सार्कलाई पुनर्जीवन दिने चिन्ता

तिलक पराजुली
मंसिर २७, २०७६

जगजाहेर रहेको कुरा के हो भने भारत–पाकिस्तानबीचको खिचातानीले सार्क अवरुद्ध भएको हो।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) गठन भएको ३५ औं वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्रीजीले शुभकामना सन्देश दिंदा यस्तो प्रतीत भयो मानौं सख्त विरामीभएर कोमामा रहेको विरामीको जन्मोत्सव मनाईदै छ।

प्रधानमन्त्रीजीले शुभकामना व्यक्त गर्नु स्वाभाविक छ, कारण, नेपाल सार्कको अहिले पनि अध्यक्ष छँदै छ। त्यसोत, सन् २०१६ मै नेपालको कार्यकाल समाप्त भएको हो। र, सार्कको शिखर सम्मेलन हुनुपर्ने पाकिस्तानमा थियो तर भारत–पाक द्वन्द्वका कारण भारतले शिखर बैठकमा भागलिन अस्वीकार गरेकाकारण अवरुद्ध हुँदै आएको हो। त्यसैले चाँडै नै शिखर बैठक होला, नेपालले अर्को राष्ट्रलाई अध्यक्षता हस्तान्तरण गर्न पाउँला र यो अति महत्वपूर्ण, झण्डै पौने दुई अर्ब जनताको प्रतिनिधित्व गर्ने सहयोग र सहकार्यको आशापुञ्ज यस क्षेत्रीय संगठनले नवजीवन पाउँला भन्ने आशा क्षीण हुँदै गएको छ।

हाम्रो तराईमा एउटा उखान प्रचलित छ–त्यहाँको स्थानीय भाषामा। उखान भन्छ–‘मरै छि न जीयै छि, ह्याकर–ह्याकर करै छि। ’ मरेको भनौ ह्याकर ह्याकर गरेको छ, प्राण छँदै छ, जिउँदो भनौं अब उठ्ने वौरने आशा पनि छैन। यो स्थिति छ–सार्कको। यो क्षेत्रीय संगठनलाई कन्तविजोग बनाउने अरु कोही नभएर भारत सरकार हो। यसका प्रधानमन्त्री मोदी हुन्। हुनत, सार्क डे (दिन) मा मोदी आँफैले पनि शुभकामना वक्तव्य जारी गरे तर त्यसमा पनि पाकिस्तान लक्षित आतङ्कवादको कुरा नै उठाएका छन्। सार्कलाई गतिशील बनाउने कुनै संकेत छैन।

सार्ककै उपलब्धि हो–साउथ एशियन गेम्स (दक्षिण एसियाली खेल) जसलाई छोटकरीमा साग भन्छौं। सार्कको ३५ औं स्थापना दिवश हुँदा नेपालमा सागको १३ औं खेलकुद प्रतियोगिता चलिरहेको थियो। गत मंगलबार समापन भएको यो खेलमा काठमण्डौंको रंगशालामा सार्क मुलुकका खेलाडीहरु आ–आफ्ना राष्ट्रिय झण्डा सहित मार्चपास गरेको हेर्दा नीलगगनमा सप्तरंगी इन्द्रेनीले शोभा बढाए जस्तो देखिन्थ्यो। र, कल्पना गर्नसकिन्छ यही स्वस्थ प्रतिस्पर्धा र एकताका साथ सार्क क्षेत्रका राष्ट्रहरु हार्दिकताकासाथ काम गर्ने हो भने दक्षिण एसियालाई रोग, भोक र अशान्तिमुक्त क्षेत्र बनाउन नसकिने कुरै छैन।

दक्षिणपूर्वी एसियाका राष्ट्रहरुको संगठन आसियान शुरु गर्दा थोरै देश थिए। अहिले दशमुलुकहरु यसका पूर्ण सदस्य छन्। अन्य केही पर्यवेक्षक राष्ट्र छन्। केही अगाडि थाईलैण्डको राजधानी बैंककमा सम्पन्न शिखर सम्मेलनले बृहद क्षेत्रीय आर्थिक सहकार्य (रिजनल कम्पे्रहेन्सिभ इकोनोमिक पार्टनरशीप–रिसेप)–को अवधारणा पारित गरेको छ। आसियनका सदस्यराष्ट्रहरु साथै अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, भारत र न्युजिल्याण्ड समेत सहभागी क्षेत्रीय स्वतन्त्र व्यापारको परिकल्पनालाई साकार गर्ने तर्फ अगाडि बढेको छ। चिनिया विशाल उत्पादनले आफ्ना उद्योगलाई असर पार्छ कि भन्ने भयले भारत संलग्न हुन अन्यमनस्क रहे पनि अन्य राष्ट्रहरु यो विशाल क्षेत्रीय सहकार्यमा सहमत भएका छन्। यो एक ठूलो उपलब्धि हो। विश्व अर्थतन्त्रलाई नै सरकारात्मक योगदान दिने अपेक्षा सबैले गरेका छन्।

आसियनको चर्चा याहाँ किन प्रासाङ्गिक हुन आएको हो भने सार्कको जन्म हुनुमा यो एक प्रेरणास्रोत रहेको हो। एउटा मोडेल हो क्षेत्रीय सहयोग संगठनको लागि–दक्षिणपूर्व एसियाई देशहरुको संगठन आसियान। मुख्य कुरा यही मोडेलमा सार्कलाई पनि चलाउन सकिन्छ भन्ने हो। आसियानका सदस्य देश बीच मनमुटाव भएपनि यसका शिखर बैठक प्रभावित हुँदैनन्। यस्तै गराउन सार्कको बडापत्र (चार्टर) मा परिवर्तनको आवश्यक छ। र, इच्छाशक्ति हुने हो यदि भने सार्कलाई पनि आसियनको ढाचामा लैजान सकिन्छ।

जगजाहेर रहेको कुरा के हो भने भारत–पाकिस्तानबीचको खिचातानीले सार्क अवरुद्ध भएको हो। यिनीहरुका बीच खिँचातानी र द्वन्द्व हुनाको कारण अरु केही नभएर कश्मीर हो। सन् १९४७ मा स्वतन्त्रता संगै भारत विभाजित भयो। मुस्लिम बहुलक्षेत्र पाकिस्तान भयो। हुन त भारतलाई स्वतन्त्रता दिने र देश विभाजनको बन्दोवस्त मिलाउने अंग्रेज भाईसराय माउण्टवेटनले कश्मीरका राजा हरिसिंहलाई पाकिस्तानसंग मिसिन, विलय हुन सल्लाह दिएका रहेछन्। तर जनता मुसलमान भएपनि राजा हिन्दू भएकोले उनले यो कुरा मानेन भनेर भारत विभाजनका पीडा र व्यवस्थाका प्रत्यक्षदर्शीले लेखेको पुस्तक फ्रिडम एट मिडनाईट (मध्यरातमा स्वतन्त्रता) मा वर्णन गरिएको छ।

जे भएपनि निकट भविष्यको कुरा छाडिदिउँ निकै पछिसम्म पनि कश्मीर समस्या समाधान हुने र भारत–पाक संबन्धमा सुधार आउने संभावना क्षीण छ। अहिले त झन भारतीय संविधानको धारा ३७० जसमा कश्मीरलाई विशेष राज्यको दर्जा दिइएको थियो, त्यो भारत सरकारले खारेज गर्यो। जम्मु र कश्मीर विभाजन गर्यो र, अझ गम्भीर कुरा भारत–पाकवीचको सीमाना (लाईन अफ कन्ट्रोल) लाई उल्लंघन गरेर भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा पाकिस्तान अधिनस्थ कश्मीरलाई पनि पारेर नयाँ नक्सा प्रकाशन गरेको छ। यसै नक्सामा हो नेपालको कालापानी क्षेत्र पनि भारतले आफ्नो भित्र पारेको। अतः भारत पाकिस्तान संबन्ध खरावबाट झन खराव भएको छ।

भारतको मोदी–अमितशाह नेतृत्व मुसलमानप्रति निकै अनुदार छ भन्ने त हालै भारतीय संसदले पारित गरेको नागरिकता विधेयकले पनि देखाएकै छ। यो नेतृत्व भारतमै रहेका मुसलमानलाई पनि निषेध गर्न उद्यत छ भनि त्यहाँ चर्को जनविरोध उठेको छ। जनता आन्दोलितछन्।

सार्कको सम्बन्धमा चर्चा गर्दा भारतको बढी कुरा आएको किन हो भने तमाम मतभेदका बाबजुद सार्कको प्रक्रिया अगाडि बढाऔँ, यसलाई अवरोध नगरौं भन्ने पक्षमा पाकिस्तान छ। दुई पक्षीय विवादका कुरा नउठाएर सार्कको शिखर बैंठक गर्न नसकिने होइन। अवश्य सकिन्छ। केही दिन अगाडि सिख समुदायका भारतीयहरु करतरापुरको बाटो हुँदै पाकिस्तानको पंजाब प्रान्तमा रहेको मन्दिरमा पुजा गर्न गए। पाकिस्तानले विना भिसा सबैलाई जान दियो, प्रवेश पाए। त्यहाँको सेनाको नेतृत्वको आनाकानी छँदा छँदै पनि प्रधानमन्त्री इमरानले यो व्यवस्था गरे। यो सदाशयता सार्कलाई सहज बनाउने हो भन्ने पनि उनको भनाई थियो। अब हुने सार्क सम्मेलन पाकिस्तानमा हो र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने हो। त्यसैले यो शिखर बैठक होस् भन्ने चाहना छ–पाकिस्तानको।

सार्कको विकल्पमा भारतले वहुपक्षीय आर्थिक तथा प्राविधिक विकासको लागि खाडीक्षेत्रको प्रयास, विमेष्टेकलाई सक्रीय गराउन चाहन्छ ताकि पाकिस्तानलाई अलग्याउन सकियोस्। यो कुनै राम्रो नियतले आएको कुरा होइन भन्ने सहजै बुझ्न सकिन्छ। अतः सार्कको विकल्प विमेस्टेक हुन सक्दैन। विश्वका मुख्य क्षेत्रीय संगठनहरुमा सार्क कान्छो संगठन हो। यसले आफ्नो उद्देश्य अनुसारको गति र गन्तव्य तय गर्दै पनि थियो। जसरी यसको स्थापनामा नेपालको पहल रहेको हो, त्यसरी नै यसलाई पुनर्जीवन दिन नेपालको सक्रीयता रहनु पर्दछ।

Related News

सम्बन्धित समाचार

hero news full width