स्वतन्त्रता सेनानी गडुलध्वज

झपट बहादुर थापा
असार ११, २०७६

राणाहरूको सजायहरू मध्ये गोर्खे लौरी हालेर दिनभर चर्को घाममा राखिदिन्थ्ये। अर्को सजाय थियो ठिड्कोमा हालेर दिनभर सुताई दिने, बेलुकामात्र छोडिदिने।

मौलिक स्रोत बमोजिम आफ्नै समयमा आफैले देखे जानेको घटनालाई परिस्थितिजन्य यो लेख बढाएको छु। क्रान्तिको बेला निरंकुश जाहानीया शासनको विरोधमा छाती थाप्ने वीर पुरुषको सेरोफेरोमा यो लेख आधारित छ।

विक्रम सम्वत २००६ सालपौष २४ गते तदनुसार ई.स. १९४९ जनवरी ७ शनिबारको दिन वीर पुरुषको अन्तिम दिन थियो। त्यस बेला क्रान्तिकारीहरूको आन्दोलन चरम उत्कर्षमा पुगिरहेको समयमा पोखरा भैरवटोल देखि स्व. अमृतमान शेरचन, स्व. प्रेम राजमुल्मी र स्व. चतुरमानको घर देखि उत्तरतर्फ जोसिला, प्रजातन्त्रका हिमायती स्वतन्त्रता सेनानी (क्रान्तिकारीहरू) को विशाल जुलुस हातमा चारतारे झण्डा फरफराउँदै उत्तरतर्फ बढिरहेको थियो। प्रजातन्त्रको पूर्व सन्ध्याको उक्तअन्तिम जुलुसमा पोखराका जानीमानी स्वतन्त्रताको लागि आजीवन संघर्ष गर्नेहरूमा स्व. पूर्व रक्षा साहायक मन्त्री मिनबहादुर गुरुङ्ग, स्व. अमृतमान शेरचन, स्व. प्रेम राजमुल्मी, स्व.दयाशंकर पालिखे, सुन्दरमान मर्सानी र गाउँगाउँबाट पनि धेरै स्वतन्त्रता सेनानीहरू सहभागी हुनुहुन्थ्यो।

जनताको छोराहरूलाई विश्वास नगरेर राणाहरूले आफ्ना भाइ भतिजाको सम्बन्ध भएको धनशमशेर ज.व.रालाई ३ नं. कास्की पोखराको वडाहाकिम पदमा मनोनयन गरी प्रशासक बनाएर पठाएकाथिए। वडाहाकिम धनशमशेर राणाले एकतन्त्रीय शासन र शासकको प्रत्यक्ष वा अप्रत्यक्ष खण्डन गर्नेलाई विभिन्नखाले सजाय दिन्थे। ती राणाहरूको सजायहरू मध्ये गोर्खे लौरी हालेर दिनभर चर्को घाममा राखिदिन्थ्ये। अर्को सजाय थियो ठिड्कोमा हालेर दिनभर सुताई दिने, बेलुकामात्र छोडिदिने।

पोखरा भैरबटोलबाट उँभो अर्थात उत्तरतर्फ वढिरहेको जुलुसको अग्रभागमा हिँडिरहेका सराङ्गकोट ग्यारजाती निवासी होचा कद्का फूर्तिला जंगबहादुर लामिछाने थापाको नाती दलबहादुर थापाका ३ छोरा मध्ये गडुलध्वज, टेक बहादुर तथा कृष्णबहादुर (के.वी.थापा) अविवाहित २७ वर्षीय गडुलध्वज थापाको पेटमा तत्कालीन वडाहाकिम धनशमशेर राणाको क्रूरुतापूर्वक आदेशको कार्यान्वयन गर्दै जुलुसमाथि दागिएको गोलीलागेर घाइते थापाको आन्द्रभुडी निस्केको थियो।

घाईतेलाई बजारको बीचमा अवस्थित लामो चौतारामा (हालनष्ट भैसक्यो) सुताएर जुलुस तित्तर वित्तर भएको हो। घाईतेले सामान्य औषधोपचार नपाएर ७ दिनसम्म अर्थात् २००६ साल पौष २४ गते शुक्रबार देखि माघे संक्रान्तिसम्म उक्त लामो चौतारामा तड्पेर देह त्याग गर्नुभयो। त्यसको जिम्मेवारी तत्कालीन निरंकुश सरकारले लिने कुरै भएन। जुन जुलुसमा निर्मम् घट्ना घट्यो, त्यति बेला नेपालीकाँग्रेसले सुजबुझका साथ थापाको मरणलाई पहिचान गर्न सकेन। जसको मृत्यु गल्लीको कुकुर मरेको जस्तो सोचियो।

मृतकप्रति शहीद घोषणा गर्ने कुरा छाडौं, मानवीय संवेदना समेत पाउन सक्नुभएन। २००६ सालको प्रजातन्त्रको लडाईमा गोली लागेर देह त्याग गर्ने कास्की जिल्लाको पहिलो ब्यक्ति स्व. गडुलध्वज थापा नै हुन्। भर्खर भर्खर गठन भएको देशको पहिलो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको पोखरामा अगुवाई गर्ने व्यक्तिको नाम थाहा हुन सकेन। वर्तमानमा कस्तो कस्तो व्यक्तिहरूको मृत्युलाई सम्मान गर्दे शहीद घोषणा गरिएको छ भने जुलुसमा सहभागी व्यक्तिले वन्दुकको नालबाट निस्केको गोलीबाट मृत्युवरण गर्नेलाई पोखरेली जनता र नेताद्वारा नजर अन्दाज गर्नु दुर्भाग्य मानिन्छ। यो कुरा उनका भाइ भतिजा तथा अनुसन्धनकर्ताहरूले परोक्ष तवरबाट सोधपुछ गर्न सक्नु हुन्छ।

हेर्दा अति सामान्य व्यक्तिको मानस पटलमा पनि स्वतन्त्रताको चाहना मडारिएको हुन्छ। जसबाट हामीलाई स्वतन्त्रताको खाटी बल मिल्दछ। के स्व. गडुलध्वज थापा नेताहरूको लागि बलीदानी बनेका थिए? पक्कै पनि होइन, देश र राष्ट्रको स्वतन्त्रताको लागि गडेका हैनन्। उठ्नै नसकी चौतारामा दर्दनाक मृत्यु वरण गरेको वेला उन्की बूढीआमालाई कति पीडा भयो होला? यो त जन्मदातृ आमालाई मात्र होइन, नेपाल आमालाईसमेत असह्यभयो होला। तसर्थ, उहाँको दिवंगत आत्माको चिरशान्तिको लागि राज्यबाट केही न केही हुनु पर्ने हो।

सत्तरी वर्षको विषय उठानलाई सान्दर्भिक हो होइन भन्ने कुरा पाठकको विचार र विवेकमा छाडेको छु। जसको विषयमा स्वतन्त्र सेनानी वीर पुरुष सा. गडुलध्वज थापाको नाममा कास्की मालपोत कार्यालयको स्रेस्ता अर्थात मोठमा दर्ता कायम भएको सराङ्गकोट ग्यारजाती अन्तरगतको जामुना बोटमा अहिले पोखरा महानगरपालिकाले शहीद पार्क निर्माण गर्न थालेकोले अज्ञात शहीद सा. गडुलध्वज थापाको स्मृतिमा केही गर्न सकिन्छ कि? सोचिदिनुहुनेछ भन्ने यो लेखको आशय हो।

वलिदानी स्वतन्त्रता सेनानी सा.गडुलध्वज थापाले देह त्याग गरेको ३७ दिन पछि मात्र राजा त्रिभुवनबाट प्रजातन्त्रको ऐतिहासिक घोषणा भएको थियो। जसलाई हामी फाल्गुण ७ गते प्रजातन्त्र दिवस भन्ने र मान्ने गरेका छौं।

लेखकः तत्कालीन सराङ्गकोट गा.वि.स.का अध्यक्ष हुन्। सं.

Related News

सम्बन्धित समाचार

hero news full width