श्रावण महिना र शिवको महिमा

प्रेमराज अधिकारी
श्रावण २०, २०७६

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालयका शिखरदेखि दक्षिण तराईका मैदानसम्म कुनै न कुनै प्रकारका शिवमन्दिर व्याप्त रहेका छन्, स्थापित भएका छन् र पूजित छन्। हाम्रो देशको रक्षा हाम्रै पशुपतिनाथले गरी रहनु भएको छ। भैरव र रुद्र पनि शिवकै रुप हुन्। यसमा कुनै भेद छैन। श्रावण महिनाको सोमवार जताततै शिव मन्दिरहरुमा पूजा गर्न भिड लाग्छ।

श्रावण महिना र यस महिनाको प्रत्येक सोमबार देवाधिदेव महादेवका अत्यन्त प्रिय वस्तु रहेछन्। वर्षादको हिसावले श्रावण महिनामा सुमधुर वर्षा हुने र सोमवार शुभवारको हिसावले होला, यी दुवैको महत्व विशेष तरीकाले मानिदो रहेछ। अधिकांशको घरमा दैनिक शिवजीको पूजा हुन्छ, तापनि श्रावण महिनाको प्रत्येक सोमवार नदीको पवित्र जल, गाईको दूध, वेलपत्र, चन्दन, अक्षता पूmलपाती लिई शिव मन्दिर गई विशेष तरीकाले पूजा अर्चना गरिन्छ।

भगवान शिवलाई जलको यति ठूलो महत्व किन भएको होला भन्ने प्रश्नको उत्तर स्पष्ट छ। सत्य युगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृत र विष दुवै प्राप्त भएछ। अमृत पान गर्न देवता र दानव दुवैथरी अति नै लालायित भएछन् भने विषको व्यवस्थापन गर्न कसैको ध्यान गएन। मन्थनबाट निस्केको विष जमीनमा पोखिन आयो। जमीनमा पोखिएपछि सारा ब्रह्माण्ड विनाश हुन्छ भन्नेतर्फ कसैको ध्यान गएन।

सारा प्राणीहरुको विनाश हुने देखि देवाधिदेव महादेवले विषको घैँटोबाट विष पान गरी आफ्नो रुद्रघण्टीमा राख्नु भयो। तत्कालै उहाँको रुद्रघण्टी र सारा शरीर भरी विष फैलिएर भत्भती पोल्यो। जलन भयो, असह्य पीडा भएर शीतल ठाउँ र चिसो जलको खोजीमा हिँड्दा हाम्रै नेपालको रसुवा जिल्लाको गोसाँईकुण्ड पुगी त्रिशूलले पहरो फोरी त्यसबाट निस्केको चिसो जलबाट तलाउ बनाई त्यसै तलाउमा शयन गर्नु भएको रहेछ। यो प्रत्यक्ष दृश्य अहिले पनि सवैले देख्न सकिन्छ।

प्राणी जगतमा जलको कति महत्व भन्ने कुराको संकेत पनि उहाँले गर्नु भएको छ। पानी विना कुनै पनि प्राणी जीवित रहन सक्दैन। पानी अमृत समान छ। अन्तिम अवस्थामा पुगेको प्राणीले पानी पाए जीवन पाउँछ। पानी स्वस्थ जीवनको आधार हो। मानिसको दैनिक जीवन चलाउन अति आवश्यक र महत्वपूर्ण पानी नै रहेछ।

वस्त्र शुद्धि, शरीर शुद्धि, मनःशुद्धि, कृयाशुद्धि, औषधि सेवनलाई पानी, खेतीबालीलाई पानी, पितृलाई तर्पण दिन पानी, देवाधिदेव महादेवलाई जलधारा दिन शुद्ध नदीको जलकै आवश्यकता पदोर्रहेछ। शिवजीलाई अति मन पर्ने पानी। अति मन पर्ने श्रावण महिना वर्षाकै कारणले होला भन्न सकिन्छ। किनभने श्रावण महिनामा सुमधुर र निरन्तर वर्षा भैरहन्छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालयका शिखरदेखि दक्षिण तराईका मैदानसम्म कुनै न कुनै प्रकारका शिवमन्दिर व्याप्त रहेका छन्, स्थापित भएका छन् र पूजित छन्। हाम्रो देशको रक्षा हाम्रै पशुपतिनाथले गरी रहनु भएको छ। भैरव र रुद्र पनि शिवकै रुप हुन्। यसमा कुनै भेद छैन। श्रावण महिनाको सोमवार जताततै शिव मन्दिरहरुमा पूजा गर्न भिड लाग्छ।

शक्तिपीठहरु गुह्येश्वरी, दक्षिण काली, शोमा भगवती, पलाञ्चोक भगवती, नकसाल भगवती, दन्तकाली, शैलेश्वरी, छिन्नमस्ता, गोरखकाली भद्रकाली, विन्ध्यवासिनी, त्रिपुरासुन्दरी, यी सवै माता पार्वतीकै रुप मानिएका छन्। शिवको प्रत्येक कार्यमा यी पाठहरुको अग्रस्थान छ। भनिन्छ–गौरीशंकर, लक्ष्मीनारायण, राधाकृष्ण।

आराध्यदेव पशुपतिनाथ नेपाल राष्ट्रको सिमाना भित्र मात्र हुनुहुन्न। भारतका विभिन्न ठाउँमा समेत शिवालय स्थापित छन्। तैपनि भारतका सम्पूर्ण हिन्दूहरु जीवनमा एक पटक भएपनि पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्दछन्। नेपाल र भारतका अतिरिक्त विश्वका विभिन्न देशका विभिन्न ठाउँमा विभिन्न प्रकारका शिवालयहरुको स्थापना भएको पाइन्छ। अमेरीकामा समेत विशाल शिव मन्दिर रहेका छन्। ती निर्मित शिवालयहरुमा स्थापित शिवमूर्ति र शिवलिङ्ग पूजा अर्चना तिनै ठाउँहरुको रीतिरिवाज र परम्परा अनुसार गर्ने गरेको पाइन्छ। शिव तत्वको महत्व बुझ्न सके मानिस शिव स्वरुप नै हुन्छ भनिएको छ।

मैत्रेय उपनिषद्मा भनिएको छ– “देहो देवालय प्रोक्त सजीव केवल शिव” मानव शरीर नै परमात्मा पशुपतिनाथको वासस्थान हो र यस भित्र रहेको व्यष्टि जीवन नै शिवको रुप मानिएको छ। जगतगुरु आदिशंकराचार्य महात्मा शिवको स्तुति यस प्रकारले गर्नु हुन्छ। “हे प्रभु शिवशंकर तपार्इं मेरो आत्मा हुनु हुन्छ भने भवानी पार्वती मेरो बुद्धि हुनुहुन्छ, मेरा पञ्चप्राणहरु तपाईका गणहरु हुनुहुन्छ। मेरो शरीर तपाइँको शिवालय हो, मैले उपभोग गरी आएका वस्तुहरु तपाईका पूजा हुन्। मैले हिँडडुल गरेका पाइलाहरु तपाईको प्रदक्षिणा हो, मैले बोलेका वाणीहरु तपाईंका आराधना र स्तोत्रपाठ हुन्।

भगवान् शिव आशुतोष हुनुहुन्छ, तत्कालै खुशी हुने। मानव कल्याणको उद्देश्यले गरेको पूजाअर्चनाबाट तुरुन्तै वर दिनु हुन्छ। देवाधीदेवको पूजा दुई किसिमले हुने गरेको पाइएको छ। बाहिरी पूजा र भित्री पूजा। बाहिरी पूजा भनेको दैनिक पूजा पाठ, वन्दना अर्चना, उपासना चित्तशुद्धि भई महात्मा शिवको नजिक पुगिन्छ। भित्री (आन्तरिक) पूजा भनेको मानस पूजा हो हृदयदेखिनै आत्माले अटुट तरीकाले मन, वचन कर्म र श्रवण, कीर्तन, मनन एवं निदिध्यासनबाट गरिने पूजालाई आन्तरिक पूजा मानिएको छ।

मननबाट प्राप्त ज्ञानको निरन्तर प्रवाहलाई निदिध्यासन भनिएको छ। यस प्रकृयाबाट आत्मज्ञान हुन्छ भनिएको छ। जनक अष्टावक्र संवाद, यमराज नचिकेता संवाद, श्रीकृष्ण अर्जुन संवाद, राम लक्ष्मण संवाद, उमामहेश्वर संवादहरुबाट नै तत्वज्ञान प्राप्त हुन्छ भनिएको छ। यो संसारका सम्पूर्ण प्राणीहरु महादेव शिवका अंश हुन्। भगवान शिव सत्य स्वरुप, ज्ञानस्वरुप अन्तरनिहित घटघटवासी सर्वत्र व्यापक सम्पूर्ण जान्ने परब्रह्म परमात्मा हुनुहुन्छ।

शिवपुराण, लिङ्गपुराण, श्वेताश्वतरो उपनिषद् आदि शास्त्रहरुमा शिवतत्वको सारवस्तु भनेको कल्याण हो भनिएको छ। परमेश्वर शिव सम्पूर्ण सृष्टिका स्वामी हुनुहुन्छ। उहाँ निर्गुण निराकार सगुण साकार दुवै स्वरुप हुनुहुन्छ। उहाँलाई लिङ्ग स्वरुप पनि मानिन्छ। उहाँका लिङ्गस्वरुपहरु मध्यमा ज्योतिर्लिङ्ग रुप सर्वश्रेष्ठ मानिएको छ। उहाँ देवताका पनि देवता, ईश्वरका पनि ईश्वर महेश्वर मानिनु हुन्छ। उहाँको न थर छ, न गोत्र छ, न जन्म छ, न मृत्यु छ। उहाँलाई कालचक्रले छुँदै छुँदैन। उहाँ आत्माका पनि आत्मा हुनुहुन्छ।

शिवतत्व र शिवलिङ्गको ज्ञान प्राप्त गर्न महात्मा शिवकै नजिक पुग्नु पर्दछ। उहाँको नजिक पुग्नु भन्दा पहिले माता पार्वतीको नजिक पुग्नु पर्दछ। उहाँसमक्ष पुग्न शिवजीका गणहरुलाई रिझाउनु पर्दछ। अनि मात्र माता पार्वतीको नजिक पुग्न सकिन्छ। उहाँको कृपाले मात्र देवाधिदेव महादेवको नजिक पुग्न सकिन्छ। यो उपयुक्त माध्यमको नियम शिवजीको पालादेखि नै पुस्तान्तरण हुँदै आएको देखिन्छ। अहिले पनि हाम्रा देशका प्रमुख मानिसलाई भेट गर्न तहैतह जानु पर्ने चलन छ।

वैदिक संस्कृतिमा भनिएको छ– “ब्रह्मविद् ब्रह्मैव भवति” महात्मा शिवलाई ब्रह्मविद भनिदो रहेछ। “एकोदेव केशवो वा शिवा वा” यसमा भनिएको छ। यौटै मात्र देवता हुनु हुन्छ। शिव या केशव जे भने पनि उहाँ नै शिव हुनुहुन्छ। शिवका चौसठ्ठीलिङ्ग मानिएका छन्। चौसठ्ठी मध्ये पशुपतिनाथलाई जोतिमर्यलिङ्ग मानिएको छ। श्रुतिले पनि शिवतत्वलाई अद्वैत तत्व मानेको रहेछ। यो पनि वैदिक संस्कृतिमा उल्लेख भएको पाइन्छ।

परम पूज्य हाम्रा देवाधिदेव, राष्ट्रदेव विश्वदेव परमात्माप्रति शक्ति भाव, समर्पण शरणागतिको भावना राखी पवित्र मन गरी नदीको शुद्ध जलले स्नान गराई श्रीखण्डको चन्दन, अखण्ड अक्षता, फूलपत्र, बेलपत्र आदि सहित महात्मा शिवजीलाई मनपर्ने अत्यन्त प्यारो श्रावण महिनाको प्रत्येक दिन र संभव हुन नसके प्रत्येक सोमवार पूजा पाठ तथा उपासना गरेमा शिवलोक प्राप्त हुन्छ भनी उल्लेख भएको पाइन्छ। देवताहरुका पनि देवता महात्मा शिव, आशुतोष भएकोले यसो गरेमा भक्तहरुले चाहेको कुरा तुरुन्त प्राप्त गर्ने छन् भन्ने मेरो ठहर छ।

ॐ नमः शिवाय ! सत्यम् शिवम् सुन्दरम् !!

Related News

सम्बन्धित समाचार

hero news full width