सुख–शान्तिको चाहना

प्रेम रावत
असाेज २८, २०७६

मानिसले यो संसारमा जति पनि कार्य गर्दछ, उसले आफ्नो सुख शान्तिका निम्ति गर्दछ। उसका धारणा हुन्छन् : यदि मैले यस्तो कुरालाई हासिल गरेँ या मलाई यस्तो कुरा प्राप्त भयो भने यसबाट मेरो जीवनमा सुख आउनेछ, जीवनमा शान्ति प्राप्त हुनेछ। सारा संसारका मानिसहरू यही कुराका लागि यताउता दौडिरहेका छन्। कोही छोरा होस् भन्ने चाहनाका पछि दौडिन्छन्, कोही आफ्नो व्यवसायका पछि दौडिन्छन्। कोही कुनै कुराका पछि त कोही कुनै कुराका पछि दौडिरहन्छन्।

मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ। उभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो? त्यो इच्छालाई कसले उत्पन्न गरायो? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिक रूपमा पहिलेदेखि नै छ। कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ। कतिपय कुराहरू सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ। त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन्। कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन्।

तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन्। जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो। यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन। खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ – ‘खाना खाऊ!’ सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन्। किनकि, उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फँस्न सक्छ त्यतिबेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन। त्यसकारण मानिसमा भोक जगाइयो। भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ। यो प्राकृतिक कुरा हो। यसलाई सिक्नु पर्दैन। तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ। के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो? यो स्वाभाविक तिर्खा हो। यो भित्रको तिर्खा हो। बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईँले आफैभित्र पाउनुहुनेछ, बाहिर होइन।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ। कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ। त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ? त्यो चीज, त्यो सुख हामीभित्रै छ। तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ। तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन। त्यो सुख फरक छ। यदि हामीले–‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो। बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ। आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ। मानिसहरू शान्तिको कुरा गर्छन्। भन्छन्, “विश्वमा शान्ति हुनुपर्छ। ” म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ। विश्वलाई शान्ति चाहिएको कहाँ हो र? विश्वमा को छन्? मानिस नै त छन् ! अरू को छन्?

Related News

सम्बन्धित समाचार

hero news full width