सृष्टि चक्रको रहस्यमय रात्रि

ब्र.कु. शैलेषराज बराल
फागुन २०, २०७५

मनुष्य सृष्टिरुपी वंश वृक्ष विस्तार हुने क्रममा अर्थात् मानव सभ्यताको इतिहासमा कुनै पनि अनौठो, अद्वितीय वा चामत्कारिक घटना घटित हुन्छ भने समाजका सक्रीय विद्वद वर्गहरु, चित्रकार, कथाकार वा मूर्तिकारहरुले त्यस घटनालाई दर्शाउन त्यसैको यादगारमा आ–आफ्नै शैलीमा साहित्य, चित्रकला, मूर्तिकला, नृत्यकला मार्फत आलंकारिक र रमणीय प्रस्तुतिहरु समाजमा पस्किएका हुन्छन् । ती साहित्य र कलाहरुको पछाडि अति नै गहन आध्यात्मिक भाव र वैज्ञानिक कारण पनि लुकेका हुन्छन् । समय वित्दै जाँदा सैयौं वर्ष पछि त्यो घटनाको यथार्थ र सम्पूर्ण विवरण विस्तारै लोप पनि हुँदै जान्छ । जे जति अलंकारहरु घटनाको प्रतीकात्मक रुपमा प्रस्तुत भएका थिए तिनै कुराहरु नै सबैको आकर्षणका केन्द्र बन्छन् र संस्कृतिको रुपमा मूल स्थान प्राप्त गर्छन् । जब संसारमा चारै तर्फ वायुमण्डल र वृत्तिमा नकारात्मकता, पतीतपना तमोप्रधानताको फोर्स अधिकतम भएको समय आउँछ त्यसको प्रभावबाट त्यो संस्कृति पनि अछुतो रहन सक्दैन । अनैतिक, अमार्यादित र गैरकानूनी काला कर्महरुले पनि यसै अवसरमा सफेद खोल ओड्न पछि पदैर्नन् । अजन्मा शिवको जन्म जयन्ती शिवरात्रि जुन रुपमा अहिले संसारभरी मनाइन्छ यो त्यही तमोप्रधान समय र तमोप्रधान वायुमण्डलको विकृत रुप हो भन्दा पनि अतिशयोक्ति नहोला ।

एक गुप्त रहस्य

सनातन संस्कृतिमा जति पनि कथा, किंवदन्ती र अनुश्रुतिहरु लेखिएका छन् ती विश्व इतिहासमा केही विशेष घटना घटेपश्चात लेखिएका वृत्तान्तहरु हुन् । कुनै घटनाको हामी प्रत्यक्षदर्शी बनेका छौं भने पनि १०—१५ दिनपछि घटनाको विवरण अन्य कहीँ सुनाउँदा त्यो भनाईको शैली र तथ्यमा केही भिन्नता अवश्य आइहाल्छ भने अकोर्तिर श्रेताको सुनाई र बुझाईले अझै घटनालाई कहिलेकाहीँ उल्टो रुप पनि सम्प्रेषण गरिरहेको हुन्छ ।

शिवरात्रि वास्तवमा मानव इतिहासमा अति अधर्म र तमोप्रधानता छाएको अज्ञानरुपी कालो रात्रिको समयमा अर्थात् कलीयुग र सत्ययुगको संग्राम संगमकालमा आत्मा र परमात्मा बीच भएका घटना र क्रियाकलापहरुको स्मरणोत्सव हो ।चक्रीय रुपमा घुम्ने सृष्टिको अन्तिम चरण, घोर कलियुगमा परमात्मा शिव धर्तीमा अवतरित भएको घटनाको प्रतिनिधि नै वर्षको करिब अन्तिम मासको कृष्ण पक्षको १४ औं काल रात्रिको अघिल्लो दिनमा यो पर्व मनाइनुको रहस्य हो ।

किन मनाउनु आवश्यक छ शिवरात्रि  ?

शिवको अलौकिक दिव्य अवतरणको स्मरणोत्सव मनाउन अति आवश्यक छ किनकि सृष्टिका सवोर्च्च हस्ती परमशक्ति परमात्मा शिवबाट संसारमा तिनै महान आत्माहरुले जन्मौँ जन्मसम्मका लागि सुख, शान्ति, शक्ति र समृद्धिको जन्मसिद्ध अधिकार प्राप्त गर्ने पात्रता प्राप्त गर्छन् जसले यो शिवरात्रिको यथार्थ घटनालाई बोध गर्छन् ।

संसारमा भौतिक उन्नति चरम सीमामा पुगेतापनि सच्चा मनको सुख, शान्ति र शक्तिको खडेरी बढ्दै गइरहेको अवस्थामा जुन सत्ताबाट जन्मौंजन्मका लागि सच्चा सुख, शान्ति र पवित्रताको जन्मसिद्ध अधिकार सहजै प्राप्त हुन्छ उहाँको सत्य परिचय जन जनलाई दिएर सबैको सम्बन्ध उहाँसँग जुटाउनको लागि पनि शिवरात्रि जति सकिन्छ भव्यतापूर्वक मनाउन आवश्यक छ । गहन विचार गर्दा शिवरात्रि मनाउन पर्ने निम्नउल्लिखित मुख्य कारणहरु छन्ः

  • शिव नै परम पिता परम आत्मा हुनुहुन्छ र विश्वको इतिहासको केन्द्र—विन्दु हुनुहुन्छ
  • शिवरात्रि एक मात्र समस्त आत्माहरुका पारलौकिक पिताको दिव्य अलौकिक अवतरणको यादगार दिवस भएकोले विशुद्ध सार्वभौम पर्व हो ।
  • शिव एक मात्र सर्व गुणका भण्डार र आध्यात्मिक शक्तिका परमस्रोत ( हाइएस्ट सोर्स अफ स्पीरिच्युवल पावर , स्पीरिच्युवल पावरहाउस हुनुहुन्छ ।
  • शिव एक मात्र सर्वधर्ममान्य ज्योतिस्वरुप परमशक्ति हुनुहुन्छ र युनिभर्सल्ली एक्सेप्टेड फर्म अफ गड हुनुहुन्छ ।
  • आत्माहरुको हजारौ वर्षको आह्वान पश्चात सृष्टि चक्रमा केवल एक पटक अवतरित हुनुहुन्छ ।
  • शिव सर्वका एकमात्र सद्गतिदाता, मुक्ति—जीवनमुक्ति दाता हुनुहुन्छ।
  • शिव एक मात्र अनन्त, एकरस र अपरिवर्तनशील सत्ता हुनुहुन्छ।
  • शिव एक मात्र अजन्मा अर्थात् दिव्य जन्मधारी हुनुहुन्छ ।
  • शिव एक मात्र अपकारी माथि पनि उपकार गर्ने वाला हुनुहुन्छ।
  • शिव एक मात्र सच्चा परमशिक्षक, परम सद्गुरु हुनुहुन्छ।

शंकरको समाधिस्थ आकृति शिवको पुरुषीकरण रुप हो

(शङ्कर इज पर्सनीफाइड सीम्बोल अफ शिव)

शिव शब्द सुन्ने वित्तिकै दुई ओटा आकृति हाम्रो मानसपटलमा आउँछन् , एक पिण्डाकार प्रतिमा अर्को ध्यानमग्न शंकरको देवाकार आकृति । जब आकृति दुई ओटा छन् भने यी पक्कै नै फरक फरक हस्तीका प्रतिनिधि हुन् । तर जब आध्यात्मिकताको प्राथमिक ज्ञान आत्माको ज्ञान नै लुप्त अवस्थामा हुन्छ त्यति बेला परमात्माका केही गुण महिमाको ज्ञान भए तापनि उहाँप्रति आफनैजस्तोश्रद्धा प्रकट गर्न आफनैजस्तो दैहिक आकृतिको खोजी र अभिलाषा ती भक्तजनहरुमा हुन्छ । जसको फलस्वरुप परमात्माका गुणहरुलाई मिसाएर महान कलाकारहरुद्वारा एउटा यस्तो रहस्यमय आकृति, चित्र वा मूर्ति कल्पित हुन्छ जुन एकातिर परमात्माको गुण र कर्तव्यहरुको पौरुषीकृत रुप पनि हुन्छ भने अर्को तर्फ निरन्तर गुप्तरुपमा समाधिस्थ रहने राजयोगी आत्माहरुको सिम्बल पनि हुन्छ ।

त्यसैले शिवलिंग वा ज्योतिर्लिङगम् जसलाई रचयिता पनि भनिन्छ परमात्मा शिवको प्रतिमा हो भने शंकर परमात्मा शिवको गुण र कर्तव्यबाट सिर्जित रुप भएकोले उहाँको रचना मानिएको छ । रचयिताका गुण रचनामा विद्यमान हुन सक्छन् तर रचनालाई नै रचयिताको पर्यायवाची मान्नु वा एकै मान्नु ठूलो भूल हुन जान्छ । शिव न स्त्रिलिङ्गी हुनुहुन्छ न पुंलिङगी, त्यसैले तेस्रो नाम उहाँको प्रतिमाको लागि प्रयोग भएको छ शिवलिङ्ग । संस्कृतका प्राचीन शब्दकोषहरुमा लिङ्ग को अर्थ चिन्ह भनेर उल्लिखित गरिएको छ ।

तसर्थ निराकार ज्योतिस्वरुप सर्वशक्तिमान त्रिदेव रचयिता परमात्माको चिन्ह शिवलिंग हो । यसमा अङ्कित तीन धर्का जसलाई त्रिपुण्डी भनिन्छ यी परमात्माका तीन कर्तव्य स्थापना, पालना र विनाशका सूचक हुन् ।

शिव मानवको शारीरिक पिता होइन आत्मिक पिता हुनुहुन्छ ।

(गड शिव इज नट आवर बायोलजिकल फादर)

सृष्टि चक्रको अवधिमा आउने यो रहस्यमयी रात्रिलाई बुझ्नको लागि यो स्पष्ट रुपमा बुझ्न आवश्यक छ कि शिवलाई वा भगवानलाई कुन अर्थमा सबैले भोलानाथ शिव बाबा वा पिता मानेर याद गर्छन् । मनुष्य सृष्टिरुपी कल्प वृक्ष जसको व्याख्या श्रीमदभागवद्गीता लगायत अन्य शास्त्रहरुमा पनि भएको छ । यसको बीजरुप परमात्माका हामी भौतिक वा शारीरिक सन्तान अवश्य होइनौं न त हामी उहाँका अंश हौं । यो अर्थमा उहाँ बीज या पिता हुनुहुन्छ कि जुन अनमोल राजविद्या र राजयोगको ज्ञान उहाँले सृष्टिमा अवतरित भएर सम्प्रेषण गर्नुहुन्छ त्यसै ज्ञान—योगको आधारमा नै सृष्टिमा मूल सकारात्मक परिवर्तनहरु आउँछन् । जसरी सूर्यको पहिलो किरणबाट नै बिहानीको उदय हुन्छ, परमात्मा शिवले ज्ञानको प्रकाश सृष्टिमा बीजारोपण गरे पश्चात नै अज्ञानको घोर कालरात्रिले बिदाई लिन्छ र एक सतोप्रधान, सम्पूर्ण युगको उदय हुन जान्छ । यसरी सृष्टिमा विद्यमान सबै प्रकारका ऊर्जाहरु क्षय अर्थात् डिग्रेड हुँदै गएर संसार महाप्रलय अर्थात् एपोकालिप्स तर्फ लम्किदै गरेको अवस्थामा सृष्टि उद्धार र कल्याण कार्यका मूल संवाहक परमात्मा शिव भएको नाताले उहाँलाई रचयिता र असीमका पिता मानिएको छ ।

सृष्टि चक्रमा आत्माहरुलाई परमात्माद्वारा आफू एक भौतिक शरीर नभएर यसमा विद्यमान एक पराभौतिक सत्ता अर्थात् मेटाफिजीकल एन्टीटी रहेको र परमात्माको प्रिय अधिकारी सन्तान रहेको बोध हुने काल नै शिव पिताको रहस्यमय जन्म दिवस या रात्रि हो । शिव पिताको यही कथन र सन्देश छ कि आफूलाई देहरुपी वस्त्र मान्नु या देहभान र देह अभिमानको वशीभूत हुनु नै सबैभन्दा ठूलो भ्रम हो र सबै समस्याहरुको बीज हो । तसर्थ सृष्टि परिवर्तनको यो संवेदनशील घडी संगम युगमा स्वयंको दिव्यीकरणका लागि आफूलाई देहबाट अलग एक शान्त र पवित्र स्वरुप दिव्यज्योति आत्माको चेतनामा निरन्तर राखिरहनु र परमशक्ति ज्योतिरुप परमात्मासँग बुद्धियोग लगाउनु नै शिवरात्रिको सच्चा व्रत र सच्चा जागृति पनि हो ।

Related News

सम्बन्धित समाचार

hero news full width