।

ऋतु परिवर्तनले शरीरमा पनि त्यही अनुसारको प्रभाव पार्दछ। आयुर्वेदमा ऋतुचर्या, दिनचर्या र रात्रिचर्याको बारेमा वर्णन गरिएको छ। ऋतु अनुसार नियमपूर्वक जसले भोजनादि ग्रहण गर्दछ, ऊ सदासर्वदा स्वस्थ्य रहन्छ भन्ने आयुर्वेदशास्त्रको मान्यता छ। प्राकृतिक शीतोष्णादि सम्पूर्ण कालका ऋषिमुनिले बाह्य वातावरणलाई गहिरोसित अध्ययन गरेर खानपानका नियम बनाएका छन्। वर्ष दिनमा दुई अयन हुन्छन्, उत्तरायण र दक्षिणायन। उत्तरायणमा पूर्वपट्टिको डाँडाबाट उत्तरतिर सूर्य सर्दै जान्छन्। उत्तरायणमा रात छोटो र दिन लामा हुँदै जान्छन्। सूर्यका किरण चर्को हुँदै जान्छ। यो माघको १ गतेबाट सुरु हुन्छ। अधिक गर्मीको बेला यही अवधिमा हुन्छ। दक्षिणायनमा रात लामो र दिन छोटा हुँदै जान्छन्। चन्द्रमाका शक्तिको प्रवलता यस समयमा अधिक हुन्छ। यो अवधि ६/६ महिनाको हुन्छ। माघ, फागुन, चैत, वैशाख, जेठ, असार उत्तरायण समय हो भने बाँकी साउन १ गतेबाट दक्षिणायन सुरु भई भदौ, असोज, कार्तिक, मंसिर र पुस महिनामा अन्त्य हुन्छ। एक अयनमा ३ ओटा ऋतु हुने भएकोले दुईओटा अयनमा ६ ओटा ऋतु हुन्छन्। ऋतु अनुसारको खानपान सम्बन्धी गतिविधि यस प्रकार छन्ः

वसन्त ऋतु (चैत–वैशाख)

वसन्त नाना प्रकारका पुष्पहरुद्वारा सुशोभित ऋतु हो। यस बेला न जाडो, न गर्मीको रमणीय अवस्था हो। यस अवस्थामा हावाहुरी पनि चल्ने गर्दछ, वातावरण अस्थिर प्रकारको हुन्छ। शीतल मन्द सुगन्ध पवन मलयाचलबाट प्रवाहित हुन्छ। खोलानालाहरु स्वच्छ हुने, जलको मात्रा कम हुने, पतझर रुखका पातहरु झर्ने, मुना पलाउने, चराचुरुङ्गीहरु रमाउने यस बखतमा देखिन्छ। यस ऋतुमा प्रातः भ्रमण अत्यन्तै लाभदायक छ। त्यसरी नै हल्का योगासन, व्यायाम, मालिस र मनतातो पानीले स्नान गर्नाले शरीरलाई फाइदा पुर्याउँछ। यस अवधिमा मधुर, अम्ल, स्निग्ध तथा गरिष्ठ खानेकुरा (ढीलो पच्ने खानेकुरा), शीत द्रव्य, दही खान बर्जित छ। यसबाहेक अति पौष्टिक, नयाँ अन्नद्वारा बनेका खानेकुरा, चिल्लो, गुलियोबाट बनेका भोजन पनि शरीरका लागि हानिकारक हुन्छ।

ग्रीष्म ऋतु (जेठ–असार)

यस ऋतुमा सूर्यको प्रचण्ड ताप हुने भएकोले वातावरणमा आद्र्रता (चिसोपन) को कमी हुन्छ। चन्द्रमामा रोशनी कम हुन्छ। रात छोटा र दिन लामा हुने हुँदा पाचन शक्ति मन्द हुन्छ। पौष्टिक तत्वको पाचन र अवशोषण कम हुन्छ। शरीरमा वायु सञ्चित भएर विभिन्न खालका रोग लाग्ने अवस्था हो। जीव तथा वनस्पति सबैमा जलतत्व क्षीण हुन्छ। यस ऋतुमा जौ, गहुँ, चामल, मटर, रहर, कैँडो काँक्रा, तरबुजा, परवल, मधुर रसयुक्त, स्निग्ध, शीतल, सुपाच्य खानेकुरा सेवन गर्दा फाइदा हुन्छ। मिस्रीयुक्त दूध, दही, मिस्री, सर्बत आदि सेवन गर्नु राम्रो हुन्छ तर बढी चिल्लो, गुलियो तथा गरिष्ठ भोजन, तारेका, भुटेका, मसलादार र तातो खानेकुरा, वासी खानेकुरा, अमिलो र धेरै दिनको दही, माछा, मासु, अण्डा जस्ता मासाहार, पिरो, अमिलो र नुनिला स्वादका पित्त कुपित गर्ने खानेकुरा ग्रीष्म ऋतु खान हुँदैन। त्यसरी नै मासको दाल, लशून, अमिली, भण्टा, रायोको साग, तिल, सस्र्युंको तेल जस्ता खाद्यवस्तु पनि खानलाई वर्जित छ। यसबाहेक जाँड, रक्सी या अल्कोहल भएका पेय पदार्थ पनि पिउन वा खान हुँदैन।

वर्षा ऋतु (साउन–भदौ)

यस ऋतुमा सर्वत्र हरियाली र आकाश मेघाच्छन्न रहन्छ। दूषित जल र वाष्पयुक्त वायुले पाचन प्रणालीमा प्रभाव पार्दछ। जल, वायुको मलिनताले पित्तमा असर पार्दछ। शरीरमा हुन जान अग्नि (ताप) तत्वमा केही गडबड हुनजान्छ र कफ कुपित हुन्छ। यसो हुँदा पुरुषमा विभिन्न प्रकारका रोगले आक्रमण गर्ने हुन्छ। वर्षा कालमा अग्निवद्र्धक पदार्थको सेवन, वातनासक तथा पाचक औषधिले विरेचन गर्नुपर्छ। मूगी आदिका रस, पुराना जौ, गहुँ, षडरस, दहीको जल, वीरेनुन, पिपली, पिप्लामूल मिलाएर खाँदा फाइदा हुन्छ।

तातो दूध, करेला, कागती, अञ्जीर, खजूर आँप, परवल, सिधेँनून, सुठो आदि खानु राम्रो मानिन्छ। पचाउन गाह्रो पर्ने खानेकुरा, तारे, भुटेका, मसलादार खानेकुरा, अमिलो, पिरो खानेकुरा खान हुँदैन। अझ भदौ महिनामा पित्त कुपित हुने भएकोले यस प्रकारका खानेकुरा खानै हुँदैन्। यस ऋतुमा घाम अस्ताएपछि खानेकुरा खानु राम्रो मानिन्न। कलिलो काँक्रो, सागपात, करेला खानु पनि त्यति लाभादायक छैन। त्यसरी नै सातु, मैदा र वेसनका परिकार, चना, रहर, मसुरोबाट बनेका खानेकुरा पनि नखानु राम्रो हुन्छ।

शरद ऋतु (असोज–कार्तिक)

यस ऋतुमा सूर्यवर्ण पहेंलो र उष्ण हुन्छ। आकाश नीलो र सेतो बादलले ढाक्दछ। दक्षिणायन सूर्य हुने हुँदा सूर्य किरण तेज कम हुँदै जाने र चन्द्रमा तेज बलवान हुने अवधि हो। यस अवस्थामा चन्द्रमाले पोषण दिने काम गर्दछ। आयुवेर्दिक भाषामा भन्दा सूर्य किरण शोधक, रोगरक्षक र मलनासक गुणयुक्त हुन्छ भने चन्द्र किरण पोषक हुन्छ। ज्वरो आउने सम्भावना बढी रहन्छ भने पित्तको मात्रा बढी देखिन्छ। धेरै पिरो र अमिलो स्वादका खानेकुरा, चिल्लो तथा तारे, भुटेका र मसलादार र गरिष्ठ भोजन खान यस समयमा वर्जित छ। मध्यान्हपछि दही या दहीबाट बन्ने परिकार पनि खान हुँदैन।

हेमन्त ऋतु (मंसिर पुस)

तुषारापात हुने समय हेमन्त ऋतु हो। धुलोको प्रकोप चारैतिर रहन्छ। प्रातः कालमा भोजन, ताजा अन्न, न्याना नरम वस्त्र, अग्निको सेवन, कठोर श्रम, तेल मालिस, केसर कस्तुरीको लेप यो ऋतुमा हितकर हुन्छ। यस अवधिमा हल्काफुल्का छिटो पच्ने भोजन विरुद्ध छ। भोकै बस्ने, चिसो पानी पिउने र धेरै चिसो पानीले स्नान गर्नसम्म हुँदैन। तारे, भुटेका, मसलादार भोजन र माछा, मासु, अण्डा खानु पनि हेमन्त ऋतुमा त्यति फाइदाजनक छैन। यस ऋतुमा शरीरको बल र आरोग्यतामा बृद्धि हुन्छ। तीतो, टर्रो स्वादका खानेकुरा, केरा, आलु आदि खान अहितकर छ।

शिशिर ऋतु (माघ–फागुन)

यस ऋतुको लक्षण हेमन्त ऋतु समान देखिन्छ तापनि यस ऋतुमा वायु र वर्षाले आकाश आच्छादित रहन्छ। शीत बढी मात्रामा पर्दंछ। कफको विकार यसै अवस्थामा हुन्छ। हेमन्त ऋतुमा जस्तै यस ऋतुमा पनि हल्काफुल्का छिटो पच्ने भोजन, शीतल गुण भएका या चिसो प्रकृतिका भोजन, तितो टर्रो स्वादका खानेकुरा र नयाँ अन्नबाट बनेका कुनै पनि खानेकुरा खान हुँदैन।

Related News

सम्बन्धित समाचार

hero news full width