स्मृतिमा संरक्षणकर्मी गोपाल गुरुङ

दिलबहादुर भट्टराई
श्रावण २१, २०७६

पञ्चासे संरक्षणमा उहांको समर्पण यतिसम्म थियो समय पाए पञ्चासे पुगेर हरेक मठ मन्दिर, धर्मशाला, बाटाघाटा, ताल तलैया सफा गर्दै हरेक खड्केरी र पाखा पखेरा अनि वस्तिसम्म पुग्ने र पञ्चासे सवैको हो बचाउनु पर्छ भन्नु हुन्थ्यो।

पहिलो पटक भण्डै २५ वर्ष पहिले पञ्चासेको काखमा रहेको खुल्ला चौरमा वृक्षारोपण गर्ने भनी संरक्षणकै विषयका कुराबाट शुरुवात भएको सामाजिक अभियन्ता गोपाल गुरुङ्गसंगको मेरो सहयात्रा उहांको अन्तिम अवस्थामा अस्पातालको शैयामा रहंदासम्म पनि पञ्चासेको संरक्षण र नमूना गन्तव्यको रुपमा पञ्चासेलाई विकास गर्ने बारेमा कुरा भएका थिए। अत्यन्त मिलनसार, मृदुभाषी र सामाजिक कार्यमा समर्पितगुरुङ्ग आज हामीविच हुनुहुन्न तर उहाँले एउटा विकट लेक (जंङ्गली क्षेत्र) पञ्चासेलाई पर्यटकीय गन्तव्यको नमूना क्षेत्र बनाउन देखाएको बाटो र पहलहरु सदासदाका लागि मेरो मनसपटलमा झल्किरहने छन्।

सादा जीवन उच्च विचारका गुरुङ्ग जहिले पनि सामाजिक कार्यमा तनमनले लाग्नु हुन्थ्यो। पञ्चासेको काम भने पछि भोक तिर्खा नै बिसेर्र लगनशील भई कार्य गर्ने गुरुङ्गले स्थानीय तहदेखि सिंहदरबारसम्म कसरी कार्य गर्ने भनेर ठूलो अनुभव गराउनु भएको छ हामीलाई। अरुको कुरा बढो धैर्यताका साथ सुन्ने र आफ्ना कुरा विस्तारै अरुलाई बुझाएर सहयोग जुटाउने काममा उहांको कुशलता थियो। सानो देखी ठूलो व्यक्तित्व जो सुकैलाई भेटेपनि छिट्टै राम्रो सम्वन्ध बनाउनसक्ने उहांको खुबीले आफ्नो क्षेत्रमा थोरै समयमा धेरै काम भएका छन्। कर्म गर्ने तर फलको आश नगर्ने उहांको विश्वासले उहांलाई विभिन्न कार्यमा सफलताहरु मिल्दै गएका थिए।

पञ्चासे संरक्षणमा उहांको समर्पण यतिसम्म थियो समय पाए पञ्चासे पुगेर हरेक मठ मन्दिर, धर्मशाला, बाटाघाटा, ताल तलैया सफा गर्दै हरेक खड्केरी र पाखा पखेरा अनि वस्तिसम्म पुग्ने र पञ्चासे सवैको हो बचाउनु पर्छ भन्नु हुन्थ्यो। साथै फेरि सरकारी कार्यक्रमहरु ल्याउनका लागि कहिले आंफै त धेरै पटक प्रतिनिधि मण्डल लिएर केन्द्रीय सरोकार वाला मन्त्रालय र विभाग वन, पर्यटन, भू-संरक्षयण, पुरातत्व विभाग, पर्यटन वोर्ड, खानेपानी तथा ढल निकास लगायत अन्तराष्ट्रि संघ संस्थामा पुग्नु हुन्थ्यो।

गुरुङ्ग माछापुच्छ्रे विकास संघमा कोषाध्यक्ष, पञ्चासे क्षेत्र विकास समितिको अध्यक्ष, नेपाल पञ्चधाम पञ्चासेको कोषाध्यक्ष तथा पञ्चासे संरक्षित वन, मूल परिषद्मा पनि अध्यक्ष तथा नैपालकै पहिलो ग्रामीण पत्रिका प्रसिद्ध पञ्चासेको सल्लाहकार पदमा रही महत्वपूर्ण संघ संस्थाको नेतृत्वदायी भूमिकामा संलग्न रही अहोरात्र सो क्षेत्रको संरक्षण र विकासमा निरन्तर सक्रिय हुनुहुन्थ्यो। स्थानीय स्तरमा संघसंस्था संलग्न रही सदा संरक्षण र सामुदायिक विकासमा सवैलाई डोर्याउंदै अगाडि लम्किरहेका गुरुङ्ग कम बोल्ने र बढी कार्य गर्ने गर्दथे।

स्नातक तहसम्मको अध्ययन गरेका गुरुङ्गले आफ्नो युवा अवस्थामा अध्ययनसंगै पर्यटन क्षेत्रमा संलग्न रहेर केही समय काम गरे पछि आफ्नो जन्म थलो तत्कालीन पहिले आर्थर गाउं पञ्चायतका प्रधानपञ्च र पछि सोही गाउं विकास समितिका गाविस अध्यक्ष पदमा निर्वाचित भई ग्रामीण विकासमा तल्लीन भई कार्य शुरु गर्नु भएको रहेछ्। उहांले स्थानीय तहको नेतृत्वमा रहंदा पनि गाउंघरमा मोटर, बिजुली, सिंचाई पुर्याउने तथा शैक्षिक सुधारका संगै संरक्षणलाई त्यतिकै प्राथमिकताका साथ कार्य गरेको पाईन्छ।

पछि देशमा राजनैतिक परिस्थितिका कारण उनले राजनीतिभन्दा माथि उठेर कास्की, स्याङ्गजा र पर्वत जिल्लाको संगम स्थल पञ्चासेलाई केन्द्रविन्दु बनाएर कार्य थाल्नु भयो। विस्तारै संरक्षणमा सक्रिय बन्दै गएका उनले पञ्चासेलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न नेपाल पञ्चधाम पञ्चासेको स्थापना गरी सो क्षेत्रमा कोटिहोम लगाउने, धर्मशाला मठ मन्दिरहरु बनाउने, गोरेटो बाटो सुधार गर्ने जस्ता कार्यहरुमा सक्रिय रहनु भयो। यसरी कार्य गर्दा यस क्षेत्रको संरक्षणको संगसंगै समग्र विकास गरी नमूना क्षेत्र बनाउन तत्कालीन जिल्ला विकास समिति तथा वन कार्यालय संग समन्वय गरी विकास बजेटहरु छुट्ट्याएर कार्य गर्न थालियो। यस प्रयासले मात्र धार्मिक, ऐतिहांसिक तथा जैविक विविधताले भरिपूर्ण क्षेत्रको एकीकृत विकास गर्न सम्भव नदेखेकोले तत्काल यस क्षेत्रको गुरु योजना बनाएर निरन्तर कार्य गर्न आवश्यक रहेको अनुभूति गरियो। त्यसपछि पञ्चासे क्षेत्र विकास समितिको स्थापना गरी झन् सक्रिय भएर कार्य गर्न थाल्नुभयो।

पछि वि.सं २०६३ र २०६४ तिर तत्कालीन नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्रालयबाट यस क्षेत्रको गुरु योजना बनाउनका लागि एक प्रतिनिधि मण्डललाई नेतृत्व प्रदान गर्दै तत्कालीन पर्यटन मन्त्रीलाई अनुरोध गरेपछि सोही मन्त्रालयको सहयोगमा तारा गाउं विकास समिति मार्फत पञ्चासे ग्रामीण पर्यटन विकास गुरुयोजना निर्माण गरियो। त्यसपछि निरन्तर पञ्चासे क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि क्रमागत बजेट केन्द्रबाटै छुटिन थाल्यो। क्रमशः यस क्षेत्रमा बाटोघाटो बनाउने, पानीको व्यवस्थापन गर्ने, धर्मशाला मठ मन्दिर बनाउने लगायत हेलिप्याड, धरहरा बनाउने, पोखरीहरुको संरक्षण गर्ने, पिउने पानीको व्यवस्थापन गर्ने अनि विभिन्न मेलाहरु व्ववस्थापनमा प्रत्यक्ष सहयोग हुन थाल्यो।

पुरातत्व विभागवाट सो क्षेत्रमा रहेको वौद्ध गुम्बाका कलात्म चित्रलाई संरक्षण गर्ने पहल समेत भएको छ। जैविक विविधाताले भरिपूर्ण यस पञ्चासेलाई खुल्ला पाठशाला ठान्ने उहांले जो कोही भेटेपछि पञ्चासेको सुन्रताको वखान गर्दै भनिहाल्नु हुन्थ्यो कि प्रकृतिको वंगैचा पञ्चासेवाट देखिने हिमाल, हरियाली वनस्पति, जडिबुटी, यहांको सुनाखरी, गुरास, गाउंबेसी, खोला, झर्ना, धार्मिक तथा ऐतिहांसिक महत्व साथै स्वच्छ अनि शान्ति भूमिका बारेमा। अनि सके पञ्चासे जाने प्रस्ताव राख्ने र मन्त्री लगायत धेरै महत्वपूर्ण व्यक्तित्वहरुलाई पञ्चासेको बखान गर्दै भावी कार्यक्रमका प्रस्ताव र आफ्नो सोंच राख्नु हुन्थ्यो। उहाले यसलाई जीवन्त चिडियाखाना पनि बनाउने सपना बोक्नु भएको थियो।

यतिले मात्र नपुगेर यस क्षेत्रको संरक्षण र विकासका लागी विभिन्न सरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी क्षेत्रको सहयोगका लागी पनि उहांले विभिन्न पहल गरेको पाईन्छ। पछिल्लो समय नेपालमै पहिलो पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन(इबिए) कार्यक्रम, हरियो वन कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम ल्याउनका लागी पनि भूमिका निर्वाह गर्दै ती परियोजना मार्फथ संरक्षण र स्थानीयको जीविकोपार्जनमा सुधार अनि जैविक विविधता संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ। साथै पञ्चासे संरक्षित वन कार्यक्रम ल्याई संरक्षणमा पनि स्थानीयको योगदान हुने र प्रतिफल पनि स्थानीयले पाउने गरी समुदायमा आधारित संरक्षित वन बनाउन पनि उहांको अहम् भूमिका रहेको पाईन्छ। शुरुमा भेट्दा निर्णय गरी वृक्षारोपण गरिएका क्षेत्र अहिले पञ्चासेकै नमूना सामुदायिक वन बनेको छ। सो वन बनाउन लगातार ७ किलोमिटर पर्खाल लगाइएको थियो जुन आजकल हामी पञ्चासे ग्रेटवाल भन्दछौ र यस क्षेत्रमा जस्तै अन्य स्थानमा पनि संरक्षित वनहरु बनेका छन्।

विगत दुई दशकदेखि पञ्चासे क्षेत्रको संरक्षण र समग्र विकासमा समर्पित संरक्षण कर्मी गोपाल गुरुङ्गलाई पञ्चासे संरक्षण पुरस्कारको नगद रु.बाईस हजार दुई सय बाईस र दोसल्ला तथा मायाको चिनो सहित सम्मान पत्रद्धार एक कार्यक्रमको आयोजना गरी सम्मानित गरिएको छ। गुरुङ्गलाई यस पुरस्कारबाट पहिलो पटक यस वर्षको विश्व वातावरण दिवसको अवसर पारेर पुरस्कार कार्यक्रमका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सांसद पदम गिरीले सो संरक्षण पुरस्कारद्वारा उहांलाई हस्तान्तरण गर्नु भएको थियो

कार्यक्रममा नेपाल सरकारका वन विभागका भूतपूर्व महानिर्देशक गौरीशंकर तिमिला, अध्यक्ष कृष्ण प्रसाद अधिकारी, संघका कार्य वाहक अध्यक्ष रामकाजी गुरुङ्ग, कोषाध्यक्ष भीमप्रसाद गुरुङ्ग, कार्यकारी निर्देशक दिल बहादुर भट्टराई, प्रज्ञाजन यलम्वर राई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। सम्मानका खांतिर कहिल्यै काम नगरेका उनलाई उहां संलग्न भएका संघसंस्थाको तर्फवाट सानो सम्मान गर्दा उहां भावविभोरहुनु भएको थियो भने साचो अर्थमा जीवनको अन्तिम क्षणमा केही हदसम्म कदर गर्न पाएकोमा हामीलाई पनि सन्तोषको अनुभूति भएको छ।

विगत ३ दशक देखि निरन्तर पञ्चासे क्षेत्रको संरक्षण तथा वरपरका ग्रामीण वस्तिहरुमा स्वास्थ्य र सरसफाई, शिक्षा, सहकारिता, संचार लगायत विशेषतः संरक्षण अनि एकीकृत सामुदायिक विकासमा समर्पित यस माछापुच्छ्रे विकास संघको संरक्षकत्व तथा व्यवस्थापनमा स्थापना गरिएको यस पुरस्कारवाट गुरुङ्गलाई उहांले अनवरत रुपमा सो क्षेत्रको संरक्षण र विकासमा पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै यस संस्थाले उक्त पुरस्कारद्धारा सम्मान गरेको हो। यिनै महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै पहिलोपटक स्थापित पञ्चासे संरक्षण पुरस्कारद्वारा पहिलो पुरस्कार गुरुङ्गलाई प्रदान गरिएको हो। यति मात्र उहांको सही कदर नभएर पञ्चासेका बारेमा उहांले देखेको सुनौलो सपना संरक्षण तथा पर्यटनको नमूना गन्तव्य बनाउन सके उहांको उचित सम्मान हुने थियो।

(लेखक पञ्चासे संरक्षित वन, मूलपरिषदका सहसचिव हुन्। सं)

Related News

सम्बन्धित समाचार

hero news full width