समय चक्र

आदर्श समाज सम्वाददाता
असार ४, २०७६

आधुनिक कालमा निमेष, असुलगायत विपला, पला र घडी समयबोधक शब्दहरु करीब करीब लोपको अवस्थामा छन् । आँखा एक पटक झिम्क्याउँदाको समयमा १८ निमेष समय लिन्छ। तसर्थ निमेष अत्यन्तै सूक्ष्म समय हो।

मानव सभ्यतादेखि नै कहिले के भयो भन्ने जिज्ञासाका फलस्वरुप निकै पछि आएर तिथि मिति लेख्न सुरुवात गरिएको हो। केही दशक अघिसम्म गतेलाई भन्दा पनि तिथिलाई प्रश्रय दिइन्थ्यो। तमसुक, शिलालेख, जस्ता पुराना कागजात तथा शीलामा तिथि लेख्ने गरिन्थ्यो। तर आजभोलिका दिनमा स्पष्टरुपमा गते नै लेख्ने गरिन्छ। तिथि पनि चन्द्रमास अनुसारको गते नै हो। कार्यालय वा घर व्यवहारमा उल्लेख गर्दा प्रचलन ल्याइएको गते सूर्य मास वा सूर्य सिद्धान्तका आधारमा लेख्ने गरिन्छ। नेपालमा शालिवाहनीय शक, इशवीय सन्, नेपाल संवत र विक्रम संवत गरी चार तरीकाद्वारा साल जनाइन्छ। यसमध्ये सबैभन्दा प्रचलनमा आएको विक्रम संवत नै हो। इशापूर्व घट्दो क्रममा थियो धेरै पछि विक्रमादित्य राजाले विक्रम संवत चलाएका हुन्। यस अनुसार यस वर्षको शालिवाहनीय शक (१९४१), इशवीय सन् (२०१९–२०२०), नेपाल संवत (११३९–११४०) र वि.सं.२०७६ साल हो। नेपालमा ४ प्रकारका सम्बतको प्रयोगमा छ। सृष्टिको सुरुवात हुँदा बृहस्पति ग्रह र शनि ग्रह मेष राशिमा थियो। समय चक्रमा हुन्छ। महिना दोहरिन्छ, बार दोहरिन्छ युग दोहोरिन्छ। यति मात्र होइन, दिन सकिएपछि रात आउँछ, रातपछि दिन।

समयचक्रको एकदमै महत्त्व छ। हामीले मिति लेख्दा प्रयोग गर्ने दिन, महिना र साल हो। मितिले कहिले के भयो भन्ने जानकारी दिन्छ। विश्वभर मिति लगभग एउटै प्रकारको छ। हामीले हाम्रो देशमा विक्रम संवत प्रयोग गर्दै आइरहेका छौँ अन्य मुलुकमा इशवीय सन् प्रयोग हुन्छ। दिन, महिना र वर्ष त समयावधिका प्रतिनिधि मात्र हुन्। यस्ता काल विभाजनको ससाना अन्य एकाइहरु निकै नै छन्। जस्तो कि अनुपला, विपला, पला, घडी, निमेष, असु आदि अनादि कालदेखि प्रचलनमा भइरहेका समयमापनका एकाइ हुन्। यस अनुसार,

६० अनुपला = १ विपला = २.५ सेकेण्ड

६० विपला = १ पला = २४ सेकेण्ड

६० पला = १ घडी = २४ मिनेट

६० घडी = १ अहोरात्र = २४ घण्टा

प्राचीन कालमा समयावधि जनाउन यिनै विपला, पला, घडी आदि जस्ता शब्दावलीको प्रचलन हुँदै आएको थियो। तर आधुनिक युगमा घडी, पला र विपलाको सट्टामा घण्टा, मिनेट र सेकेण्डको प्रयोग हुन्छ। यसबाहेक अन्य निमेष, विपला, असु एकाइ शब्द पनि त्यतिखेर प्रयोग हुन्थ्यो। यस अनुसार ११.२५ निमेष बराबर १ सेकेण्ड हुन्छ भने, १ असु बराबर ४ सेकेण्ड हुन्छ। आधुनिक कालमा निमेष, असुलगायत विपला, पला र घडी समयबोधक शब्दहरु करीब करीब लोपको अवस्थामा छन् । आँखा एक पटक झिम्क्याउँदाको समयमा १८ निमेष समय लिन्छ। तसर्थ निमेष अत्यन्तै सूक्ष्म समय हो।

समय मापनका ससाना एकाइदेखि लिएर ठूला एकाइमा पनि व्यक्त गरिएका हुन्छन्। साना एकाइले छोटो अवधि जनाउँछ भने ठूला एकाइले लामो अवधि जनाउँछ। प्रचलनमा आएका समयबोधक एकाइ धेरै छन्। घण्टा, मिनेट र सेकेण्ड अझ दिनको तुलनामा समयका सूक्ष्म रुप हुन्। जनजीवनलाई सहज बनाउनका लागि समयको विभाजन अनादिकालदेखि हाम्रा पूर्वजहरुले गरेका हुन्। हाम्रा पूर्खाहरु समयचक्रमा बडो ध्यान पुर्याउथें।

दिन, महिना र वर्ष एकाइ ठूला एकाइ नभए पनि समय जनाउन र घर व्यवहार चलाउन यो नै पर्याप्त छ। तर पनि यी दिन, महिना र वर्ष यत्तिमै मात्र सीमित छैनन्। जस्तैः १० वर्ष बराबर एक दशक हुन्छ। ३६० वर्ष बराबर एक दिव्य वर्ष र १२ सय दिव्य वर्ष बराबर ४ लाख ३२ हजार, वर्ष (एक कलियुग)। यहाँ कलियुगको समयावधि ४ लाख ३२ हजार वर्ष हो। हालको वर्तमान चलिरहेको कलियुगमा ५ हजार १ सय २० वर्ष बिति सकेको छ। अब अझै कलियुग बित्न ४ लाख २६ हजार ८ सय ८० वर्ष बाँकी छ।

विष्णुपुराण अनुसार भगवान् श्रीकृष्णको देहत्यागपछि कलियुग प्रारम्भ भएको हो। कलियुग ३ हजार १०२ इशापूर्व आरम्भ भएको हो। यसभन्दा अघि द्वापरयुग थियो। यस युगको मान ८ लाख ६४ हजार वर्ष रहेको छ। त्यसरी नै त्रेतायुग (१२ लाख ९६ हजार वर्ष), र सत्ययुग (१७ लाख २८ हजार वर्ष)। यी चार युगको एक महायुग हुन्छ। महायुगमा सौरमानको वर्ष संख्या ४३ लाख २० हजार हुन्छ। त्यसरी नै १ हजार महायुगको १ कल्प हुन्छ। फेरि २ कल्प बराबर ब्रह्माजीको एक अहोरात्र (दिनरात) समय हुन्छ, अर्थात् एक कल्प दिन र एक कल्प रात हुन्छ। यस अनुसार ३६० अहोरात्र = ७२० कल्प अर्थात् ब्रह्माजीको एक ब्राह्म वर्ष। ब्रह्माजीको आयु १ सय ब्राह्म वर्ष = ७२० कल्प हुन्छ भन्ने धर्मशास्त्रले बताएको छ। समय चक्र जहाँ पनि प्रयोग भइरहेको हुन्छ। ब्रह्माजीका दिन सिद्धिएपछि पृथ्वीमा प्रलय आउछ भन्ने मत रहेको छ।

हिन्दु धर्मशास्त्रका ग्रन्थले बताए अनुसार ४३ करोड वर्ष बराबर देवता (ब्रह्म) को एक दिन मात्र व्यतीत हुन्छ, भने रातको समयावधि पनि यत्तिनै हुन्छ। जम्मा ८ अर्व ६४ करोड वर्ष बितेपछि मात्र ब्रह्माको दिनरात (अहोरात्र) हुन्छ। ३० करोड ६७ लाख २० हजार वर्ष व्यतीत भएपछि एक मन्वन्तर हुन्छ। ब्रह्माजीको एक दिनमा १४ मन्वन्तर हुन्छ भनिएको छ। अहिले ब्रह्माको आयु ५१ वर्ष व्यतीत भइसकेको छ। ५२ औं वर्षको प्रथम दिन (श्वेत बराह कल्प) मा प्रवेश भएको तथ्य ग्रन्थले बताएको छ। एक धार्मिक मत अनुसार समस्त जगतको उत्पत्ति, स्थिति (पालाना), र लय (विनाश) को कारण भगवान विष्णुका नाभीबाट प्रादुभार्व भएका ब्रह्मा हुन् भनिएको छ।

पृथ्वीको उत्पत्तिका बारेमा धर्मशास्त्र र विज्ञानको मत निकै छ। वैज्ञानिकहरुका अनुसार पृथ्वी आजभन्दा ४.६ अर्ब वर्ष पहिले उत्पत्ति भएको रेडियोमेटिक डेटिङ प्रविधिद्वारा निक्यौर्ल गरिएको छ। पृथ्वी पहिले आगोको डल्लोजस्तो अत्यन्तै चम्किलो उल्का थियो। यो चिसिन लाखौं वर्ष लाग्यो। त्यसरी नै आजभन्दा करिब २० करोड वर्ष अघि पृथ्वीको सम्पूर्ण भूभाग एक ढिकोको रुपमा थियो। यसलाई प्यान्जिया भनिन्छ र यो लगभग १८ करोड वर्ष अघि टुक्रिएर दुई भाग बन्यो, गोण्डवाना भूमि र लौरेसिया। अमेरिका, युरेसिया (नेपाल भारतबाहेक) परेका उत्तरी महादेश लौरेसिया भनिन्छ भने अस्ट्रेलिया, अफ्रिका, भारत, नेपाल, एन्टार्कटिका, दक्षिण अमेरिका आदि गोन्डावाना भूमि बनेको हो। आजभन्दा साढे छ करोड वर्षअघिदेखि मात्र महाद्विप बन्न थालेको भन्ने भनाइ वैज्ञानिकहरुको छ।

जीवको उत्पत्ति भने ५७ करोड वर्ष अघि मात्र पानीमा देखिने व्याक्टेरिया जस्ता सूक्ष्मजीव भएको मानिएको छ। विज्ञानमा भौगर्भिक इतिहासलाई पनि ४ भागमा छुट्याइको छ। आद्य महाकल्प (एजोइक इरा), पूराजीव महाकल्प (प्यालियोजोइक इरा), मध्यजीव महाकल्प (मेसोजोइक इरा) र नवजीव महाकल्प (सिनोजोइका इरा)। यस अनुसार ५० लाख वर्ष अघिदेखि हालसम्मको अवधिलाई नवजीव महाकल्प भनिएको छ। यस अवधिमा चट्टान फुट्ने, फैलिने, ज्वालामुखी जाने, तापक्रमको घटबढ भइरहने जस्ता गतिविधि भइरहे। प्राचीन जीवहरु हराउने र नयाँ जीवहरु देखापरिरहे। यसमा महाकल्पलाई युग (इपोच) र काल (पिरियड) मा विभाजन गरेर विज्ञानमा अध्ययन गर्ने गरिन्छ।

जुनसुकै समय होस्, समय शक्तिशाली छ। अहिलेको समय एकछिन पछि हुँदैन, एकछिन पछिको समय अर्को पटक हुँदैन। निरन्तर समय परिवर्तशील छ। पृथ्वी उत्पत्ति हुँदाको अवस्था र अहिलेको अवस्थाको कालखण्डको स्वरुप आकाशपातालको स्थिति छ। दिन, महिना र वर्ष मानव जीवनका महत्वपूर्ण गतिविधि लगायत समस्त प्राणीहरु र निर्जीव वस्तुको अवस्था जनाउने समयबोधक चक्र हुन्। त्यही समय दोहोरिदैंन तर त्यस्तै समय अर्को आउछ। जस्तो दिन अस्ताएपछि पुनः रात आउछ भनेझै समयचक्र दोहोरिन्छ। समय र युगले मान्छेलाई परिवर्तन गराउँछ। बार, गते, महिना त्यसरी नै युग पनि दोहरिन्छ। सत्य, त्रेतायुग, द्वापर र कलियुग यी युगका पनि विशेषता फरक छन्। अन्तमा समय चक्र कालक्रम अनुसार दोहोरिने गर्दछन्, या छोटा समयका हुन् या लामा युग।

Related News

सम्बन्धित समाचार

hero news full width