स्वतन्त्र मधेशको हौवा र विवादास्पद सहमति

तिलक पराजुली
चैत्र १, २०७५

मधेश देशको हौवा

यो हप्ताको चर्चाको विषय सीके राउत छन्। हुन त उनी केही वर्ष गाडि देखि कुनै न कुनै रुपमा संचार जगतको सुर्खीमा चर्चा आइरहेकै हुन्। स्वतन्त्र मधेसको अभियन्ताका रुपमा उदय भएका उनी आफ्ना कर्मले भन्दा साना तथा कमजोर राष्ट्रमा उग्रताका द्वन्द्व सृजना गराएर आफ्ना स्वार्थका एजेण्डा बोकाउने विदेशी र बजारु समाचार छापेर पत्रिका विकाउने संचार जगतका कारण बढी चर्चामा आए। खासमा भन्ने हो भने, हाम्रो तराईमा उनको पृथकतावादलाई बोक्ने जनमत कहिं कतै छैन। एउटा हौवा भने उनले खडा गरेका हुन्ः यसमा दुईमत छैन।

त्यसो त नेपालको तराई टुक्र्याएर छुट्टै देश बनाउने धाक–धम्की भारतीय शासकले सनातनदेखि दिंदै आएका हुन्। एक पटक, वी.पी. कोइराला प्रधानमन्त्री छँदा भारतीय तत्कालीन प्रधानमन्त्री नेहरुले उनीसँग यस्तै धाक लगाएछन्। वी.पी. ले सपाट जवाफ दिएछन –“सक्नुहुन्छ भने टुक्र्याएर हेर्नुहोस, शेष बाँकी रहेकेा नेपाल इजरायल पश्चिम एसियाई देशसँग लडेझैँ भारतसँग लडेर टिक्नेछ।” यो प्रसंग शायद, उनको आत्मवृत्तान्तमा परेको छ। मलाई लाग्छ हाम्रा दुवै छिमेकीले एउटा देशको रुपमा पनि इजरायलको अस्ितत्व स्वीकार नगरेकै स्थितिमा वी.पी. प्रधानमन्त्री छँदा इजरायलसँग नेपालको दौत्य सम्बन्ध कायम गराएर छाडे। यसमा उनको नेहरु जवाफ प्रतिबिम्बित हुन्छ।

अरु त के, भारतमा मात्रै हैन नेपालमा पनि महापण्डित भनी आदर–सम्मान पाएका राहुल सांकृत्यायनले – “नेपालका पहाडिया शासक मधेशका जनतालाई उपनिवेशको व्यवहार गर्छन” भनेर लेखेकाछन्। “नेपालकी कहानी” पुस्तकमा यसको जवाफ कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलालले “नेपाल र भारत” शिर्षकमा एउटा लेख लेखे। अंग्रेजी भाषामा लेखिएको यो लेख कलकत्ताबाट प्रकाशित हुने “फ्रन्टिएर” पत्रिकामा छापिएको थियो। यसमा उनले राहुलको उक्त अभिकथनलाई – “नेपालमा वर्ग संघर्षलाई निस्तेज पार्ने र नेपाली राष्ट्रियता विखण्डन गर्ने तथा भारतीय शासकका आँखाले नेपाल हेर्ने राहुल सांकृत्यायनको लेख माक्र्सवादी सिद्धान्त विपरीतको” भनी खण्डन गरेका छन्। पुष्पलालको यो लेखको चर्चा भारतीय लोकसभामा समेत भएको यो पङ्तिकारलाई स्मरण छ। नेपालीमा अनुदित यो लेख हाल पुष्पलालका रचना संग्रहमा प्रकाशित पनि छ।

नेपालको तराइमा विभिन्न सशस्त्र समूहहरु जन्मे, जन्माईए। एक पटक विशेश्वर गोइत लगायतका समूहहरु सवैलाई भारतीय बाह्य गुप्तचर संस्था “रअ” को सहजीकरणमा पटनामा “महासम्मेलन” आयोजना भएको पनि हो। मधेश स्वतन्त्रदेश घोषणा गर्ने र यसको राष्ट्रपति रामराजा प्रसाद सिंहलाई बनाइने भनिएछ। यो कुरा सिंहले ठाडै अस्वीकार गरे– राष्ट्रपति बन्न मानेन भन्ने समाचार पनि त्यो बेला निकै चर्चामा रहेकेा हो।

“रअ” का एक उच्च तर सेवा निवृत्त भएका यादवथरका अधिकारीले इन्दिरा गाँन्धीले नेपालको “मधेश” छुट्टै राज्य बनाउने निदेर्शन दिएको कुरा आफ्नो संस्मरणात्मक कितावमा लेखेका छन्। यो पंक्तिकारले त्यो पुस्तक पढ्न नपाए पनि त्यसका उद्धृतांशहरु नेपाली अखवारमा पढेको संझना छ।

सीके राउतलाई युरोपीयन युनियनका नेपाल स्थित राजदूतले भेट्नेगरेको र गुप्त सहयोग उपलव्ध गराएको भन्ने पनि सुनिएकै हो।

बुझ्नु पर्ने के छ भने नेपाल कसैको निगाहबाट एकीकृत र अखण्ड रहेकेा नभई हिमाल, पहाड र तराईका जनताको देशभक्तिको अटुट तथा गहिरो देश भक्तिका कारण हो भन्ने बुझ्दा यथार्थ बोध हुनेछ। र, यो पनि बुझिराख्नु पर्छ नेपालको तराई पाकिस्तानको बंगाल होइन जुन टुक्रिय र वंगलादेश होस्।

विवादित संझौता

माथिको संन्दर्भमा हेर्दा यी राउत त्यही उपक्रमसंग जोडिन आएका पछिल्ला पात्र हुन्। भनिन्छ आगो, ऋण र द्वन्द्वका झिल्का, अवशेष र प्रभाव साना भए पनि प्रकारन्तरमा खतरा जनक हुन्छन्। यस अर्थमा विखण्डनको एजेण्डा बोकेका राउत प्रकरणको अवतरण हुनु कुनै अर्थमा नराम्रो कुरा होइन। राम्रो कुरा हो।

तर, गत २४ गते सरकार र सीके राउत बीच भएको एघार बुँदे सम्झौता भने विवादास्पद रहेकेा छ। यसमा जुन किसिमका भाषा,शब्द प्रयुक्त भएकाछन् ती आपत्तिजनक पनि छन्। सहमतिको एक नम्वरमा नेपालको संविधानका वाक्यहरु हुवहु राखिएको छ। त्यो विवादरहित पनि छ। दुई नम्बरमा प्रयुक्त भएको “जन अभिमतमा आधारित लोकतान्त्रिक विधि” भन्ने कुरा विवादास्पद बनेको छ। सहमतिपत्रमा हस्ताक्षर गर्ने मध्येका एकपक्ष चन्द्रकान्त (सीके) राउतले आफ्नो फेसबुकमा “सरकारले मधेश सम्बन्धमा जनमतसंग्रह स्वीकार गरेको” भनी सम्प्रेषण गर्ने र सोही संझौताका अर्कापक्ष गृहमन्त्री थापा तथा संझौता कार्यक्रममा विशेष उपस्थिति जनाएका प्रधानमन्त्रीले जनमतसंग्रहको अर्थमा प्रयोग भएको होइन भन्नुले यो सहमति भ्रमपूर्ण रहेको सहजै बुझ्न सकिन्छ।

सहमतिको दफा चारको अन्त्यतिर “स्वशासन” को कुरा उठाइएको छ। स्वशासन अंग्रेजीको अटोनमी तथा सेल्फरुल शव्दको रुपान्तरण हो। यसको प्रयोग पनि राजनीतिक क्षेत्रमा विवादस्पद एवं बहुअर्थी, बहुरुपी छ। दफा दशमा “सरकारको तर्फबाट स्वतन्त्र मधेश गठबन्धन प्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएकाछौं” भन्ने कुरा राखिएको छ। यसको अर्थ अव सीके राउतलाई “स्वतन्त्र मधेश पार्टी गठन गरेर राजनीति गर्न सरकारले छुट दिएको हो ? यसको उत्तर पनि सरकारले जनतालाई दिनु पनेर्छ।

यो विवादमा सवोर्च्च अदालत पनि शंकाको घेरामा तानिएको छ। राज्यद्रोहको अभियोगमा पुर्पक्षको लागि थुनुवामा रहेका राउतलाई प्रधानन्यायाधीश चोलेन्द्रशंशेर आँफै रहेकेा संयुक्त इजलासले २३ गते तारेखमा रहने गरी रिहाई गर्ने र २४ गते सरकारसँग उनको संझौता हुने। यो संयोग मात्रै हो कि सेटिङमा भएको हो ? आम जिज्ञासा रहेको छ। कार्यपालिका र न्यायपालिका बीच साँठगाँठ देखियो भन्ने कुरा पनि सुनिन थालेको छ। जुन, स्वतन्त्र न्यायपालिकाको लागि र खास गरेर भ्रष्टाचार विरुद्ध आफ्नो छवि बनाउदै गरेका वर्तमान प्रधानन्यायधीशको लागि पनि स्वस्थकर कुरा होइन।

अझ केहीले त टीकापुर घटनाका अभियुक्त सांसद रेशम चौधरीलाई यो सहमतिको एक–दुई दिन अगाडि जन्मकैदको फैसला हुनु र सीके राउत तारेखमा छुटनुलाई पनि जोडेर व्याख्या गरेका छन्। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुमा यी सवै कुराको झस्काले हुनुपर्छ। यी घटना – परिघटनाकै वरिपरि नेकपाले रौतहटमा पहिलो जनसभा गर्यो। सभामा प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई ललकार्दै “भने प्रदेश दुईमा जनतालाई भ्रममा पारेर केही सिट जितें भन्दैमा, फुर्किनु पर्दैर्न। अब सीके राउत खुला राजनीतिमा आउछन्।” शब्दसः नभए पनि प्रधानमन्त्रीले सीके राउतसँग “रणनीतिक संबन्ध” नै कायम गरेकेा प्रतीत हुन्छ, उनको भाषणबाट।

अन्त्यमा

सीके राउतसँग सरकारले गरेकेा सहमति कति सार्थक, कति निरर्थक भन्ने कुरा यकीन गर्न धेरै कुर्नु पर्ने छैन। पछि पुनः विश्लेषण पनि गरौंला। तर, परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा – नाकाबन्दीलाई प्रमुख खतरा किटान गरिएको कुरा संबन्धमा केही विचार गरौं। नाकाबन्दी अवश्य पनि गम्भीर खतरामध्ये एक हो। हाम्रो राष्ट्रिय सुरक्षामा प्राथमिकताका दृष्टिले भन्ने हो भने सबै भन्दा खतरा विदेशीले सहजै पाउने नागरिकता र भारतसँगको अनियन्त्रित खुला सीमाना हो। यसलाई नियन्त्रण गरिनुपर्छ। अर्को बुझ्नुपर्ने कुरा के छ भने पूर्व–पश्चिमको हाम्रो समथर भूभाग मधेश होइन तराई हो। सन् १८१६ को सुगौली सन्धि लगायतका पुराना ऐतिहासिक दस्तावेजहरुमा तराई नै भनिएको छ। मधेश अर्थात मध्यदेश त भारतको मध्यप्रदेश हो। तराईलाई मधेश भन्ने भारतबाट प्रायोजित र आयातीत शब्द हो।

Related News

सम्बन्धित समाचार

hero news full width