सन्दर्भः हलो दिवस

आदर्श समाज सम्वाददाता
फागुन २८, २०६९

प्रस· आजभन्दा ६८ वर्ष पहिलेको हो।जुन ऐतिहासिक छ र पनि ओझेलमा परेको छ।अहिले आएर लामो समयान्तर पछि कृषि व्यवसायमा कृषि कर्ममा ठूलो परिवर्तन आएको छ।पहिलेजस्तो काठको हलो गोरुको मात्र भर पर्नु पर्दैन।न त कामको लागि जातभात विभेदता नै छ।आजभोलि खेती लगाउने काममा ट्रयाक्टर, आधुनिक हलो, रा’गा गाडाको प्रयोग हुन्छ र हलो जोत्ने काम सामान्य र सबै जात विशेषले सहजरूपले गर्न सक्ने भए।

तर करिब सात दशक अगाडि जतिबेला क्रुर राणाशाहीहरूको विगविगी थियो जातपात उँचो निचोको विभेद, जात घटाउने बढाउने काम समेत गर्न राणाहरू पछि पर्दैनथे।त्यसबेला ब्राह्मणलाई उपल्लो दर्जामा राखेर व्यवहार गरिने र ब्राह्मणको मुख्य धर्म कर्म भनेको पढ्नु, पढाउनु, यज्ञयज्ञादि गर्नु दान लिनु दिनु आदिलाई मानिन्थ्यो भने बढी परिश्रम गर्नुपर्ने काम शुद्र जातिको ठानिन्थ्यो। छुवाछूत प्रथा मौलाएको थियो।जनता भनेका रैतिका रूपमा हुन्थे शासकले जे बोल्छन् त्यही कानुन र लोक व्यवहार परम्परा बन्थ्यो त्यो नै रैतिले मान्नु पथ्यो।लोक परम्परा लोक व्यवहार, लोक संस्कृति, रीतिरिवाज र चालचलनको विरुद्ध कोही पनि जान्न सक्ने स्थिति थिएन।

लोक धर्मलाई सबैले मान्नुपथ्यो। लोक धर्म र परम्परा विरुद्ध चल्नु तत्कालीन विभेदपूर्ण लोक व्यवहार विपरीत काम गर्नुलाई नियम कानुनविरुद्ध सम्झिइन्थ्यो जात गएको ठहरिन्थ्यो र यस्तो काम गर्ने व्यक्ति शासकको निसाना बन्थ्यो उसले अपराध गरेको ठहरिन्थ्यो र उ देशद्रोहीमा दर्ज हुन्थ्यो।सर्वस्वहरण हुने देश निकाला हुने हदैसम्म अमानवीय सजायँको भागीदारसम्म हुनुपथ्यो।यस्तो जहानियाँ राणाकालमा कास्की पोखरा बाटुलेचौर बडरबोटमा १९७१ मा जन्मनुभएका स्व. पण्डित मुक्तिनाथ शर्माले १८ वर्षकै उमेर काठमाडौं र बनारसमा पुगी मध्यमा पास गरी जनताको स्वतन्त्रता र प्रजातन्त्रका लागि देशभित्रैबाट आन्दोलन गर्नुपर्छ भन्ने दृढ मानसिकता बोकेर बनारसमा बसेका तत्कालीन शीर्षस्थ नेता कार्यकर्तासँगको नियमित सर्म्पर्क र संवादमा रही कास्कीमा २००५/२००६ सालतिरै नेपाली काङ्ग्रेसको स्थापना र आन्दोलनको विगुल घन्काउन पोखरेली प्रजातन्त्र सेनानी ऋषिकेशव पराजुली, रामबहादुर बड्गामी, प्रेमराज मुल्मी, ब्रम्हचारी प्रेमचैतन्य, धर्मशीला अनागरिका, सुन्दरप्रसाद मसारी, होमनाथ बराल, मिनबहादुर गुरुङ आदिसँग सहकार्य गरी आफूलाई अग्रणी स्थानमा राख्नुभयो।

जनताको चेतनाको स्तर नबढेसम्म कुनै पनि आन्दोलन सफल नहुने वास्तविकता बोध गरी स्व. प. शर्माले गाउँगाउँमा आधार शिक्षाको प्रचार-प्रचार गर्ने, सामाजिक सांस्कृतिक क्रान्तिको शंखघोष गरी आफूलाई आजन्म आस्थाको लर्डाईंमा होम्नु भयो।छुवाछूतजस्तो अमानविय प्रथाको अन्त्यका लागि दलितहरूको संगतमा रही २००८ सालमै आफ्ना दलित साथीको हातबाट चिया पिउनु भएको कुरा अझै पनि उहाँका जीवित समवयीहरूबाट सुन्न पाइन्छ।

यसरी सबै मानिस एउटै हो जात कुजात भनेर हेला होचो गर्नुहुँदैन भन्ने अडानका साथ सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्रान्तिलाई आत्मसात गर्ने स्व. शर्माले छुवाछूत र महिला माथि हुने अन्याय, अत्याचार र धर्मको आडमा मान्छे मान्छेमा गरिएको शासकीय विभेदको अन्त्यका लागि साहित्यिक आन्दोलनको थालनी २००५ तिरै मातृत्व र धर्मपुस्तक भन्ने उपन्यासको सृजना गरी २००७ मा प्रकाशन गरेर गर्नुभयो ।

यस्तै स्व. शर्माले २०११ सालमै बहुचर्चित औपन्यासिक कृति ‘को अछूत’ को रचना र प्रकाशन गरी नेपालमै दलित मुक्ति आन्दोलनका सम्भवत पहिलो योद्धामै आफूलाई उभ्याउन सफल हुनुभयो।स्व. शर्माद्वारा रचित उक्त ‘को अछूत’ ले आख्यानकारिताको क्षेत्रमा पनि अग्रणी स्थान ओगटेको छ।स्व. पण्डित शर्माले आफ्नो जीवनकालमा थुप्रै प्रशंसनिय र स्तूतियोग्य  काम गर्नुभएको छ।आज लेखमार्फत उनै श्रष्टा बहुआयामिक व्यक्तित्वका धनि स्व. पं. शर्माले सामाजिक सांस्कृतिक क्रान्तिमा खेल्नुभएको भूमिकाको बारेमा थोरै चर्चा गर्ने सानो प्रयास गरिएको छ।

कास्कीको समग्र विकासमा मुख्य भूमिकामा आफूलाई हरेक क्षेत्रमा उभ्याउनु हुने शर्माले आफ्नो उर्वर उमेरमा सामान्य लाग्ने पोखराका साँघुरा (डहर) बाटोलाई चक्ल्याएर फराकिलो पार्ने अभियान बाटुलेचौर, लामाचौरबाट सुरु गरी सामाजिक विकास निर्माणको बाटोमा हात बढाउनुभयो पछि यो क्रम विस्तारै सबैतिर फैलियो।हालको पोखरा विमानस्थलको निर्माणमा होस या पोखरा बजारसँग उत्तरी भेक अर्मला, जुम्लेटी, हर्पाख, छहरेपानी, पुरुन्चौर, लामाचौर, बाटुलेचौरलाई जोड्ने के.आइ.सिंह पुलको निर्माणमा होस् पृथ्वीनारायण कलेजको नामाकरण एवं स्थापना लगायत दर्जनौं शैक्षिक संस्था स्थापनामा होस् अथवा न्यूरोडको सडक विस्तारमा होस् आफूलाई सक्रिय रूपमा उभ्याउनुभयो।रुढ्रि्रस्त रीतिरिवाज, चालचलन र परम्परालाई समायनुकूल परिवर्तन गर्न उहाँले राजनीतिक, सामाजिक, एवं सांस्कृतिक क्रान्तिको अगुवाइ गर्नुभो।यस सन्दर्भ उहाँले २००१ फागुन २८ गते आफैले आफ्नै बारीमा हलो जोतेर मकै लगाएको दिनलाई बिर्सन हुँदैन।

‘फागुनको दिन थियो हामी सानसानै थियौं मुक्तिनाथ काकाले हली सुजी कामीलाई तँ बस् आज म जोत्छु हलो भनेर जोत्न थाल्नुभएछ यो हल्ला गाउँभरि फैलियो र म पनि गएर हेरें त्यतिबेला गाउँको थुप्रै मान्छेहरू भेला भएका थिए।मसँगै चोमनाथ भाइ, कमलप्रसाद देवकोटा, पूर्णद्वीप, नन्दलाल तिमिल्सिनालगायत थुप्रै थियौं।उहँाले हलो जोत्नुभो हामीले हेरिरह्यौं पछि भने मखने बौलायो बाहुनले गर्ने नहुने काम गर्‍यो भनेर गाउँमा खासखुस कुरा काटियो, केही मान्छेले अब छोराछोरीको बिहे गर्न गाह्रो पर्ने भो, छोएको खानु पनि हुँदैन पनि भने तर मुक्तिनाथ काकाको अगाडि भने खासै विरोध गर्ने हिम्मत कसैले गरेनन् उहाँको यस्तो प्रभाव थियो कि उहाँले गरेको कुराको विरोध गर्ने आँट कसैमा हुँदैनथ्यो हुन पनि उहाँ विद्वान हुनु हुन्थ्यो’-९३ वर्षीय स्थानीय प्रेमबहादुर खत्रीले व्यक्त गर्नुभएको थियो केही दिन अगाडि यो पंक्तिकारसँग, शिक्षासेवी, लेखक तोथनाथ शर्माले पनि एक दिन एउटा प्रस·मा यसो भन्दै हुनुहुन्थ्यो-’मेरो बुवाले भन्दै हुनुहुन्थ्यो मखने पण्डितलाई विद्वान् भनेको त निकृष्ट काम पो गरेछन् हेर त हलो जोतेर पो जात फालेछन् अब भने तिनलाई सास्ती हुने भो व्यवहार चलाउन’ माथि दुर्इवटा प्रस· उद्धरण गरें हलो दिवसको सन्दर्भ पारेर।

हुन पनि २००१ को राजनीतिक सामाजिक परिवेशमा एक्लैले हलो जोत्नु चानचुने कुरा होइन।शताब्दिऔं पुरानो जरा गाडेर रहेको सामन्ती प्रथाको अन्त्य गर्नका लागि गरिएको यो प्रयास नेपालकै हलो जोत अभियानको प्रथम पाइला हो।यही बाटुलेचौर बडहरबोट पोखराबाट हलो क्रान्तिको विजारोपण भयो।क्रान्तिको आन्दोलनको स्वरूप स्थान समय र परिवेश अनुसार फरक फरक हुन सक्छन् र यस पछिका दिनमा हलो क्रान्तिलाई अभियानका रूपमा योजनाबद्ध ढ·ले लमजुङ दुराडाँडा, तनहुँ चिसापानी र अन्य स्थानमा पनि आयोजन गरिएको सम्पन्न गरिएको इतिहास अध्ययन गर्न पाइन्छ।तर खास गरी नेपालमै पहिलो हलो जोत कार्य भने कास्की पोखरा बाटुलेचौर बडहरबोटबाट नै सुरुवात भएको हो र पहिलो हलोजोत्ने उपाध्याय ब्राह्मण स्व.पं.मुक्तिनाथ शर्मा नै हुनुहुन्छ।हलो दिवस-२०६९ फाल्गुण २८ का अवसरमा स्वर्गीय श्रष्टामा हार्दिक श्रद्धासुमन अपण गर्दछु।

(लेखक प्रतिष्ठानका अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width