सेलुलाइटिसको आक्रमण सामना गर्दा

प्रा.डा. कृष्ण के.सी.
श्रावण ११, २०७९

स्वास्थ्य विज्ञानको इतिहासमा धेरै पहिलादेखि पकड जमाएर गजधम्म रूपमा बसेको व्यथा भए तापनि सेलुलाइटिसबारे मलाई हालसम्म जानकारी नै थिएन । सायद मलाई जस्तै धेरैलाई जानकारी छैन होला । यस प्रकारको व्यथा देखिएन वा देखिएको होला तर हेक्का रहेन । तर संक्रमित रोगको रूपमा हामीबीच राम्रै पकड जमाएर बसेको सेलुलाइटिस स्वास्थ्यका निमित्त निकै खतरा भएको/रहेको कुरा हालै म आफैंलाई यसले आक्रमण गरेपछि थाहा लाग्यो ।

सेलुलाइटिस भनेको छालामा बन्ने सानो खोपिल्टोको माध्यम भएर पनि किटाणु संक्रमण भई हुने छालाको भित्री भागको संक्रमण हो । अथवा सेलुलाइटिस भनेको साधारणतया छालामा हुने संक्रमण हो जसबाट संक्रमण भएको भाग सुन्निँदै र रातो (पाकेको स्याउको बोक्राजस्तो) बनाउँदै लैजान्छ । सेलुलाइटिस प्रायः खुट्टा, हात, आँखा र मुखको छेउ र गुदद्वार वरपरको भागमा संक्रमण हुँदो रहेछ । वास्तवमा सेलुलाइटिस छालाको भित्री भागमा किटाणु संक्रमणद्वारा हुने दर्दनाक संक्रमण हो । यो अचानक सुरु हुन सक्दछ र समयमा सही उपचार नभए थला पार्दछ र जीवन मरणको दोसाँधमा पु¥याउँदछ । यसले शरीरको रक्त सञ्चार प्रणालीलाई नै नकारात्मक असर पार्दै रगतका संकेतहरुलाई परिवर्तन गरी शरीरका मुख्य अंगहरुमाथि नकारात्मक प्रभाव पार्ने लक्ष्य राख्दछ । हाम्रो जस्तो पछौटे समाजमा संक्रमणको यस अवस्थामा झारफुक तथा लामा झाँक्रीको शरणमा जाने चलन छ, जुन सरासर गलत हुन्छ र अनाहकमा दीर्घ दर्दसहित ज्यान पनि जान सक्छ ।

यही २०७९ साल आषाढको अन्तिम हप्ता २६ गते बेलुकाबाट शरीर गह्रँुगो, ज्वरो आउने हो कि जस्तो, कतै करकर खाने, घरीघरी सिल्का हान्ने, शरीरमा आलस्य पैदा गर्ने, खानातर्फ अरूचि बढ्ने र क्रमशः बढ्दै जाने जस्ता लक्षणहरु महसुस हुँदै गयो । देब्रे खुट्टाको गोली गाँठा वरपरदेखि तिघ्रा र पाइतालातर्फ सुन्निदै जाने समेतको लक्षण देखा पर्न गयो । बिहान प्रायः ४ बजे उठ्ने गरेको भए तापनि २७ गते बिहान उठ्नै नसकेर साढे बाह्र बजेसम्म सुतिरहें । उठ्न, खान, बोल्न मन/जाँगर केही छैन ।

तैपनि छुटाउनै नसकिने बैठकका कारण जबरजस्त उठेर स्नानादि कर्म गरी रुचेको खाएर आलस्यले भरिएको शरीर लिएर बैठकसम्म पुगे । सकिनसकी आफ्ना विचारहरू राखे । अस्वस्थ्यताबारे केही पनि बोलिनँ । त्यसपछि एक जना मित्रको विद्यावारिधिसम्बन्धी अन्तिम प्रस्तुति तयारी गर्ने सम्बन्धको पूर्वाभ्यास प्रस्तुति कार्यक्रम थियो । त्यसमा पनि आफूलाई लागेका विचारहरू राखेर साँझ अँध्यारोमा घर फर्कंे । घर पुग्नु पहिले आफूले सदा औषधी किन्ने औषधी पसलमा गएर रक्तचाप मापन गराए । रक्तचाप सामान्य नै थियो । मेडिकलका भाइको सल्लाहअनुसार पारासिटामोल खाएँ । त्यसबेलासम्म देब्रे खुट्टाको गोलीगाँठो वरपर र तिघ्रा तथा पैतालातर्फ थप सुन्निँदै गएको थियो तर दुख्ने चिलाउने केही भएको थिएन । अस्वस्थता र आलस्यले भरिएको भारी अवस्थामा खाना खाने सामान्य औपचारिकता पूरा गरेर सुतेँ । रात सहज रहन सकेन । २८ गते बिहान ८ बजे फेरि पनि छुटाउन नसकिने प्रकारको बैठक भएकाले करले उठेर त्यसतर्फ लागे ।

त्यो बेलासम्म देब्रे खुट्टाको गोली गाँठाको वरपरको भागदेखि तलमाथि करिब घुँडासम्म बढी नै सुन्निदै आयो । सँगसँगै छाला रातो पनि भयो । तर कतै पनि घाउ फोडा फँुसी केही पनि छैन । बैठकमा कुर्सीमा खुट्टा झुण्ड्याएर बस्दा त झनै सुन्नियो र सुन्निएको भाग कडा हुँदै गयो । घर आएर खाना खाने सामान्य औपचारिकता पूरा गरेपछि अलि अप्ठेरो भएकै देखेर छोरीले अस्पताल जाऊँ भनिन् । मैले पनि जानै पर्ने ठानेर आफूले सदा स्वास्थ्य परामर्श लिने गरेको प्राडा बुद्धिबहादुर थापालाई फोन गरें र बेलुकाको समय मागें । उहाँले बेलुका व्यस्त छु, भोलि भेटौँ भन्ने जवाफ दिनुभयो । मैले भनें, मेरो त देब्रे खुट्टा सुन्निएको छ के गर्ने ? भने पछि उहाँले त्यसो भए अहिल्यै एक घन्टाभित्र आउन भन्नुभयो । डा. बुद्धिबहादुर सरसर्ती हेर्नुभयो र भन्नुभयो सेलुलाइटिस भएछ । यो मेडिकल शब्द पहिलो पटक उहाँको मुखबाट मैले सुनें । त्यसपछि उहाँले तुरुन्त खाने दुई चक्की औषधी लेखिदिनुभयो र रगत, पिसाब परीक्षणका निमित्त पठाउनुभयो । फेवा सिटी अस्पतालको छालाको चिकित्सक काठमाडौँ गएको हुँदा फिस्टेल अस्पतालका छालाका चिकित्सक डा. अजय कुमारलाई फोनसमेत गरी साँझ त्यहाँ गई जचाउने प्रबन्ध मिलाइदिनुभयो । लेखेको औषधी किनेर खाएँ, रगत र पिसाब परीक्षण फेवा सिटी अस्पतालकै प्रयोगशालामा गरेँ । एक घन्टापछि रगत र पिसाबको प्रतिवेदन आयो । प्रायः सदा सामान्य रहने मेरो रगतको संकेतहरू कता कता असामान्य हुँदै गएको रहेछ । रगतको युरिया १०१ र क्रिटिनाइन १.९ पुगिसकेको र अन्य संकेतहरूमा पनि असहजतातर्फ उन्मुख हुनतर्फ लागेको पाइयो ।

संक्रमित रोगको पकड जमाएको सेलुलाइटिस स्वास्थ्यमा निकै खतरा भएको म आफैंंलाई आक्रमण गरेपछि थाहा लाग्यो

पूर्व सल्लाह अनुसार साँझ ४ बजे फिस्टेल अस्पतालका छालाका चिकित्सक डा. अजय कुमारलाई भेटियो । उहाँले पनि सुन्निएको खुट्टा र प्रतिवेदन सरसर्ती हेर्नुभयो र सेलुलाइटिस ठह¥याएर केही एन्टिबायोटिक औषधी लेखिदिनुभयो । उहाँले भर्ना भएरै नसाबाट औषधी लिनुपर्ने हुन सक्दछ भन्नुभयो । खुट्टालाई अग्लो गरी राख्ने सल्लाह दिनुभयो । व्यथाको बारेमा ज्यादा व्याख्या गर्नु भएन औषधी खाएर भोलिपल्ट भेट्ने सल्लाह दिनुभयो । उहाँले लेखेअनुसारको औषधी किन्न लाग्दा सोही अस्पतालकै फिजिसियन डा. दिपेश कार्की संयोगले भेट हुनुभयो । उहाँ मेरो भान्जीज्वाँइ हुनुहुन्छ । उहाँले बढी चासो लिएर हेर्नुभयो र सेलुलाइटिस भएछ मामा एउटा अतिरिक्त परीक्षण पनि गर्नुपर्दछ आउनुहोस् भन्नुभयो । २९ गते साँझ गएर डा. अजयलाई पुनः देखाएँ । उहाँले रगत परीक्षणका निमित्त लेख्नुभयो । रगत परीक्षणमा रगतको युरिया ५६ मा झरेको र क्रिटिनाइन पनि १.८ मा घटेको प्रतिवेदन प्राप्त भयो । सो प्रतिवेदन हेरेर डा. अजयले भर्ना नै गर्नुपर्ने हो तर रगत सुधारोन्मुख भएकाले सोही औषधी खानु पर्सि ३१ गते आउनु भनी पठाउनु भयो । सोहीअनुसार घर फर्कियो । डा. दिपेशलाई भेट्ने अनुकूल रहेन ।

औषधी खाँदै आरममा नै थिए तर खुट्टा सुन्निन र रातो हुन कम भएन । शरीर पनि भारी नै रह्यो । व्यथा केही रोकिए जस्तो मात्र भयो तर हल्का भएन । त्यसर्थ ३० गते दिउँसो पुनः अस्पताल गएर डा. दिपेशलाई भेटें । उहाँले अविलम्ब भर्ना भएर नसाबाट औषधी लिनु पर्ने सल्लाह दिनुभयो । भर्ना जुन अस्पतालमा भए पनि हुनुहोस् तर औषधी नसाबाट नै चढाउनु पर्दछ भन्ने कुरामा उहाँको जोड रह्यो । मैले पनि सामान्य बन्दोबस्तीका कुराहरू मिलाई सकेसम्म साँझ नभए भोलिपल्ट ३१ गते बिहान सबेरे भर्ना भै उपचार गर्ने निधो सुनाइ घर फर्कें । बेलकुा उहाँलाई पुनः फोन गरेर भोलिपल्ट बिहान सबेरै फिस्टेल अस्पतालमै भर्ना हुने निधो उहाँलाई सुनाएँ । उहाँले कुनै समय अस्पतालको संकटकालीन कक्षमा आइ फोन गर्नु तुरुन्त उपचार सुरु गराइ दिन्छु भन्नुभयो । सोही सल्लाह अनुसार ३१ गते बिहान ८ः३० बजे अस्पताल गएर डा. दिपेशलाई भेटियो । उहाँले तुरुन्त भर्ना गरी नसामार्फत् उपयुक्त एन्टिबायोटिक औषधी सुरुआत गराउनुभयो । पुनः रगत परीक्षण गरियो । रगतमा क्रमशः सुधार देखियो । रगतका संकेतहरू सीमाभित्र आए र उपचार प्रभावकारी बन्दै गयो । फलतः शरीरमा सकारात्मक परिवर्तन देखापर्न थाल्यो । त्यस बीचमा छाला चिकित्सक डा. अजयकुमार, डा. वसन्त ताम्राकारले समेत सबै स्वास्थ्य प्रतिवेदनसहित सबै स्वास्थ्य संकेतहरू होसियारीपूर्वक हेर्नुभयो । त्यस बीचमा प्राडा बुद्धिबहादुर थापाले पनि पटकपटक फोनमार्फत् स्वास्थ्य अवस्था र रगत परीक्षण नतिजाबारे सोधपुछ गरिराख्नुभयो ।

स्वास्थ्यमा सकारात्मक नतिजा आएकोमा उहाँले पनि खुसी व्यक्त गर्दै जानुभयो । यसरी असार ३१ गते भर्ना भएर ३२ र साउन १ गतेसम्म आइपुग्दा रगत परीक्षणमा पनि यथेष्ट सुधार (रगतको क्रिटानाइन १.३ र अन्य संकेतहरू सबै सामान्य) भएको र खुट्टा सुन्निन पनि कम हुँदै गएकोले बाँकी उपचार खाने औषधीको निरन्तरतालाई कायमै गरी अस्पतालबाट १ साउन २०७९ मा डिस्चार्ज भएर घरमा आइ आराम गर्न थालें । सेलुलाइटिसको अचुक र तीव्र आक्रमणको गति उपचारको अचुक प्रतिरोधद्वारा सामान्य हुँदै गएर निको हुनेतर्फ उन्मुख रह्यो । यद्यपि खुट्टाको प्रभावित भाग हल्का सुन्निने र छालाको रङ रातो रहने क्रम अझै छ । चिकित्सकहरूको बोर्डले (डा. वसन्त ताम्राकार, डा. अजय कुमार, डा. माधव पराजुली र डा. दिपेश कार्की) ठहर्‍याएर बाँकी उपचारको निमित्त औषधी निक्र्र्याैल गरी बिदा गर्नुभएको हो । चिकित्सकहरूको टिमले उपचारमा जुन प्रकारको गाम्भीर्यता प्रदान गर्नुभयो त्यसको निमित्त म नतमस्तक छु । कृतज्ञ छु । धन्यवाद ज्ञापन गर्छु ।

व्यथाको समयमा पहिचान र उपयुक्त निदानको मापन नै गर्न नसकिने महत्त्व रहँदो रहेछ । जुनसुकै व्यथा पनि आफैंमा ठूलो हुँदो रहेछ । नत्रभने सेलुलाइटिसले सुरु गरेको सो युद्धमा मलाई पराजित गर्ने सबै रणनीतिक तानामाना तथा जाल यसले मिलाई सकेको रहेछ । तर सबै संयोग, चिकित्सकहरूको अपूर्व चिकित्सकीय सोच र उपचार, घरपरिवार तथा सम्पूर्ण इष्टमित्रहरूको गहिरो सद्भाव र सहयोग, त्यस्तै गीता मन्दिर योग केन्द्रका सबै साधक साधिकाहरुको सद्भाव र शुभकामनाले निको भई पुनः स्वास्थ्य हुनसकें । आफूलाई धन्य सम्झेको छु । सेलुलाइटिसको आक्रमणको यस अवधिमा पनि योग प्राणायाम अभ्यासलाई निरन्तर कायम राखें । साथै स्वास्थ्यसम्बन्धी यस परिघटनाबाट उपचार सम्बन्धमा पाठ लिन र सिक्न पनि उपयोगी हुन सक्ने यथेष्ट आधार प्राप्त भएको कुरा महसुस गरेको छु । पूर्व सचेतना र उपचार कै निमित्त उपयोगी होला भनेर यो लेख तयार गरी प्रकाशित गर्ने जमर्काे गरेको हो । सरोकारवालालाई उपयोगी भएमा धन्य सम्झनेछु । धन्यवाद ।

Related News

सम्बन्धित समाचार

hero news full width