समाजका सच्चा प्रेरक लोक बहादुर थापा

कृष्ण बहादुर थापा
वैशाख २५, २०७६

“समाजलाई राम्रो बाटोमा हिँडाउन खोज्ने समाजसेवी मात्र उत्तम समाजसेवी रहन्छ” भन्ने भनाइ स्वर्गीय लोक बहादुर थापाको हो। भनाइमा जति वास्तविकता, सहज र महत्वपूर्ण रहेको छ उहाँको सम्पूर्ण जीवनको भोगाइ, गराइ र अनुभव त्यति नै व्यवहारिकता, सत्यता जीवनको अन्तिम समयसम्म सकृय रहेको छ। बुबा नेत्रबहादुर थापा र माता मनदेवी थापाको ५ भाइ छोराहरु र एक छोरी मध्ये जेष्ठ सन्तानको रुपमा २००३ माघ १२ गते सराङकोट ग्यारजातीमा जन्मनुभएका थापा लामिछाने क्षत्रीहरुको हालको उद्गम स्थल, जहाँबाट पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाका पूर्वज, जनकेशरी धर्मराज थापाका पूर्वज समेत रहेको स्थानबाट नेपाल अधिराज्यभर लामिछाने थापाहरु फैलिएका छन्।

तत्कालीन अवस्थामा गाउँमा बसेर मात्र हुँदैन भनी व्यवसाय गर्नका लागि बुबा नेत्र बहादुर थापा पोखरामा ओर्लिनु हुँदा उहाँको सम्पूर्ण दाजुभाइको संयुक्त रुपमा व्यापार गर्नुहुन्थ्यो। पोखरा जोडिने सडक राजमार्ग नभएको समयमा भैरहवाबाट जहाज चार्टर गरी नून, तेल, खाद्यान्न सामग्री पठाउन १४ वर्ष भैरहवा बसी सामान पठाउने गर्नुहुन्थ्यो। पोखरामा सो समयमा व्यापारमा संलग्न थापा क्षत्री त्यसमा पनि सराङ्कोटबाट पोखरा रही व्यापार गर्नु चुनौतीपूर्ण रहँदा रहँदै सबै पाँच दाजुभाइ (दल बहादुर थापा, स्व.खेम बहादुर थापा, रामचन्द्र थापा, प्रकाश थापा) हरुलाई समेटी एकै सँगोलमा व्यापार गर्नु कम चुनौती थिएन।

२०४७ सालमा बुबा स्वर्गीय भए पछि पूर्ण रुपमा सम्पूर्ण दाजुभाइ, व्यापारको पूर्ण जिम्मेवारी लिनुभएका लोक बहादुर थापाले सम्हालेपछि व्यापारलाई निरन्तरता दिंदै सामाजिक कार्यमा पनि सकृय भई वि.सं.२०२७ सालमा मालिका थापासँग वैवाहिक बन्धनमा बाधिएपछि थप जिम्मेवारीका साथ पारिवारिक भूमिकालाई कुशलतापूर्वक अगाडि बढाउनु हुँदै युवा अवस्थादेखि सामाजिक सकृयता बढाउँदै आउनुभएको थियो। तत्कालीन अवस्थामा व्यापारिक जिम्मेवारी, पारिवारिक अध्ययन, सामाजिक सकृयता एकैसाथ बढाउने कुशल व्यक्ति थापाले कुनै संघसंस्थाको पदभन्दा जिम्मेवारी र सहयोगलाई महत्व दिंदै आउनु भएको थियो।

सामाजिक कार्यको शुरुआत आफ्नै गाउँबाट गर्नुपर्छ, गाउँलाई सेवा गरे मात्र मातृभूमिको छोरा कहलिन्छ भन्ने सोंचका साथ त्यस बेलासम्म उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाल स्वास्थ्य स्वयंसेवक संस्था, संस्थापक लायन्स क्लव मार्फत सामाजिक कार्यको नेतृत्व लिनु भएको देखिन्छ। पोखरा उद्योग बाणिज्य संघमा स्थापनाको भूमिका सहित पदाधिकारी जिम्मेवारी सहित ३ पटक पोखरा उद्योग बाणिज्य संघको निर्वाचन संयोजकको जिम्मेवारीले सो समयमा उहाँको योगदान कति महत्वपूर्ण रहेछ भन्ने प्रष्ट हुन्छ।

पोखरामा छरिएर रहेका व्यवसायीहरुलाई समेट्न आफ्ना भाइलाई समेत व्यवसायका अलावा सामाजिक संघसंस्थामा लाग्न प्रेरणा दिने गर्नु हुन्थ्यो। त्यो बेलामा मानवीय स्वास्थ्य सेवाको लागि र सम्पूर्ण सुविधा भएको नेपालको दोस्रो एम्बुलेन्स, स्वास्थ्य शिविर, आँखा शिविर, भलाम/काहुँ खानेपानी योजना जस्ता स्वास्थ्य सचेतना कार्यक्रमको नेतृत्व उहाँले गर्नुभएको थियो।

अन्तराष्ट्रिय सेवामुखी संस्था लायन्स क्लव पोखराको स्थापना, लायन्स भिलेज अभियान र ३ कार्यकाल अध्यक्ष भई पुर्याउनु भएको योगदानले आज पनि उहाँलाई लायन्स डिष्ट्रिक ३२५ नेपालको सवोर्त्कृष्ट अध्यक्ष सम्मान अन्तराष्ट्रिय रुपमा पाउने पहिलो व्यक्ति पजि लोक बहादुर थापा हुनुहुन्थ्यो। थापाले सोही भूमिकाको स्वरुप डिष्ट्रिक बाटै महत्वपूर्ण पदहरुमा नियुक्त भई समग्र पोखराको प्रतिनिधित्व गर्ने अवसर पाउनु भएको थियो।

सामाजिक कार्य दीर्घकालीन र तुरुन्त सेवा पुग्ने हुनुपर्छ भन्ने भावनाले अन्तराष्ट्रिय रुपमा सहयोग संकलन गरी सराङ्कोटमा देखिएको चरम खानेपानी समस्यालाई उपयुक्त समाधानका लागि ग्यारजाती खानेपानी योजना, डाँडापारी भुमरेगैरा खानेपानी योजना, पँधौली खानेपानी योजना, पुरुञ्चौर सहकारी अभियान थापाकै नेतृत्वमा आउन सफल भएको थियो। खानेपानी सहित शिक्षा तर्फ जनजागृत मा.वि., रत्न प्रा.वि., शारदा प्रा.वि. तोरीपानी, सरस्वती प्रा.वि. सिमताल, शिशु स्याहार, हेल्थपोष्ट, सामुदायिक वन, वृक्षारोपण कार्यमा समेत उहाँको भूमिका महत्वपूर्ण रहेको सर्वविदितै छ।

स्वर्गीय थापाले कुनै पनि पार्टीको नेता बन्ने इच्छा, चुनाव लड्ने, सार्वजनिक जग्गाको आशा नराखी निःस्वार्थ रुपमा सामाजिक स्वार्थमात्र लिने व्यक्ति सराङ्कोटको सच्चा पिता हरनुभएको थियो। अहिले सानो कुरालाई ठूलो बनाई पद लिने, भाउ खोज्ने व्यक्तिहरुको तुलनामा सच्चा सामाजिक अगुवा अभियन्ताको रुपमा सम्मानित रहनु भएका थापाको छवि सँधै स्वच्छ, शालीन र मर्यादित रहनु महत्वपूर्ण पक्ष रहेको छ।

स्वर्गीय थापाले सामाजिक नेतृत्व सँगै सामाजिक जागरण र देशको नागरिकको सहभागिताबाट देशमै विकास गराउन भन्ने अभिप्रायले प्रत्येक व्यक्तिबाट १ डलर अभियानबाट करोडौं उठ्ने र सोबाट शतप्रतिशत सेवा पुग्ने महाअभियान अगाडि बढाउनु भएका थापा पछि त्यसलाई संस्थागत गर्न नसक्दा केही दुःखी महसुस गर्दागर्दै विश्वका सम्पूर्ण नोबेल शान्ति पुरस्कार विजेताको शालिक निर्माण सहित अर्थ संकलन कार्यलाई उहाँकै समकालीनका असहयोगका कारण गर्न सक्नु भएको थिएन। अहिले सो योजना कार्यान्वयन भएको भए खर्बौ रुपैयाँ सम्पत्ति सहित सामाजिक सेवा गर्न सकिने अवस्था आउने थियो, सो नभएकोमा बल्ल दुःख मान्छन् त्यसताकाका साथीहरु। थापामा सधैं सकारात्मक सोंचका साथ सकृय सामाजिक सोंच र नयाँ नयाँ योजना ल्याउने स्वभावले सधैं सम्झन सम्मान योग्य व्यक्ति गुमाएकोमा दुःखी बनाएको उहाँका धेरै समकालीन साथीहरु बताउँछन्।

पछिल्लो समय पचासको दशकमा पोखरासँग अन्य जिल्ला जोड्ने अभियानलाई सार्थक तथा मुख्य सोंच मार्फत पोखरा सराङ्कोट, कास्कीकोट, नौडाँडा कृषि सडकको परिकल्पनाकै फलस्वरुप निर्माण कार्यको अन्तिम चरणमा रहेको छ। सोही समयदेखि सराङ्काटलाई धार्मिक पर्यटकीय सम्भावनालाई सार्थक रुप दिन सराङ्कोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको परिकल्पना सहित संस्थापक अध्यक्षको भूमिका सहित उहाँकै नेतृत्वमा सराङ्कोटको टपमा विशाल शिव मन्दिर सहित विभिन्न पर्यटकीय, धार्मिक स्थलहरुको परिकल्पनालाई साकार तुल्याउन आर्थिक संकलन कार्य अगाडि बढाउन काठमाण्डौ, पोखरा र सराङ्कोटमा श्रीमद्भागवत ज्ञान महायज्ञहरु हुनु सराङ्कोटमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सम्मानित गुरुहरुलाई उपस्थित गराउनु चुनौती र अवसर दुवै थियो।

स्वर्गीय थापाले कहिँ कतै कुनै स्रोत नहुँदा आफैबाट शुरुआत सम्पूर्ण खर्च गरी हालको सराङ्कोट बनाउन महत्वपूर्ण योगदान दिनु आम सराङ्कोटलाई गौरव महसुस भएको छ। लोक बहादुर दाइले सो समयमा गरेको परिकल्पना योजनालाई मात्र परिणाममुखी बनाउन सके साँच्चै सराङ्कोटको पूर्ण मुहार फेरिने थियो, तर सो नभई केही स्वार्थी, लोभी, राजनीतिक प्रभावले भएको बाटो बन्द हुने, नभएको बाटो खुल्ने, सार्वजनिक जग्गामा मिलेमतोमा बाडिने प्रवृत्तिले सामाजिक विकासले पूर्णता पाउन नसक्ने हुँदा सबै सकारात्मक हुन आवश्यक रहेको थापाले विभिन्न समयमा बताउँदै आउनुभएको थियो। त्यसमा उहाँ सधैं चिन्ता गर्नुहुन्थ्यो, सबैलाई सचेत गराउनुहुन्थ्यो। सार्वजनिक स्थल र जग्गाको उचित संरक्षणमा जोड दिने गर्नुहुन्थ्यो।

स्वर्गीय थापासँग मेरो नजिकको नाता भएकाले उहाँसँगको सामीप्यता २०५५ सालतिरबाट बढ्दै गएको थियो। उहाँकै संलग्नता रहेको संघसंस्थाको कार्यक्रममा म उपस्थित रहने गर्थे। यसै क्रममा मलाई पनि गाउँको नामबाट केही गरौं भन्ने सोंचका साथ मेरो प्रस्तावमा उहाँकै नेतृत्वमा सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था २०६३ सालमा रेडियो तथा बचत तथा ऋणका लागि सराङ्कोट बहुउद्देश्यीय संस्था मार्फत रेडियो सराङ्कोट संचालन हुँदै हाल रेडियो तथा बचत तथा ऋण मार्फत आफ्नै भवनबाट सेवा दिंदै आइएको छ।

यस कार्यमा उहाँको कुशल नेतृत्व सदा सम्मान योग्य रहनेछ। थापाकै पहलमा आम क्षत्रीहरुको साझा संगठन क्षत्री समाज नेपालको आर्थिक तथा सांगठनिक भूमिकाका लागि आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको अध्यक्ष भई नेपालकै उत्कृष्ट सहभागिता सहित ७ करोड आर्थिक संकलन भएको समाजको केन्द्रीय भवन सहित देशव्यापी संगठन विस्तार तथा कार्ययोजना बन्न प्रमुख सल्लाहकारको भूमिका तथा समाजलाई कृयाशील बनाउन अभिभावकत्वको भूमिका रहेको छ।

थापाकै पहलमा लामिछाने थापा क्षत्री समाज मार्फत कुलमन्दिर निर्माण, वंशावली प्रकाशनमा उहाँको भूमिका महत्वपूर्ण रहेको छ। थापाले नेत्र स्मृति पुरस्कार गुठी, राष्ट्रिय शान्ति संस्था, दर्जनौं विराट ज्ञान महायज्ञहरुको नेतृत्व, २१ औं शताब्दी विश्व शान्ति संस्था, रेडक्रस, बाल संगठन, कुष्ठरोग संघ, नेपाल क्यान्सर सोसाइटीका खेलकूद संस्थाहरुमा विभिन्न पदहरुमा रही महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

उहाँ घरमा बस्दा हातमा कलम लिई केही न केही लेख्ने गर्नुहुन्थ्यो। थोरै लेखहरु प्रकाशित भएता पनि धेरै प्रकाशन र खोजी गर्नुपर्ने भएको छ। लेखहरुमा राष्ट्र, राष्ट्रियता, जातीय सद्भावलाई सधैं जोड दिनु हुन्थ्यो। तत्कालीन अवस्थामा धेरैपटक राजनीति नियुक्ति पाउँदा समेत अस्वीकार गरी स्वतन्त्र रुपमा सामाजिक कार्य गर्नुपर्छ भन्ने भावनाका धनी थापा आफू रोगसँग लडिरहँदा समेत हात नफाली आस्थापूर्वक संघर्ष गरिरहनु भएको थियो। उपचारको क्रममा विदेश होस् वा स्वदेशमा हुने उपचारको क्रममा आफ्नै छोराहरु (शिव, सन्जीव, श्यामकृष्ण र अर्जुन) तथा भाइहरु (दलबहादुर, रामचन्द्र, प्रकाश र बुहारीहरु) सबैको एकता र प्रयासले अन्तिमसम्म आश गर्न सक्ने बनाउनु भएको थियो। अस्पतालको बेड होस् वा घरको विछौना सराङ्कोटको नाम सुन्ने वित्तिकै उठ्ने सकृय व्यक्तित्व थापाको योगदान यो आलेखमा आंशिक वर्णन मात्र हुन सक्छ।

अतः उहाँले दिनुभएको शतप्रतिशत योगदानलाई जीवन्त राख्न सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले स्मृति कोष स्थापना गरेको छ। अन्य संस्थाहरुको पनि सहभागिता प्रयास भएमा उहाँको स्मरण र सम्मानले जीवन्तता पाउने निश्चित छ।

यस कारण साँच्चै र वास्तविकता हेर्ने हो भने उहाँले राष्ट्रबाट प्रवल गोर्खा दक्षिणबाहु लगायत सामाजिक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरु पाएता पनि उहाँले स्थापना गरेका संघसंस्थाहरुले स्मरण गर्ने समेत फुर्सद नपाएको देखिदा यसमा चासो जानेछ भन्ने अपेक्षा सहित उहाँकै भनाइ “संसारबाट एकदिन बिदा हुनुछ, त्यसैले तिमीले जे काम गर्छौ मानव हित र कल्याणमा लाग” भन्ने भावना सहित जीवित हुँदा पाएको ऊर्जा, प्रेरणा र शक्ति मोक्ष प्राप्ति पश्चात पनि हामीलाई आशिर्वादको रुपमा प्राप्त भइरहोस् भन्ने कामना गर्दछु। अस्तु।

(लेखक सराङकोट एफएमका कार्यकारी निदेर्शक हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width