साउन महिनाको महत्व र विशेषता

लक्ष्मी अधिकारी
श्रावण १३, २०७६

व्रतलाई एउटा आधुनिक फेसन, देखावटी एवं ढोँगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना पालन गरिने नियमको आफ्नै महत्व छ। मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भने पछि उसले आफ्नो सोच सकारात्मक बनाएको हुन्छ।

हाम्रो धार्मिक सामाजिक परम्परामा श्रावण महिनालाई कृषिको नयाँ जीवनचक्रको थालनी मानिन्छ। हुन त पक्षका हिसावले असार महिनामै यसको प्रारम्भ हुन्छ तर असार महिनामा रोपाइँको चटारोका कारण धार्मिक एवं सामाजिक क्रियाकलाप अनुकूल भैसकेको हुँदैन। साउन महिनामा रोपाइँ लगभग सकिन्छ र धर्मकर्मतर्फ बढी ध्यान गएको पाइन्छ। हाम्रा चाडबाडमध्ये कृषि संस्कृति झल्काउने चाडका रूपमा साउन महिनामा प्रकृतिसँग गाँसिएका विभिन्न परम्परा निर्वाह गर्ने चलन कृषियुगदेखि नै चलेको पाइन्छ।

हरेक वर्ष झैं यो वर्ष पनि साउन महिना आइसकेको छ। यतिबेला सबैको मानसपटलमा हरियो चुरा, रातो टीका, पोते लगाउने प्रचलन बढेको छ। परापूर्व कालदेखि नै साउने सोमवारका दिनव्रत बस्ने, चोखो खाने केही समय यता आएर साउन भरि हरियो, पहँेला तथा राता रंगका पहिरन चुरा पोते नेल पोलिस मेहेन्दी आदि लगाउने चलन बढेको छ। केही वर्ष यता हरियो लगाउनु साउन महिनाको फेसन नै बनिसकेको छ। अहिले अविवाहित युवतीहरु पनि हरियो रंगमा सजिएका देख्न पाइन्छ।

यो महिना धार्मिक, सांस्कृतिक, एवम् प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई शौभाग्यको एवं पहेँलो सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविद् बताउँछन्। साउनको महिना भगवान् शिवको प्रिय महिना हो तसर्थ यो महिना शिवलाई खुसी पार्न बोलबम जाने परम्परा पनि छ। पिठ्युँमा गेरु रंगको कपडाको सिलाइएको सानो झोला, हातमा कमण्डलु, बोलबम लेखिएको गेरु रंगको भेस्ट, हाफपाइन्टमा चिट्ट परेका कमण्डलु, बोलबम लेखिएको गेरु रंगकै साडी वा सलवार–कुर्ता लगाएका महिलाहरूले बोलबम–बोलबम भन्दै नजिकैको नदी, पोखरी, कुण्ड, ताल–तलैयाबाट जल ल्याई शिवालयमा गएर अर्पण गर्ने चलन छ।

साउन महिनाको सोमवार हिन्दुधर्मावलम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन्। हिन्दु धर्मावलम्बीका लागि सोमवारको दिन विशेष महत्वको दिन हो। यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन्। तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ। यस महिनालाई उनीहरुले पानी पानीले भिज्ने महिनाका रुपमा मनाउँछन्। साउन महिनाको सोमवार विशेष गरी श्री पशुपतिनाथ, कास्की पोखराको केदारेश्वर मन्दिर, भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिवमन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र खोटाङ्गको हलेसी महादेव मन्दिर तथा विभिन्न ठाँउहरुमा श्रदालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।

मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पूर्जा अर्चनाका साथ व्रतबस्ने परम्परा रहिआएको छ। महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर श्रावण महिना आएको महसुस गराउँदै भगवान् शिवको पूजा गरी व्रत बस्ने गर्दछन्। पुरुषहरू पनि पहेलो वस्त्रमा सजिएर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्दछन्। सोमवार व्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खाएर त्यस दिनको व्रत समाप्त गर्ने गर्दछन्। शिव जस्तै वर पाउँ भनी कामना गरेको पनि पाइन्छ, यद्यपि शास्त्रमा भगवान शिवको उपासना निष्काम हुनुपर्ने बताइएको छ।

विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्यलाभको कामना गदै व्रत बस्ने गर्दछन् भने् अविवाहित युवतीहरु राम्रो श्रीमान अर्थात् शिवजी जस्तो वर पाउँ भनी व्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गदै व्रत बस्ने गर्दछन्। साउन महिना भर चोखो खाएर माछामासु नखाई शुद्धभएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पूरा १ महिना शुद्ध चोखो खाएर साउन महिनाभर बस्ने गर्दछन्। यसरी १ महिना सम्म व्रत बसेर साउन महिना मनाउने गर्दछन्। बोलबम पनि यही साउन महिनामा शिवको धाममा जाने गर्दछन्।

पौराणिक मान्यता अनुसार साउन महिनामा पार्वतीले व्रत बसेर भगवान शिव प्राप्त गरेकी हुनाले यो महिना विशेष रुपमा मानिएको पाइन्छ। त्यसैले अविवाहित एवं विवाहित सबैले साउन महिनामा व्रत बसी पूजा गर्ने गर्दछन्। पौराणिक मान्यता अनुसार साउन महिनामा भगवान शिवजीको पूजा गरिने भएकाले यो महिनालाई शिवजीको महिनाको रुपमा लिने गरिन्छ। त्यसैले साउन महिनामा व्रत बसी पूजाअर्चना गर्ने गर्दछन्। त्यसैले साउन महिनाको सोमबार हरेक शिवमन्दिरमा भिडलाग्ने गर्दछ।

श्रावण महिना हिन्दू क्यालेन्डर अनुसार आध्यात्मिक रूपले महत्वपूर्ण महिना मानिन्छ। हिन्दू धर्म मान्ने महिलाहरू मात्र नभएर सबै धर्म संस्कृतिका महिलाहरूले यो महिनालाई महत्वका साथ लिएको पाइन्छे। महिलाहरू यो महिनाभरि व्रतलिने, शुद्धआहार–विहार अँगाल्ने तथा शिवजीको मन्दिर दर्शन गर्ने आदि काम गर्छन्। भगवान् शिवको प्रिय दिन सोमवार भएकाले सक्नेले महिना भरि र नसक्नेले साउनका प्रत्येक सोमवार ती नियम पालना गर्छन्। आध्यात्मिक दृष्टिकोणले यो महिनाको विशेष महत्व त छँदैछ। साउन महिनामा आशुतोष भगवान् शंकरको भक्ति, आराधना एवं पूजाको विशेष महत्व छ। सांसारिकता र भौतिकताको कुनै वास्ता नगरी व्रत बस्ने एवं शिवालयमा नांगै खुट्टा हिँडेर दर्शन–पूजा गर्न जाने क्रियाकलापले आत्मिक शान्ति प्राप्तहुने बताइन्छ।

परापूर्व कालदेखि नै साउने सोमवारको दिन व्रत बसी चोखो खाने चलन थियो। अहिले आएर आधुनिकता र समयको मागसँगै साउन महिना भर हरियो पहेलो रातो रंगको चुरा पोते नेल पोलिस मेहेन्दी लगाउने पूजा अर्चना गर्ने प्रचलन बनेको छ। साउन महिनामा चारैतिरको वातावरण एवं बोटविरुवा पनि हरिया हुने भएकाले हरियो भएर हिँड्न रुचाउने मनोवैज्ञानिक अवधारणा रहेको छ। साउन महिनालाई पछिल्लो समयमा समयको माग अनि अलिकति आधुनिकतामा पनि बदलिएको पाइन्छ। साउन महिना आउनासाथ बजारमा पनि विभिन्न थरीका सामग्री भित्रिएको पाइन्छ पहिलेका बूढापाकाले मनाउने तरीका र अहिलेका नयाँपिंढीका युवतीले मनाउने साउने पर्वमा विकृति देखा परेको पाइन्छ।

हामीले संस्कृतिलाई जगेर्ना गर्नुपर्छ तर विकृति भित्र्याएर होइन, जे छ त्यसमा सन्तुष्ट रहन सिक्नुपर्छ तब मात्र यो पर्वको महत्व रहन्छ। समय परिस्थितिसँगै अलिकति संस्कृतिमा पनि परिवर्तन आएको पाइन्छ। अधिकांश महिला दिदीबहिनी आमाहरुले पानी नखाई व्रत बस्ने चलन छ। वैज्ञानिक दृष्टिकोणले व्रत बस्नु केही हदसम्म राम्रो छ तर व्रत बस्दा आफ्नो शारीरिक क्षमता र मानसिक शक्तिको आँकलन गदै एक अनुभवी व्यक्तिको पथप्रदर्शनमा क्रमिकरुपले उपवासको अभ्यास गर्नु पर्दछ। निर्जला उपवासको राम्रो परिणाम प्राप्त भएका थ्रुपै उदाहरण पनि पाउन सकिन्छ। हरेक पर्वको आफ्नै महत्व हुने गर्दछ।

व्रतलाई एउटा आधुनिक फेसन, देखावटी एवं ढाँगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना पालन गरिने नियमको आफ्नै महत्व छ। मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भने पछि उसले आफ्नो सोच सकारात्मक बनाएको हुन्छ। उसमा थोरै भए पनि आस्था र श्रद्धाको भाव प्रकट हुन्छ।

तर पनि संस्कृति जगेर्ना गर्नका लागि आफ्नो शरीरले नसकी नसकी व्रत बस्नु कदापि राम्रो होइन यदि तपार्इं शारीरिक र मानसिक रुपमा सबल हुनु हुन्छ भने व्रत बस्न उचित देखिन्छ। साउन महिनामा व्रत बस्नु हरिया पहेँला, चुरा लगाउनु मेहेन्दी लगाउने एउटा परम्परा मात्र हो। यसले महिलाहरुमा आपसी श्रद्धा बढेको देख्न सकिन्छ। यो दाम्पत्य जीवनको सुख खुसी र दीर्घायुका लागि गरिने व्रत हो। आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमवार व्रत वस्ने गरेको पाइन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width